गृहमन्त्रीले माम्पीलाई सोधे ‘खोइ त बुलाकी?’

writer

सुमित सुवेदी

शनिबार, १० फागुन २०७६


कार्यक्रम प्रस्तोता माम्पी घोषले एफएम, रेडियो, टेलिभिजनमा काम गरेकी छिन्। उनलाई धेरैले ‘पवनकली’ भनेर चिन्छन्। अहिले उनी ‘नेपाल आइडल’को तेस्रो संस्करण होस्ट गरिरहेकी छिन्।


कार्यक्रम प्रस्तोता माम्पी घोषलाई धेरैले ‘पवनकली’ का रूपमा चिन्छन्। अहिले उनी गायन रियालिटी सो ‘नेपाल आइडल’ को तेस्रो संस्करण होस्ट गरिरहेकी छिन्। एफ, रेडियो, टेलिलिभजनमा काम गरिसकेकी उनी सन् २०१३ यता अमेरिकामा बस्दै आएकी छिन्।

झापा, भद्रपुरमा जन्मे-हुर्केकी माम्पी परिवारकी जेठी छोरी हुन्। प्लस टूसम्म झापामै अध्ययन गरिन्। त्यसपछि काठमाडौँ छिरिन्। नेपाल कमर्स क्याम्पसमा व्यवस्थापन विषय पढ्न थालिन्। उनलाई सानैदेखि रेडियो सुन्न औधी मन पथ्र्यो। ‘एफएम सुन्दा निकै मज्जा लाग्थ्यो,’ उनले भनिन्, ‘एफएममा रस नै बसेको थियो।’ कलेज पढ्दाताका एफएममा काम गर्ने मौका पाइन्। ‘हिट्स एफएममा काम गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘कला सुब्बा म्यामले कार्यक्रम चलाउन सिकाउनुभयो।’

एफएमबाट रेडियो नेपालतिर

केही वर्ष उनले एफएममा काम गरिन्। स्नातकोत्तर गरिरहेका बेला राष्ट्रिय समाचार समिति (रासस)मा एउटा सूचना प्रकाशित भयो। ‘रेडियो नेपालले युवा स्रोतालाई केन्द्रित गरेर कार्यक्रम ल्याउँदै रहेछ,’ उनले सम्झिइन्, ‘त्यसका लागि भण्डै १०-१२ जना कर्मचारी चाहिएको रहेछ।’ माम्पीले त्यसमा निवेदन दिइन् र छनोट भइन्। ‘त्यसबेला सिंहदरबारभित्र काम गर्न पाउँदा निकै खुशी लाग्यो,’ उनले भनिन्, ‘करारको काम भए पनि हामी सरकारी कर्मचारी थियौँ।’ 

त्यतिखेर नेपालमा संकटकाल थियो। ‘कसैको अन्तर्वार्ता लिनुपर्‍यो भने सिंहदरबारको गेटमा नाम पठाउनुपथ्र्यो,’ उनले सुनाइन्, ‘रेडियो नेपालबाट पनि नाम पास गराउनुपथ्र्यो। अन्तर्वार्ता दिने मान्छेले पनि आईडी बोकेर आउनुपथ्र्यो। निकै झन्झट थियो।’ रेडियोमार्फत उनले नयाँ पुस्तालाई संगीतको नयाँ स्वाद चखाउने काम गर्थिन्। ‘हामीलाई पप, र्‍यापदेखि आधुनिक गीत–संगीत बजाउने अनुमति थियो,’ उनले भनिन्, ‘हरेक फ्लेभरका गीत सुन्न एफएम नै खोल्नुपर्ने बाध्यताको अन्त्य भएको थियो।’ 

पहिचान बन्यो ‘पवनकली’

