केके भएका थिए इतिहासमा यो साता ?

writer

सम्पूर्ण

बिहिबार, ०८ फागुन २०७६


फेब्रुअरी २०

भारतीय उपमहाद्वीपबाट बेलायत फर्किने बेलामा पाकिस्तान र भारतलाई एकसाथ स्वतन्त्रता दिने सहमति भएको थियो। धर्मका आधारमा भएको सो विभाजनले ठूलो रक्तपात निम्त्याउने आकलन सर्वत्र गरिएको थियो। त्यसैले सो विभाजन गराउने जिम्मेवारी ग्रहण गर्न बेलायती अधिकारीहरूले आनाकानी गर्दै आएका थिए। यस्तोमा लुइस माउन्टबेटन नाम गरेका बेलायती अधिकारीले यसको जिम्मेवारी ग्रहण गरेका थिए। उनी सन् १९४७ को फेब्रुअरी २० मा भारतको अन्तिम भाइसराय नियुक्त भएका थिए। उनकै पालामा भारत र पाकिस्तान स्वतन्त्र भएका थिए। उनी भारतीय उपमहाद्वीपमा छँदै नवस्वाधीन भारत र पाकिस्तानबीच युद्ध भएको थियो। विभाजनको जटिल अवधिमा पनि परिपक्व भूमिका निर्वाह गरेको भन्दै भारत र पाकिस्तानमा माउन्टबेटनको स्मरण अझै गर्ने गरिन्छ। 

फेब्रुअरी २१

सन् १९५५ मा अमेरिकाले भियतनाममा कम्युनिस्टहरूको उदय रोक्न सैन्य हस्तक्षेप गरेको थियो। कम्युनिस्टबहुल भियतनामको उत्तरी क्षेत्रमा उसले हमला केन्द्रित गरेको थियो। यस क्रममा उसले दक्षिण भियतनाम, लाओसलगायत क्षेत्रमा कठपुतली प्रशासन चलाएको थियो। अमेरिकी नीतिबमोजिम त्यतिबेला भियतनाम उत्तर र दक्षिण गरी दुई टुक्रामा व्यवहारतः विभाजित थियो। दक्षिण भियतनामको सरकारलाई अघि लगाएर अमेरिकाले उत्तर भियतनामविरुद्ध गरेको युद्ध लम्बिँदै गएपछि उसले आफ्नै सेना पठाएर हमला गरेको थियो। तर, पनि युद्ध अमेरिकाको पक्षमा गएन। युद्ध लम्बिँदै जाँदा युद्धका क्रममा अमेरिकाले गरेको ज्यादतीका विवरण सार्वजनिक हुन थाले। त्यसपछि अमेरिकाभित्रै युद्धविरोधी जनमत प्रबल बन्दै गयो। यसबाट दबाब महसुस गरेपछि उसले युद्धबाट फिर्ता हुने मनस्थिति बनायो। र, यसैका लागि उसले सन् १९७० को फेब्रुअरी २१ मा उत्तर भियतनामका प्रतिनिधिहरूसँग गोप्य रूपमा वार्ता आरम्भ गर्‍यो। त्यसको पाँच वर्षपछि सन् १९७५ मा अमेरिकी सेना भियतनामबाट फर्कियो।

फेब्रुअरी २२

सन् १९७४ को फेब्रुअरीमा अमेरिकाका मिडिया व्यवसायी रेन्डोल्फ हेस्र्टकी नातिनी प्याट्रिसिया क्याम्पबेल हस्र्ट लाई ‘सिम्बायोनिज लिबरेसन आर्मी’ले अपहरण गरेको थियो। सानो संगठन भएको अमेरिकी वामपन्थी समूहले फिरौतीबापत अमेरिकाको लस एन्जलस र सान फ्रान्सिस्कोका भोकग्रस्त झुपडपट्टीमा २० लाख अमेरिकी डलरबराबरको खाद्यान्नलगायत राहत बाँड्न भनिएको थियो। अपहरणकारीको मागबमोजिम ती ठाउँका गरिब बस्तीमा फेब्रुअरी २२ मा खाद्यान्न वितरण गरिएको थियो। धनी पुँजीपतिहरूले गरिबको रोजीरोटी खोसेर आफू मात्र अघाउने व्यवस्था निर्माण गरेको भन्दै यसको विरोधमा सो समूहले अमेरिकाका ठूला मिडिया व्यवसायीकी विवाहित छोरीको अपहरण गरेको थियो। फिरौतीबापत बाँडिएको खाद्यान्न लिँदा सुरक्षाकर्मीको तारोमा परिने डरले झुपडपट्टीका कतिपय गरिब खाद्यान्न लिन डराएका थिए। 

