जुत्ता उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल

writer

नवीन अर्याल

शुक्रबार, २५ फागुन २०७४


स्वदेशी जुत्ताप्रति उपभोक्ताको धारणा परिवर्तन भएको छ। नेपाली उपभोक्ताले स्वदेशी ब्रान्डमै जुत्ताका डिजाइन खोज्न थालेका छन्। नेपाली ब्रान्ड भन्नेबित्तिकै नाक खुम्चाउने जमाना रहेन। स्वदेशी जुत्तामा विश्वास बढ्दैछ। जुत्ताका ब्रान्ड (उद्योग) पनि थपिँदै गइरहेका छन्। स्वदेशी जुत्ता उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी भइसकेको बताउँछन्, छाला जुत्ता उत्पादक संघका पूर्वअध्यक्ष होमनाथ उपाध्याय।

 


नेपालमा अहिले वार्षिक छ करोड जोर जुत्ता–चप्पल खपत हुने गरेको संघको अनुमान छ। वार्षिक कारोबार ३० अर्ब रुपैयाँ नाघ्छ। उपाध्यायका अनुसार कुल खपतमध्ये झण्डै ६० प्रतिशत योगदान स्वदेशी ब्रान्डको छ। स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका जुत्ता–चप्पल उत्पादन हुन थालेपछि बजार पनि बढिरहेको छ। उद्योग पनि थपिँदै गइरहेका छन्।

 

 विदेशी चर्चित ब्रान्डको लोगो टाँसेर जुत्ता बिक्री गर्ने उद्योगीहरू आफ्नै मौलिक ब्रान्डिङमा जुटेका छन्। ‘अहिले दुई हजारभन्दा बढी उद्योग दर्ता छन्, उत्तिकै संख्यामा दर्ता नभएका उद्योग छन्,' उपाध्याय भन्छन्, ‘जुत्ता उद्योगबाट एक लाखले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन्।' अप्रत्यक्ष रोजगारी पाउनेको संख्या अझ धेरै छ।

नेपाल जुत्ता–चप्पलमा आत्मनिर्भर उन्मुख छ।नेपालमा व्यावसायिक जुत्ता उत्पादनको पाँच दशक लामो इतिहास छ। चिनियाँ सहयोगमा २०२२ सालमा बाँसबारी छालाजुत्ता कारखाना खुलेपछि आधुनिक र व्यावसायिक रूप लिएको हो। त्यसअघि एउटा समुदाय विशेषले परम्परागत रूपमा छाला प्रशोधन गरेर जुत्ता बनाउँथ्यो, साहु–महाजन लगाउँथे। यो काम परापूर्व कालदेखि चल्दै आएको थियो।

 


बाँसबारी कारखानामा सोल उत्पादन हुन्थ्यो। छाला पनि कारखानामै प्रशोधन हुन्थ्यो। सेना, प्रहरी, विद्यार्थी, कर्मचारी सबैका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल उत्पादन हुन्थ्यो। मुलुकले आर्थिक उदारीकरण अंगीकार गरेपछि निजीकरण गरिएको उद्योग अन्नतः बन्द भयो। बन्द भए पनि बाँसबारी कारखाना अहिले पनि उत्तिकै चर्चित छ।

 


बाँसबारी कारखाना त बन्द भयो तर स्वदेशी छाला जुत्ताको दरिलो आधार खडा गरिदियो। त्यही उद्योगका कामदार, डिलर तथा एजेन्सी धमाधम उद्यमी बन्न थाले। अधिकांश जुत्ता उद्योगका मालिक बाँसबारी कारखानाका पुराना कर्मचारी हुन्। बाँसबारी निजीकरण भएपछि लेदर विंग्स, फिटराइट, कसमस, गोल्डस्टारलगायत उद्योग खुले। शिखर सुज २०५२ सालदेखि बजारमा आयो। क्रमशः निजी लगानीका उद्योग खुल्दै जान थाले।

छाला जुत्तामा स्वदेशी ब्रान्ड अग्रणी छन्। स्कुल, कलेज र युनिफर्मको जुत्तामा नेपाल करिब आत्मनिर्भर भइसकेको छ।पार्टी सुजमा पनि नेपाली ब्रान्ड नै चल्न थालेको छ।


