‘शिक्षितले नियम मिच्दा कन्सिरी तात्छ’

writer

सम्पूर्ण

शनिबार, १० फागुन २०७६


कल्पना कटुवाल, ट्राफिक प्रहरी,महानगरीय ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट, काठमाडौँ

सञ्चै हुनुहुन्छ, म्याम?
ठीकै छु।

ट्राफिक प्रहरीको जागिर गर्न थालेको कति भयो?
ट्राफिकमा आउनुअघि नेपाल प्रहरीमा थिएँ। १४ वर्ष त्यहाँ काम गरेँ। ट्राफिकतिर आएको त दुई वर्ष मात्र भएको छ। 

सिभिलबाट ट्राफिकमा आउन कति समय तालिम लिनुभयो?
तीन महिना तालिम लिएँ।

तालिम कत्तिको गाह्रो थियो?
सिभिलमा हँुदा पनि तालिम लिइरहन्थेँ। त्यसैले खासै गाह्रो लागेन। 

सिभिलमा हुँदा पनि उपत्यकामै हुनुहुन्थ्यो?
जनपद प्रहरीमा हुँदा काठमाडौँमा ड्युटी गरिएन। उपत्यकाबाहिर जिल्ला–जिल्लामा ड्युटी गरेँ। सोलुखुम्बु, ओखलढुंगा, धरान, झापामा बसेको छु।

जनपदबाट ट्राफिक सेवामा आउँदा कस्तो अनुभव भयो? 
पहिलो पटक मेरो ड्युटी थापाथलीमा थियो। ट्राफिक प्रहरी भएर काम गर्न पाउँदा खुशी नै थिएँ। तर, सडकमा ओर्लिएपछि गाडीको चाप देखेर सुरुमा अत्यास लाग्यो। गाडीको बीच–बीच गएर काम गर्दा अप्ठ्यारो लाग्थ्यो। सवारी चालकले गल्ती गर्दा पनि कारबाही गर्न डर लाग्थ्यो। बिस्तारै सडकमा काम गर्ने बानी पर्दै गयो। 

घर कता पर्‍यो?
सोलुखुम्बु, तिङ्ला।

अध्ययन कहाँसम्म पुर्‍याउनुभयो?
प्लस टू सकाएँ। 

त्यसपछि पढ्नुभएन?
कामको सिलसिलामा विभिन्न ठाउँ जानुपथ्र्याे। बिहेपछि झन् जिम्मेवारी थपियो घरपरिवारको। त्यसैले पढ्न पाइएन। 

श्रीमान् के गर्नुहुन्छ?
उहाँ पनि नेपाल प्रहरीमा हुनुहुन्छ। 

परिवारमा अरू को हुनुहुन्छ?
हाम्रो १२ वर्षको एक छोरा छ।
 
घर कहिले जानुहुन्छ?
बिदामा जान्छु। 

छोराको याद आउँछ होला नि?
किन नआउनु? तर, दुवै जना जागिरे भएकाले छोरालाई दुई कक्षादेखि नै होस्टेलमा राख्यौँ। आफ्नो सन्तानलाई आफूबाट टाढा राख्न त को चाहन्छ र? तर के गर्नु, जागिर पनि खानैपर्‍यो !

सानैदेखि यही जागिर गर्ने सोच थियो? 
हो, मैले सानैदेखि नेपाल प्रहरीमा जागिर खाने सपना बुनेकी थिएँ। मेरा बुबा नेपाली सेनामा हुनुहुन्थ्यो। हामी चार दिदीबहिनी र भाइ सबै सुरक्षा सेवामा छाँै,  कोही प्रहरीमा त कोही सेनामा। घरको वातावरण त्यस्तै भएकाले होला। मलाई पनि प्रहरीमै जागिर गर्ने सोच पलायो।
 
यो एरियामा ड्युटी गर्न थालेको कति भयो?
एक वर्ष भयो।

यसअघि कहाँ हुनुहुन्थ्यो?
थापाथलीमा थिएँ। 

ड्युटी कति घण्टा गर्नुहुन्छ?
दिनमा १२ घण्टा। बिहान ७ बजे निस्किन्छु, बेलुका ७ बजे फर्किन्छु। राति दुईतीन घण्टा मापसे चेकिङ हुन्छ।

काम गर्न कत्तिको गाह्रो छ?
दिनभरि उभिएर काम गर्नुपर्छ। अलि–अलि गाह्रो त भइहाल्छ। तर, हाम्रो काम नै यही हो। गाह्रो माने काम कसरी गर्न सकिन्छ? गाह्रो मान्नुभएन।

जाडोमा ड्युटी गर्न झन् अप्ठ्यारो हुन्छ होला नि?
गर्मीको तुलनामा जाडोमा गाह्रो नै हुन्छ। तर, ट्राफिकका लागि हिउँद र बर्खा उस्तै हुन्। के साँझ, के बिहान, के झरी, के घाम । खुला आकाशमुनि चिसो–तातो हावा, धुलोधुवाँसँग काम गर्ने बानी भइसक्यो। 

महिला ट्राफिक प्रहरीलाई काम गर्न कत्तिको गाह्रो छ?
कहलेकाहीँ चालकले गल्ती गर्दा पनि उल्टै थर्काउने, धम्काउने गर्छन्। आफ्नो गल्ती स्वीकार गर्दैनन्। त्यो बेला महिला ट्राफिकले उनीहरूलाई उचित कारबाही गर्छन्। मेरो बुझाइमा पुरुष ट्राफिक प्रहरीभन्दा महिला ट्राफिक प्रहरीसँग चालक डराउँछन्।

भीआईपीहरू मापसे चेकिङमा पर्छन् कि नाइँ?
पर्छन् तर अहिलेसम्म मैले मापसे गर्दा चाहिँ भेटेकी छैन। 

गल्ती हुँदा स्वीकार गर्ने चालक कति भेट्नुभएको छ?
आफ्नो गल्ती स्वीकार गर्ने मान्छे भेट्नै मुश्किल छ। गल्ती नै नगरी हामी पनि कारबाही गर्दैनाँै नि ! कमै मान्छेले ‘मेरो गल्ती छ, के कारबाही हुन्छ?’ भनी सोध्छन्। अझ शिक्षित मान्छेले नियम मिचेको देख्दा कन्सिरी तात्छ। 

पैदल यात्रीले ट्राफिक नियम मान्छन्?
यो एरियामा पैदल यात्रीको पनि समस्या छ। कोही गाउँबाट भर्खर आएका हुन्छन् । कोही अशिक्षित हुन्छन्। उनीहरूलाई ट्राफिक नियमबारे ज्ञान हुँदैन। त्यस्तालाई सम्झाउने गर्छौं, मान्छन् पनि। तर, पढे–लेखेकाले पो नमानेर हैरान पार्छन्। उनीहरूलाई सम्झाउन पनि गाह्रो हुन्छ। मान्छेहरूले आफ्नो ज्यानको माया मारेर बीच सडकबाट बाटो काटेको देख्दा अचम्म लाग्छ। 

ट्राफिक व्यवस्थापनको लागि सवारी चालकलाई के सुझाव दिन चाहनुहुन्छ?
यात्रामा चाहिने कागजपत्र साथमा राख्नुहोस्। ओभर टेक नगर्नुहोस्। ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भनेजस्तै धैर्य गरी गाडी चलाउनुहोस्। 

प्रस्तुतिः उर्मिला स्याङ्तान

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि