प्रेमपत्र प्रतियोगिताका तीन प्रेमपत्र

writer

सम्पूर्ण

बुधबार, २९ माघ २०७६


मेरो मृत्यु पनि उत्सव बनोस् 
 

सुस्मिता फुयाल

प्रिय प्रेमांशु ! 

हृदयभरिको अथाह प्रेम समेटेर यो पत्र लेख्दै छु। क्यान्सरले बिछोडिन लागेको यो मोडमा तिमीले यो पत्र प्राप्त गर्दा म विलीन भइसकेकी हुनेछु। त्यसैले आज अन्तिम पत्र लेखेर बिदा लिँदै छु। 

सम्झिएका छौ ? तिमी यसै आयौ मेरो जीवनमा। यसरी मभित्र समाहित भयौ कि तिमी र मबीचको भिन्नता पहिल्याउन सक्तिनँ। हाम्रो एकअर्काप्रतिको झुकाव समागम अस्तित्वमा परिणत भयो। म थाकेकी थिएँ, हारेकी अनि सायद झुकेकी पनि थिएँ। तिमी आयौ र त मलाई जीवनले भरिन सिकायौ। क्षण–क्षण अनि प्रतिपल बाँच्न सिकायौ।

क्यान्सरले छियाछिया बनेको मेरो शरीरलाई एउटा नयाँ ताजगी दियौ। रुग्ण बनेको मेरो मस्तिष्कमा चेतना अनि विश्वासको किरण छरिदियौ। मात्र दुई महिनाअघि पार्कको त्यो बेन्चमा म बसेकी थिएँ। सन्ध्याकालीन समयमा तिमी आयौ। तत्पश्चात् सुरु भयो, हाम्रो मन अनि चेतनाको समागम यात्रा। मैले यही नै सिकँे कि लामा वर्षहरूमा बाँच्नुभन्दा प्रत्येक नवीन पल जीवन जिउने कोसिस गर्नुपर्छ। 

अहँ, मैले जीवनलाई वर्षहरूमा हेरिनँ। जति थियो, जस्तो थियो अनि जे पनि मेरो जीवनको सत्य हो, त्यसलाई नितान्त स्विकारेर अनि समेटेर बाँचेँ। सुनिरहेका छौ, प्रेमांशु ? हुन सक्छ थोरै बाँचेँ। तर जति पनि बाँचेँ, हाँसेर बाँचेँ, दिल खोलेर बाँचेँ। फक्रेर, फुलेर अनि फैलिएर पनि बाँचेँ। मेरो बाँच्नु नितान्त फैलावटको पर्याय बन्यो। साँच्चै भन्नुपर्दा, पच्चीस वर्षको पूरा जीवनमा म मात्र यही दुई महिना बाँचेँ। यसकारण म मात्र खुशी छैन। त्यो बाँच्नुको क्षण, तिमी अनि म, हामी पूरा आनन्दविभोर भएका छौँ। 

तिमीले यही सोचेका थियौ कि म निको हुनेछु। अनि, हामी पूरा जीवन बाँच्नेछौँ। तर, जीवन कहाँ सोचेजस्तो हुन्छ र ? बस्, हामी जीवनप्रतिको दृष्टान्त चाहिँ रोज्न सक्छौँ। साँचो बोल ! के हामीले पूरा जीवन नै साथमा बिताउनुपर्छ र ? हामीले बाँडेका जीवनका हरेक क्षण के हाम्रा लागि पर्याप्त छैनन् र ? तिमी यसैमा खुशी अनि आनन्दित हुनू। म यसैको भरमा अस्तित्वमा विलीन हुँदै छु। एकादेशको कथा बन्दै छु।

प्रेमांशु ! म यही चाहन्छु। तिमी पूरा जीवन बाँच। जीवनबाट विमुख बनेकी मलाई जीवनप्रति अभिमुख गराएर तिमी कसरी जीवनबाट टाढा भाग्न सक्छौ र ? म गएको देख्न नसकेर आज अन्तिम समयमा तिमी कतै टाढा छौ। अनि त म यो पत्र लेख्न बाध्य छु। तिमी कदापि पनि नहारीकन, नथाकीकन अनि नझुकीकन बाँचिराख्नू, है ! सायद यही नै तिम्रो–हाम्रो प्रेमप्रति अमिट श्रद्धाञ्जली हुनेछ।

