मञ्चमा मौलाएको माया

सृजना खड्का
बिहिबार, ०१ फागुन २०७६
मण्डलमा थिएटरमा अभिनय गर्ने सिलसिलामा लक्ष्मी र जीवन प्रेममा परे । उनीहरूका निम्ति मण्डला प्रेमको मन्दिर पनि हो ।
भेट्न खोज्ने जो कोहीलाई उनीहरू भन्छन्– ‘मण्डलातिरै आउनुस्, हामी त्यतैतिर हुन्छौँ ।’
कलाकार जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई अनामनगरको मण्डला थिएटर प्यारो लाग्छ । किनभने, लक्ष्मीले जीवनसँग जीवन बिताउने सपना देखेको त्यहीँबाट हो । जीवनले पनि लक्ष्मीलाई लक्ष्मी बनाएर घर भित्र्याउने सपना बुन्न थालेको त्यहीँबाट हो ।
लक्ष्मी र जीवन थिएटर हुँदै फिल्ममा प्रवेश गरेको जोडी हो । यही २७ गते उनीहरूले बिहे गरेको वर्षदिन पुग्यो । शुक्रबार मण्डला थिएटरमा भेटिएका उनीहरूले उत्साहित हुँदै भने, ‘अबको तीन दिनपछि हाम्रो पहिलो म्यारिज एनिभर्सरी आउँदै छ ।’
पहिलो भेट
छ वर्षअघि भएको पहिलो भेट दुवैलाई याद छ । एन्टेना फाउन्डेसनको रेडियो नाटकमा यी दुईको भेट भएको थियो । लक्ष्मी प्रमुख पात्र थिइन् । जीवन थिए, आक्कलझुक्कल झुल्किने पात्र । त्यहीँ उनीहरूले एकअर्कालाई देखेका थिए । तर, खासै बोलचाल भने हुँदैनथ्यो ।
जीवन इन्ट्रोभर्ट थिए, कम बोल्थे । लक्ष्मी बोलिराख्नुपर्ने । ‘कि धेरै बोल्ने मान्छे याद हुन्छ, कि बोल्दै नबोल्ने,’ लक्ष्मीले भनिन्, ‘ऊ खासै बोल्दैनथ्यो, त्यसैले मैले उसलाई नोटिस गरेँ ।’
जीवन सुरु–सुरुमा लक्ष्मीलाई ‘दिदी’ भन्थे । एक दिन जीवनले भने, ‘दिदी, म पनि मण्डलामा क्लास लिन लागेको नि !’
जवाफमा लक्ष्मीले भनिन्, ‘लिऊ न राम्रै हुन्छ । त्यतातिर हुँदा बोल्नू, म पनि प्रायः उतै हुन्छु ।’
मण्डलाको तेस्रो ब्याचकी विद्यार्थी हुन्, लक्ष्मी । जीवन भने चौथो ब्याचका विद्यार्थी हुन् ।
‘जीवन एकदमै अनुशासित थियो,’ लक्ष्मीले भनिन्, ‘नचाहिने कुरामा ओभरस्मार्ट हुँदैनथ्यो । मलाई ऊ ‘गुड ह्युमन बिइङ’ लाग्थ्यो ।’
जीवनलाई भने लक्ष्मी सुरुमा घमण्डी लाग्थिन् । ‘संगत गर्दै गएपछि मैले सोचेजस्तो रहिनछिन्,’ जीवनले भने, ‘सिनियर दाइहरूले ‘लक्ष्मीले साह्रै राम्रो एक्टिङ गर्छे, त्यो केटी एक्टिङकै लागि जन्मिएकी हो’ भन्थे । सबैले प्रशंसा गर्ने भएकाले उनी राम्री लाग्थ्यो ।’
मण्डलामा माया
त्योबेला लक्ष्मी काठमाडौँ, कालोपुलमा बस्थिन् । जीवन घट्टेकुलोमा बस्थे । मण्डलामा रिहर्सल गर्दागर्दै उनीहरू घर जाने बेला प्रायः रात परिसकेको हुन्थ्यो ।
एक दिन जीवनले लक्ष्मीलाई भने, ‘तिमीसँग जाने कोही छ ? नत्र आज म तिमीलाई पुर्याइदिन्छु ।’
‘कोही छैन, एक्लै छु । किन तिमीसँग बाइक छ र ?’ लक्ष्मीले सोधिन् ।
‘छैन, म हिँड्दै पुर्याइदिन्छु,’ जीवनले भने ।
‘तिमी घट्टेकुलोको मानिस किन उतासम्म जान्छौ, पर्दैन,’ लक्ष्मीले भनिन् ।
‘होइन, मलाई आज हिँड्न मन लागेको छ,’ जीवनले भने ।
जीवन कविता पनि लेख्थे । घर पुर्याउन जाँदा उनी लक्ष्मीलाई कविता सुनाउँथे । ‘उसका कवितामा कसैसँग एकोहोरो पे्रममा भएको भाव झल्किन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘उसको कविता सुनेर केटो क्रिएटिभ पनि रहेछ भन्ने लाग्यो । उसले ममा नजानिँदो तरिकाले इम्प्रेसन जमायो ।’
