सुखी जीवनका लागि विदेशीसँग विवाह

writer

सम्पूर्ण

बुधबार, २९ माघ २०७६


बहुसांस्कृतिक विवाहले जेजस्ता अप्ठ्यारा निम्त्याउँछ, त्यसभन्दा धेरै मज्जा यसले दिने गर्छ। नयाँ र सक्कली पकवान सूत्र जान्ने मौका पाइन्छ। अतिरिक्त पासपोर्ट हुन्छ। एक पटक पनि व्याकरणको कक्षा नलिई दुई भाषा फरर बोल्न सक्ने केटाकेटी हुन्छन्। 


लोरेन कोलिन्स

केही वर्षअघि शुक्रबार साँझ मेरा पति र म एउटा रेस्टुरेन्टमा गएका थियौँ। हामी त्यसबेला जेनेभामा बस्थ्यौँ। जहाँ भाषा फ्रेन्च, ककटेल भने इटालियन चल्थ्यो। अपेरल स्पिरिट नामक ककटेल भर्खरै चल्तीमा आएको थियो। हामी टेबलमा बसिरहेका थियौँ। त्यत्तिकैमा मैले नचिनेका एक व्यक्ति हाम्रो टेबलमा आइपुग्यो र मेरा पतिलाई सम्बोधन गरेर बोल्न थाल्यो। मेरा पति पनि त्यो व्यक्तिसँग कुराकानी गर्न थाले। उनीहरूको गफ लम्बिँदै गयो। म भने फ्रान्सेली भाषामा लालित्यपूर्वक ‘बोन्सोर’ भनिने सुन्दर साँझमा एक्लै ‘मन्त्रमुग्ध’ हुन बाध्य थिएँ। उनीहरू कुरा गरिरहे तर मलाई वार्तालापमा सहभागी हुन निम्त्याएनन्। अन्ततः त्यो मान्छे उठेर हिँड्यो। त्यतिञ्जेल कुरा गरेर गएको मान्छेसँग मेरो परिचय भएन। मैले आफूलाई मौन, अपरिचित र दिक्कलाग्दो वस्तु महसुस गरेँ। 

‘तिमीले त्यो मान्छेसँग मेरो परिचय किन गराएनौ ?’ आफ्ना पतिलाई सोधेँ।

‘किन गर्छु त ?’ उनले उत्तर दिए, ‘मैले तिमीलाई ऊसँग परिचय गराउन सुहाउँदैन।’

‘अनि, उसले तिमी चाहिँ कोही नगरवधूसँग डिनरमा आएको ठान्यो भने ?’ मैले भनेँ।

‘मै त उसलाई मुश्किलले चिन्छु,’ पतिले भने।

मैले आफूलाई स्मरण दिलाउनुपर्‍यो, मेरा पति शिष्ट व्यक्ति हुन्। उनी महिलालाई घृणा गर्ने, हेप्ने गर्दैनन्। स्वप्रशंसक पनि होइनन्। न त उनले दुई वटा विवाह नै गरेका छन्। यस्ता कुनै पनि नकारात्मक कारणले उनले आफ्नी पत्नीलाई कुराकानीबाट अलग राखेका थिएनन्। यद्यपि, हामीबीच सांस्कृतिक असमझदारी हुनु नौलो कुरा होइन। अझ हाम्रो मामिलामा त यो झनै चर्को रूपमा देखिने गर्छ। किनभने, उनी फ्रान्सेली हुन्। 

छ वर्षअघि उनको र मेरो भेट लन्डनको एउटा पार्टीमा भएको थियो। त्यसबेला मैले सपनामा पनि सोचेकी थिइनँ, विदेशीसँग विवाह गरेका ४० लाख अमेरिकीमध्ये म पनि एक हुनेछु। 

हाम्रो भेट पनि अनौठोसँग भएको थियो। 

‘हाई, म लोरेन !’ भन्दै मैले हात अगाडि बढाएकी थिएँ। 

निकै पछि मात्रै मलाई थाहा भयो, परिचय गर्ने फ्रान्सेलीहरूको नियम नै अलग्गै रहेछ। 

अहिले हामी पेरिसमा बस्छौँ। यहाँ हुने सामाजिक जमघटमा नाम सोध्नुअघि नै चुम्बन साटासाट गर्ने गरिन्छ। सामान्यतयाः फ्रान्सेली ‘जु मापेल’ अर्थात् ‘म आफूलाई यो नामले पुकार्छु’ भनेर कुरा सुरु गर्छन् भन्ने आम धारणा छ। तर, त्यो शास्त्रीय प्रचलन मात्रमा सीमित छ। 