तिमीलाई थाहा छ ? जीवनले भरिँदै गर्दा मैले आफूसँग एक प्रतिज्ञा गरेकी थिएँ। मृत्युमा विलीन हँुदै गर्दा म मेरो सम्पूर्ण जीवन ईश्वरलाई अर्पण गर्न सकूँ। यो भन्न सकूँ कि यो उपहाररूपी जीवन इमानदारीसाथ बाँचेँ, अब यहाँमा चढाउन चाहन्छु। तिमी खुशी त छौ नि, प्रेमांशु ! म मेरो सम्पूर्ण जीवन अस्तित्वलाई अर्पेर जाँदै छु। 

मेरो एउटा अन्तिम इच्छा माछौ ? सन्ध्या आरती होस्, पशुपतिनाथको आराधना होस्, बाग्मती उही गतिमा बगिरहेको होस्, बस् त्यही क्षण आर्यघाटमा चितामा मेरो शरीर स्थित होस्। कोही अरूले होइन, तिमीले मलाई मुखाग्नि दिनू। त्यस समय आनन्दविभोर भएर मेरो शरीरलाई अन्तिम बिदाइ दिनू। चितामा रहेको देहलाई आगोले आफूभित्र समाहित गर्दा त्यो एक उत्सव देखियोस्। अग्निलाई पनि गौरव अनुभूति होस्, किनकि एक छोटो सार्थक जीवन बाँचेर त्यो देह विलीन हुनेछ। मेरो अन्तिम संस्कार सार्थक जीवनको बिदाइको उत्सव बनोस्। मेरो आत्माले शरीरलाई सगौरव बिदाइ नदिएसम्म, अनि मृत्युलाई एक अन्तिम उत्सव नमानेसम्म पार पाउनेछैन। जसको पूरा जीवन उत्सव बन्यो, उसको मृत्यु कसरी उत्सवविमुख हुन सक्छ ? मेरो शेष खरानी उही बाग्मतीमा प्रवाहित गरिदिनू। म आराम चाहन्छु। यसकारण बाग्मतीले मलाई जता लानेछ, उतै जानेछु।

अनि म समय र स्थानभन्दा पर पुग्नेछु। अस्तित्वको हिस्सा म यसैमा त विलीन हुनेछु। बाचा गर, प्रेमांशु ! जीवनलाई उत्सव बनाएका तिमीले मेरो मृत्युलाई पनि उत्सव बनाउन सहयात्री बन्नेछौ।

सदा तिम्रो 
मनुषी।  


 पाँच सेकेन्डभन्दा बढी हेर्ने हिम्मत गर 

विजयालक्ष्मी नेपाल

प्रिय  ६ नं. टेबल !

तिम्रो चस्माको फ्रेमभित्रका चिम्सा आँखाले मलाई नियालेझैँ लाग्छ बेलाबेला। म पनि नजानिँदो तरिकाले मुन्टो हल्लाई कानपछाडि सिउरिएको कपाल अनुहारमा पोखाउने प्रयत्न गर्छु, मेरो लाजको घुम्टो।

ठ्याक्क तिमीतिर नियाल्ने हिम्मत आउँदैन आजकल। लामो सास फेर्छु अनि एक, दुई, तीन, चार, पाँच... मलाई थाहा छ, तिमीसँग पनि मलाई पाँच सेकेन्डभन्दा बेसी नियाल्ने हिम्मत छैन। तिमी आँखा घुमाइसक्छौ। आफ्नै दुनियाँमा मग्न भइसक्छौ र अब मेरो पालो तिमीलाई नियाल्ने।

तिम्रो आफ्नो सानो संसार छ। किताबका पाना र दर्शनशास्त्रसम्बन्धी लेखले बनेको। तिमी इन्ट्रोभर्ट, ल्यापटपअगाडि मौन बसी पढिरहन्छौ। र, म ठ्याक्क तिम्रोभन्दा अगाडिको ७ नं. टेबलमा बसी किताबपछाडि लुकेर तिम्रा अनुहारका भाव पढिरहन्छु।

