‘अंकुर’ को वार्षिकोत्सवमा शिक्षा विमर्श

writer

सम्पूर्ण

बुधबार, १४ फागुन २०७६


अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित साप्ताहिक बालपत्रिका ‘अन्नपूर्ण अंकुर’ छुट्टै पत्रिकाको रूपमा प्रकाशित भएको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । पत्रिकाको तीनकुनेस्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रममा नेटकर्वका अध्यक्ष रामे˘वर थापा, सीईओ मानस घिमिरे, प्रधान सम्पादक हरिबहादुर थापा र अंकुर सम्पादक रामकला खड्काले संयुक्त रूपमा केक काटेर वार्षिकोत्सव मनाएका छन् ।

‘अन्नपूर्ण अंकुर’ ले आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेपालको शिक्षाको वर्तमान अवस्था, शिक्षा क्षेत्रमा देखिएका समस्या, व्यावहारिक शिक्षाको महŒवलगायत विविधि विषयमा छलफलका लागि राउन्ड टेबल गरेको छ । राउन्ड टेबल तथा छलफल कार्यक्रममा सरकारी (सामुदायिक) तथा निजी विद्यालयका प्रधानाध्यापकलगायत शिक्षाप्रेमी तथा विज्ञ गरी १४ जनाको सहभागिता थियो ।


कार्यक्रममा नेटवर्कका अध्यक्ष थापाले अन्नपूर्ण पोस्ट् आफँैमा एउटा घर भएको र त्यस घरलाई सुशोभित गराउने काम ‘अन्नपूर्ण अंकुर’लगायत अन्य प्रकाशनले गरेको बताए । थापाले अंकुरले अंकुरण गर्ने बालबालिका भोलिका दिनमा विवेचनात्मक, व्याख्यात्मक हिसाबले आफूलाई प्रस्तुत गर्न सक्ने अवस्थामा पुग्ने र यसको क्रेडिट अंकुरलाई जाने बताए ।

‘अन्नपूर्ण पोस्ट्’का प्रधान सम्पादक हरिबहादुर थापाले ‘अन्नपूर्ण अंकुर’ छोटो समयमै धेरै विद्यार्थीमाझ लोकप्रिय बन्दै गएको र यसले विद्यार्थीमा पढ्ने बानीको विकास गरेको औँल्याए । त्यसै गरी, ‘अन्नपूर्ण अंकुर’की सम्पादक रामकला खड्काले बालबालिका र विद्यार्थीलाई रुचि लाग्ने विषयमा यस पत्रिकाले सामग्री समेट्दै लगेको र आगामी दिनमा अझै यसलाई परिष्कृत र परिमार्जित गर्दै लैजाने बताइन् । 

कार्यक्रममा ‘अन्नपूर्ण पोस्ट्’का सम्पादकद्वय अखण्ड भण्डारी र विकास थापा, ‘अन्नपूर्ण अनलाइन’का सम्पादक विष्णु सुवेदी, ‘अन्नपूर्ण सम्पूर्ण’का सम्पादक राजन नेपाल, ‘अन्नपूर्ण एक्सप्रेस’का सम्पादक विश्वास बराल, एपी वान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्री लगायतले ‘अन्नपूर्ण अंकुर’लाई पहिलो वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिए ।

वार्षिकोत्सव समारोहमा ‘अन्नपूर्ण अंकुर’का उत्कृष्ट कर्मचारीका रूपमा इन्द्र चौधरीलाई संस्थाका अध्यक्ष थापाले नगद र सम्मान पत्रसहित पुरस्कृत गरे ।

व्यावहारिक शिक्षामा विज्ञको जोड

‘अन्नपूर्ण अंकुर’ले पहिलो वार्षिकोत्सव मनाउने क्रममा ‘अहिलेको शिक्षा कतिको व्यावहारिक छ ?’ भन्ने विषयमा छलफलका लागि राउन्ड टेबल कार्यक्रम पनि आयोजना गरेको थियो । जसमा १४ जना सहभागी थिए ।

