के-के भएका थिए इतिहासमा यो साता ?

writer

सम्पूर्ण

आइतबार, ०४ फागुन २०७६


फेब्रुअरी १३

सन् १९२० को फेब्रुअरी १३ मा स्विट्जरल्यान्डले तटस्थ राष्ट्रको मान्यता हासिल गरेको थियो। पहिलो विश्वयुद्धपछि स्थापना भएको विश्वभरका राष्ट्रहरूको साझा मञ्च ‘लिग अफ नेसन्स’मा आबद्ध हुनुअघि स्विट्जरल्यान्डले तटस्थ राष्ट्रका रूपमा आफूलाई मान्यता दिन विश्व समुदायसमक्ष आह्वान गरेको थियो। विभिन्न बहानामा युद्ध भइरहने युरोपमा हिंसा र शक्तिका लागि हुने छिनाझपटीमा आफ्नो कुनै रुचि नभएको भन्दै तटस्थ रहन चाहेको स्विट्जरल्यान्ड सरकारले जनाएको थियो। भविष्यमा भड्किने जुनसुकै युद्धमा आफूले कुनै पक्ष नलिने र तटस्थ नीति अवलम्बन गर्ने जनाउँदै उसले आफ्नो नीतिलाई अनुमोदन गर्न विश्व समुदायसँग आग्रह गरेको थियो। अन्ततः ‘लिग अफ नेसन्स’ले तटस्थ रहन चाहने स्विट्जरल्यान्डको चाहनालाई अनुमोदन गरेको थियो। त्यसयता आजपर्यन्त उसको तटस्थता कायम छ। 

फेब्रुअरी १४

सन् २००५ को फेब्रुअरी १४ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो। राजधानी बेरुतमा भएको विष्फोटमा उनीसहित २१ जनाको ज्यान गएको थियो। उनको मोटरकेडलाई लक्ष्य गरी झण्डै एक हजार किलो टीएनटी विष्फोट गराइएको थियो। मारिनेमध्येमा हरिरीका अंगरक्षक धेरै थिए। हत्यामा हेजबुल्लाहको संलग्नता रहेको दाबी गरिएको थियो। 

फेब्रुअरी १५

दोस्रो विश्वयुद्धमा सिंगापुर बेलायती सेनाको मुख्य सैनिक आधारमध्ये एक थियो। तर, सन् १९४२ को फेब्रुअरी ८ देखि चलेको युद्धमा बेलायती सेनाले ठूलो क्षति बेहोर्नुपर्‍यो। १५ फेब्रुअरीमा सिंगापुर पूर्ण रूपमा जापानको कब्जामा पुग्यो। बेलायती जनरल आर्थर पर्सिवलले ८० हजार सैनिकसहित जापानी सेनासामु आत्मसमर्पण गरे। भारतीय, बेलायती, अस्ट्रेलियाली सैनिक युद्धबन्दी बने। बेलायती सेनाले यति ठूलो संख्यामा आत्मसमर्पण गरेको यो पहिलो पटक थियो। यसअघि नै जापानले मलेसिया अभियानमा ५० हजारलाई युद्धबन्दी बनाइसकेको थियो। बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले यसलाई बेलायती सैन्य इतिहाको ‘सबैभन्दा खराब संकट’ को संज्ञा दिएका थिए। 

यो युद्धमा पाँच हजार बेलायती सैनिक मारिएका थिए। मलेसिया र सिंगापुर लडाइँ गरी बेलायतले १ लाख ३० हजार सैनिक गुमायो भने जापानले झण्डै १० हजार सैनिक गुमायो। 

