अन्तरदेशीय पिरती : सीमा नाघेर घरजम

writer

सम्पूर्ण

बुधबार, २९ माघ २०७६


सृजना खड्का-अस्मिता खड्का 

भनिन्छ– प्रेमले जात भन्दैन, धर्म भन्दैन, उँचनीच भन्दैन, भाषा भन्दैन, भूगोल भन्दैन,  देश भन्दैन। दूर अफ्रिकाका एक जना पुरुष र नेपालकी एक महिलालाई प्रेमले जोड्छ। यस जोडीका भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक अन्तरहरू प्रेमले मेटाइदिन्छ। किनभने, प्रेम सबैभन्दा शक्तिशाली हुन्छ। 

अन्तर्राष्ट्रिय पिरती पर्व ‘भ्यालेन्टाइन्स डे’का अवसरमा ‘अन्नपूर्ण सम्पूर्ण’ले अन्तरदेशीय जोडीहरूलाई यस अंकमा समेटेको छ। ‘सिमाना नाघेर’ प्रेम गर्ने मायालुका प्रेमकथा साँच्चै रोचक छन्। उनीहरूका संघर्ष सम्मानयोग्य छन्। 

याकपकी गुगल निशा

एउटा एनजीओको तालिममा काठमाडौँ, कुलेश्वरकी निशा राई देशका विभिन्न जिल्ला जाने तयारीमा थिइन्। एयरपोर्टमा उनले एक जना विदेशी देखिन्। जो एकदमै रिसाएर बसिरहेका थिए। ‘उनी एकदमै रिसाएको अनुहार लगाएर बसेका थिए,’ निशाले भनिन्, ‘उनका खैरा आँखा मलाई अझै पनि याद छ।’ उनी त्यो बेला पत्रकारिता गर्थिन्। यो सन् २०१४ तिरको कुरा हो। 

नेपालगञ्ज पुगेपछि निशाले थाहा पाइन्, ती व्यक्ति पनि त्यो तालिममा सहभागी थिए। ‘उनी एउटा एनजीओको कम्युनिकेसन स्पेसलिस्ट रहेछन्,’ उनले भनिन्, ‘तालिममा नेपालीले विदेशीलाई प्रभावित पार्न अंग्रेजी बोले। बीचैमा ती विदेशीले रोके र भने, ‘यहाँ धेरै साथीहरू नेपाली हुनुहुन्छ, नेपालीमै बोल्नुस्।’ उनले नेपाली बोलेको देखेर छक्क परेँ।’

त्यहाँबाट उनीहरूको टिम बाँकेको, बेतहनीतिर लाग्यो। त्यही बेला ती विदेशी अर्थात् अमेरिकाका याकप कसेलले निशासँग चिनजान गरे। याकपलाई निशा त्यही बेला मन परिसकेको थियो। उनले निशाका थुप्रै फोटो खिचे। यो कुरा निशालाई चित्त बुझेन। ‘‘विदेशी भयो भन्दैमा अर्काको फोटो खिच्न पाइन्छ, अनुमति लिनुपर्दैन’ भनेर याकपसँग जंगिएँ,’ निशाले भनिन्। 

निशा तालिममा निकै खटिन्। त्यो खटाइबाट याकप निकै प्रभावित भए। 

तालिमभरि याकप आफ्ना साथीहरूसँग भन्दा निशा र उनका साथीसँग रमाए। ‘हामी बसेकै ठाउँमा खानाको प्लेट बोकेर आउँथे,’ निशाले भनिन्, ‘तालिमको अन्तिम दिन हामी सबै जना फेसबुकमा साथी बन्याँै।’ 

फेसबुकमा एक दिन याकपले निशालाई भने– ‘तिम्रो फेसबुकमा पानीपुरीको फोटो रहेछ, मलाई पनि बनाउन सिकाइदेऊ न।’ 

निशाले ‘हुन्छ’ भनिन्, तर सिकाइनन्। 

एक दिन याकपले चिया खाने बहानामा निशालाई बोलाए। निशा अफिसको काम सकेर भेट्न गइन्। ‘उनी मलाई त्रिपुरेश्वरको आँगन रेस्टुरेन्टमा कुरेर बसेका रहेछन्,’ निशाले सम्झिइन्, ‘म भेजिटरियन हो भन्ने याद गरेर मलाई त्यहाँ बोलाएका रहेछन्। उनले त्यसरी हेक्का गरेको मलाई साह्रै मन पर्‍यो।’ आँगनमा उनीहरूले तीन घण्टा बिताए। 

