सिटीमाथि यूईएफएको प्रतिबन्ध

writer

सम्पूर्ण

बिहिबार, ०८ फागुन २०७६


इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपेली फुटबल महासंघ (यूईएफए) ले अबको दुई वर्षभित्र आयोजना गर्ने कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएको छ। यूईएफएले युरोपेली क्लबबीच च्याम्पियन्स लिग, युरोप लिगलगायत प्रतियोगिता आयोजना गर्दै आएको छ। दुई वर्षको प्रतिबन्धमा परेको सिटीले अब यी कुनै पनि प्रतियोगिता खेल्न पाउनेछैन। 

युनाइटेड अरब इमिरेट्सका धनाढ्यहरूको समूह सिटी फुटबल ग्रुपको लगानी रहेको सिटीले आर्थिक पारदर्शिता र क्लब इजाजतसम्बन्धी नियम उल्लंघन गरेको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको हो। सिटी फुटबल ग्रुपको माउ संस्था आबुधाबी युनाइटेड ग्रुपले थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राबाट सन् २००८ मा यस क्लबलाई लिएको थियो। 

सन् २०१२ देखि २०१६ सम्म प्रायोजकमार्फत क्लबले गरेको आम्दानीको विवरण नदिएको र अनुसन्धानमा असहयोग गरेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाइएको हो। सिटीले भने यो प्रतिबन्धविरुद्ध खेलसम्बन्धी अन्तर्राष्ट्रिय अदालत ‘कोर्ट अफ आर्बिटेसन’मा अपिल गर्ने जनाएको छ। सिटीले प्रतिबन्धलाई पूर्वाग्रही पनि भनेको छ।

इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन सिटीले प्रिमियर लिगमै रहनका लागि ३ करोड २५ लाख अमेरिकी डलर पनि जरिवाना तिर्नुपर्नेछ। यो जरिवाना नतिरे उसले प्रिमियर लिग पनि खेल्न नपाउने यूईएफएको निर्णय छ।

यूईएफएसँगै प्रिमियर लिगको नियामक निकायले पनि सिटीमाथि अनुसन्धान गरिरहेको थियो। तर, प्रिमियर लिगले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन।

प्रिमियर लिगको निर्णय पनि यूईएफएको जस्तै आए सिटीका खेलाडी र प्रशिक्षकको भविष्य के हुने भनेर अन्योल बढेको छ। प्रिमियर लिगले कुनै कारबाही गरेन भने पनि सिटीका स्टार खेलाडीले सिटी छाड्ने सम्भावना छ, किनकि धेरै खेलाडीले च्याम्पियन्स लिग खेल्ने सपना देखेका हुन्छन्। त्यो सपना पूरा नहुने भएपछि उनीहरूले सिटी छाड्न सक्छन्। 

प्रशिक्षक पेप ग्वार्डिओलाले भने क्लब अहिले संकटमा रहेको भन्दै आफूले साथ नछाड्ने बताएका छन्। स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखमा सफल कार्यकाल बिताएका ग्वार्डिओला चार वर्षअघि सिटी आएका थिए। 

तपाईको कमेन्ट

मुख्य समाचार