नेपाली जुत्ताको इतिहास पाँच दशक लामो भए पनि उद्योगहरू फस्टाउन थालेको डेढ दशक भयो। छाला जुत्ता उत्पादक संघका पूर्वअध्यक्ष उपाध्यायका अनुसार स्वदेशी जुत्ता उद्योग फस्टाउन थालेको २०६१÷०६२ सालपछि हो। त्यसअघि जुत्ता उद्योग जेनतेन टिकेका थिए। सस्तो मूल्यका चिनियाँ जुत्ताको बिगबिगी थियो। नेपालमा जुत्ता उद्योग खुल्थे, बन्द भइहाल्थे। जेनतेन चलेका उद्योग विदेशी ब्रान्डको लोगो टाँसेर जुत्ता बिक्री गर्न बाध्य थिए।

 

ब्रान्डिङ गर्न सकेका थिएनन्। ‘२०६५ सालदेखि मात्र स्वदेशी जुत्ता–चप्पल उद्योगको बाढी आउन थालेको हो,' उनी भन्छन्। अहिले सबैजसो उद्योगले आफ्नै ब्रान्डमा जुत्ता–चप्पल उत्पादन गरिरहेका छन्।‘चीनबाट यति सस्तो रेग्जिन जुत्ता आउँथ्यो कि हाम्रो लेबर कस्टमा जुत्ता नै पाइन्थ्यो,' उपाध्याय भन्छन्, ‘सस्ता र आकर्षक जुत्तासँग टिक्न स्वदेशी ब्रान्डलाई गाह्रो भयो।' चीनबाट ब्रान्डेड लोगो राखेर सस्ता जुत्ताहरू आउँथे।

 

राम्रो प्रविधिका कारण जुत्ता पनि आकर्षक हुन्थे। नेपालीे एक जोर जुत्ता आउने पैसाले चिनियाँ दुई जोर जुत्ता पाइन्थ्यो। भारतबाट पनि सस्तो मूल्यमै जुत्ता–चप्पल आउँथे। यही कारण नेपाली उद्योगले पनि विदेशी ब्रान्डको लोगो हालेर जुत्ता बिक्री गर्नुपरेको बताउँछन्, उपाध्याय। ‘हामीले पनि धेरै वर्ष विदेशी ब्रान्डको लोगो टाँसेर जुत्ता बिक्री गर्‍यौँ,' उपाध्याय सुनाउँछन्, ‘नेपाली जुत्ता भनेर बिक्री गर्न सकिँदैनथ्यो। पसलेले पनि नेपाली जुत्ताहरू बिक्री गर्न मान्दैनथे।' शिखर सुजकी निर्देशक संगीता कडरियाका अनुसार सुरुवातमा विदेशी ब्रान्डमा जुत्ता बनाएर पसल–पसलमा पुग्नुपथ्र्यो। जुत्ता बिक्री भएपछि मात्र पसलेले पैसा दिन्थे। 


मेलाले ब्रान्डिङ


नेपाली जुत्ता–चप्पलप्रति उपभोक्ताको विश्वास दिलाउन मेला/महोत्सवले महत्वपूर्ण भूमिका खेल्यो। व्यवसायीले बर्सेनि मेला आयोजना गरी स्वदेशी जुत्ता–चप्पलको ब्रान्डिङ गरे। उद्योगीले ब्रान्डिङका लागि मोटो रकम खर्चिन थाले। आकर्षक विज्ञापन बनाएर टीभी, रेडियो र पत्रिकामा प्रचार गर्न थालियो।

 

मेलामा प्रतिष्ठित व्यक्तिलाई निमन्त्रणा गर्दै स्वदेशी ब्रान्डको प्रचार गर्ने काम भयो। मेला अवलोकन गर्न आउनेले जुत्ता–चप्पल किनेर फर्किन थाले। बिस्तारै चीनका रेग्जिन जुत्ता लगाउनेको ध्यान स्वदेशी छाला जुत्तामा मोडिन थाल्यो।२०५७ सालमा संघ स्थापना भएपछि मेला आयोजना हुन थालेको हो। संघ मेलामार्फत स्वदेशी ब्रान्ड प्रवद्र्धनमा जुट्यो। उपाध्यायका अनुसार २०६० सालपछि स्वदेशी ब्रान्डमै जुत्ता–चप्पल उत्पादन सुरु भयो।