निशाको अफिस ललितपुर, पुल्चोकमा थियो भने याकपको पाटनढोकामा। उनीहरूको भेट बिस्तारै बाक्लिँदै गयो। एक दिन ललितपुरको झम्सिखेलमा नीलो कुर्तामा निशा याकपसँग हिँडिरहेकी थिइन्। बाटोमा हिँडिरहेकै बेला याकपले निशाको हात च्याप्प समातेर भने, ‘वी आर डेटिङ।’ निशा अक्क न बक्क परिन्। याकपको हातबाट आफ्नो हात फुत्काएर उनी त्यहाँबाट भागिन्।

‘तिमी एकदमै प्रिटी छौ’– हरेक भेटमा निशालाई याकप यसै भन्थे। 

एक पटक याकपले निशालाई सोधे– ‘तिमीलाई गोराहरू कस्तो लाग्छ ?’ 

‘हामी गोरा हौँ भनेर शान देखाउने खालका हुन्छन्, मलाई त मनै पर्दैन,’ जवाफमा निशाले भनेकी थिइन्।

‘‘यो विदेशी आफ्नो प्रोजेक्ट सकिएपछि गइहाल्छ नि’ भन्ने सोच्थेँ,’ निशाले भनिन्, ‘हाम्रो पृष्ठभूमि फरक भएकाले म उसले गर्ने कुनै पनि कुरामा गम्भीर थिइनँ।’ 

निशा एकदमै प्रश्न गर्ने स्वभावकी थिइन्। उनलाई आफन्त र साथीहरू भन्थे, ‘यस्तो बानीले त तिम्रो बिहे टिक्दैन।’ 

तर, याकप निशालाई हरेक भेटमा भन्थे, ‘मलाई तिम्रो प्रश्न गर्ने बानी सबैभन्दा धेरै मन पर्छ। प्रश्न गर्ने बानी कहिल्यै नछोड्नू।’ 

यस्तै–यस्तै कुराले निशा याकपप्र्रति आकर्षित भइन्। याकप पनि निशाको आत्मनिर्भर स्वभावले कायल थिए। निशालाई कति खेर याकप मन पर्‍यो, पत्तै भएन। रहँदाबस्दा, हिँड्दाडुल्दा दुवै प्रेममा परे। दुवैले सँगै जिन्दगी बिताउने सपना देख्न थाले।

'मायाको अर्को नाम सम्मान हो भन्ने लाग्छ, निशालाई। ‘याकप मान्छेहरूलाई सम्मान गर्छन्,’ निशाले भनिन्, ‘जहाँ सम्मान हुन्छ, त्यहाँ माया हुन्छ। उनको त्यही बानीले म उनीतिर तानिएँ।’

बिहे हुनुअघि याकपले निशालाई उनको परिवारसँग भेटाउन डेनमार्क लगे। उताबाट फर्किएपछि सन् २०१८ मा उनीहरूले कोर्ट म्यारिज गरे। अन्तरजातीय बिहेसम्म नस्विकार्ने उनका बुबाले अन्तर्राष्ट्रिय बिहेलाई स्वीकार गर्ने कुरै थिएन। ‘बुबालाई थाहै नदिई कोर्ट म्यारिज गर्‍यौँ,’ निशाले भनिन्, ‘पछि परिवारले थाहा पाएर ‘तँलाई त्योभन्दा राम्रो केटा खोजिदिन्छौँ’ पनि भने। तर, मैले मानिनँ।’ कोर्ट म्यारिज गरेको दुई महिनापछि उनीहरूले परम्परागत बिहे गरे। बिहेको बारेमा निशाले घरमा जानकारी दिइन् तर अनुमति मागिनन्। धेरैले उनलाई ‘सम्पत्तिका लागि विदेशी केटो बिहे गर्न लागेकी’ पनि भने। कतिले ‘अमेरिका जान पाइन्छ भनेर बिहे गर्न लागेकी’ सम्म भन्न भ्याए। 