भेटघाट भएको लामो समयसम्म पनि उनीहरूले एकअर्कासँग मोबाइल नम्बर साटेनन् । ‘भेट्दा बोल्थ्यौँ, छुट्टिएपछि खासै वास्ता हुँदैनथ्यो,’ लक्ष्मीले भनिन्, ‘ऊ खासै कोहीसँग बोल्दैनथ्यो । तर, मसँग भने बोलिरहन्थ्यो । त्यो कुरा मलाई अचम्म लाग्थ्यो ।’
एकअर्कासँग खुल्दै गएपछि उनीहरू परिवारको बारेमा पनि सोधखोज गर्न थाले । ‘कतिखेर प्रेममा परे’ आफूहरूलाई थाहा नभएको उनीहरू बताउँछन् । ‘साथीको रूपमा कुराकानी गर्दागर्दै हाम्रो प्रेम कसरी बस्यो, पत्तै पाएनौँ,’ जीवनले भने, ‘त्यो तहसम्म मलाई बुुझ्ने उनीबाहेक दोस्रो कोही हुनै सक्दैन भन्ने महसुस हुन थाल्यो । मण्डलामा हाम्रो माया बस्यो ।’
तीन वर्ष लिभिङ रिलेसनमा
जीवन र लक्ष्मी दुवैले एकअर्कालाई कहिल्यै प्रपोज गरेनन् । ‘सँगै बस्दा जहिल्यै कामको कुरा हुन्थ्यो,’ जीवनले भने, ‘मनमनै प्रपोज गरियो । तर, मुखले कहिल्यै ‘आई लभ यू’ भनेर प्रपोज गरिएन ।’
एकअर्कालाई नजिकबाट बुझिसकेपछि उनीहरू लिभिङ टुगेदर रिलेसनसिपमा बस्न थाले । ‘मलाई उनी जत्तिको सहज कोही लागेन, उनलाई मजति सहज अरू कोही लागेन,’ जीवनले भने, ‘त्यसपछि हामी लिभिङ रिलेसनसिपमा बस्न थाल्याँै ।’
परिवारको सहमतिमा नै उनीहरू तीन वर्ष लिभिङ रिलेसनमा बसे । ‘मेरो ड्याडी एकदमै कुल हुनुहुन्छ,’ लक्ष्मीले भनिन्, ‘उहाँसँगै सल्लाह गरेर म जीवनसँग लिभिङ रिलेसनमा बस्न थालेँ ।’
तीन वर्षको लिभिङ रिलेसनलाई उनीहरूले एक वर्षअघि बिहेमा परिणत गर्ने सोच बनाए । तर, छोराको अन्तरजातीय विवाहलाई जीवनको परिवारले रुचाएन । परिवार जीवनको निर्णयलाई कुनै हालतमा मान्ने पक्षमा थिएन । ‘जातको कुरालाई लिएर उहाँहरूले गुनासो गर्नुभयो,’ जीवनले भने, ‘मायालाई जातले के रोक्थ्यो ? हामीले बिहे गरेरै छाड्यौँ ।’
बिहेमा जीवनको परिवारबाट कोही आएनन् । ‘पहिला बिहे गराँै, पछि सहज हुँदै जाला भनेर हामीले बिहेको निर्णय गर्यौँ,’ जीवनले भने ।
‘श्रीमती भएँ, बुहारी हुन बाँकी छ’
बिहेपछि जीवनका आमाबुबा उनीहरूसँग बोल्न छाडे । लक्ष्मीले आफ्ना सासूससुरालाई अहिलेसम्म प्रत्यक्ष देखेकी छैनन् । बिहे भएको केही महिनामै बिहे दर्ता गर्न उनीहरू हेटाँैडा गए । तर, घरमा भने गएनन् । अहिले सम्बन्ध राम्रो पनि छैन, नराम्रो पनि छैन । ‘जातको कुरामा हाम्रो पुस्ता परिवर्तन भयो, तर उहाँहरूको पुस्ता परिवर्तन हुन बाँकी छ,’ लक्ष्मीले भनिन्, ‘म जीवनको साथी मात्रै भएको भए उहाँहरूले घरमा भिœयाउनुहुन्थ्यो होला । बुहारी भएर भित्र्याउन नसक्नुभएको हो । बुहारी भएर भित्रिँदा त्यसमा समाज जोडिन्छ ।’ तर, यी कुरामा बिस्तारै परिवर्तन होला भन्नेमा दुवै जना आशावादी छन् ।
बिहेपछि यो एक वर्षमा आएका हरेक चाड उनीहरूले काठमाडौँमै एकअर्काको साथमा मनाए । लक्ष्मीलाई बेलाबखत लाग्छ– ‘म श्रीमती भएँ, बुहारी हुन बाँकी छ ।’ उनी परिवारमा घुलमिल भएर बस्न रुचाउँछिन् । ‘म फेमिली पर्सन हुँ,’ उनले भनिन्, ‘आफूभन्दा ठूलासँग घुलमिल भएर बस्न एकदमै मन पर्छ । तर, सधैँ आफूले चाहेजस्तो कहाँ हुन्छ र ?’
