के छ त्यस्ताे तपाेवनमा ?

writer

सृजना खड्का

शुक्रबार, २८ मङि्सर २०७५


काठमाडौँ : बालाजु चोकबाट करिब छ किलोमिटर जंगलैजंगलको बाटो लागेपछि नागार्जुन हिलमा रहेको ‘ओशो तपोवन’ आउँछ। यसलाई ‘इन्टरनेसनल कम्युन’ पनि भन्ने गरिएको छ। गएको शुक्रबार बेलुका र शनिवार दिनभरि तपोवनभित्र भएका विभिन्न गतिविधि यसपालिको ‘सम्पूर्ण’ मा जस्ताको तस्तै प्रस्तुत गरिएको छ। 

शुक्रबार, साँझ ४ बजे
हरियो गेटबाट तपोवन छिरिन्छ। गेटमा ठूलो अक्षरमा नेपालीमा ‘ओशो तपोवन’ र अंग्रेजीमा ‘इन्टरनेसनल कम्युन’ लेखिएको छ। गेटको छेउमा एउटा सूचना छ। लेखिएको छ– ‘आश्रम क्षेत्रभित्र धूम्रपान, मद्यपान, ननभेज निषेधित छ। आश्रम परिसर स्वच्छ, पवित्र र शान्त राख्न अनुरोध छ। आश्रम क्षेत्रभित्रका बोटबिरुवा, चराचुरुंगी, फलफूलप्रति समादर राख्न अनुरोध छ।’

गेटभित्र छिर्नेबित्तिकै ‘वेलकम लाउन्ज’ आउँछ। त्यहाँ चार जना युवती बसेका छन्। उनीहरू सबै मरुन कलरको गाउन र मरुन कलरकै ऊनीको टोपीमा छन्। उनीहरू पाहुनालाई खाने, लाउने र बस्ने व्यवस्थामा जुटिरहेका छन्। तपोवनभित्र उनीहरूको आफ्नै ड्रेसकोड छ। जसलाई उनीहरू ‘ह्वाइट रोब’ र ‘रेड रोब’ भन्छन्। अधिकांश समय मानिसहरू रेड रोब, अर्थात् मरुन कलरको गाउनमा बस्छन्। बेलुका आरतीको समयमा भने सेतो गाउन लगाउने चलन छ। 

वेलकम लाउन्ज लेखिएको भवन घुमेर तल झरेपछि खास तपोवन देखिन्छ।  जंगलको बीचमा बनेका आधुनिक डिजाइनका भवन छन्। प्रत्येक भवनको नाम राखिएको छ। ‘रमण ब्लक’, ‘जिसस ब्लक’, ‘नागार्जुन ब्लक’, ‘कृष्ण ब्लक’ आदि–आदि। त्यहाँको वातावरण कुनै रिसोर्टको भन्दा कम छैन। सिँढीपिच्छे बगैँचा छन्। 
केही समयमा एक जना युवा झुल्किन्छन्। मरुन रङको गाउनमा मरुन रङकै ओढ्ने ओढेका उनको गलामा ओशोको फोटो भएको माला झुुण्डिएको छ। हातमा ओशोको किताब बोकेर उनी ससासर केही पर जान्छन्। बगैँचाको छेउमा रहेको एउटा टेबलमा बसेर पढ्न थाल्छन्। उनीबाहेक त्यहाँ अरू कोही छैनन्। 

केही खुड्किला तल ओर्लिएपछि ‘श्री रजनीश ध्यान मन्दिर’ लेखिएको हल देखिन्छ। त्यहाँ एक जना बूढा मानिस देखापरे। उनी त्यहाँ बाटोघाटो सफा गर्ने रहेछन्। ‘यहाँ त कोही पनि देखिँदैनन् त ?’ उनलाई सोधियो। 

‘अहिले सबै जना आफ्नै कोठामा होलान्। ५ बज्नै लाग्यो, अब आउँछन्, ध्यान गर्न,’ उनले भने। 
हलको बाहिर हरियो दुबैदुबो भएको गार्डेन छ। गार्डेनभित्र ओशो, राधा–कृष्ण, बुद्धका मूर्ति छन्। मूर्तिको बीचमा ढुंगाको आकर्षक साजसज्जा छ। जसको बीचमा टिलिक्क टल्किने अंग्रेजी अक्षरमा लेखिएको छ– ‘ओशो’। 

 