फेब्रुअरी १६

सन् १९५९ को फेब्रुअरी १६ मा क्युबामा फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको शपथ लिएका थिए। गुरिल्ला युद्धमार्फत क्युबामा तानाशाह फ्लुजेन्सियो बाटिस्टाको सरकार फालेर उनी प्रधानमन्त्री भएका थिए। क्रान्तिमा उनलाई उनकै भाइ राउल, चे ग्वेभाराजस्ता नेताको साथ थियो। उनी प्रधानमन्त्री भएपछि अमेरिकाले उनको विरोध गर्‍यो र उनको हत्याका अनेकौँ षडयन्त्र रचिए। क्यास्ट्रोले सोभियत संघसँग गठबन्धन गरेर देशको सुरक्षा गर्दै रहे। उनले देशमा केन्द्रीय आर्थिक योजना, सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षाजस्ता समाजवादी योजना लागू गरे। सन् १९७६ मा उनी राष्ट्रपति बने। स्वास्थ्य समस्याका कारण सन् २००८ देखि निष्क्रिय थिए। उनी लामो समय शासन चलाउने राष्ट्रप्रमुख पनि मानिन्छन्। सन् २०१६ मा उनको मृत्यु भयो। 

फेब्रुअरी १७

सन् १९७९ को फेब्रुअरी १७ मा चीनले भियतनाममाथि आक्रमण गरेको थियो। भियतनामले सन् १९७८ मा कम्बोडियामाथि आक्रमण गरेपछि चीनले पनि भियतनाममाथि आक्रमण गरेको थियो। यसलाई तेस्रो हिन्दचीन युद्ध भनेर पनि चिनिन्छ। कम्बोडियाको खमेर रुज सरकारलाई चीनको समर्थन थियो। तर, भियतनामले आक्रमण गरेर त्यो शासन अन्त्य गरिदियो। भियतनाम भने सोभियत संघसँग निकट बन्दै गएको थियो। सोभियत संघ र चीनको सम्बन्ध पनि बिग्रिँदै गएको अवस्था थियो। त्यसैले चीनले ९० हजार सेना लिएर भियतनाममाथि आक्रमण गर्‍यो। केही दिनमै उसले सीमानानजिकका कैयौँ शहर कब्जा गर्‍यो। तर, एक महिनापछि नै चीनले आफ्नो लक्ष्य पूरा भएको भन्दै सैनिक फिर्ता गर्‍यो। 

फेब्रुअरी १८

सन् २००७ को फेब्रुअरी १८ मा भारतको दिल्ली र पाकिस्तानको लाहौरबीच चल्ने सम्झौता एक्सप्रेसमा बम आक्रमण हुँदा ६८ जनाले ज्यान गुमाएका थिए। रेलको दुई डब्बामा भारतीय शहर पानीपत नजिकै बम विष्फोट भएको थियो। मारिनेमध्ये बढीजसो पाकिस्तानी नागरिक थिए। 

सुटकेसमा विष्फोटक पदार्थ भरेर रेलको डब्बामा पुर्‍याइएको अनुसन्धानबाट देखिएको थियो। पाकिस्तान र भारतबीच दिल्लीमा शान्तिवार्ता सुरु हुनु एक दिनअघि मात्र सो विष्फोट भएको थियो। हिन्दूवादी संगठन अभिनव भारतले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको थियो। त्यस्तै, लस्कर–ए–तोयबाको पनि हात रहन सक्ने आशंका थियो।

फेब्रुअरी १९

सन् १८६१ को फेब्रुअरी १९ मा रुसमा भूदास मुक्तिको घोषणा भएको थियो। रुसी सम्राट अलेक्ज्यान्डर द्वितीयले भूदास मुक्तिको घोषणा गरेका थिए। त्यसअघिसम्म रुसी जमिनदारसँग सयौँ भूदास हुने गर्थे। रुसभरि करिब २ करोड ३० लाख भूदास रहेको अनुमान थियो। घोषणासँगै भूदासले नागरिक अधिकार पाए। अनुमति नलिई विवाह गर्ने, सम्पत्ति कमाउने, जमिन किन्ने अधिकार पनि उनीहरूले पाए। घरेलु भूदासले भने मुक्ति मात्रै पाए। उनीहरूले जमिन पाएनन्। यो रुसी साम्राज्यको सबैभन्दा महत्त्वपूर्ण र उदार घोषणा मानिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि