शहरका लागि पानी जुटाउँदै दुई तन्नेरी

सुमित सुवेदी
शनिबार, १० फागुन २०७६
‘बेस्ट पानी’ले आकाशे पानी संकलन गर्ने, शुद्ध गर्ने र त्यसलाई खानयोग्य बनाउने काम गर्छ। साझेदार गोकुल र साजलले काठमाडौँमा रहेको पानीको अभावलाई कम गर्न यो जुक्ति निकालेका हुन्।
‘तिमी विदेश जाऊ, नेपालमा काम गर्न सक्दैनौ।’
‘भाइ, झोला बोक्नुस्, पासपोर्ट बोक्नुस, विदेश लाग्नुस्। नेपालमा काम गरेर केही फाइदा छैन।’
काठमाडौँ, काभ्रेस्थलीका गोकुल दंगललाई धेरैले विदेश जान सुझाउँथे। तर, उनले भने नेपालमै केही गर्ने अठोट लिएका थिए।
सन् २०१५ मा उनले साजल प्रधानसँग मिलेर ‘बेस्ट पानी’ कम्पनी खोले। यस कम्पनीले पानीको व्यवस्थापन गर्ने गर्छ। आकाशे पानीलाई संकलन गर्ने, शुद्ध गर्ने काम गर्छ। ‘पानी नभएको ठाउँमा पानीको व्यवस्था गर्छौं,’ गोकुल भन्छन्, ‘संकलन गरिएको आकाशे पानीलाई सिस्टमेटिक रूपमा खानयोग्य बनाउँछौँ। खेर गइरहेको पानीको सदुपयोग गर्छौं।’
अभावले फुरेको ‘आइडिया’
गोकुलले भारतबाट ‘ह्वाइट वाटर म्यानेजमेन्ट’ भन्ने विषय अध्ययन गरेका हुन्। पढाइ सकेर सन् २००७ मा उनी नेपाल फर्किए। ‘यहाँ आउँदा पानीको धेरै समस्या देखेँ,’ ३५ वर्षीय उनी सम्झन्छन्, ‘काठमाडौँमा सहज रूपमा पानी पाइरहेको मान्छे भेट्न मुश्किल पर्यो।’ त्यतिबेला गोकुल २२ वर्षका थिए। काठमाडौँ उपत्यकामा पानीको अभाव देखेर उनलाई आइडिया फुर्यो, पानी क्षेत्रमा काम गर्ने। ‘उपत्यकावासीलाई सहज रूपमा पानी उपलब्ध गराउने जोश चल्यो,’ उनी भन्छन्। त्यसका लागि उनी अवलोकन गर्न थाले। ‘मैले पाँच सयजति घरको सर्भे गरेँ,’ उनी सुनाउँछन्, ‘कुनै पनि घरका मान्छेले ‘पानीमा समय दिनुपर्दैन’ भनेको पाइनँ।’ काठमाडौँवासीले भोगिरहेको पानी अभावको समस्यालाई उनले अवसरमा परिणत गर्ने सोच बनाए। पानीको व्यवसाय गर्ने योजना बुने।
त्यतिबेला काठमाडौँमा खानेपानीका लागि घण्टौँ कुर्नुपर्ने अवस्था थियो। उपत्यकाबाहिर विभिन्न जिल्लामा एक गाग्री पानी भर्न लामो दूरी तय गर्नुपर्ने अवस्था थियो। ‘शहरमा पानीको हाहाकार’, ‘पानीको अभाव’ जस्ता शीर्षकका समाचार पढेर गोकुल निकै दुःखी हुन्थे। ‘नेपालमा पानीको ठूलो समस्या रहेको महसुस भयो,’ उनी सम्झन्छन्, ‘देशले समस्या भोगिरहेका बेला विदेश गएर काम छैन। बरु, देशमै केही गर्नुपर्छ भन्ने लाग्यो।’
आकाशे पानी संकलन