कुण्डलिनी मेडिटेसनको समय
साझ ५ बजेको छ। एक जना लामो कपाल भएका पुरुष हलअगाडि आउँछन्। बाहिर राखिएको घण्टी तीन पटक जोडले बजाउँछन्। घण्टीको आवाजसँगै मानिसहरूको चहलपहल सुरु हुन्छ। सबैले मरुन रङको गाउन लगाएका छन्। जाडो छल्न उनीहरूले ज्याकेट, टोपी, ओढ्ने ओढेका छन्। कसैले मरुन रङकै गरम लुगा लगाएका छन् भने कसैले कालो, खैरो, सेतोलगायत रङका बाक्ला लुगा लगाएका छन्। हलको ढोकाअगाडि एउटा बोर्डमा ‘कृपया हलभित्र पस्नुअघि जुत्ता–चप्पल खोल्नुहोला’ र अर्को बोर्डमा ‘साइलेन्स प्लिज’ लेखिएको छ। 

फराकिलो हल। चिप्लो भुइँ। हलको कुनामा म्याट र चकटीको चाङ छ। ठाउँ–ठाउँमा हिटर जोडिएकाले हल न्यानो छ। एक–एक वटा म्याट र चकटी लिई सबै जना भुइँमा बस्छन्। अगाडिबाट एक जना पुरुष हातमा माइक बोकेर ‘कुण्डलिनी मेडिटेसन’ हुन गइरहेको जानकारी गराउँछन्। नयाँ आउनेहरूलाई उनी त्यसबारे संक्षिप्त जानकारी दिन्छन्। 

ध्यान गर्न हातभरि ट्याटू खोपेका युवादेखि गाला चाउरिएका वृद्ध–वृद्धा सबैले आँखा चिम्लिन्छन्। कसैले आँखामा मरुन रङकै पट्टि बाँध्छन्। ठूलो आवाजमा संगीत बज्छ। सबै जना आफ्नो पूरै जीउ हल्लाउन थाल्छन्। त्यहाँ यसलाई ‘बडी सेकिङ’ भनिन्छ। जसलाई १५ मिनेटसम्म गरिन्छ। यो कुण्डलिनी मेडिटेसनको पहिलो चरण हो। 

दोस्रो चरणमा नाचगान हुन्छ। म्युजिक चेन्ज। सुरुमै सबैलाई ‘चुप लागेर नबस्नुु, जस्तो आउँछ त्यस्तै नाच्नुु’ भनिएकाले ओशो भक्त आ–आफ्नै तालमा नाच्न थाल्छन्। नृत्य १५ मिनेटसम्म चल्छ। 

तेस्रो चरणमा संगीतको मधुरो धुन सुनिन्छ। सबै जना चकटीमा ढाडलाई सीधा राखी, घुँडामा हात राखेर, पलेटी कसेर बस्छन्। सबै मौन छन्। आँखा चिम्लिएका छन्। यसरी अर्को १५ मिनेट बित्छ। त्यसपछि संगीत बन्द हुन्छ। सबै जना उत्तानो परेर लम्पसार सुत्छन्। त्यहाँ ‘पिन ड्रप साइलेन्स’ हुन्छ। कुण्डलिनी मेडिटेसनमा यसरी एक घण्टा समय बिताएर सबै जना हलबाट बाहिरिन्छन्। 

ध्यान सिकाउने पुरुष स्वामी ध्यान ऋषि रहेछन्। ‘मनलाई एकैचोटि शान्त बनाउन सकिँदैन,’ कुण्डलिनी मेडिटेसनबारे जानकारी दिँदै उनी भन्छन्, ‘त्यसैले पहिलो चरणमा ध्यानका लागि मनलाई तयार गर्न बडी सेकिङ गर्नुपर्छ। यसले मानिसको तनाव फ्याँकेर शरीरलाई ऊर्जा दिन्छ।’ त्यस ऊर्जाको व्यवस्थापन गर्न दोस्रोमा चरणमा डान्स गराइने स्वामी ध्यान ऋषि बताउँछन्। ‘दोस्रोमा ऊर्जालाई उत्सवमा परिणत गरिन्छ,’ उनी भन्छन्, ‘तेस्रोमा शान्त बसेर मानिसले आफूभित्र भएको ऊर्जा महसुस गर्छ। अन्तिमको सुुत्ने प्रक्रिया गहन शान्ति प्राप्तिको अवस्था हो।’ 

 

 