तर, यी दुईले यस्ता टिप्पणीको पर्वाह गरेनन्। बिहेको तयारीमा उनीहरू आफैँ जुटे। प्रत्येक दिनको तालिका बनाएर सर–सामानको जोहो गर्न थाले। बिहेका लागि किनमेलदेखि डेकोरेसनसम्मका सबै काममा उनीहरू आफैँ दौडिए। बिहेको पार्टीमा दुवैले बराबर खर्च राखे। याकपको परिवार पनि छोराको बिहेका लागि आयो। नेपाली परम्पराअनुसार उनीहरूले धुमधामले बिहे गरे।

बिहेको पहिलो वर्ष याकपले निशाका लागि तिजको व्रत बसे। ‘यस्ता धेरै कारणले मलाई याकप मभन्दा बढी नेपाली लाग्छ,’ निशाले भनिन्। बिहे गर्ने बेलामा निशालाई उनका साथीहरूले भनेका थिए– ‘तिमीले नेपाली केटाहरूमा हुने गुण मिस गर्नेछौ।’

तर, निशालाई त्यस्तो कहिल्यै लागेन। ‘ऊ ज्वाइँ बनेर गमक्क फुलेर कहिल्यै बस्दैन,’ निशाले भनिन्, ‘खाना पकाउनदेखि भाँडा माझ्न आफैँ तम्सिन्छ। बरु मैले नेपाली ज्वाइँमा नभएको गुण उसमा पाएको छु। अहिले उसको व्यवहारबाट बुबा पनि निकै प्रभावित हुनुहुन्छ।’

निशालाई याकप श्रीमान्भन्दा पनि मिल्ने साथी लाग्छन्। उनी निशालाई ‘मेरी गुगल’ भन्छन्। ‘कनै नयाँ कुरा देख्नेबित्तिकै के, कसरी, कहिले भनेर सोध्न थाल्छन्,’ निशाले भनिन्, ‘‘थाहा छैन भन्यो भने तिमी मेरी गुगल हौ, तिमीलाई सबै कुरा थाहा हुनुपर्छ भन्छन्। उनले सोध्छन् भनेर पनि आजकाल पढ्न थालेकी छु।’ 

अहिले याकप डेनमार्कमा छन्। उनी त्यहाँ गएको तीन महिना भयो। ‘कामको सिलसिलामा बाहिर गइरहन्छन्,’ निशाले भनिन्, ‘यस्तो बेला धेरै मिस गर्छु।’

याकपको परिवार भाषालाई एकदमै महत्त्व दिन्छ। उनलाई डेनिस, इंग्लिस, फ्रेन्च, जर्मन, नेपाली, स्पेनिस आदि भाषा बोल्न आउँछ। ‘मैले कुनै नयाँ नेपाली शव्द बोलेँ भने उनी त्यो शब्द बोलेको बोल्यै गर्छन्,’ निशाले भनिन्, ‘एकचोटि मैले ‘हत्तेरिका’ भनेको अहिले ऊ मभन्दा धेरै ‘हत्तेरिका’ भन्ने भएको छ।’ निशा पनि डेनिस भाषा सिकिरहेकी छिन्। ‘आफ्ना भावी सन्तानलाई नेपाली, डेनिस र अंग्रजी भाषा सिकाउने हाम्रो योजना छ,’ निशाले भनिन्। 

जीवनका लागि कोरिया त्यागेकी च्याङ्ही

पोखरा लेकसाइडका फोटोग्राफर जीवन भट्टराई र दक्षिण कोरियाली नागरिक च्याङ्ही पेकको पहिलो भेट सन् २०११ मा भएको थियो। 

पोखरामा जीवनको साथी शंकरको बिहे थियो। शंकरका दाइ निर्मल चीनमा पढ्थे, उतै काम गर्थे। भाइको बिहेमा चीनबाट उनी नेपाल आउँदै गर्दा उनको भेट च्याङ्हीसँग भयो। उनी चीन हुँदै नेपाल घुम्न आएकी थिइन्। छुट्ने बेला निर्मलले च्याङ्हीलाई भनेको थिए– ‘नेपाल घुम्दा पोखरा घुम्न नबिर्सिनू, मेरो घर त्यहीँ हो, भाइको बिहे हुँदै छ। जसरी भए पनि आउनू।’

‘शंकरको बिहेको दिन एक जना विदेशीले मलाई फोन गरिन्,’ जीवनले भने, ‘उनी च्याङ्ही थिइन्।’ त्यो दिन बिहे हेरेर उनी फर्किइन्। जाने बेलामा जीवनलाई उनले भनेकी थिइन्, ‘अझै केही दिन नेपालमै बस्छु।’ 

‘उनी कोरियाको एउटा पत्रिकाको सम्पादक रहिछिन्,’ जीवनले भने, ‘म पनि मिडिया क्षेत्रमा चासो राख्ने भएकाले उनको र मेरो कुरा मिल्यो।’

च्याङ्ही केही दिन लेकसाइडमा बसिन्। पोखरा बसुञ्जेल जीवन उनलाई भेट्न गइरहे। उनीहरू लेकसाइट घुमे, बोटिङ गरे, एकअर्काका बारेमा सोधखोज गरे। 

केही दिनपछि च्याङ्ही काठमाडौँ फर्किइन्। जीवनले उनलाई बिदाइ गरे। चिसो महिना थियो। काठमाडौँ आएको केही दिनमै च्याङ्ही बिरामी परिन्। उनकी एक जना साथीले जीवनलाई सन्देश पठाए– ‘च्याङ्ही बिरामी छिन्, उनी तपाईंलाई भेट्न पोखरा आउन चाहन्छिन्।’ 

जीवनको मन मानेन। उनी आफैँ काठमाडौँ आए। च्याङ्हीलाई अस्पताल लगे। त्यस बीचमा १०–१५ दिन उनीहरू सँगै बसे। च्याङ्हीले दुईचोटि कोरिया जाने फ्लाइट रद्द गरिन्। उनीहरूको माया बसिसकेको थियो। मन नलागी–नलागी च्याङ्ही आफ्नो देश फर्किइन्। छ महिनापछि फेरि भेट्न आउने बाचासहित उनी उडिन्। 

‘एउटा यात्री न हुन्, के फर्किलिन् र ?’ जीवनले सोचेका थिए। 

तर, गएको ४५ दिन पुग्न नपाउँदै उनी नेपाल फर्किइन्। दुई महिना फेरि उनीहरू सँगै बसे। एक दिन च्याङ्हीले रिसाउँदै भनिन्, ‘यहाँको चलन के हो, मलाई थाहा छैन। तर, हाम्रोतिर पहिला केटाले प्रपोज गर्नुपर्छ। प्रपोज नगर्ने हो, साँच्चै माया नगर्ने हो भने म जान्छु। म तिमीसँग बिहे गर्छु, जिन्दगी बिताउँछु भनेर आएको हुँ।’

जीवनले बिहे गरिएला भनेर कहिल्यै सोचेका थिएनन्। ‘त्यो बेलासम्म मेरो योजनामा बिहेले ठाउँ पाएको थिएन,’ उनले भने, ‘तर, उनको माया र त्यागले मलाई पगाल्यो। उनले मेरा लागि सबै चिज त्याग गरेर आएको देखेर म भावुक भएँ। ’

बिहेअघि जीवनले आफ्नो सम्पूर्ण यथार्थ च्याङ्हीलाई बताए। ‘मेरो परिवारदेखि मेरो मासिक आम्दानीसम्म सबै कुरा मैले उनलाई भनेँ,’ उनले भने, ‘बिहेपछि विदेश नजाने शर्त पनि राखेँ। उनले मानिन्।’ 

‘तिम्रो घरमा एकपटक सोध,’ जीवनले भने।

‘जिन्दगी बिताउने हामीले हो, घर दोस्रो कुरा हो,’ च्याङ्हीले जवाफ दिइन्। 

तैपनि, च्याङ्हीले घरमा एक पटक सोधिन्। उताबाट सकारात्मक प्रतिक्रिया आएन। जीवनको परिवारले पनि विदेशी बिहे गर्न लागेको कुरालाई खासै रुचाएन। उनीहरूले कोर्ट म्यारिज गरे। 

