‘ट्याक्सीलाई न सरकारको भर न पब्लिकको आदर’

writer

सम्पूर्ण

शनिबार, १० फागुन २०७६


हरिकृष्ण श्रेष्ठ,बा.२ ज ३७४३

मेरो जन्मथलो रामेछाप हो। ट्याक्सी चलाएको २० वर्ष भयो। अझै ड्राइभिङ पेशामा छु। ज्यानले साथ दिएसम्म यही पेशामा हुनेछु। कक्षा चारसम्म मात्र पढ्न पाएँ। स्कुल नजिक थिएन। परिवारको आर्थिक स्थिति पनि कमजोर थियो। २०४६ सालमा घरबाट कमाउनका लागि काठमाडौँ आएँ। होटलमा तीन वर्ष काम गरेँ। पछि त्यहाँ छोडेर ट्रकमा सहचालक भएर काम गर्न थालेँ। त्यहीँबाट हो, ड्राइभिङ सिकेको। आफूले जानेपछि सहचालकको काम गर्न मन लागेन। लाइसेन्स लिएर गाडी चलाउने सोच बनाएँ। लाइसेन्स बनाउन पनि नागरिकता चाहिने रहेछ। उमेर नपुगेकाले फेरि ट्रकमा सहचालक भएर काम गर्नुपर्‍यो। उमेर पुगेपछि नागरिकता बनाएँ। तर, मैले हेभी गाडीको लाइसेन्स पाइनँ। त्यसैले पाँच वर्ष ट्र्याक्टर चलाएँ। निवेदन गरेपछि लाइसेन्स पाएँ। त्यसपछि साहूको ट्याक्सी चलाउन थालेँ। ट्याक्सी पुरानो मोडलको थियो। भ्यालीबाहिर जान गाह्रो हुन्थ्यो। साहूलाई सात सय रुपैयाँ बुझाउनुपथ्र्यो। दुई वर्षजति काठमाडौँ, वसुन्धरातिर ट्याक्सी कुदाएपछि जोरपाटी रुटमा चलाउन थालेँ। अहिले साहूलाई दैनिक एक हजार रुपैयाँ दिनुपर्छ। कहिले दिनमा पाँचछ सय रुपैयाँ हुन्छ, कहिले हजारसम्म। हिजोआज खासै कमाइ हुँदैन। साहूलाई दिने भाडा उठाउनै हम्मे–हम्मे पर्छ। प्यासेन्जर नजिक भए मिटरमा जान खोज्छन्, टाढा हँुदा ‘मिलाऊ’ भन्छन्। 

दिनमा मात्र ट्याक्सी चलाउँछु, राति चलाउँदिनँ। डर लाग्छ। राति कोही ‘भाडा छैन’ भन्दै थर्काउछन्, कोही लुट्न खोज्छन्। यस्ता घटना थुप्रै पटक भइसके। एक पटक एक जना महिला बौद्धबाट बालाजु, न्युरोड–असन हुँदै ज्ञानेश्वरसम्म पुर्‍याउनू भन्दै चढिन्। मिटरमा हिँडेँ। १३ सय रुपैयाँजति उठ्यो। ज्ञानेश्वर पुगेपछि मेडिकल देखाउँदै ‘औषधि लिनु छ’ भन्दै गइन्। निकै बेर हुँदा पनि फर्किनन्। उनको झोला ट्याक्सीमा थियो। उनी नफर्केपछि झोला हेरँे। झोलामा के–के न होला भनेको त चार वटा इँटा पत्रिकाले बेरेर राखेको रहेछ। ट्वाँ परेँ। त्यस्ता मान्छे पनि आउँछन्। आजसम्म पैसा नदिई जाने धेरै जना भेटेको छु। ‘बस्दै गर, आउँछु’ भनेर जान्छन् तर फर्किंदैनन्। 

दैनिक व्यवहार चलाउनै गाह्रो भएको छ। ट्याक्सी डाइभरलाई हेय दृष्टिले हेर्छन्। बोलीमा कुनै सम्मान पाउँदिनँ। ट्याक्सी आवश्यक पर्नेले हात मात्र हल्लाउँदा पनि हामी बुझिहाल्छौं। तर, कतिपयले सीधै ‘ओई ट्याक्सी, यता आइज’ भन्छन्। यस्तो सुन्दा नराम्रो लाग्छ। हामीलाई न त सरकारले नै सम्मान गर्छ, न पब्लिकले। ट्याक्सीलाई न सरकारको भर, न पब्लिकको आदर ! हामी त चौतर्फी मारमा छौँ। सरकारलाई कर तिरिरहेका छौँ। अहिलेसम्म २०६८ सालको भाडामा चल्नुपर्ने बाध्यता छ। वर्षमा चारपाँच लाख सवारीसाधन भित्रिन्छन्। साँघुरो बाटोमा कति सवारीसाधन थपेका होलान् ! बाटो पनि खाल्टाखुल्टी। पार्किङ व्यवस्थाको कुरै नगरे हुन्छ। परिवार पाल्न, छोराछोरीलाई पढाउन एकदमै गाह्रो भएको छ।

प्रस्तुतिः उर्मिला

तपाईको कमेन्ट

मुख्य समाचार