सुजाता किचनमा  
बेलुकाको साढे ६ देखि साढे ७ बजेसम्मको समय आश्रममा खानपिन हुन्छ। ध्यान गर्ने हलबाट केही तल ओर्लिएपछि ‘सुजाता किचन’ आउँछ। डाइनिङ टेबल खचाखच छ। खाना राखिएको ठाउँमा तीन जना स्वयंसेवी युवती छन्। जसमध्ये एक हुन्, काठमाडौँ, गोगंबु घर भएकी लक्ष्मी सिम्खडा। उनलाई त्यहाँ सबैले माँ योगलक्ष्मी भनेर बोलाउँछन्। स्नातक सकेर बसेकी उनी ओशोकी सन्न्यासी हुन्। ‘मेरो बुबा पनि सन्न्यासी हुनुहुन्छ,’ २८ वर्षीया सिम्खडा भन्छिन्, ‘मलाई खासै रुचि थिएन। घरमा भएका ओशोका किताब पढेर मोहनी लाग्यो।’ किताब पढेपछि उनी तपोवन हेर्न आइन्। ‘यहाँ आएपछि जानै मन लागेन,’ उनी भन्छिन्, ‘सात वर्षदेखि किचनमा स्वयंसेवी भएर काम गरिरहेकी छु।’

सुरुमा साथीहरूले ओशोमा लागि भनेर बिल्ला गरेको अनुभव छ, उनीसँग। ‘एक पटक तपोवन आएपछि बिल्ला गर्ने तिनै साथी कोही नियमित आउने भएका छन्,’ उनी भन्छिन्, ‘कोही त सन्न्यासी नै भइसके। ओशोेका कुरा एकदमै व्यावहारिक छन्। जो कोहीलाई तानिहाल्छन्।’ रातो बंगला स्कुलको ४०–५० हजार रुपैयाँको जागिर छाडेर सुजाता किचेनमा आफूसँग एक जना साथी स्वयंसेवी रहेको उनी बताउँछिन्।

आश्रममा खाना खाइसकेपछि सबैले आफ्ना भाँडा आफैँ माझ्ने नियम छ। काठमाडौँ, गोठाटारका व्यापारी प्रदिप पाण्डे आफूले खाएको भाँडा माझ्दै थिए। ‘सात दिनका लागि आएको आज ११ दिन भइसक्यो,’ उनले भने, ‘यहाँबाट जान मन लागेको छैन। एकदमै आनन्दको ठाउँ रहेछ।’ 

‘ह्वाइट रोब’को समय
खानापछि सबै जना ‘ह्वाइट रोब’ अर्थात् सेतो गाउनमा देखिए। बेलुका साढे ७ बजेपछि ओशोको प्रवचन, आरती र सेलब्रेसन सुरु भयो। हल पूरै खचाखच थियो। प्रोजेक्टरमा ‘ओशो’को प्रवचन लगाइयो। सबै जना शान्त भएर प्रवचन सुन्न थाले। अंग्रेजीमा लगाइएको उक्त प्रवचन सुनेर बुझ्नेहरू बेलाबेला पेट मिचीमिची हाँसिरहेका थिए। तर, त्यहाँ अर्को एक जमात थियो, जसलाई त्यो प्रवचन ‘कालो अक्षर भैँसी बराबर’ थियो। उनीहरू मात्र सुनिरहेका थिए, बुझिरहेका थिएनन्। आधा घण्टापछि प्रवचन सकियो। प्रोजेक्टर बन्द भयो। 

‘भोलिबाट तीन दिन ‘इन्टेन्सिभ इन्लाटन्मेन्ट’ सुरु हुने भएकाले सेलब्रेसन गर्न पाइँदैन, त्यसको सट्टा पनि आजै रमाइलो गर्नुस्’– एक जना माइकबाट बोलिरहेका थिए। केही समयमै ठूलो आवाजमा विभिन्न धर्मसँग सम्बन्धित भजन बज्न थाले। सबै जना उठेर नाच्न थाले। वातावरण कुनै डिस्कोको भन्दा कम थिएन। नाच्न मन नलाग्ने कोही भने भुइँमा ध्यान गरेर बसिरहेका थिए। आरती गर्नेहरू अगाडिको मूर्तिमा आरती गरिरहेका थिए। हरेक गीत सक्किएसँगै मानिसहरू दुवै हात माथितिर उचाल्दै ‘ओशो’ भन्दै चिच्याउँथे। करिब एक घण्टा यो क्रम चल्यो। म्युजिक बन्द भएपछि केही समय ध्यान गरेर सबै जना आ–आफ्ना कोठातिर लागे। 

डायनामिक मेडिटेसन र योग
शनिबार। बिहान ठीक ७ बजे घण्टी बज्यो। घण्टीसँगै मानिसहरू बाक्लो लुगा लगाएर बाहिर निस्किए। त्यही हलमा ‘डायनामिक मेडिटेसन’ चलिरहेको थियो। १५ मिनेटको बडी सेकिङपछि संगीत बदलियो। त्यसपछि त्यहाँ कोलाहल थियो। कोही आफ्नै सुरमा बरबराइरहेका थिए। कोही ‘ओशो’ भन्दै चिच्याइरहेका थिए। कोही क्वाँक्वाँ रोइरहेका थिए। हलभित्र झन्झन् कोलाहल बढिरहेको थियो। १५ मिनेटपछि म्युजिक चेन्ज भएसँगै सबै जना ठूलो स्वरमा ‘हँु हुँ’ भन्दै उफ्रिन थाले। तन्नेरीहरू १५ मिनेटसम्म उफ्रिएको उफ्यै्र थिए। उमेर ढल्केकाहरू भने आराम गर्दै उफ्रिँदै थिए। म्युजिक बन्द भएपछि सबै जनाले म्याटमा लम्पसार परेर आराम गरे। 