आँखीभुइँ उठाई, नाक खुम्च्याई, हातले टाउको अड्याई तिमी कुनै लेखकका विचारसँग जुधिरहेथ्यौ हिजो। अनि म चाहिँ बिनासित्ति त्यसलाई सरापिरहेथेँ। ‘हिजोकै लेखक ठीक थियो’– सायद उसका विचारको सहमतिमा तिमी अनायासै मुस्काएका थियौ।

तिमीलाई लाइब्रेरीमा देख्न थालेको धेरै भयो। पहिला अाँखा जुध्थे, मुस्कान साटिन्थे, बेलाबखत किताब नि साटिन्थे। तर, बिस्तारै आँखा जुधाइसँगै ‘रमाइलो अप्ठ्यारो’ साटिन थालेझैँ लाग्छ। सुन न ! साँच्चै साटिएकै हो कि केवल एकतर्फी भाव हो यो, रमाइलो अप्ठ्यारो ?

सीधै सोधिहाल्ने हिम्मत छैन। कोसिस पनि नगरेको होइन, तिमीसँग बोल्न। साथीसँग झगडा गरी–गरी क्यान्टिनको लाइनमा कि त तिमीअगाडि कि त पछाडि पर्थें म। तर, तिम्रो अगाडि हँुदा तिमीले साथीभाइसँग गरेका कुरामा लट्ठ पर्दै पछाडि फर्किन बिर्सन्थेँ र तिमी अगाडि परेको दिन तिमीले रोजेका परिकारको हेक्का राख्दाराख्दै तिमी भीडमा हराइसकेका हुन्थ्यौ। राजमाको तरकारी भएको दिन ठूलो कचौरा रोज्थ्यौ। खिर पाकेको दिन सिर्फ आलुको सब्जीले टाथ्र्यौ। अब त अनुहारका भावजस्तै खान्कीका चाहमेत  अनुमान गर्न सक्ने भइसकेकी थिएँ।

मैले जानीबुझी तिमीमाथि नजर राख्न खोजेकी छैन, तर कलेजको भीडमा तिम्रो खैरो ब्यागले परैबाट मेरो नजर खिचिदिन्छ। लाइब्रेरी अगाडिको सुकेसको तेस्रो लेभलबाट तिम्रा काला कन्भर्सले चिच्याएर भनिरहन्छन्,  ‘म लाइब्रेरीमा छु है, भित्र आऊ।’ क्यान्टिनको घडीले पनि त २ बजेपछि ‘पर्खी, उसको खाजा खाने बेला भयो’ भनिरहन्छ।

अस्ति पनि म जानीबुझी गएर तिमी एक्लै बसेर खाजा खाने टेबलमा बसेकी थिइनँ। २ नै नबजी तिमी आयौ त मेरो के दोष ?

तिमीलाई आफ्नो एकान्त संसारमा अरू कसैले हस्तक्षेप गरेकाले रिस उठ्यो होला र जबर्जस्ती मुस्कुराउँदै आएर छेउमा बस्यौ। मलाई पनि रिस उठेथ्यो, आफ्ना संवेगहरूप्रति, जसले मलाई जुरुक्क उठेर हिँड्नबाट रोकेथे, मानौँ, खुट्टा पक्रेर राख्न चाहन्थे त्यहीँ, तिमीसँगै।

अनि अझ रिस उठ्यो त्यो संवेगप्रति, जो तिमीसँग बोल्न चाहन्थ्यो र मलाई भनायो– ‘अस्ति माइकल फुको पढ्दै हुनुहुन्थ्यो तपाईं। वस्तु र भावमा कुन महŒवपूर्ण ठान्नुहुन्छ ?’ ...आफ्नै शब्दबाट स्तब्ध थिएँ म, जब तिमीले उल्टै प्रश्न गरेथ्यौ– ‘तिमीलाई के लाग्छ ?’