काठमाडौँ, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका नातिकाजी महर्जनले शिक्षा क्षेत्रमा थुप्रै समस्या रहेको बताए । सबैभन्दा पहिले त सरकारी र निजी विद्यालयको बीचमै समझदारी नभएको सुझाए । तर, सरकारी मात्र र निजी एक्लैले मात्र देशको शिक्षा धान्न नसक्ने उनको विचार थियो । त्यसैले दुवै खालका विद्यालयले एकअर्कालाई सहयोग गरे मात्र शिक्षामा सुधार आउने उनले बताए । उनले भने, ‘राज्यले सरकारी र प्राइभेटमा सरकारले पनि विभेद गरेको महसुस गरेको छु । तर, एकातिर मात्र हामी बायस्ड भएर, न सरकारीले मात्र यो देशको शिक्षालाई धान्न सक्छ न निजीले धान्न सक्छ । त्यसैले राज्यले जे गरे पनि हामी मिलेर जानुपर्छ 
।’
काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलकी प्रधानाध्यपक सुनीता पौडेलले शिक्षालाई व्यवहारमा उतार्न पढाएर मात्र नहुने बताइन् । उनले भनिन्, ‘पढाउँदा बच्चाले के जान्नुपर्छ र कुन क्रियाकलापले गर्दा नजानिँदो किसिमले त्यो बच्चाले पढेको कुरा साँच्चै आत्मसात् गर्छ त ? त्यस विषयमा ध्यान दिएर अगाडि बढ्यो भने हामीले खोजेको जवाफ पक्कै पाउँछौँ ।’
त्यसै गरी, भक्तपुरको मोडर्न स्कुलका प्रधानाध्यपक अनिल कस्पालले विद्यालयमा सिकाएको कुरा घरमा वा व्यवहारमा सिकाउन नसकेकाले शिक्षा एकातिर र व्यवहार अर्कातिर भएको बताए । ‘हामी विद्यालयमा जे सिकाउन खोज्छौँ, त्यो घरमा गएर व्यवहारमा सिकाउन सकेका छैनौँ,’ उनले भने, ‘विगतमा सामाजिक शिक्षा र नैतिक शिक्षाका कुरा हुन्थे । अहिले यी कुरा पाठ्यक्रममा कम छन् । यस्ता संस्कारिक कुरा हामीले पाठ्यक्रममा भन्दा घर र समाजबाट नै सिकेका हौँ ।’

बेबिलोन स्कुलका प्रधानाध्यपक राजु राईले सरकारी तथा निजी विद्यालयले एउटै राष्ट्रिय पाठ्यक्रम अपनाउनुपर्नेमा जोड दिए । कसैले घोकाउने मात्र र कसैले त्यत्तिकै छोडिदिने हुनाले विद्यार्थीमा फरक देखिएको उनले बताए । शिक्षा क्षेत्रमा शिक्षक व्यवस्थापनको कुराले पनि प्रभाव पार्ने बताए । ‘सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाले पाउने सुविधाजति निजीकाले नपाउनु र निजीको जसरी सामुदायिकले व्यवस्थापन गर्न नसक्नु पनि एउटा समस्या हो,’ उनले भने ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिएर समुदायको जिम्मा लगाइदिएको हुनाले विद्यालयमा थुप्रै समस्या देखिएको बताए । राज्यले नारा बनाउँदा पनि ‘सार्वजनिक शिक्षामा सुधार’ बनाउने गर्छ, जुन शिक्षा क्षेत्रका लािग ठीक नभएको उनले बताए । उनले भने, ‘सार्वजनिक अर्थात् सामुदायिक विद्यालयको मात्र सुधार भएर हुँदैन । यसका लागि त निजी विद्यालयमा पनि सुधार गर्नुपर्छ । जबसम्म राज्यले सबैलाई समान रूपमा हेर्दैन तबसम्म शिक्षा क्षेत्रमा सुधार हुन सक्दैन ।’ 

गोल्डेन पिककी निर्देशक कला राईले व्याहारिक शिक्षाका लागि विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् । तर, एकबर्से  सत्रमा यो सम्भव नहुने बताइन् । ‘विश्वका अन्य देशका विद्यालयले पाठ्यक्रममा एक वर्षमा बच्चालाई भारीका भारी ज्ञानगुनका कुरा पढाउनुभन्दा बच्चालाई के सिकाउने ? भन्नेमा जोड दिएको देखिन्छ,’ उनले भनिन्, ‘तर, हाम्रोमा बच्चाले पढे मात्र पुग्ने र सिकेको कुरा तीन घण्टामा लेखेर बुझाउनुपर्ने अवस्थाले विद्यार्थीको व्यावहारिक ज्ञानमा कमी आएको छ ।’ 

त्यस्तै, कार्यक्रममा विद्यार्थीका सर्वांगीण विकासका लागि अपनाइने शैक्षिक गतिविधि, शिक्षामा संस्कारका कुरा, विदेशमा रहेको अभ्यासलगायत विविध विषयमा ‘हिसान’ का महासचिव लोकबहादुर भण्डारी, शिक्षाविद् देवी घिमिरे, विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्भराज कँडेल, बृहस्पति विद्या सदनका प्रधानाध्यापक कुमार थापा, सुदेशा स्कुलका प्रधानाध्यापक वीरंगना महर्जन, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, एबीएम स्कुलका प्रधानाध्यापक रामप्रसाद तिमल्सिना र ज्ञानमन्दिर माविका प्रधानाध्यापक रविन बस्नेतले विमर्श गरे । विद्यालय शिक्षामा रहेका विविध समस्या र यसका समाधानका विषयमा उनीहरूले विचार व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक एवं निर्देशकलाई प्रधान सम्पादक थापाले खादा र मायाको चिनो दिएर सम्मान गरेका थिए ।

तपाईको कमेन्ट

मुख्य समाचार