फेरि घण्टी बज्यो। सुतेका सबै जना बिस्तारै उठे। साढे ८ बजेबाट योग सुरु भयो। प्रोजेक्टरमा देखाइएअनुसार सबैले सुरुमा कपालभाती गरे। पेटलाई भित्र तान्दै सास बाहिर फाल्ने यो प्राणायामको फाइदाबारे प्रोजेक्टरले जानकारी दिइरहेको थियो। कपालभाती चलिरहेको बेला ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुण हलमा आइपुगे। केही युवाले उनको खुट्टामा ढोगे र उनका निम्ति बस्ने व्यवस्था मिलाए। उनले पनि आसनमा बसेर योग गर्न थाले। अन्य व्यायाम केही बेर चल्यो। 

 

 

सुरु भयो ‘इन्टेन्सिभ इन्लाइटन्मेन्ट’
स्वामी आनन्द गुरु ‘इन्टेन्सिभ इन्लाइटन्मेन्ट’ सुरु भएको जानकारी दिए। ‘यो एकदमै कडा खालको थेरापी हो,’ उनले भने, ‘तीन दिनसम्म चल्छ। तीनै दिन सहभागी हुने मात्र बस्नुहोला।’ त्यहाँ भएकामध्ये ४२ जना बस्न राजी भए। ‘यो एकदमै अनुशासित भएर गर्नुपर्ने ध्यान हो,’ स्वामी आनन्द अरुणले भने, ‘ध्यानमा बाहेक बाहिर बोल्न पाइँदैन। पूरै मौन बस्नुपर्छ। कसैसँग आई–कन्ट्याक्टसमेत गर्न पाइँदैन।’ यो अभ्यास पहिलो चोटि तपोवनमा गराउन लागेको उनले जानकारी दिए। ‘इमानदारीसाथ गर्यो भने थोरै समयमा धेरै ध्यान प्राप्त हुन्छ,’ उनले भने, ‘यो ध्यान चलुञ्जेल सबैले हलुका खाना खानुहोला। खाना खाँदा पनि बोल्न पाइँदैन। कसैलाई केही भन्नु छ भने लेखेर दिने। तर, नबोल्ने।’ 

यो ध्यान गरेपछि ‘म को हुँ ?’ भनेर आफूले आफूलाई चिन्न सकिने उनले बताए। ध्यानका लागि दुई–दुई जना गु्रप बनाएर बसे। आफूले चिनेकासँग नबस्न स्वामी आनन्द अरुणले आग्रह गरे। ‘पहिला एक जनाले ‘मलाई भन्नुहोस्, तपाईं को हुनुहुन्छ ? भनेर सोध्ने,’ उनले सिकाउँदै भने, ‘अर्को व्यक्तिले पाँच मिनेटसम्म आफ्नो बारेमा बोलिरहने। उसको कुरा सुनेर नहाँस्ने, केही प्रतिक्रिया नजनाउने। पाँच मिनेटपछि फेरि अर्कोको पालो आउँछ।’ १०–१० मिनेटमा पार्टनर चेन्ज गर्ने उनले बताए। एक सेसनमा ४० मिनेट यही क्रम चलिरहने उनले बताए। चार जना स्वयंसेवक बस्न तयार भए। स्वयंसेवक रहेका स्वामी कृष्णमोहनले भने, ‘दिनको आठ घण्टा तीन दिनसम्म यो चलिरहन्छ।’

‘कंक्रिटको जंगल त्यागेर आएँ’
शनिबार, साढे ९ बजे किचनमा दुई जना ब्रेकफास्ट गरिरहेका भेटिए। तीमध्ये एकले आफूलाई स्वामी योग निरञ्जन भनेर चिनाए। बानेश्वर घर भएका उनको वास्तविक नाम सुदीप पौडेल हो। उनी विगत २९ वर्षदेखि सन्न्यासी जीवन बिताइरहेका छन्। शहरिया जीवनबाट वाक्कदिक्क लागेर तपोवन छिरेको उनले बताए।

