युद्ध र प्रेम

writer

सम्पूर्ण

बिहिबार, ०१ फागुन २०७६


के पहिलो विश्वयुद्धका पछाडि एउटा प्रेमकथा जिम्मेवार थियो ? के प्रेमकै कारण ट्रोजन युद्ध भएको थियो ? विश्वमा प्रेमका कारण कति युद्ध भए ? 


हिन्दू धर्मशास्त्रमा सबैभन्दा महŒवपूर्ण मानिएको महाकाव्य हो, व्यासलिखित महाभारत । यसमा चर्चा गरिएको कुरुक्षेत्रको युद्ध कौरव र पाण्डवबीच सत्ताका लागि भएको लडाइँ थियो । तर, यो युद्धको एक प्रमुख पात्र थिइन्, द्रौपदी । उनलाई प्राप्त गर्ने लोभका कारण महाभारतका कैयन् घटना हुन पुग्छन् । 

उनी पञ्चालका राजा द्रुपदकी छोरी थिइन् । द्रुपदले आफ्नी छोरीको विवाह पाण्डवका पाँच भाइमध्ये अर्जुनसँग गराउने तय गरेका थिए । तर, उनीहरूको मृत्यु भइसकेको सुनेपछि उनले द्रौपदीको स्वयंवर रचाए । पानीमा छाया हेरेर सुवर्ण माछाको आँखामा तीर लगाउनु पर्ने सर्त तय गरियो । अरू कसैले नसकेपछि ब्राह्मणको भेषमा आएका अर्जुनले त्यो काम पूरा गरे । तर, कौरवहरू यस्तो देख्न चाहँदैनथे । त्यसैले उनीहरूले विरोध गरेका थिए । उनीहरू फर्केपछि पाण्डवकी आमा कुन्तीले अर्जुनले जितेर ल्याएकी द्रौपदी पाँचै भाइलाई भोग गर्न आदेश दिइन् । 

कौरवले पाण्डवको राज्य जित्ने जुवाको षड्यन्त्र गरेको कथा महाभारतमा उल्लेख छ । जसमा पाण्डवमध्येका जेठा युधिष्ठिरले द्रौपदीलाई दाउमा राख्छन् र हार्छन् । त्यसपछि दुर्योधनको कान्छो भाइ दुशासनले द्रौपदीलाई कपालमा समातेर सभाको बीचमा ल्याउँछन् । त्यहाँ कौरवले उनको चीरहरण गर्छन् । त्यो समयमा भीष्म पितामह, गुरु द्रोणाचार्य, कृपाचार्य, विदुरजस्ता विद्वान् पनि चुप लागेर बस्छन् । तर, द्रौपदीको लाज कृष्णले बचाउँछन् । यही बेला भीमसेनले दुशासनको खुन पिउने कसम खान्छन् । 

यसलगत्तै अर्को जुवाको खेलमा युधिष्ठिर हार्छन् र १२ वर्षका लागि वनवास जान बाध्य हुन्छन् । जसले युद्धको पृष्ठभूमि तयार ग¥यो । 

–बाल्मीकिलिखित रामायण शासन, राज्यका लागि भएको प्रतिस्पर्धा, शासकको जीवन गाथा मात्र होइन, त्यो समयको प्रेमकहानी पनि हो । कोशलराजका राजकुमार रामले राजा जनककी सुपुत्री सीतासँग विवाह गर्छन् । तर, पारिवारिक किचलोका कारण उनी १४ वर्षका लागि वनवास जानुपर्ने हुन्छ । 

राम, पत्नी सीता र भाइ लक्ष्मणका साथ वनवासमा हुन्छन् । त्यहाँ सीता लंकाका राजा रावणबाट अपहरणमा पर्छिन् । पत्नी अपहरणमा परेपछि रामले वानरसेनाको सहयोगमा लंकामाथि आक्रमण गर्छन् । यो महाकाव्यको मुख्य लडाइँ यही नै हो । जुन सीतालाई फिर्ता गर्न सुरु भएको थियो । रामायणका अनेकौँ संस्करण छन् । जसमा यी घटनाहरूको व्याख्या पनि अनेक कोणबाट गरिएको छ । 