बिहे गरेर दुवै जना कोरिया गए। ‘उता पनि बिहेको समारोह राखिएको रहेछ,’ जीवनले भने। 

डेढ महिनाका लागि गएका उनीहरू तीन हप्ता नबित्दै फर्किए। ‘नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ भाषाले मलाई उकुसमुकुस बनायो,’ जीवनले भने, ‘जतिबेला पनि मेरै कुरा काटेजस्तो लाग्थ्यो।’

च्याङहीको परिपक्व व्यवहार जीवनलाई मन पर्छ। पैसा कमाउनेभन्दा पनि कसरी खुशी हुने उनको सोच जीवनलाई विशेष लाग्छ। ‘मलाई उनको देशमा तीन हप्ता बिताउन त्यति गाह्रो भएको थियो,’ जीवनले भने, ‘उनलाई मसँग नयाँ ठाउँमा जीवनै बिताउन झन् कति गाह्रो भयो होला।’ 

च्याङ्हीको त्यागका अगाडि आफूलाई साह्रै सानो पाउँछन् जीवन। ‘यो आठ वर्षमा उनले मसँग कुनै दिन गुनासो गरेकी छैनन्,’ जीवनले भने, ‘बिहेको सुरुताका १८ घण्टे लोडसेडिङको गुनासो गरिनन्। भाषामा गुनासो गरिनन्। भाडाको घरमा गुनासो गरिनन्। उनको त्यागका अगाडि म नतमस्तक छु।’  

यो जोडीका लागि सन् २०१३ को भ्यालेन्टाइन्स डे सबैभन्दा विशेष थियो। पिरती दिवसको एक दिनअघि उनीहरू आमाबाउ बनेका थिए। कोरिया र नेपाल दुवै देशमा चल्ने भएकाले उनीहरूले छोराको नाम सुबिन राखे। सात वर्षीय सुबिन नेपाली, कोरियन र अंग्रेजी तीनटै भाषा बोल्छन्। उनी जीवनलाई ‘आप्पा’ र च्याङ्हीलाई ‘अम्मा’ भन्छन्। च्याङ्हीले पनि नेपाली भाषा सिकिसकिन्। जीवनले एक जना शिक्षक राखेर उनलाई नेपाली सिकाए। 

च्याङ्ही नेपाली कफीको प्रचारप्रसार र व्यापार गर्छिन्। ललितपुर, सानेपामा उनले ‘ब्युटिफुल कफी’ भन्ने अफिस सुरु गरेकी छिन्। 

प्रेमलाई रङ, जात, भूगोलजस्ता केही कुराले पनि फरक नपार्ने रहेछ भन्ने लाग्छ जीवनलाई। ‘पीपलको रूख ढुंगाको काप फोडेर भए पनि आफैँ उम्रिन्छ,’ उनले भने, ‘प्रेमको शक्ति पनि यस्तै हुन्छ।’ 

उनीहरूको बिहे अहिले आठ वर्षमा लाग्दै छ। दुई वर्षपछि अर्थात् बिहे गरेको १० वर्षपछि उनीहरू फेरि एक पटक धुमधामले बिहे गर्ने योजनामा छन्।  

बसको छतबाट सुरु भएको राजु र फ्लोरेन्सको पिरती 

फ्लोरेन्स कार्की सोल्निकाको जन्म फ्रान्सको पेरिसमा भएको हो। उनी सन् २००५ मा पहिलो पटक नेपाल आएकी थिइन्। उनको २० दिनको टुर थियो। त्रिभुवन विमानस्थलमा उत्रिँदा उनलाई नेपाल आफ्नै ठाउँजस्तो लाग्यो। 

उनले नेपाली भाषा र यहाँको संस्कृतिबारे फ्रान्समै चार वर्ष पढेकी थिइन्। उनलाई सुरुमा त्यति राम्रोसँग नेपाली बोल्न आउँदैनथ्यो। बोल्न गाह्रो भए पनि लेख्न र पढ्न भने सक्थिन्। 