पेशाले इन्जिनियर उनले भने, ‘शहरमा शरीरको खुराक मिल्यो, आत्माको खुराक मिलेन। शरीरलाई चाहिने पिज्जा, बर्गर, टाई–सुट, घर, गाडी सबै मिल्यो। मनलाई चाहिने सुख, शान्ति र आनन्द मिलेन। त्यसैले त्यो कंक्रिटको जंगल त्यागेर यहाँ आएँ।’ मानिसलाई ध्यान एकदमै जरुरी भएको उनले बताए। ‘राजनीतिले परिवर्तन गर्न नसकेको कुराहरू ध्यानले परिवर्तन गर्छ,’ सुदीपले भने, ‘हामीलाई यहाँ कसैको जात, धर्म र देशसँग मतलब छैन।’ 

उनीहरूसँगै बसेका राजु रिमाल अर्थात् स्वामी ध्यान राजेश पनि परिवारसहित तपोवनमा बस्छन्। ‘काठमाडौँ बानेश्वरको घरमा ताल्चा मारेर आएका छाँै,’ उनले भने, ‘अहिले त घर गएर बस्नै सकिँदैन। कसैको बिहे वा चाडपर्व प¥यो भने मात्रै जाने गरेका छौँ।’

केही समयपछि ललितपुर इमाडोलका खडानन्द चौधरीसँग भेट भयो। उनी त्यहाँ स्वामी आत्म आनन्दको नामले चिनिन्छन्। ‘एक पटक म थला परेँ, मेरुदण्डमा समस्या थियो,’ उनले सुनाए, ‘मेडिकल ट्रिटमेन्टले ठीक भएन। जीवनको आश नै मारिसकेको थिएँ। ओशोको मेडिटेसन र एक्सरसाइजले ठीक ग¥यो। अहिले ओशोको भक्त भएको छु। बेलाबेला तपोवन आइरहन्छु।’  

शनिबारे सरसफाइमा माँ प्रेम मीरा
शनिबार आश्रममा सरसफाइ चल्ने रहेछ। टाउकोमा रातो सल बाँधेकी एक महिला भान्छाबाहिर कुचो बोकेर सरसफाइमा लागिन्। उनीसँगै अरू पनि सरसफाइ गर्न थाले। पाँच वर्षदेखि सन्न्यासी जीवन बिताइरहेकी मीना श्रेष्ठ अर्थात् माँ प्रेम मीरा त्यहाँकी फोहोर व्यवस्थापन कोअर्डिनेटर हुन्। उनी आफ्नी छोरीसँग चाबहिलमा बस्छिन्। ‘२५ वर्ष भयो मैले ध्यान गर्न थालेको,’ उनले भनिन्, ‘तपोवनमा आउन थालेको ११ वर्ष भयो।’ राजनीतिक पृष्ठभूमि भएकी उनले जीवनमा चार पटक आत्महत्याको प्रयास गरेको बताइन्। ‘जीवनमा आइपर्ने अप्ठ्याराले मलाई कमजोर बनाएको थियो,’ उनले भनिन्, ‘मेडिटेसन गर्न थालेपछि नयाँ जीवन पाएँ। तपोवनमा आइसकेपछि मैेले जीवनको महत्व बुझेँ। यो वनमा मलाई आत्मसन्तुष्टि मिल्छ। खुलेर हाँस्न पाइन्छ। मनमा पीडा छ भने धक फुकाएर क्वाँक्वाँ रुन पाइन्छ।’

सरसफाइका क्रममा रातो गाउनमा पहेँलो हाइनेक लगाएकी ज्योत्सना सिम्खडा भेटिइन्। २४ वर्षीया उनी काठमाडौँको ग्रान्डी अस्पतालमा काम गर्छिन्। ‘सुरुमा म माला लगाउने रहरले ओशोमा लागेँ,’ उनले भनिन्, ‘बिस्तारै ओशोका किताबहरू पढ्न थालेपछि प्रभावित भएँ।’ उनले यसरी ध्यान गर्न थालेको १६ वर्ष भयो। ‘पहिला म एकदमै मुडी थिएँ,’ उनले भनिन्, ‘प्याच्च बोलिहाल्थेँ। झनक्क रिसाउइहाल्थेँ। अहिले एकदमै शान्त भएकी छु। ओशोको मेडिटेसन लजिकल र साइन्टिफिक छन्।’

