भ्यालेन्टाइन्स डेमा अनौठा उत्सव

writer

सम्पूर्ण

शुक्रबार, ०२ फागुन २०७६


कैदीको प्रेम दिवस


अमेरिकाको सान फ्रान्सिस्को जेलमा सन् २०१३ मा कैदीहरूले भ्यालेन्टाइन्स डे मनाए । घरेलु हिंसाविरोधी अभियानअन्तर्गत प्रेम दिवस मनाइएको थियो । प्रहरी अधिकारी रोस मिर्कारिमीले सान बु्रनोमा रहेको काउन्टी जेलमा सामूहिक नृत्य आयोजना गरेका थिए । सयौँ कैदीसँग इन्स्पेक्टर केभिन पौलसनले नृत्य गरेको तस्बिरले ठूलो चर्चा हासिल गरेको थियो । रातो कैदी–पहिरनमा सजिएका थुनुवाहरूले ‘ब्रेक द चेन’बोलको गीतमा नाचेका थिए । घरेलु हिंसाविरोधी अभियान ‘वान बिलियन राइजिङ’कै हिस्सास्वरूप पिरती दिवसमा सो कार्यक्रम भएको थियो ।


शव–बाकसमा बिहे


छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए । दुलाहा तानापात्पुरिन सामाङ्निती, ४०, र दुलही सुनान्तालुक कङकुन, २६, ले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए । बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए । शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए । 


भेडा र मृगको लगनगाँठो


सन् २०१२ को भ्यालेन्टाइन्स डेमा चीनको एक चिडियाघरमा रहेका भेडा र मृगको जोडीको अनौठो बिहे भएको थियो । दक्षिण–पश्चिम चीनमा पर्ने कुन्मिङ शहरस्थित युनान प्रादेशिक वन्यजन्तु निकुञ्जमा भएको विवाह समारोहमा टिकट काटेर आगन्तुकहरू सरिक भएका थिए । 
चांगमाओ नामक भेडा र चुन्जी नामक मृगिणीको असामान्य प्रेम सम्बन्ध कुन्मिङ शहरका बासिन्दामाझ चर्चाको विषय थियो । प्रेम प्रसंगले यो जोडीलाई लोकप्रिय बनाएको थियो । उनीहरूको प्रेमले हद नाघेपछि एकचोटि त यो जोडीलाई बलजफती छुट्याइएको थियो । तर, पछि उनीहरूको पुनर्मिलन गराइएको थियो । किनभने, चांगमाओ र चुन्जीले आफूहरूको बिछोड गराएपछि निकुञ्जमा उपद्रो मच्चाएका थिए । 
बिहेपछि निकुञ्जका वैज्ञानिकहरूले भेडा र मृगको व्यवहारमा मानवीय मान्यता र अर्थ खोज्न नहुने बताएका थिए । भ्यालेन्टाइन्स डेमा दाम्पत्य जीवन सुरु गर्ने यी प्राणीबारे ‘फलोअप’ समाचार भने आएका छैनन् । 


कनसुत्लोको राजा र बिच्छीकी रानीको बिहे


सन् २०१० को भ्यालेन्टाइन्स डेमा थाइल्यान्डका एक जोडीले बिहे गरेका थिए । रक्तपिपासु (भ्याम्पायर) को पहिरनमा सजिएर उनीहरूले दाम्पत्य जीवन सुरु गरेका थिए । कनसुत्लोको राजा भनिने बुन्थावी सिंगवङ र बिच्छीकी रानी भनिने कन्जना केटकिउको पिरती दिवसमा बिहे भएको थियो । 

दुलाहा बुन्थावीले २८ दिनसम्म एक हजार कनसुत्लोका बीच रहेर विश्व रेकर्ड बनाएका थिए भने दुलही कन्जनाले प्लास्टिकको पिञ्जडामा ३४ सय बिच्छीसँग ३२ दिन बिताएर विश्व रेकर्ड बनाएकी थिइन् । 

व्यापक भएको उनीहरूको बिहेको एउटा तस्बिरमा बेहुलाका मुखमा कनसुत्लो देखिन्छ भने बेहुलीको शरीरभरि केही बिच्छी बसेका देखिन्छन् । भ्यालेन्टाइन्स डेलाई यसरी विशेष बनाएका उनीहरूलाई ‘संसारकै डरलाग्दो जोडी’ उपमा दिइएको थियो । 

उनीहरूको पहिलो भेट एउटा सर्प फार्ममा भएको थियो । त्यहाँ उनीहरू दुवैले आफ्ना प्रस्तुति दिएका थिए । ‘हामीले जीवनमा थुप्रै अनौठा चिज गरेका छौँ,’ कन्जनाले बिहेपछि सञ्चारमाध्यमसँग भनेकी थिइन्, ‘बिहे पनि अनौठो ढंगमा ग¥यौँ । भ्यालेन्टाइन्स डेलाई विशेष बनाउन हामीले कुनै कसर छाडेनौँ ।’ 


बरफमाथि चुम्बन प्रतियोगिता


 सन् २०१३ मा साइबेरियाको क्रास्नोयास्र्क शहरमा भ्यालेन्टाइन्स डेको अघिल्लो दिन ‘बरफमाथि चुम्बन प्रतियोगिता’ भएको थियो । सयौँ जोडीले प्रतियोगितामा भाग लिएका थिए । फेब्रुअरीको चिसो र बर्फिलो रातमा थुप्रैले चुम्बन गरेर प्रेमको तातोपन प्रकट गरेका थिए । 
 

तपाईको कमेन्ट