–प्राचीन ग्रिस र ट्रोय सहरबीचको युद्धलाई हामी ट्रोजन युद्ध भनेर याद गर्छौं । ट्रोय हालको टर्कीमा पर्ने अनुमान गरिन्छ । यो युद्ध ग्रिसेली राजकुमारी हेलेनलाई लिएर भएको थियो । हेलेनको विवाह स्पार्टाका राजा मेनेलायससँग टुंगो लागेको थियो । तर, गुप्त रूपमा उनको सम्बन्ध भने ट्रोयका राजकुमार पेरिससँग पनि थियो । हेलेन र मेनेलायसको विवाहकै अघिल्लो रात पेरिसले हेलेनलाई अपहरण गरी ट्रोय पु¥याए । यसबाट मेनेलायस क्रुद्ध भए । उनले थाहा पाए, ट्रोयका राजकुमारले हेलेनको अपहरण गरेको । त्यसैले हेलेनलाई फिर्ता गराउन उनले ग्रिससँग सहयोग मागे । 

त्यसबेला ट्रोय सबैभन्दा बलियो गरी किल्लाबन्द गरिएको शहर–राज्य थियो । यो लडाइँ १० वर्षे युद्धमा बदलिन पुग्यो । त्यो समयमा बहादुर मानिएका अयाक्स, हेक्टर, अकिलिसजस्ता लडाकुहरू युद्धमा होमिए । वर्षौंको युद्धपछि ओडिसस नामक देवताले युद्ध टुंग्याउने योजना बनाए । यो रणनीतिलाई अहिले पनि ‘ट्रोजन हर्स’ का रूपमा सम्झना गरिन्छ । 

ओडिसस र उनका ५० मानिस काठको घोडाभित्र लुकेर बसे । ती मूर्तिलाई उपहारका रूपमा ट्रोयलाई दिने भनियो । सो उपहार लिने कि नलिने भन्नेमा बहस चल्यो र अन्त्यमा ट्रोजनहरूले स्विकार्ने निर्णय गरे । जसका लागि उनीहरूले शहरको द्वार खोले । त्यही रात ओडिसस र उनका मानिसले काठको घोडाबाट निस्केर ट्रोयको ढोका खोले र ग्रिसेलीहरूलाई संकेत दिए । त्यसपछि ट्रोयमा नरसंहार मच्चियो । मेनेलियस पत्नी हेलेनसहित घर फर्के । 

–तेह्रौँ शताब्दीको अन्त्यमा सिन्ध राज्यका राजा थिए, असदुल मिलत दोदो सुमरु । उनकी बहिनी बिल्किस बागी अत्यन्त सुन्दर थिइन् । त्यसबेला दिल्ली राज्यका सुल्तान थिए, अलाउद्दिन । सुल्तान अलाउद्दिनका सेनापति थिए जाफर खान । जर्नेल खानले गुप्तचर पठाएर बुझ्दा सिन्धमा राजा दोदो सुमरु र उनका भाइ चनेसरबीच विवाद रहेको थाहा पाए । जर्नेल खानले यही मौकामा सिन्धमा हमला गरेर त्यसलाई दिल्लीमा मिसाउने र राजकुमारी बिल्किस बागीलाई पनि हात पार्ने योजना बुने । 

जर्नेल खानले राजा दोदोलाई एउटा सूचना पठाए– तुरुन्त दिल्लीका सुल्तानलाई शाही नजराना लिएर आउनू । अनि राजकुमारी बागीलाई सुल्तानकी बेहुली बनाएर ल्याउनू । दिल्लीबाट यस्तो सूचना पाएपछि राजा दोदोले मन्त्रीको बैठक बोलाए । उनीहरूले राजकुमारी दिल्लीका सुल्तानलाई नदिने र युद्ध भए प्राण रहुञ्जेल लड्ने निर्णय गरे । 

यस्तो थाहा पाउनेबित्तिकै जर्नेल जाफर खान सिन्धमाथि आक्रमण गर्न सैनिक लिएर हिँडे । भयानक युद्ध भयो । दुवैतर्फ हजारौँ मारिए । राजा दोदो पनि मारिए । युद्ध जितेर सिन्ध राजधानी पुग्दा जर्नेल जाफर खानले राजकुमारी बागी फेला पारेनन् । उनले कुचका राजपुत राजा अब्रो सामोकहाँ शरण लिइसकेकी थिइन् । जर्नेल खानले त्यहाँ आक्रमण गरे र सो राज्यलाई पराजित गरे । तर, राजकुमारी बागी त्यहाँबाट पनि भागेर पहाडतिर लागिसकेकी थिइन् । जर्नेल खानले उनलाई कहिल्यै फेला पारेनन् ।