मृत्यु पार्क
सफाइ टोली सफा गर्दागर्दै एउटा पार्कमा पुग्यो। पार्कको नाम थियो, ‘डेथ पार्क’, अर्थात् मृत्यु पार्क। त्यसको बायाँतिर रातो रङको सानो घरजस्तो थियो। त्यो शिवपुरी बाबाको मन्दिर रहेछ। पार्कको वरिपरि विभिन्न विद्वान्का मृत्युबारेका भनाइहरू फोटोसहित राखिएका थिए। केही पर सिमेन्टले बनाइएको एउटा चिता थियो। जसमा सेतै दाह्री र कपाल फुलेको मानिसको मूर्ति लम्पसार परेको देखिन्थ्यो। छेवैमा तीनटा कुर्सीमा मानिसहरू आँखा चिम्लिएर ध्यान गरेर बसिरहेका थिए। घुम्न आउनेहरू पार्कमा बसेर फोटो खिचिरहेका थिए। ‘पार्क अझै कम्प्लिट हुन बाँकी छ,’ सरसफाई कोअर्डिनेटर मीना श्रेष्ठले भनिन्, ‘केही महिनामै उद्घाटन गर्ने कार्यक्रम छ।’ 

समाधिमा दुई विदेशी
यसलगत्तै ‘ओशो सम्बोधि’ लेखिएको अर्को ध्यान गर्ने पार्क आयो। जसलाई ‘समाधि’ पनि भन्ने गरिएको रहेछ। ‘ओशोको अस्तु ल्याएर राखिएको ठाउँ यही हो,’ मीनाले भनिन्, ‘यहाँ जाँदा जुत्ता खोलेर जानुपर्छ।’ त्यहाँ पनि मानिसहरू कुर्सी लगेर ध्यान गरेर बसिरहेका थिए। तपोवनमा मानिसहरू ध्यान नगरी बसेको कुनै पनि ठाउँ भेट्न मुश्किल थियो। 

पहेँलो लौरो टेक्दै सेतो र छोटो कपालमा एक जना विदेशी देखापरिन्। ७२ वर्षीया एन्जिला अर्टन अस्टे«लियाबाट आएकी थिइन्। ‘अहिलेसम्म म तपोवन सात पटक आइसकेँ,’ उनले भनिन्, ‘ध्यान गर्न थालेपछि विगतलाई सम्झेर पछुताउने र भविष्यबारे चिन्ता गर्न छाडेँ।’ यस पटक उनी तीन महिनाका लागि आएको बताइन्। उनीसँगै उनका एक जना जापानी साथी पनि थिए। खैरो रङको ह्याट, सेतो दाह्री र हातमा लौरो टेक्ने उनी यामा मोक्तो रहेछन्। ‘बेलाबेला नेपाल घुम्न आइरहन्छु,’ यामाले भने, ‘नेपाल आएको बेलामा ओशो तपोवनमा नआई चित्तै बुझ्दैन।’

सानैमा सन्न्यास
१९ वर्षीय रजनीश सिम्खडा अर्थात् स्वामी योग रजनीश हरेक शनिबार तपोवन जान्छन्। बीबीए पढ्दै गरेका उनी काठमाडौँ, नयाँबजारमा बस्छन्। ‘परिवारमा सबै जनाले सन्न्यास लिनुभएको छ,’ उनले भने, ‘मैले पनि सन्न्यास लिएको १० वर्ष भयो।’ अरू बेलामा दैनिक काममा बिताउने उनी फुर्सदमा तपोवन आउन रुचाउँछन्। ‘तपोवनमा आउँदा छुट्टै आनन्द आउँछ,’ उनले भने। 

दिउँसो अर्की एक जना किशोरीसँग भेट भयो। तपोवननजिकै घर भएको बताउने उनले आफ्नो परिचय दिन मानिनन्। १० कक्षामा पढ्ने बताउने उनले पनि ओशोको माला लगाएकी थिइन्। ‘११ वर्षको हुँदा सन्न्यास लिएकी हुँ,’ उनले भनिन्, ‘अहिले चार वर्ष भयो। यहाँ आउन रमाइलो लाग्छ।’ 

छ दिन काम, एक दिन आराम
काठमाडौँ, गोंगबुका राजेन्द्र खड्का अर्थात् आत्मा राजेन्द्रको तपोवन आउनुको आफ्नै कारण छ। उनी चार्टर अकाउन्ट्यान्सीका विद्यार्थी हुन्। ‘म हप्तामा छ दिन बेस्सरी घोट्टिएर पढ्छु,’ उनले भने, ‘सातौँ दिन तपोवनमा आएर आराम गर्छु। यहाँ आएपछि पढाइको स्ट्रेस कम हुन्छ। एक दिन भए पनि कम्पिटिसनको दुनियाँबाट टाढा बस्न मन लाग्छ।’ तपोवन आउने अहिले उनलाई बानी नै परिसकेको छ। ‘सुरुमा दिदीलाई छोड्न आएको थिएँ,’ उनले भने, ‘एक दिन बसेको थिएँ। रमाइलो लाग्यो। अहिले त शुक्रबार कहिले आउलाजस्तो हुन्छ। पहिला त मेडिटेसनमा उफ्रिन, कराउन, चिच्याउन लाज लाग्थ्यो। अहिले रमाइलो लाग्छ।’ 