गोकुलले वर्षाको पानी संकलन गरेर खानयोग्य बनाउने सोच बनाए। आफूजस्तै युवा साथी खोजेर उनले काम गर्न टिम तयार पारे। ‘हामीसँग पैसा थिएन, अफिस थिएन,’ उनी भन्छन्, ‘काम गर्ने जोश र जानकारी मात्र थियो।’ उनीहरूले काम सुरु गर्दा कसैले पनि पत्याएनन्। सुरुमा टिमले निःशुल्क काम गर्यो। ‘दुईचार घरमा सामान जुटाइदिनुहोस्, हामी तपाईंलाई निःशुल्क स्वच्छ पानी खुवाउँछौँ भन्यौँ,’ उनी सुनाउँछन्, ‘धेरैले हामीलाई पत्याएनन्। कोही–कोहीले मात्र साथ दिए।’
उनीहरूको काम सफल भए÷नभएको बर्खा लागेपछि मात्र थाहा भयो। ‘वर्षा भएपछि हाम्रो सिस्टमले काम गर्यो,’ गोकुल भन्छन्, ‘हामीले सिस्टम जडान गरेका घरका मान्छे खुशी भए। उनीहरूले नै हाम्रो मार्केटिङ गरिदिए। उनीहरूले अरूलाई पनि स्वच्छ पानीका लागि सिस्टम जडान गर्न सुझाउन थाले।’ सन् २०१० मा एउटा अंग्रेजी पत्रिकाले उनीहरूको कामबारे छाप्यो। ‘त्यो लेख छापिएपछि धेरैले हाम्रो कामबारे थाहा पाए,’ उनी भन्छन्, ‘त्यसपछि काम भटाभट आउन थाले।’
त्यस समयसम्म पनि उनीहरूको अफिस थिएन। कामलाई व्यवस्थित गर्न सन् २०११ मा साथीहरूसँग मिलेर एउटा कम्पनी खोले– ‘स्मार्ट पानी’। त्यसमा चार जना पार्टनर थिए। धेरै जना साझेदार भएकाले बेला–बेलामा विमति हुने उनी बताउँछन्। त्यस कम्पनीमार्फत उनले चार वर्षसम्म काम गरे।
साजलसँग भेट
सन् २०१५ मा गोकुलको भेट साजलसँग भयो। उनी अमेरिकाबाट पढेर फर्किएकी थिइन्। ‘काठमाडौँको हुर्किएकी मलाई अमेरिका पुग्दा त्यहाँको सिस्टम निकै मन पर्यो,’ उनी भन्छिन्, ‘नेपालको अस्तव्यस्त राजनीतिक अवस्थामा हुर्केकी मलाई त्यहाँको परिवेश निकै भिन्न लाग्यो।’
काठमाडौँमा पानीको अभावमा हुर्केकी उनलाई धाराको पानी सीधै खान मिल्छ भन्दा नौलो लाग्यो। ‘काठमाडौँको पानी कपडा धुँदा पनि सेतो कपडा रातो हुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘त्यहाँ त धाराको पानी पनि सीधै गिलासमा थापेर खान मिल्दो रहेछ।’ त्यो देख्दा साजललाई ‘नेपालमा धेरै कुरा परिवर्तन हुन आवश्यक रहेछ’ भन्ने महसुस भयो। तर, कसरी ? उनले सोचेकी थिइनन्। उनी नेपाल फर्किइन्। काठमाडौँ विश्वविद्यालयमा दिगो विकास पढ्न थालिन्। त्यसै समयमा उनको गोकुलसँग भेट भयो। ‘गोकुल सरलाई पहिल्यै चिनेकी थिएँ,’ उनी भन्छिन्, ‘उहाँको कामबारे थाहा थियो। आइडिया मलाई निकै मन पर्यो।’