रेडियो नेपालमा उनले करिब डेढ वर्ष काम गरिन्। त्यस समयमा आफूले धेरै मान्छे चिन्ने मौका पाएको उनले बताइन्। उनको नाम र आवाज पनि धेरै स्रोताले चिने। सन् २००८ को अन्त्यतिर उनलाई ‘द पवनकली सो’ चलाउने अफर आयो। सो चलाउन थालेपछि आफ्नो जीवन कायापलट भएको उनले बताइन्। ‘पवनकली सो चलाउन थालेपछि मेरो जीवन नै परिवर्तन भयो,’ उनले भनिन्, ‘एफएम रेडियोमा काम गर्दा मान्छेहरूले मेरो नाम र स्वर मात्र चिनेका थिए। बाहिर सहजै हिँड्न सक्थेँ। टेम्पो चढ्न सक्थेँ। बजारमा सामान किन्दा मोलतोल गर्न सक्थेँ। तर, टेलिभिजनमा सो चलाउन थालेपछि दर्शकले पवनकली भनेर चिन्न थाले। यताउति हिँड्दा बाटोमा मान्छेहरूले बोलाउन थाले।’ 

यस कुराले एकातिर उनलाई आनन्द पनि दिइरहेको थियो भने अर्कातिर कतिपय कुरामा अप्ठ्यारो पनि हुन थालेको थियो। ‘म अब कसैसँग हात समातेर हिँड्न सक्दिनथेँ,’ उनले भनिन्, ‘बजारमा तरकारी मोलभाव गर्न सक्दिनथेँ। मान्छेले चिन्न थालेका थिए।’ कलेजमा समेत उनलाई सबैले पवनकली भनेर बोलाउन थाले। ‘स्नातकोत्तरको अन्तिम वर्ष चलिरहेको थियो,’ उनले सुनाइन्, ‘केही कक्षा बाँकी थिए। अचानक कलेजका सबैले चिन्न थाले। देख्नेबित्तिकै ‘पवनकली आयो’ भन्थे। त्यो सुन्दा निकै खुशी लाग्थ्यो।’ 

उनी पवनकली नामले प्रख्यात भइन्। माम्पी भनेर उनलाई चिन्ने कमै थिए। ‘कार्यक्रम चलाउन थालेपछि कोही पनि मसँग सामान्य तरिकाले बोल्दैनथे,’ उनले भनिन्, ‘जसरी कार्यक्रममा अअरूसँग जिस्किन्थेँ, त्यसरी नै मसँग अरू जिस्किन्थे। त्यो देख्दा मज्जा नै लाग्थ्यो।’ 

पवनकलीलाई नचिन्ने कमै दर्शक थिए। उनको सो नछुटाउनेदेखि महिनामा मुश्किलले टेलिभिजन हेर्नेसम्म सबैले उनको अनुहार याद गर्थे। ‘कार्यक्रमका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला अछाम, डोटी, डडेलधुरा गएकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँ मुश्किलले टेलिभिजन हेर्ने मान्छेले पनि मलाई चिन्दा रहेछन्। उनीहरूले ‘तपार्इं त टीभीमा आउनुहुन्छ है’ भन्दा धेरै खुशी लागेको थियो।’ 

पवनकलीको चर्चा यतिसम्म थियो कि उनले सोमा एक पटक गगन थापालाई टोपी उपहार दिएकी थिइन्। गगन थापा गाउँमा भोट माग्न जाँदा एक जना वृद्धाले ‘पवनकलीले दिएको टोपी खोइ?’ भनेर प्रश्न तेस्र्याएकी थिइन्। त्यो कुरा माम्पीलाई गगनले एक भेटमा सुनाएका थिए। यस्तै सम्झनयोग्य घटना तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अन्तर्वार्ता लिँदा भएको उनले बताइन्। ‘त्यस बेला तत्कालीन माओवादी पहिलो पटक चुनावमा जाँदै थियो,’ उनले भनिन् ‘मैले सिटौलालाई ‘के चुनाव शान्तिपूर्ण ढंगले सम्पन्न हुन्छ त?’ भन्ने प्रश्न गरेकी थिएँ। उहाँले उत्तरमा ‘आज तिमीले बुलाकी नलगाएको? खोइ त तिम्रो बुलाकी?’ भन्नुभयो।’ देशका गृहमन्त्रीको मुखबाट ‘खोइ त बुलाकी?’ सुन्दा पवनकलीको ख्याति निकै रहेछ भन्ने बुझेँ। एकदमै खुशी भएँ।’