गोर्खाका मोतीमान आले पोल्यान्डमा बस्छन्। स्वामी अमृतबोधका नामले चिनिने उनी नेपाल आउनेबित्तिकै तपोवन आइहाल्छन्। ‘नेपाल आउनेबित्तिकै म तपोवन आइहाल्छु,’ उनले भने, ‘घरमा भन्दा धेरै समय तपोवनमै बित्छ। तीन महिनाको छुट्टी लिएर दुई महिना त यतै बित्लाजस्तो भइसक्यो।’ उनीसँगै थिए, सन्देश डल्लाकोटी (२८)। उनलाई त्यहाँ सबै स्वामी दिव्य सन्देश भनेर बोलाउँछन्। ‘२० वर्षको उमेरमा गाँजा, चुरोट, दारु, तोप, सोप सबै हान्न थालियो,’ उनले विगत सम्झिए, ‘घरबाट तीन महिना रिह्याबमा लगेर राखे। त्यहाँ गएर पनि सुध्रिनँ। बिस्तारै तपोवन आउने बानी लाग्यो। तपोवनले मलाई सुधार्यो।’ यसलाई उनी मेडिटेसनको प्रभाव ठान्छन्। ‘एकताका त म डिप्रेसनमा थिएँ,’ उनले भने, ‘यो डिप्रेसन क्यान्सर र एड्सभन्दा पनि खतरनाक हुँदो रहेछ।’

भारतबाट आएका २६ वर्षीय स्वामी बोधि राघवको भने आफ्नै काहानी छ। उनी ओशो तपोवनमा आएर बसेको डेढ वर्ष भयो। ‘जीवन कसरी जिउने भन्ने कुरा मैले यहाँ आएर सिकेँ,’ उनले भने, ‘मेरो बुबाको तीन–चार वटा देशमा बिजनेस छ। संसारको सबैभन्दा महँगो कार किन्न सक्ने पैसा मेरो परिवारसँग छ। तर, मलाई त्यो दुनियाँ राम्रो लागेन।’ उनले आफ्नै दुनियाँमा रमाउन नेपाल आएको बताए। ‘मेरा बुबाले सयलाई हजार, हजारलाई लाख र लाखलाई करोड बनाउनमै जीवन बिताउनुभयो,’ बोधि राघवले भने, ‘तर, पनि उहाँ खुशी हुनुभएन। मलाई मेरो बुबाजस्तो बन्नुछैन। मसँग ठूलो महत्वाकांक्षा छैन।’ ओशोको भक्त भएपछि जीवनमा आफूले जे चाहेको त्यही पाएको उनले बताए। ‘सुरुमा म धेरै गुरुकहाँ भड्किएँ,’ उनले भने, ‘आफैँले पनि मेडिटेसनका नयाँ टेक्निक लगाएँ। तर, कतै शान्ति र आनन्द मिलेन। यहाँ आएपछि म्याजिकल अनुभव भयो। मैले जे खोजेको थिएँ, यहीँ पाएँ। अध्यात्म भन्ने कुरा भनेर अनुभव हुँदैन। त्यसमा डुब्नुपर्छ। हल्का बेवकुफ बन्नुपर्छ।’ 

 
मोडलिङ छाडेर सन्न्यास 
अनु रेग्मी कुनै जमानामा मोडलिङ गर्थिन्। ओशो वल्र्ड म्यागजिनले उनलाई ओशोको दुनियाँमा तान्यो। दिदीसँग उनी पहिलो पटक तपोवन गइन्। त्यहाँ गएको एक हप्तापछाडि नै उनले सन्न्यास लिइन्। उनले सन्न्यास लिएको अहिले १८ वर्ष भइसक्यो। ‘तपोवन गएपछि मेरो जीवनशैली नै परिवर्तन भयो,’ उनले भनिन्, ‘अहिले केही समयअगाडि मात्रै १८ वटा कोठा, ध्यान हल, किचनसहित बाँडेगाँउ, सन्तानेश्वर महादेवनजिकै ‘ओशो सहयात्री कम्युन’ खोलेका छौँ।’  १२ वर्षको लिभिङ टुगेदर रिलेसनपछि उनले मनीष अमात्यसँग बिहे गरिन्। उनका श्रीमान् अर्थात् स्वामी बोधि जागरण पनि उनीजस्तै सन्न्यासी हुन्। उनले सन्यास लिएको १० वर्ष भयो। ‘पहिलादेखि नै मेडिटेसनमा अभिरुचि थियो,’ मनीषले भने, ‘ध्यानमा लागेपछि बेहोशीमा बाँचिरहेको जीवन होशमा आयो।’ 

