‘नेपाल मेरो दोस्रो घर हो’

writer

सम्पूर्ण

आइतबार, ११ फागुन २०७६


विन्डी सिउ अमेरिकी नागरिक हुन्। ३३ वर्षीया उनी अमेरिकाको ‘बिल्डिङ एजुकेसन’ संस्थाकी संस्थापकसमेत हुन्। पछिल्लो समय नेपालमा महिला सशक्तीकरण र बालबालिकाको क्षेत्रमा काम गरिरहेकी उनी ट्रेकिङ जान औधी रुचाउँछिन्। 


नमस्ते !
नमस्ते।

पहिलो पटक नेपाल कहिले आउनुभयो ?
पहिलोचोटि सन् २०१४ मा नेपाल आएकी थिएँ। यहाँ भूकम्प गएपछि २०१५ देखि स्वयंसेवी भएर काम गर्न थालेँ। 

कस्तो लाग्दै छ त नेपाल ?
यहाँको पहाड, प्राकृतिक सुन्दरता, स्वच्छ हावापानीले मलाई लोभ्याउँछ। स्वर्गमा आएको अनुभूति हुन्छ। 

नेपालबारे कसरी थाहा पाउनुभयो ?
भारत घुम्न आएकी थिएँ। त्यहीँ नेपालबारे जानकारी पाएँ। अनि, आउने इच्छा जाग्यो। 

नेपाल सोचेजस्तो पाउनुभयो ?
सोचेभन्दा धेरै सुन्दर रहेछ। सुरुमा त यहाँका हिमाल हेर्न भनेर नै आउन खोजेकी थिएँ। तर, यहाँका हिमाल मात्र नभई पहाड, मधेश पनि त्यति नै रमाइला रहेछन्।

नेपाली खाना मन पर्छ ?
मन पर्छ।

कुन नेपाली खानेकुरा मन पर्‍यो ?
दालभात र रोटी खान मन पराउँछु। विशेष गरी, पोखरा लेकसाइडका क्याफेमा शाकाहारी खाना खान मन पर्छ।

सुरुमा आउँदा र अहिलेको नेपालमा के फरक पाउनुभएको छ ?
पहिलो पटक नेपाल भम्रण गर्दा रमाइलोका लागि थियो। त्यतिखेर भोटेकोशीमा बन्जी जम्प गर्न पुगेँ। खूब रमाइलो गरेँ। तर, अहिले प्रोजेक्टमा काम गरिरहेकाले कामको सिलसिलामा आउने गरेकी छु। घुमघामभन्दा पनि काममा बढी ध्यान हुने गरेको छ। साँच्चै भन्ने हो भने अहिले नेपाल मेरो दोस्रो घरजस्तो भएको छ। 

हालसम्म कुन–कुन देश घुम्नुभयो ?
भारत, मेक्सिको, स्पेन, थाइल्यान्ड, म्यानमार, मलेसिया, मोरक्को, जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, स्विडेन, टर्की, चीनलगायत थुप्रै देश घुमिसकेँ।

नेपालमा कहाँ ट्रेकिङ जान मन पराउनुहुन्छ ?
अन्नपूर्ण सर्किटमा यात्रा गर्दा रमाइलो लाग्यो। मनाङ, मुक्तिनाथ, पुनहिललगायत ठाउँ पनि मन परे। मलाई ट्रेकिङ साह्रै मन पर्छ। जति व्यस्त भए पनि ट्रेकिङ जान भने उत्साहित हुन्छु।

नेपालमा स्वयंसेवी भएर काम गर्ने सोच कसरी आयो ?
मैले उड्डयनसम्बन्धी अध्ययन गरेकी हुँ। चार वर्षसम्म त्यही क्षेत्रमा काम गरँे। तर, त्यस काममा खुशी थिइनँ। काम परिवर्तन गर्नुपर्छ भन्ने भयो। स्वयंसेवी भएर काम गर्न थालेँ। यसअघि भारतमा स्वयंसेवी थिएँ। नेपालमा भूकम्प गएपछि यहाँका  स्कुल, विद्यालय, विद्युत र पानीमा सहयोग गरियो। सन् २०१६ बाट बालबालिकाका लागि शिक्षा क्षेत्रमा सहयोग गर्न थालेँ। सन् २०१७ मा बिल्डिङ एजुकेसन संस्था खोलेरै त्यस संस्थामार्फत सहयोग गरिरहेकी छु। साथै, महिलालाई सीप सिकाउँदै उनीहरूलाई सशक्त बनाउने अभियानसमेत थालेकी छु। 

नेपाल र आफ्नो देशमा के फरक पाउनुभयो ?
अमेरिकामा सबै कुरा छिटो र द्रुत गतिमा हुन्छ। नेपालमा अलिक समय लाग्छ। यति हुँदा पनि रमाइलो र सिक्ने धेरै कुरा नेपालमा छन्। हामी सबै मानव हौँ। त्यसकारण हामी सबै समान छौँ। 

प्रस्तुतिः राजाराम पौडेल-पोखरा 

तपाईको कमेन्ट