‘व्यवसायमा दुई कुरा आवश्यक हुन्छन्,’ गोकुल भन्छन्, ‘एक, काम राम्रो गर्नुपर्छ। दोस्रो, सञ्चार राम्रो हुनुपर्छ। म टेक्निकल फिल्डमा राम्रो छु। साजल कम्युनिकेसनमा पोख्त छिन्।’ त्यसैले आफूहरूको साझेदारी राम्रो जमेको उनी बताउँछन्। ‘साजललाई मार्केटिङदेखि कार्यालय व्यवस्थापनसम्म सबै काम राम्रोसँग आउँछ,’ उनी भन्छन्, ‘‘केटाले मात्र व्यवसाय गर्न सक्छ, केटीले सक्दैनन्’ भन्नेहरूको मुख बन्द गर्न सक्ने क्षमता साजलसँग छ।
‘बेस्ट पानी’
गोकुल र साजलले मिलेर सन् २०१५ मा ‘बेस्ट पानी’ कम्पनी खोले। यसले पानी नभएको ठाउँमा पानीको व्यवस्था गर्छ। आकाशे पानीलाई व्यवस्थित तरिकाले संकलन गर्छ, त्यसलाई खानयोग्य बनाउँछ। अहिले बेस्ट पानीले ३० वटाभन्दा बढी जिल्लामा सेवा दिइरहेको छ। ‘वर्षा नेपालमा जतासुकै हुन्छ,’ गोकुल भन्छन्, ‘यति मात्र हो, कतै धेरै पर्ला, कतै थोरै।’
‘बर्सातको पानी थाप्नेबित्तिकै खानयोग्य हुँदैन,’ उनी थप्छन्, ‘एक त हावामा फोहोर हुन्छ, त्यस्तै पानी संकलन गर्ने छत पनि फोहोर हुन्छ।’ उनीहरूले पहिले परेको पानीलाई फाल्छन्। ‘हाम्रो सिस्टममा पहिले परेको पानी बाहिर जान्छ,’ उनी भन्छन्, ‘त्यसपछिको पानीलाई हामी फिल्टरमा लैजान्छौँ। त्यो पानी रिजर्भ ट्यांकीमा जम्मा हुन्छ। यस पानीले नुहाउन र कपडा धुन मिल्छ तर खान मिल्दैन। खानेपानीका लागि पुनः त्यस पानीलाई माइक्रो फिल्टरमा हालिन्छ। त्यसबाट आएको पानी शुद्ध हुन्छ।’ यसरी आएको पानीमा अक्सिजनको मात्रा एकदमै धेरै हुने उनी बताउँछन्। भन्छन्, ‘आकाशे पानीमा अक्सिजनको मात्रा धेरै हुन्छ भने खनिजको मात्रा एकदमै कम हुन्छ।’
जार र बोतलको पानीमा रसायनको मात्रा बढी हुने र बर्खे पानी खाँदा रसायन खानुनपर्ने उनी बताउँछन्। ‘यसरी निकालिएको पानी शुद्ध हुन्छ,’ उनी भन्छन्। बेस्ट पानीले काठमाडौँबाट काम गरिरहेको छ। ‘‘पानी चाहियो ?’ भनेर ग्राहक खोज्न जानुपरेको छैन,’ साजल भन्छिन्, ‘ग्राहक आफैँ ‘हामीलाई पानी चाहियो’ भनेर खोज्दै आउँछन्।’ बेस्ट पानीमार्फत अहिले लाखौँ मानिसले सेवा लिएको उनी बताउँछिन्। ‘यो हाम्रो चेन बिजनेस हो,’ उनी भन्छिन्, ‘एउटा घरमा बनाइयो भने त्यसले चारपाँच जना अरूलाई पनि आकर्षित गर्छ।’
‘यसमा एक पटक लगानी गरे पुग्छ,’ गोकुल थप्छन्, ‘एक पटक सिस्टम जडान गरेपछि खाने, खाना पकाउनदेखि अन्य प्रयोजनका लागि यसै पानीले पुग्छ। अन्य पानी किन्नुपर्दैन।’
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७