–संसारमा जति पनि युद्ध भएका थिए, त्यसको समग्र स्वरूप पहिलो विश्वयुद्धले फेरिदिएको थियो । पहिलो पटक विश्वले त्यति भयानक विध्वंस र मृत्यु देखेको थियो । युद्धमा एकातिर बेलायत, फ्रान्स र रुस थिए भने अर्कोतिर अस्ट्रिया–हंगेरी, जर्मनी र इटली । सात करोड सैनिक परिचालन भएको यो युद्ध एउटा प्रेम कहानीको दुःखद् अन्त्यका कारण सुरु भएको थियो । 

अस्ट्रिया–हंगेरीका राजा थिए, कार्ल लुडविग । उनका उत्तराधिकारी थिए, राजकुमार फ्रान्ज फर्डिनान्ड । सत्ताको काममा उनले हात हाल्न सुरु गरिसकेका थिए । फर्डिनान्डको विवाहको चर्चा चल्दै थियो तर उनको भेट १८९४ मा चेकोस्लोभाकियाकी एक युवती सोफी चोटेकसँग भयो । दुवै प्रेममा परे । तर, राजकुमारले शाही परिवारकी सदस्यसँग विवाह गर्नुपर्ने नियम थियो । त्यसैले सोफीलाई परिवारले स्विकार्ने कुरा आएन । खिचातानीमा वर्षौं बित्यो । अन्ततः सोफीलाई शाही पदवी नदिने शर्तमा विवाह भयो, जसमा राज खानदानको कोही पनि सहभागी भएनन् । उनीहरू प्रायः विदेशमा समय बिताउन थाले । उनीहरूका चार बच्चा पनि जन्मिए । 

त्यसबेला बोस्निया हर्जगोभिना अस्ट्रिया–हंगेरीको नियन्त्रणमा थियो । एक पटक सराएभो शहर घुम्न गएको बेला फ्रान्ज र सोफीको हत्या भयो । लगत्तै अस्ट्रिया–हंगेरीले सर्बियालाई अल्टिमेटम दियो । चित्तबुझ्दो जवाफ नपाएपछि अस्ट्रिया–हंगेरीले सर्बियामाथि धावा बोल्यो । अस्ट्रिया–हंगेरीले जर्मनी र इटलीसँग पनि युद्धसन्धि गरेको थियो । त्यसैले यी दुई देश अस्ट्रिया–हंगेरीको पक्षबाट युद्धमैदानमा ओलिए । उता सर्बियाको सम्बन्ध भने फ्रान्स, रुस र बेलायतसँग थियो । यसरी पहिलो विश्वयुद्ध सुरु भयो । 

–पहिलो विश्वयुद्ध कसरी सुरु भएको थियो, त्यसबारे पहिले नै चर्चा भइसकेको छ । तर, अस्ट्रिया–हंगेरीका सेनापतिको एकतर्फी प्रेमका कारण यो युद्धमा बढी रक्तपात मच्चिएको विश्वास पनि गरिन्छ । अस्ट्रिया–हंगेरीका सेनापति थिए, जनरल कोनराड भोन होत्जेनडोर्फ । युद्ध सुरु भएको पाँच महिनामै उनको सेनाले ठूलो क्षति बेहोरिसकेको थियो । उनका सैनिकमध्ये १ लाख ८९ हजार मारिएका, ४ लाख ९० हजार घाइते भएका र २ लाख ७८ हजार हराइरहेका थिए । उनका आफ्नै छोरा हर्बट पनि मारिएका थिए । 

तर, यति हुँदाहुँदै पनि जर्नेल होत्जेनडोर्फको मुख्य चिन्ताको विषय अर्कै थियो । लाखौँ सेना र मुलुकको भाग्यको निर्धारण गरिरहेका यी जर्नेल युद्धभन्दा पनि एक विवाहित महिलाको मन जित्ने चक्करमा परेका थिए । ती थिइन्, इटलीमा जन्मेकी भर्जिनिया भोन रेनिंगस । युद्धकै क्रममा उनले भर्जिनियालाई लेखेका छन्, ‘सबैथोक छोडेर हामी साथै रहन सक्दैनौँ? म ठीक छैन । तिमीसँग छुट्टिएर म बाँच्न सक्दिनँ ।’