म आफूलाई महानगरीय संस्कृतिले नछोएकोमा गर्व गर्ने नर्थ क्यारोलिनाको एउटा शहरमा जन्मेँ÷हुर्केँ। त्यो शहरमा आफ्नो समुदायभन्दा बाहिर विवाह गर्नु भनेकै न्युजर्सीका मान्छेसँग जोडी बाँध्नु हो। हाम्रो वंशवृक्षमा कहीँ पनि फरकपन फेला पर्दैन। पुर्खादेखि अहिलेसम्म सबैले एकै रूपरङ, जाति, भाषा र भेषका मान्छेसँग विवाह गर्दै आएका छन्। हाम्रा आमाबुबा ठ्याक्कै त्यस्तै हुनुहुन्छ, जस्ता उहाँहरूका आमाबुबा हुनुहुन्थ्यो। युद्धका बेलामा बाहिर जाँदा विवाह गरी ल्याइएका बेहुलीलाई अलग राखेर हेर्ने हो भने हाम्रो परिवारका सबै सदस्यले ऐनामा देखिने आफ्नै प्रतिकृतिसँग जोडी बाँधे भन्दा फरक पर्दैन। 

यसो हुनुमा त्यो ठाउँ जति जिम्मेवार छ, त्यति नै समय पनि छ। उतिबेला इन्टरनेट थिएन। सप्ताहान्तको छुट्टी मनाउन आइसल्यान्डको रेक्जाभिक जाने चलन पनि थिएन। अमेरिकाको जनगणना ब्युरोले ‘मिश्रित जन्म’ को तथ्यांक नै मात्र सन् २०१३ देखि राख्न थालेको हो। तर, गत चार दशकदेखि नै अमेरिकामा बहुसांस्कृतिक विवाह (अन्तरजातीय, अन्तरसाम्प्रदायिक र अन्तरधार्मिक)मा वृद्धि भइरहेको छ। अहिले कम्तीमा सात प्रतिशत विवाहित दम्पतीमध्ये एक स्वदेशी र एक विदेशमा जन्मेका हुने गर्छन्। क्यालिफोर्निया, नेभादा, हवाई र डिस्ट्रिक्ट अफ कोलम्बियामा त यो दर झण्डै दोब्बर छ। 

सबैभन्दा महŒवपूर्ण विषय के हो भने अमेरिकामा मात्र बहुसांस्कृतिक विवाह बढिरहेको होइन। युरोपका ३० मध्ये कम्तीमा पनि २५ मुलुकमा विदेशीसँग विवाह गर्नेको संख्या निरन्तर बढिरहेको छ। अझ कतिपय मुलुकमा त त्यो संख्या २० प्रतिशतसम्म पनि पुगेको देखिन्छ। 

तर, बहुसांस्कृतिक विवाह जोखिमपूर्ण हुने अनेकौँ अध्ययनले सुझाएका छन्। किनभने, यस्तो विवाहमा सम्बन्ध विच्छेदको दर उच्च हुने गर्छ। बहुसांस्कृतिक दम्पतीलाई काउन्सिलिङ गर्नकै लागि भनेर साइकोथेरापिस्टले विशेषज्ञता हासिलसमेत गरेका छन्। म कल्पना गर्छु, त्यस्ता थेरापिस्टले कस्ता विषयमा मानिससँग कुराकानी गर्छन् होला ? पक्कै पनि उनीहरूले एकअर्काको कुराकानीमा गलत अनुवाद, घरको याद, एकअर्कासँग अमिल्दा परम्परा, अस्पष्ट सञ्चार अथवा भिसा प्राप्त गर्दा हुने कष्टका विषयमा सरसल्लाह दिन्छन्। दुई अलग मुलुकका नागरिकले समलिंगी विवाह गर्दा आवश्यक कागजात प्राप्त गर्न झनै कठिन हुने गरेको छ। 

बहुसांस्कृतिक दाम्पत्यमा दैनिक जीवनका स–साना काममा पनि समस्या उत्पन्न हुने गर्छ। उदाहरणका लागि डिनरको समय निर्धारण गर्न पनि सजिलो छैन। फ्रान्समा ९ बजे डिनर गर्नु सामान्य हो तर अमेरिका ७ बजे पनि ढिला मानिन्छ। छोरीको नाम के राख्ने अथवा कुन देशको कुन शहरमा बस्नेजस्ता विवादका विश्वव्यापी विषयले भन्दा डिनरको उपयुक्त समय निर्धारण गर्ने विषयले हाम्रो घरमा बढी भाँडभैलो उत्पन्न गरेको छ। त्यस्तै, यस्तो दाम्पत्यका केही निश्चित मज्जा पनि छन्, जुन हामीले मात्रै प्राप्त गर्छौं। उदाहरणका लागि, बिहानको नास्तामा हामी चिसो पिज्जा खाने गर्छौं। 