फेब्रुअरी २३

सन् १९५४ को फेब्रुअरी २३ मा अमेरिकामा जनस्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको थियो। संसारभै पहिलो पटक अमेरिकाबाट पोलियो खोप अभियान सुरु भएको थियो। अमेरिकी राज्य पेन्सिलभानियाको पिट्सबर्ग शहरस्थित आर्सनल इलिमेन्टरी स्कुलमा पढ्ने केटाकेटीलाई पोलियो खोप दिइएको थियो। त्यसपछि अमेरिकाका अन्य क्षेत्र र अन्य मुलुकमा पनि बालबालिकालाई पोलियो खोप दिन सुरु गरिएको थियो। यस्तो खोपले संसारभरिका करोडौँ बालबालिका अपांग हुनबाट जोगिएका थिए। सुरुमा पोलियो खोप सशुल्क दिइयो भने पछि यसलाई संसारभरि निःशुल्क दिन थालियो। 

फेब्रुअरी २४

सन् १९७२ को फेब्रुअरी २४ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन चीन भ्रमणका क्रममा ‘ग्रेट वाल अफ चाइना’ पुगेका थिए। त्यहाँबाट उनले चीन र अमेरिकाबीचको मित्रता प्रगाढ बनेको घोषणा गरेका थिए। निक्सनको सो भ्रमणलाई सारा संसारले चासोपूर्वक हेरेको थियो। भ्रमणअघि निक्सन चीनका प्रखर आलोचक थिए। उनले पटक–पटक चीनको ‘ग्रेट वाल’सहित मानवलाई विभाजन गर्ने हरेक पर्खाल भत्काउनुपर्ने बताएका थिए। त्यत्तिकैमा तत्कालीन सोभियत संघ र चीनबीच विवाद चर्कियो। सोभियत संघले चीनविरुद्ध भारतसँग साझेदारी गर्‍यो। त्यही मौका छोपेर राष्ट्रपति निक्सनले चीनसँग मैत्रीको हात बढाए। यही प्रयोजनका लागि चीन भ्रमणका क्रममा उनी ‘ग्रेट वाल’ पुगेका थिए।     

फेब्रुअरी २५

सन् १९४८ को फेब्रुअरी २५ मा पूर्वी युरोपको राष्ट्र चेकोस्लोभाकियामा कम्युनिस्ट शासन सुरु भएको थियो। दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि तत्कालीन सोभियत संघले जर्मनीको पूर्वी क्षेत्रमा कम्युनिस्ट शासन लागू गर्‍यो। त्यसबाट जर्मनीसँग सीमा जोडिएको चेकोस्लोभाकियाका कम्युनिस्टहरूको हौसला बढ्यो। उनीहरूले चेकोस्लोभाकिया सरकारविरुद्ध आन्दोलन गरी ठूलो दबाब सिर्जना गरे। सोभियत संघले पनि चेकोस्लोभाकिया सरकारमाथि दबाब सिर्जना गरेपछि त्यहाँका राष्ट्रपति एडवर्ड बिनिसले सत्ताबाट हटेर शासन सञ्चालन गर्न कम्युनिस्टलाई खुला छोडिदिए। त्यसपछि त्यहाँ सुरु भएको कम्युनिस्ट शासन सोभियत संघ विघटन नभएसम्म जारी रह्यो। 

फेब्रुअरी २६

सन् १९९३ को फेब्रुअरी २६ मा इस्लामिक चरमपन्थीहरूले अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमाथि विष्फोट गराएका थिए। विष्फोटक पदार्थ लादिएको कार कुदाउँदै चरमपन्थीहरू वल्र्ड ट्रेड सेन्टर पुगेका थिए। कारमा टाइम बम राखेर यसलाई वल्र्ड ट्रेड सेन्टरको पार्किङमा राखेर उनीहरू निस्किएका थिए। त्यसपछि भएको विष्फोटले सेन्टरका केही तलामा क्षति पुगेको थियो। विष्फोटमा परी छ जना मानिसको मृत्यु भयो। घटनामा संलग्न चार जना चरमपन्थीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेलाको हमला अपेक्षाकृत असफल भएको ठहर गर्दै चरमपन्थी संगठन अल कायदाले सन् २००१ मा वल्र्ड ट्रेड सेन्टरमाथि अर्को भीषण हमला गर्‍यो। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि