सम्झनामा स्कुले पिरती

writer

सम्पूर्ण

बिहिबार, ०१ फागुन २०७६


शोभित बस्नेत, निर्देशक

स्कुलमा हुँदा धेरै केटीसँग बोल्थेँ, जिस्किन्थेँ। जति जनासँग ख्यालठट्टा गरे पनि  पहिलो प्रेम भने श्रीमतीसँग नै परेको थियो। हामी एउटै स्कुलमा पढ्थ्यौँ। केटा साथीहरूबीच ‘कति जनासँग प्रेम गर्न सक्ने’ भनेर प्रतिस्पर्धा चल्थ्यो। तर, मैले भने त्योबेला आफ्नी प्रेमिका अर्थात् अहिलेको श्रीमतीलाई मात्रै माया गरेँ। उनीसँगै भ्यालेन्टाइन्स डे मनाउथेँ। सँगै घुम्न जान्थ्यौँ। 

मोनिस निरौला, गायक     

स्कुल पढ्दाताका थुपै्रसँग प्रेम भयो, त्यो पनि एकतर्फी। कोही–कोहीसँग डेटिङमा पनि गइयो। लज्जालु स्वभावको थिएँ। बोल्नै डराउँथेँ। लभ परेकासँग फेस टू फेस बोल्न सक्दिनथेँ। फोनमा चाहिँ घण्टौँ कुरा गर्न सक्थेँ। कसैप्रति माया व्यक्त गर्नुपर्‍यो भने गीत गाइदिन्थेँ। 

गौरव पहारी, अभिनेता

कसैलाई माया गर्नु छ भने यस्ता विशेष दिनका लागि कुर्दिनथेँ। अहिले पनि कुर्दिनँ। स्कुलताका मेरी गर्लफ्रेन्ड थिइन्। उनैले प्रपोज गरेकी थिइन्। होस्टेलमा बस्नुपर्ने भएकाले धेरै भेटघाट हुन्थेन। डेट जाने, फोनमा बोलिराख्ने कुरा त परकै भयो। उनले मेरा लागि प्रेमपत्र, उपहार पठाइराख्थिन्। माया देखाउन गुलाबको फूल, चकलेट नै दिनुपर्छ भन्ने छैन। त्यस्तो न स्कुल पढ्दाताका लाग्थ्यो, न अहिले नै लाग्छ।  

सुवानी मोक्तान, गायिका 

स्कुल पढ्ने बेलामा प्रेममा परिनँ। स्कुलमा हुँदा प्रेम दिवसमा न मैले कसैलाई प्रेम प्रस्ताव राखेँ, न कसैले मलाई ‘आई लभ यू’ भने। मेरो लभ लाइफ एकदमै बोरिङ थियो। बरु, स्कुल पढ्दाताका अमेरिकी गायक आरोन कार्टर खूब मन पर्थे। उनलाई कहाँ र कसरी भेट्ने होला भनेर कल्पना गर्थें।   

सविन श्रेष्ठ, अभिनेता

स्कुलमा साथीहरूको लहैलहैमा गर्लफ्रेन्ड बनाइन्थ्यो। साथीहरूले मलाई हुलाकी नै बनाएका थिए। उनीहरूका लभ लेटर ओसारपसार गरिदिन्थेँ। आफ्नोभन्दा साथीहरूको प्रेम सम्बन्ध कसरी दह्रो बनाउने भन्नेतिर लाग्थेँ। स्कुल पढ्दाताका मेरा चाहिँ एकदुई जना गर्लफ्रेन्ड थिए। स्कुले प्रेम लामो समयसम्म टिकेन। त्यसताका ‘अटो डायरी’ प्रचलनमा थियो। आफ्नो प्रेम व्यक्त गर्न अटो भरेर गर्लफ्रन्डलाई दिन्थेँ। 

हेमन्त राना, गायक 

स्कुल पढ्दा एकदम लज्जालु स्वभावको थिएँ। ‘भ्यालेन्टाइन्स डे’ के हो ? भन्ने नै थाहा थिएन। स्कुलका राम्रा केटीप्रति आकर्षित हुन्थें। उनीहरूसँग बोल्न भने सक्दिनथेँ। तर, पछि स्कुले जीवनमै प्रेममा परेँ। प्रेम दर्शाउन कुनै दिन बार कुरिनँ, त्यस्ता शब्द पनि प्रस्तुत गरिनँ। हामी एकअर्काको प्रेमभाव बुुझ्थ्यौँ। पछि उनीसँगै बिहे गरँे। 

विनिता बराल, अभिनेत्री 

स्कुलमा हुँदा कसैको प्रेममा परिनँ। मन परेका व्यक्तिलाई चिठी लेखिदिन्थेँ। आफूलाई मन परेको केटाबारे साथीहरूसँग कुरा गर्थें। उनीहरूलाई आफ्नोबारे भन्न लगाउँथेँ। थुप्रै केटा प्रेम प्रस्ताव लिएर आउँथे। म चाहिँ ठाडै अस्वीकार गरिदिन्थेँ। ९÷१० कक्षा पढ्दाताका भने एकदुई जना केटा मन परेका थिए। तर, प्रेममा भने परिनँ। 

कामेश्वर चौरसिया, अभिनेता

स्कुले जीवनमा मलाई कुनै केटीले मन पराएनन्। केटीहरू मेरो नजिक आउनै मान्दैनथे। एक जना केटीलाई खूब मन पराउँथें। ऊसँग बोल्न सक्दिनथेँ। उसको नाम पनि थाहा थिएन। एक दिन परीक्षा हलमा हामी एउटै बेन्चमा परेका थियौँ। लेख्दालेख्दै मेरो कलमको मसी सकिएको थियो। ऊसँग दुुइटा कलम थिए। बोल्ने मौका त्यही थियो। र, पनि बोल्न सकिनँ। परीक्षा बीचमै छोडेर निस्किएँ। 
 
प्रकाश सपुत, गायक  

स्कुलमा लज्जालु स्वभावको थिएँ। मेरो लेखन कला राम्रो थियो। साथीभाइ प्रेम पत्र लेख्न सहयोग माग्थे। साथीभाइका प्रेमिकाका लागि थुप्रै पटक लभ लेटर लेखेँ। तर, आफ्ना लागि लेखिनँ। स्कुल पढ्दाताका थुप्रै केटी मन पर्थे। उनीहरूका लागि अटो डायरी खूब लेखियो। कति जनालाई मन परेका हिरो÷हिरोइनका पोस्टकार्डपछाडि ‘आई लभ यू’ लेखेर बाँडेँ। कक्षा ९÷१० मा पढ्दा साथीहरूसँग मिलेर स्कुलका जुनियर÷सिनियर कक्षाका राम्रा केटीलाई झ्यालमा बसेर खूब जिस्काउँथेँ।

सलोन बस्नेत, अभिनेता

स्कुले जीवनमा केटीहरूसँग फ्लर्ट खूब गर्थें। मन परेका केटीहरूलाई ग्रिटिङ कार्ड दिन्थँे। कार्डमार्फत प्रपोज गर्थें। मलाई पनि धेरै केटीले प्रेम प्रस्ताव राख्थे। म भने आफूभन्दा सिनियर कक्षाका केटीहरूलाई प्रपोज गर्थें। स्कुलताका दुई जना केटीसँग प्रेममा परेको थिएँ। ९÷१० कक्षामा पढ्दा क्लास बंक गरेर उनीहरूसँग घुम्न जान्थेँ।

प्रस्तुतिः अस्मिता 

तपाईको कमेन्ट