‘हामी जहाँ जान्छाँै, हाम्रो घर त्यही हो,’ लक्ष्मीलाई ढाडस दिँदै जीवनले भने, ‘किनभने, हामीले देख्ने सपना एउटै छ । हामीले हिँड्ने बाटो एउटै छ ।’
मनाउँदैनन् भ्यालेन्टाइन्स डे
उनीहरूले अहिलेसम्म भ्यालेन्टाइन्स डे मनाएका छैनन् । उनीहरू भन्छन्– ‘हाम्रा लागि हरेक दिन भ्यालेन्टाइन्स डे ।’
‘राम्रो मान्छे पाएपछि हरेक दिन भ्यालेन्टाइन्स डे हुँदो रहेछ,’ लक्ष्मीले भनिन् ।
उनीहरू दुवैले एकअर्कालाई ‘माया’ भनेर बोलाउँछन् ।
जीवनले ‘हो’ भनेको कुरामा लक्ष्मीको ‘होइन’ भन्ने जवाफ कहिल्यै आउँदैन । त्यस्तै, लक्ष्मीले ‘होइन’ भनेको कुरामा जीवनको ‘हो’ भन्ने मत पनि कहिल्यै आउँदैन । ‘बाहिर देख्दा म एक्स्ट्रोभर्ट, ऊ इन्ट्रोभर्ट भए पनि हाम्रो भित्री सोच र विचार सबै एउटै छन्,’ लक्ष्मीले भनिन् ।
उनीहरू बिहेअघि जस्ता थिए, अहिले पनि उस्तै छन् । ‘हामीले एकअर्काको लागि केही पनि परिवर्तन गरेका छैनाँै,’ लक्ष्मीले भनिन्, ‘म पहिला जसरी हिँडथेँ, अहिले पनि त्यसरी नै हिँडिरहेकी छु । हामीले केही कुरामा पनि एकअर्कालाई परिवर्तन गरेका छैनाँै ।’
जोडीलाई सल्लाह
एउटै पेशामा हुँदा सम्बन्धलाई थप टेवा पुगेको ठान्छन्, उनीहरू । ‘म राति १० बजे घर आउँछु भनेर ३ बजे आए पनि शंकालु दृष्टिले उसको फोनको घण्टी मेरोमा बज्दैन,’ लक्ष्मीले भनिन्, ‘त्यस्तै ऊ पनि सुटमा गयो भने म फोन गर्दिनँ । फुर्सद भएपछि आफैँ कल गर्छ ।’
लक्ष्मी सफल भएकोमा जीवन सफल भएको मान्छन् । जीवन सफल हुँदा लक्ष्मी आफू सफल भएको ठान्छिन् । आर्ट कति ठूलो कुरा हो भनेर आफूहरूले बुझेको उनीहरू बताए । जीवनले भने, ‘उनले मलाई यो काम छोड् भन्दा जस्तो महसुस हुन्छ, उनलाई पनि मैले काम छोड् भन्दा त्यस्तै महसुस हुन्छ ।’
मायामा एकअर्काको अस्तित्व स्वीकार गर्न सक्नुपर्ने उनीहरूले बताए । ‘ऊ जस्तो छ, त्यस्तै ठीक छ,’ जीवनले भने, ‘म जस्तो छु, उसलाई त्यस्तै ठीक छु । एकअर्कामा परिवर्तन खोज्न थालियो भने नै हो सम्बन्धले अर्को मोड लिने ।’
जोडीहरूलाई उनीहरूको सल्लाह छ– ‘कसैको माया पाउन उसलाई परिवर्तन गर्नतिर लाग्ने होइन र आफू पनि परिवर्तन हुनतिर लाग्ने होइन । माया गर्ने मानिस एकअर्काअनुसार बिस्तारै ढल्दै जान्छ ।’
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७