सन् १९१५ मा उनले एक अफिसरसँग भनेका थिए, ‘यदि यो महिलाले मसँग बिहे गर्ने निर्णय गरिन भने मेरो के हाल होला, भन्न सक्दिनँ ।’

उनी युद्धको बीचमा पनि भर्जिनियालाई दैनिक एउटा चिठी लेख्न भ्याउँथे । १९०७ देखि १९१५ सम्ममा उनले ती महिलालाई तीन हजारभन्दा बढी चिठी लेखेका छन् । कुनै–कुनै चिठी त ६० पृष्ठभन्दा लामा थिए । सायद यो युद्ध सुरु गर्नमा पनि उनीहरूको प्रेमले केही न केही भूमिका खेलेको विश्वास इतिहासकारहरू गर्छन् । सायद, होत्जेनडोर्फ तत्काल युद्ध जितेर विजेताका रुपमा भर्जिनियासँग विवाह गर्न चाहन्थे । त्यसैले उनले सर्बियामाथि चाँडो युद्ध घोषणा गरेका थिए । 

–‘अरू सबैभन्दा दुई चीज महान् छन्,’ रुडयार्ड किप्लिङले लेखेका छन्, ‘पहिलो प्रेम, दोस्रो युद्ध ।’ प्रेम र युद्ध सधैँ एकअर्कासँग जोडिएका हुन्छन् । प्रेम र युद्ध मानिसका दुई अति भावनाका अभिव्यक्ति पनि हुन् । १७ औँ शताब्दीका कवि सेरभान्तेस ‘डन किहोते’मा लेख्छन्, ‘प्रेम र युद्ध भनेको एकै हुन् । यी दुवैमा आफूले चाहेको नतिजा निकाल्न ढाँटछलको प्रयोग पनि वैध हुन्छ ।’ यही भनाइबाट प्रभावित भएर पछि उखानै बन्यो, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ । 

त्यसै हुनाले भन्ने गरिन्छ, हाम्रो परम्परागत इतिहासमा युद्धको निर्धारण गर्नमा प्रेमको ठूलो भूमिका छ । हाम्रा पौराणिक कथा छन् पनि त्यस्तै । पूर्व होस् वा पश्चिम, महाभारत होस् या इलियाड, दुवैतिरका प्राचीन ग्रन्थमा महिलाप्रतिको आशक्ति वा प्रेमलाई युद्धको कारकका रूपमा देखाइएको छ । 

उसो त इतिहासकारहरूको एउटा हिस्सा सधैँ ऐतिहासिक घटनाक्रमको कारण खोज्ने बेलामा यस्ता विषयलाई बढी महत्व दिने गर्छन् । किनभने, कुनै घटनाको, खास गरी पर्याप्त प्रमाण फेला पार्न नसकिने स्थितिमा यो नै सबैभन्दा सहज व्याख्या बन्न पुग्छ । अर्कोतिर, यस्ता विषयले मानिसको ध्यान पनि सहजै खिच्छ । नेपालकै उदाहरण हेर्ने हो भने २०५८ सालको दरबार हत्याकाण्ड युवराज दीपेन्द्रको एक महिलाप्रतिको आशक्तिलाई कारक मान्ने गरिएको छ । 

तर, के साँच्चै ती महिलाको कारण दीपेन्द्रले बुबाआमाको हत्या गरे त ? महाभारतको युद्ध हुनुमा द्रौपदी दोषी थिइन् कि पाण्डव र कौरवहरूको सत्ता लालच ? ग्रिसेलीहरूले ट्रोयको विध्वंस र नरसंहारलाई न्यायोचित ठह¥याउन हेलेनको कथा रचेका त होइनन् ? के इतिहासलाई हेर्ने यो चस्मा दोषी त छैन ? के यसले पौराणिक कालदेखि हालसम्म चल्दै आएको स्त्रीद्वेषी भाष्यलाई त निरन्तरता दिँदैन ? कुनै पनि ऐतिहासिक घटनाको व्याख्या विश्लेषण गर्ने क्रममा हामीले यी पक्षमाथि विचार गर्न जरुरी छ । 

एजेन्सीको सहयोगमा कवि आचार्य 
 

तपाईको कमेन्ट