अनि फेरि तिमी नै बोल्यौ, बोलिरह्यौ। म पनि बोलेथेँ बेलाबेला। इतिहासका गफ भए, साहित्यका गफ भए, भावनाका गफ भए तर तिम्रा अनुहारका बदलिँदा रङ र हाउभाउबाहेक मलाई खासै केही याद छैन।

अब त अर्को दिनबाट हिम्मतै भएन, साढे एकै बजेको भए पनि तिम्रो टेबलमा गई बसिदिन र पाँच सेकेन्ड नपर्खी तिमीतिर हेरिदिन।

आज बढो हिम्मतसाथ यी शब्द कोर्दै छु। थाहा छैन, तिमीसम्म पुर्‍याउने हिम्मत जुटाउन सक्छु कि सक्दिन ? यदि जुटाइहालेछु भने, यी शब्दले अरू लेखकका विचारझैँ तिम्रा अनुहारका हाउभाउमा राज गर्न पाएछन् भने, अर्को पटक लाइब्रेरीमा मलाई पाँच सेकेन्डभन्दा बढी नियाल्ने हिम्मत गर है ! अनि त्यो दिन क्यान्टिनको तिम्रो टेबलमा बसी तिम्रा अनुहारका रङसँगै विचारका रङ पनि पढ्ने प्रयत्न गर्नेछु।

उही तिम्री
७ नं. टेबल।

Bijaya Laxmi Nepal <bijayalaxmiblog@gmail.com>

-–lahofnlId_

 (–बिजयालक्ष्मि)


सँगै लेखौँला अयोध्या र मक्काको बात 

मोहित जोशी 

प्रिय नुरा, 
वालेकुम सलाम !
धेरै धेरै सम्झना !

शब्दमा चन्द्रबिन्दु त हाल्न नजान्ने म, आज तिम्रो मुटुलाई केन्द्रबिन्दु बनाएर यो पत्र लेख्ने प्रयास गर्दै छु। लेख्न त, ‘तिमीबिना पनि खुशी नै छु म’ थियो, तर पत्र कलमको मसीले भिज्नुअगावै आँशुले भिज्न पुगेछ। यो सपना हराएको शहरमा नचाहेरै पनि साथ छोड्नैपर्ने रहेछ।

स्वतन्त्र भनिने नदी जसरी कैद छ, दुई किनारामा, त्यसै गरी प्रेमको स्वतन्त्रतालाई कैद गरिदिँदा रहेछन्, समाजका मौलवी, पण्डित र पादरीहरूले। यही स्वतन्त्र प्रेमको पिँजडाभित्रबाट एक कर्कस आवाज आवाज लेखिरहेछु, प्रश्न गरिरहेछु। 

तिम्रो नाम सीता हुन्थ्यो वा मेरो नाम रसुल हुन्थ्यो भने सायद हामी एकअर्काका हुन्थ्यौँ। नुरा, न तिम्रो गल्ती थियो, न मेरै गल्ती थियो, न किस्मत नै मुजरिम थियो। बस, म हिन्दू थिएँ, तिमी मुस्लिम थियौ। तिम्रा मौलवीहरूको अल्लाह, मेरा पण्डितहरूको शंकर थियो, गीता–कुरानको अन्तर थियो। धर्ममा अन्धो यो संसार कसरी देख्थ्यो हाम्रो कञ्चन प्रेम। मन्दिर र मस्जिदको दूरीमा, आयात र श्लोकको उच्चारणमा गायब भइसकेको छ, प्रेम। 

नुरा, याद छ त्यो दिन, हामीले एक फकिरको झोलीमा मात्र दुई रुपैयाँ हालिदिँदा उसले दिएको आशीर्वाद ? तिमीले भनेकी थियौ, ‘राम, महँगीको यो दुनियाँमा केही कुरा अझै पनि सस्तै रहेछन्।’ हो नुरा, यहाँ अझै केही कुरा सस्तै छन्। यहाँ सस्ता ज्ञान, सस्ता विचार मडराइरहेछन्। मलाई हाम्रो प्रेमले हामीलाई हिटलरको कन्सन्ट्रेसन क्याम्पमा झैँ कैद गर्न खोजिरहेका यी धर्मगुरुहरूलाई प्रेमको ज्ञान दिई एक पवित्र भक्तिभाव सिकाउने मन छ। किन बुझ्न सक्दैनन् उनीहरू कि हामी हाम्रो प्रेमले नास्तिकहरूको इलाकामा पनि हृदय मन्दिर, आत्मा भगवान् अनि प्रेम प्रार्थना हुने शहर बसाउन सक्छौँ। यो अन्धो संसार किन देख्दैन मेरो तस्बिर तिम्रा नयनमा जमेको, जो बगेन कहिल्यै आँशुका धाराले। 