 
‘तपोवनमा आध्यात्मिक साम्यवाद छ’ : स्वामी आनन्द अरुण संस्थापक, ओशो तपोवन
ओशो तपोवनमा प्रत्येक वर्ष ८० देशका साधक ध्यान सिक्न आउँछन्। वर्षमा १२ सयको हाराहारीमा हामीले विदेशी पर्यटक भिœयाइरहेका छौँ। प्रायः पर्यटक सात दिनदेखि तीन महिनासम्म बसेर जान्छन्। नामै नसुनेका देशका पर्यटक पनि आउँछन्। सिजनको बेलामा ठाउँ नपुगेर धेरैलाई फिर्ता पठाउनुपर्छ। अहिले स्वदेशीहरू धेरै छन्। यहाँ सय जनाभन्दा कम साधक भएको रेकर्ड छैन।

धेरैजसो स्टे«स र डिप्रेसन व्यवस्थापन गर्न मानिसहरू यहाँ आउँछन्। अहिले समाज मदिरा नभई सुत्नै नसक्ने भएको छ। सवारी दुर्घटनाहरू बढिरहेका छन्। पारिवारिक विखण्डन कहालीलाग्दो हुँदै गएको छ। यी सबै तनावका कारण हुन्छन्। यसले आत्महत्याको दर पनि बढाइरहेको छ। मान्छेहरूको आत्मबल दिन प्रतिदिन घट्दै गइरहेको छ। उनीहरू एक्लोपन महसुस गर्न थालेका छन्। यस्ता जटिलता हटाउनका लागि ध्यान जरुरी छ। अर्बाैं रुपैयाँ कमाएर पनि राति निन्द्रा लाग्दैन भने त्यसको के मतलब ? व्यक्तिगत सम्पत्ति नहोस्, तर मनमा आनन्द होस्, अनुहारमा शान्ति होस्।

तपोवनमा कुनै जात, धर्म, देश छुट्याएका छैनौँ। सबैलाई समान आदर छ। सबैलाई समान व्यवहार छ। यहाँ कोही पनि ‘हाई क्लास’ र ‘लो क्लास’ छैनन्। यहाँभित्र छिरेपछि सबै ‘इक्वेल क्लास’ हुन्। यो नै हाम्रा लागि ठूलो उपलब्धि हो। हामीले आध्यात्मिक साम्यवादलाई सफल बनाएका छौँ। वास्तविक आध्यात्मिक साम्यवाद हेर्न तपोवन आउनुपर्छ।

‘तपोवन मनको ट्रेनिङ सेन्टर हो’ : कञ्चन रावत, परामर्शदाता
सुरुमा तपोवन घुम्नका लागि भनेर गएकी थिएँ। घुम्दै जाँदा राम्रो लागेर कहिलेकाहीँ त्यहीँ बस्न थालेँ। कुनै बेला रिलेसनसिपमा ब्रेक भएपछि म डिप्रेसनमा गएँ। जीवनदेखि हार खाएकी थिएँ। तपोवनमा आएरै मैले सबै डिप्रेसन निकालेँ। दुःख र पीडा भनेका क्षणिक कुरा हुन् भन्ने बुझेँ। त्यो बेलासम्म मैले आफूभित्र भएको आफूलाई चिनेकी रहिनछु। दुःखको कारण जे भए पनि त्यसको निवारण आफ्नै हातमा हुने रहेछ भन्ने मैले सिकेँ। तपोवनमा आइसकेपछि फरक चेतनामा पुगिन्छ। जीवनलाई खुशी बनाएर अगाडि बढाएँ। मनको ट्रेनिङ पाएँ। तपोवन वास्तवमा मनको ट्रेनिङ सेन्टर हो। मन एकैठाँउमा बस्दैन। समयसँगै यताउता हिँडिरहन्छ। बेलाबेलामा मनमा चोटपटक लागिरहन्छ। तर, मनलाई सही बाटोमा कसरी डोर्याउने भन्ने कुरा तपोवनले सिकाउँछ। 

म आफैँ काउन्सिलरको काम गर्छु। काउन्सिलिङबाट ठीक नभएका धेरै बिरामीलाई मैले तपोवन पठाउने गरेकी छु। औषधि, उपचार र काउन्सिलिङले नछोएका धेरै बिरामीलाई तपोवनको मेडिटेसनले छुन्छ। जाँडरक्सीको लतले बर्बाद भएका, आत्महत्याको प्रयास गरेका आदि धेरैलाई तपोवनले नयाँ जीवन दिएको छ। 

तपाईको कमेन्ट