महानायकको प्रेममा पवनकली

‘द पवनकली सो’ मा अभिनेता राजेश हमाल धेरै पटक आएका थिए। पवनकलीको राजेशसँग लभ थियो। ‘धेरै दर्शकले मेरो राजेश हमालसँग लभ परेको छ भन्ने सोच्नुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, त्यो प्रेम पवनकलीले गर्र्थी, माम्पीले होइन। त्यो हाम्रो अनस्क्रिन माया थियो। क्यामरा अन हुँदा हाम्रो माया सुरु हुन्थ्यो र क्यामरा अफ हुनेबित्तिकै माया पनि बन्द हुन्थ्यो।’ एक पटक उनी पवनकलीको गेटअपमा राजेशको सुटिङमा पुगेकी थिइन्। ‘वसन्तपुरमा फिल्मको सुटिङ थियो,’ उनले भनिन्, ‘म पवनकली बनेर सुटिङमा गएकी थिएँ। त्यसपछि त मान्छेहरूको शंका झनै पक्का भयो।’ 

राजेशको बिहे भएपछि माम्पीको फेसबुक पेजमा धेरैले दुःख व्यक्त गर्दै म्यासेज लेखे। ‘उनको बिहेपछि कतिले मलाई ‘ला राजेश हमालले त बिहे गर्नुभयो है’ भनेर म्यासेज गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यतिबेलासम्म पनि धेरैलाई यही लाग्थ्यो कि हाम्रो प्रेम थियो।’ 

अमेरिका प्रस्थान

करिब तीन वर्षसम्म उनले पवनकलीको रूपमा दर्शकलाई मनोरञ्जन दिइन्। टेलिभिजनमा काम गर्दैगर्दा उनले सन् २०१० मा तीन पटक अमेरिका जाने मौका पाइन्। ‘कामको सिलसिलामा अमेरिका गइरहन्थेँ,’ उनले भनिन्, ‘त्यहाँ एक जना नेपाली वकिलले कामको अफर गरे।’ त्यसपछि उनी अमेरिका जाने-आउने गर्न थालिन्। सन् २०१३ बाट उतै बस्ने निर्णल लिइन्। ‘सन् २०१३ को अन्त्यतिर ‘पारालिगल’ कोर्समा भर्ना लिएँ,’ उनले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्थें। बेलुका ६ बजेदेखि १० बजेसम्म कलेज थियो।’ यसरी उनले दुई वर्षमा त्यो कोर्स सकाइन्। सात वर्षयता उनी आफ्ना क्लाइन्टलाई सल्लाह–सुझाव दिने काम गर्छिन्। वकिल बन्नका लागि पढाइ सुरु गर्ने तरखरमा छिन्। ‘नेपाल आइडलको फाइनलपछि वकिलको पढाइ गर्ने तरखरमा छु,’ उनले भनिन्। 

दुई वर्षअघि सिभिल इन्जिनियरसँग औँठी साटासाट गरेकी उनले सन् २०१९ को सेप्टेम्बर १६ मा लगनगाँठो कसिन्। त्यही बेला नेपाल आउँदा उनले नेपाल आइडल होस्ट गर्ने अफर पाएकी थिइन्। आइडलमा आउनु आफ्ना लागि ‘रियुनियन’जस्तै भएको उनले बताइन्। ‘आइडल अमेरिकन आइडलको फ्रेन्चाइज सो हो,’ उनले भनिन्, ‘दुई सिजन एकदमै चर्चित भएका छन्। त्यसमाथि सोका निर्णायक, निर्देशक, निर्माता, क्यामरा पर्सनलगायत सबै चिनजानका हुन्। यो त मेरा लागि रियुनियनजस्तै भएको छ। एकदमै खुशी छु।’

तपाईको कमेन्ट