बहुसांस्कृतिक विवाहले जेजस्ता अप्ठ्यारा निम्त्याउँछ, त्यसभन्दा धेरै मज्जा यसले दिने गर्छ। नयाँ र सक्कली पकवान सूत्र जान्ने मौका पाइन्छ। अतिरिक्त पासपोर्ट हुन्छ। एक पटक पनि व्याकरणको पाठ नलिई दुई भाषा फरर बोल्न सक्ने केटाकेटी हुन्छन्। 

कुनै पनि काम गर्न आफ्नै अलग्गै तरिका खोज्ने स्वतन्त्रता हुन्छ। आफ्नो मुख्य प्राथमिकता के हो भनेर टुंगो लगाउन एकदमै मेहनतपूर्वक सोच्नुपर्ने हुन्छ। किनभने, बहुसांस्कृतिक दम्पतीबीच कुनै साझा मूल्य पहिलेदेखि नै हुँदैन। मेरो कुरा गर्ने हो भने फ्रान्सेली भाषा सिक्नु निकै ठूलो उपहार साबित भयो। अर्को भाषामा समाचार पढ्न मात्रै सक्दा पनि आफ्नो घरमा अर्को कोठा फेला पारेको जस्तो महसुस हुन्छ, जसको अस्तित्वबारे तपाईंलाई पहिले थाहा थिएन। जब तपाईं अर्को मुलुकको मानिससँग परिवार बसाउनुहुन्छ, तपाईंले सुन्ने संगीतको संख्या दोब्बर हुन्छ, तपाईंले हेर्ने फिल्मको संख्या दोब्बर हुन्छ। खेलकुदमा समर्थन गर्ने टोलीको संख्या दोब्बर हुन्छ। छुट्टी दोब्बर हुन्छ। तपाईं यात्रा गर्नुहुन्छ, तपाईंका अभिभावकले यात्रा गर्नु हुनेछ। 

‘यस्तो विवाहमा अनेक समस्या हुन्छन्। तर, गुणस्तरीय सम्बन्ध कायम हुने सम्भावना पनि औसतभन्दा बढी हुन्छ,’ दुई मुलुकका नागरिकबीचको विवाहबारे फिनल्यान्डमा तयार गरिएको एक प्रतिवेदनका लेखकहरूको निष्कर्ष छ। यो मेरा लागि पनि यथार्थ हो। आफ्नो समूहभन्दा– राष्ट्रियताको मात्र होइन, बरु धर्म, जाति र वर्गको सीमारेखा पार गरेर त्यसभन्दा बाहिरको व्यक्तिसँग जीवन बिताउने जोखिम जसले मोल्छ, ऊ आफूले जानेर वा नजानेर समानुभूति विकास गर्ने विश्वव्यापी परीक्षणमा सहभागी बन्न पुग्छ। सानातिना भिन्नताप्रतिको चेतना र मोलमोलाइले संसारका ठूलठूला जटिलताप्रतिको गहन बुझाइलाई विस्तार गर्ने गर्छ। 

त्यसबेला भर्खरै फ्रान्सेली कार्टुन पत्रिका ‘चार्ली एब्दो’माथि आक्रमण भएको थियो। त्यसपछि पेरिसका सडकमा ठूलो संख्यामा मानिस उत्रिएका थिए। म र मेरा पति अन्य ३० लाख मानिससँगै हिँडिरहेका थियौँ। त्यसबेला मैले भित्री हृदयदेखि नै बुझेँ, त्यो ‘र्‍यासम्ब्लुमँ’ वास्तवमा र्‍याली वा विरोध प्रदर्शन थिएन। झण्डाले पनि अमेरिकामा जे संकेत गथ्र्यो, फ्रान्समा त्यस्तो अर्थ दिने रहेनछ। हरेक मुलुकको देशभक्ति प्रदर्शन गर्ने तरिका अलग–अलग हुने रहेछ, दुःख र निकटता प्रदर्शनको शैली पनि फरक–फरक हुने रहेछ। हालै ‘बुर्किनी’को अर्थ के हो भन्ने विषयमा तर्कवितर्क गर्दागर्दै म र मेरा पतिले यही विषय स्मरण गर्‍यौँ। यी सबै विषय सम्झन बाध्य भएकोमा म धन्य छु। एउटै डिनर टेबलमा बसिरहँदा भिन्नतालाई बेवास्ता गर्न निकै कठिन छ। 

(‘द न्युयोर्क टाइम्स’बाट। अनुवादः कवि आचार्य) 

तपाईको कमेन्ट

मुख्य समाचार