म अझै पनि हाम्रा पुराना दिन सम्झेर यादमा हराउने गर्छु। नुरा, रातको अँध्यारोले ढाकिएको यो जीवनको सूर्योदय थियौ तिमी। एक्लै हुँदा म सम्झिने गर्छु, तिम्रो मुहार, तिम्रो हिँडाइ, बसाइ, बोलीचाली, जान–ए–अदा। अझै पनि गुञ्जायमान छ, मेरो कानमा तिम्रो हाँसो। स्वयम्भूनाथ घुम्न गएको दिनको त्यो तिम्रो हाँसो यति मीठो लागेको थियो कि लालमोहन र बर्फी पनि त्यसको तुलनामा खल्लो–खल्लो लाग्त। 

किन मैले नमाज पढ्न पाउँदिनँ ?

किन तिमीले पूजा गर्न पाउँदिनौ ?

किन कसैको प्रमाण जरुरी भएको छ ?

किन म तिम्रो, तिमी मेरो जुठो खान सक्दिनौ, पिउन सक्दिनौ ?

यो प्रेमपत्र तिमीलाई सम्बोधन गरे पनि, यो पत्र समाजका लागि पनि हो। यो पत्र अहिलेसम्म धर्मको पिँजडामा निस्सासिएका सबै राम–नुराहरूको एक सामूहिक विद्रोहको बिगुल पनि हो। 

साँच्चिकैमा हिन्दू–मुस्लिम एक हुनु मन्जुर–ए–खुदा थिएन भने किन बच्छ ज्यान एकअर्काको रक्तदानमा ? पण्डित, मौलवी र पादरीका कानहरूमा यो कुरा पुर्‍याइनु जरुरी छ। 

नुरा, तिमी हरबखत साथ नहुने हुनाले तिमीलाई यत्रतत्र छरेर राखेको छु। दोबाटोमा, हरेक गन्तव्यमा, आँगनका फूलहरूमा मैले तिमीलाई सजाएको छु। सजाएको छु तिम्रा स्मृतिहरू। हामी सँगै गएका मन्दिरका घण्टीहरूमा, बाँधेको छु तिम्रा स्मृतिहरू दर्गाहको त्यो धागोमा। पहिलो पटक तिमीलाई त्यो मस्जिद अगाडि बुर्कामा देखेको थिएँ। तिम्रा खैरा चम्किला आँखाहरू मेरो मुटुमै गाढिन पुगेका थिए। 

अहिले म एक्लो छु। तिमी छैनौ मेरो साथमा। तर, एक विश्वासमा बाँचिरहेको छु। कुनै न कुनै दिन धर्म र जातभातका पर्खालहरू ढल्नेछन् र हामी एक हुनेछौँ। 

नुरा, अबबाट म पशुपति जाँदा महादेवका लागि नमाज पढ्नेछु र माग्नेछु तिमीलाई हात फिँजाएर। तिमी जामे मस्जिदमा अल्लाहको लागि पढिदेऊ है, गीताका केही श्लोक, मलाई पाउने चाहना बन्द हातमा च्यापेर। 

हामी बाच्ने संसारमा त सबैका नजरमा धर्मको मैलो चस्मा छ। छोडिदिम यो संसार र पु्गौँ अर्काे दुनियाँमा। जहाँ–

सँगै लेखौँला अयोध्या र मक्काको बात 
मन्दिरको आरती र मस्जिदको आजान एकै साथ
उर्दूमा गीता अनि संस्कृतमा कुरान अनुवाद

नुरा, तिमी रामकी हौ, राम नुराको हो। 
हामी रामनुरा हौँ, नुराराम हौँ। 

उही तिम्रो
राम।
पुल्चोक इन्जिनियरिङ क्याम्पस, 
Mj123.mohit@gmail.com

तपाईको कमेन्ट

मुख्य समाचार