बलिउडका युगल मायालु

writer

सम्पूर्ण

बिहिबार, ०१ फागुन २०७६


वरुण–नताशा

अभिनेता वरुण धवन आफ्नी बाल्यकालकी साथी नताशा दलालसँग प्रेम सम्बन्धमा छन्। यस वर्ष उनीहरूले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने बताइएको छ। करन जौहरको च्याट सो ‘कफी विद करन’ मा वरुणले आफ्नो प्रेम सम्बन्धबारे बताएका थिए। लामो समयदेखि डेट गरिरहेका उनीहरू बलिउडका धेरैजसो कार्यक्रम र पार्टीमा सँगै देखिने गरेका छन्। यो जोडीले गुपचुप औँठी साटासाट गरेको र यस वर्षको मेमा थाइल्यान्डमा लगनगाँठो कस्ने पक्का भएको समाचार पनि बाहिरिएका थिए। तर, हालै रिलिज फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ को प्रमोसनका क्रममा वरुणले यी सारा समाचार अफवाह रहेको बताएका थिए। ‘बिहे गर्दिनँ भन्ने होइन,’ वरुणले भनेका थिए, ‘तर, चाँडै नै गर्छु भन्ने छैन।’

रणवीर–आलिया

अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको जोडीलाई बलिउडमा ‘क्युट कपल’ भनिन्छ। सन् २०१८ यता उनीहरूको प्रेम प्रसंग सुरु भएको हो। फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङका क्रममा उनीहरूबीच प्रेम झांगिएको बताइन्छ। हिजोआज उनीहरू प्रायः सँगै देखिन्छन्। पारिवारिक समारोहदेखि बलिउडका पार्टीसम्म उनीहरू सँगै हुन्छन्। यो जोडी यसै वर्ष बिहे बन्धनमा बाँधिने समाचार आएका छन्। तर, एक भारतीय मिडियासँग कुराकानी गर्दा आलियाले चाँडै बिहे नगर्ने बताएकी थिइन्। ‘अहिले नै बिहेबारे सोचिरहेकी छैन,’ उनले भनेकी थिइन्, ‘म जीवनमा योजना बनाएर काम गर्ने मान्छे होइन। जतिखेर जे हुन्छ गरिहाल्ने हो, त्यसबारे धेरै सोचिरहनुपर्छ भन्ने लाग्दैन।’

अर्जुन–मलाइका

अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाको जोडीलाई बलिउडको बलियो जोडीका रूपमा हेरिएको छ। मलाइकाको अभिनेता अरबाज खानसँग सम्बन्ध विच्छेद भएयता उनीहरू प्रेममा छन्। अर्जुन, मलाइकाभन्दा १२ वर्ष कान्छा हुन्। सँगै बिदा मनाउनेदेखि कार्यक्रममा समेत उनीहरू साथ–साथ देखिन्छन्। यस जोडीले पनि यस वर्ष बिहे गर्ने हल्ला छ। तर, उनीहरूले भने अहिलेसम्म यसबारे केही बोलेका छैनन्।

श्रद्धा–रोहन

अभिनेत्री श्रद्धा कपुर आफ्नो व्यक्तिगत जीवनबारे मिडियामा बोल्न रुचाउँदिनन्। एकताका उनको प्रेम सम्बन्ध फरहान अख्तर र त्यसपछि आदित्य राय कपुरसँग रहेको हल्ला चलेको थियो। त्यसबारे सोध्दा उनले सधैँ यसलाई ‘अफवाह’ नै भनेकी थिइन्। हाल उनी नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको बताइन्छ। त्यसबारे सोध्दा पनि उनले घुमाउरो पाराले उत्तर दिने गरेकी छिन्। यस जोडीको बिहेका समाचारसमेत बेला–बेलामा मिडियामा आउने गरेका छन्। 

कट्रिना–विक्की
बलिउडको ‘हटेस्ट जोडी’ का रूपमा अहिले अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको जोडी देखिएको छ। तिहारको एक कार्यक्रममा सँगै देखिएपछि उनीहरू रिलेसनसिपमा रहेको बलिउडमा कानेखुशी चलेको थियो। त्यसयता उनीहरू धेरै पटक सँगै देखिएका छन्। कट्रिना र विक्कीले भने यसबारे मुख खोलका छैनन्। तर, उनीहरूले अंग्रेजी नयाँ वर्ष सँगै मनाएको समाचार पनि मिडियामा आएको थियो। रणवीर कपुरसँग ब्रेकअपपछि ‘सिंगल’ को स्ट्याटस भिरिरहेकी कट्रिना र हरलिन सेठीसँग ब्रेकअपपछि एक्लिएका विक्की सँगै देखिन थालेपछि उनीहरूबीच प्रेमको अंकुर पलाएको बताइन्छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि