‘युरोपेली पर्यटक जिज्ञासु हुन्छन्’

writer

सम्पूर्ण

आइतबार, ११ फागुन २०७६


रञ्जित जिसी, २५, ट्रेकिङ गाइड

सन् २०११ बाट ट्रेकिङको काम सुरु गरेको हुँ। एसएलसी पास गरेपछि काम थालेको हुँ। सुरुमा प्रिस्टेन माउन्टेन एड्भेन्चर अफिसमा काम गरें। गाउँतिरकै दाइको अफिस भएकाले सजिलो भयो। गाउँतिर अरू दाइले पनि ट्रेकिङ गाइडको काम गर्नुहुन्थ्यो। त्यसैले यो पेशाप्रति आर्कषित थिएँ। उनीहरूले पर्यटक लिएर घुमेको देख्दा त्यसै गरेर हिँड्ने रहर मनमा पलायो। सुरुमा म ट्रेकिङ गएको रुट घोरेपानी, घान्द्रुक, पुनहिल हो। सन् २०१२ तिर हो। त्यतिबेला लाइसेन्स निकालिसकेको थिइनँ। अफिसमा काम गरेकाले जान पाएको थिएँ। सन् २०१४ मा ट्रेकिङ गाइडको लाइसेन्स निकालेँ। बिस्तारै अफिसको काम छाडेर गाइडको काम थालेँ। लाइसेन्स निकालेपछि केही समय पोर्टरको काम पनि गरेको थिएँ। 

ट्रेकिङको गाइड बनेर अन्नपूर्ण सर्किट बढी गएको छु। पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, अपर मुस्ताङ, डोल्पा, एभरेस्ट, रारा, रोयल ट्रेक आदि पनि म गएका ट्रेकिङ रुट हुन्। 

परिवारमा आमाबुबा, भाइ छन्। उहाँहरूको साथसहयोगले अगाडि बढ्न सहज भएको छ। अनुभवकै लागि पोखराको फेवातालबाट रारा तालसम्म हिँडेर गएको छु। यसरी यात्रा गर्दा एक महिना लागेको थियो। 

ट्रेकिङ क्षेत्रमा काम गर्न थालेको १० वर्ष हुन लाग्यो। भूकम्पपछि केही समय यो व्यवसायमा मन्दी आएको थियो। त्यतिबेला चाइना पढ्न गएँ। एक सेमेस्टर पढेँ। चाइनिज भाषा सिकेँ। चाइनिज पर्यटकका लागि गाइडको काम पनि गर्छु। मण्डला नेपाल ट्रेक्स सञ्चालन गरेको छु। यो पोखरा लेकसाइड, गौरीघाटमा छ। सन् २०१७ तिर दर्ता गरेको हुँ। 

अहिले पर्यटन क्षेत्रमा मन्दी छ। धेरै पर्यटक आएका छैनन्। कोरोना भाइरसका कारण पनि होला। कति आउने आफैँ–आफँै जाने गर्छन्। एक्लै जान खोज्ने हुन्छन्। युरोपियन पर्यटक बढी ट्रेकिङ जान रुचाउँछन्। युरोप र अमेरिकाका पर्यटक जिज्ञासु हुन्छन्। प्रकृतिसँग रमाउन खोज्छन्। कोही पर्यटक फोटो खिच्ने, हिमाल हेर्ने र रमाउने गर्छन्। अहिले ट्रेकिङ रुट छोटिँदै गएका छन्। गाडीमा जान सक्ने ठाउँ पनि छन्। 

सिजनको बेलामा ठाउँ पाउन गाह्रो हुन्छ। एकदुई जना मात्र लिएर जाँदा पनि बस्ने ठाउँ पाउन समस्या हुन्छ। सर्ट ट्रेकमा खासै समस्या हुँदैन तर लङ ट्रेकमा यस्तो हुन्छ। अन्नपूर्ण बेस क्याम्पतिर कहिलेकाहीँ ठाउँ नहुँदा समस्या हुन्छ। डाइनिङ हलमा सुतेर आउनुपर्छ। कहिले त्यसै फर्किनुपर्छ। 

कहिलेकाहीँ पानी परेर बाटोमा नै समस्यामा परिन्छ। एकचोटि बेस क्याम्प जाँदा पानी परेका कारण खोला तर्न समस्या भएको थियो। आफू त तरिन्थ्यो तर पर्यटकलाई तार्न समस्या। त्यतिबेला भरियाले सहयोग गरे। हिउँ पहिरोका कारण खोलै नभएको ठाउँमा पानी आउने पनि हुन्छ। यात्रामा हिँड्नुपर्ने हुँदा त्यसका लागि तयार हुनुपर्छ। हिँड्छु भनेपछि कहाँबाट जाने, राम्ररी सोचविचार गर्नुपर्छ। कुन ठाउँमा जाने, राम्रोसँग तयारी गर्नुपर्छ। 

प्रस्तुतिः राजाराम

तपाईको कमेन्ट