 

चीनबाट ब्रान्डेड लोगोमा भित्रिने सस्तो मूल्यका स्यान्डलको बिगबिगी छ। नेपाली उद्यमीले पनि विदेशी ब्रान्डको लोगो लगाएर लेडिज जुत्ता र स्यान्डल बिक्री गरिरहेका छन्।

ओरिजिनल छाला जुत्तामा मात्र प्रयोग गर्ने गरी होलोग्राम बनाइयो। नेपाली जुत्तामा छ महिनाको वारेन्टी दिन थालियो। बिस्तारै नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उपाध्याय बताउँछन्।छाला जुत्तामा स्वदेशी ब्रान्ड अग्रणी छन्। स्कुल, कलेज र युनिफर्मको जुत्तामा करिब आत्मनिर्भर भइसकेको उपाध्यायको भनाइ छ। पार्टी सुजमा पनि नेपाली ब्रान्ड नै चल्न थालेको छ। ‘चीनबाट आउने छाला जुत्ताभन्दा नेपाली जुत्ता सस्तो पनि पर्छ,' उनी भन्छन्, ‘चिनियाँ छाला जुत्ताको तीन हजार, ३५ सय पर्छ। नेपाली जुत्ता १५ सय, दुई हजारमै पाइन्छन्। र, छ महिनाको वारेन्टी पनि पाइन्छ।'


स्पोट्र्स सुज चिनियाँ र तेस्रो मुलुकबाट बढी भित्रिन्छन्। नेपालमा उत्पादित स्पोट्र्स सुजले अझै उपभोक्ताको विश्वास जित्न नसकेको देखिन्छ। स्पोट्र्स सुजको एउटा बजार गोल्डस्टार ब्रान्डले लिएको छ। अरू उद्योगले पनि स्पोट्र्स सुज उत्पादन गरिरहेका छन्। तर, पनि नेपालमा महँगो मूल्यका स्पोट्र्स सुज विदेशबाटै भित्रिन्छन्। गोल्डस्टारको सबैभन्दा ठूलो बजार भारत हो। नेपाली गोल्डस्टार भारतमा निकै लोकप्रिय छ।

 

इनडोर लगाउने मखमलका जुत्ता चप्पल पनि नेपालबाट निर्यात हुने गरेको छ। अझै पनि स्वदेशी लेडिज जुत्ता तथा स्यान्डलले उपभोक्ताको विश्वास जितेको देखिँदैन। चीनबाट ब्रान्डेड लोगोमा भित्रिने सस्तो मूल्यका स्यान्डलको बिगबिगी छ। नेपाली उद्यमीले पनि विदेशी ब्रान्डको लोगो लगाएर लेडिज जुत्ता र स्यान्डल बिक्री गरिरहेका छन्। नेपाली लेडिज स्यान्डल भन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति अझै छ।

 


अझै पनि विदेशबाट जुत्ता–चप्पलको आयात उच्च छ। स्वदेशी जुत्ता र विदेशी जुत्ताको खपत समान्तर बढिरहेको देखिन्छ। जुत्तामा पूर्ण आत्मनिर्भर बन्न सकिँदैन। तर, ८० प्रतिशतसम्म आत्मनिर्भर बन्न सकिन्छ। उपाध्यायका अनुसार बोर्डरमा चोरी पैठारी हुन्छ। कच्चा पदार्थ भित्र्याउँदा चर्को भन्सार तिर्नुपर्छ। दक्ष जनशक्ति छैनन्, ट्रेनिङ स्कुल पनि छैनन्। सरकारले सहयोग गरेमा आत्मनिर्भर उन्मुख हुन सकिने व्यवसायी बताउँछन्। 

तपाईको कमेन्ट

मुख्य समाचार