सन् २००८ मा बसको छतमा बसेर उनी सिन्धुपाल्चोकको यात्रा गर्दै दिइन्। ‘छतमा रमाइलो हुन्छ, वरिपरिका दृश्य नियाल्न पाइन्छ भनेर त्यसरी यात्रा गर्दै थिएँ,’ फ्लोरेन्सले भनिन्। छतमा उनको भेट सिन्धुपाल्चोकका राजु कार्कीसँग भेट भयो। उनी साहसिक पर्यटन क्षेत्रमा काम गर्थे। फरक–फरक कामका लागि यात्रा गर्दै गरेका उनीहरूबीच बसको छतमा चिनजान भयो। 

यात्रा सकिएपछि समेत उनीहरूको भेट हुन थाल्यो। छ महिना यसरी नै समय बितेपछि राजुले एक दिन फ्लोरेन्सलाई भने– ‘विल यू म्यारी मी ?’ फ्लोरेन्सले त्यतिबेलासम्म बिहे गर्नेबारे सोचेकी थिइनन्। राजुको कुराले उनलाई अचम्ममा पार्‍यो। उनले केही जवाफ दिइनन्। बरु, राजुलाई उल्टै ‘ह्वाई’ भनेर प्रश्न गरिन्। अनि राजुले ‘खोइ थाहा छैन’ भने। 

त्यसपछि फ्लोरेन्सले भनिन्– ‘फ्रान्स जान पाउँछु भनेर प्रपोज गरेको हो ?’ 

‘फ्रान्सको कुरा छोड, म तिमीलाई माया गर्छु,’ राजुको जवाफ थियो।

त्यसपछि उनीहरूको भेटघाट बढ्दै गयो। कहिले राजु काठमाडौं आउँथे, कहिले फ्लोरेन्स सिन्धुपाल्चोक जान्थिन्। फ्लोरेन्सले राजुको प्रश्नको जवाफ छ महिनासम्म दिइनन्। ‘म एकदमै दोधारमा थिएँ,’ फ्लोरेन्सले भनिन्, ‘त्यो बेला म बल्ल २५ वर्षकी थिएँ। बिहेका लागि परिपक्व भएको छैनजस्तो लाग्यो। उतातिर धेरैले ३० वर्षपुगेपछि बल्ल बिहे गर्थे।’

यही बीचमा फ्लोरेन्सले राजुको परिवारसँग भेट गरिन्। राजुकी आमा र बहिनीको व्यवहारबाट प्रभावित भइन्। राजुले आठ वर्षको हुँदा बुबा गुमाएको थाहा पाइन्। उनलाई राजु तेज दिमाग भएको स्मार्ट व्यक्ति लाग्थ्यो। त्यसको केही समयपछि उनले बिहेको प्रस्ताव स्विकारिन्।

सन् २०१० मा उनीहरूको बिहे भयो। काठमाडौँ, पशुपतिमा दुई जना गएर बिहे गरे। पछि अभिभावकलाई बोलाएर सानो पार्टी गरे। त्यतिबेला फ्लोरेन्स २५ वर्ष र राजु २७ वर्षका थिए। फ्लोरेन्सकी आमालाई क्यान्सर भयो। उनीहरूको विवाह हुँदा आमा अस्पतालमा भएकाले उनी आउन सकिनन्। बिहेपछि उनीहरू फ्रान्स गए। त्यही बेला फ्लोरेन्सकी आमाको निधन भयो।

उताबाट फर्किएर उनीहरूले सिन्धुपाल्चोकमै व्यवसाय गर्ने निर्णय गरे। तर, त्यहाँ काम गर्ने वातावरण भएन। छ महिनापछि उनीहरू पर्वतको कुश्मा पुगे, बन्जी जम्पिङको व्यवसाय गर्न। त्यसका लागि दुई वर्षसम्म सरकारबाट स्वीकृति मिलेन। पछि बिस्तारै कुश्माका मानिससँग उनीहरूको सम्पर्क बढ्यो। पुल बन्यो। अहिले कालीगण्डकीमाथि पर्वतको कुश्मा र बाग्लुङको नारायणस्थान जोड्ने पुल बन्जीका लागि तयार भएको छ। यो नेपालकै लामो र अग्लो स्थानमा रहेको पुल हो। यसको परिकल्पना र डिजाइन फ्लोरेन्सले गरेकी हुन्। राजुको धेरैजसो समय त्यतै बित्ने गर्छ। पर्वतमा उनीहरू एउटा रिसोर्ट पनि बनाउँदै छन्।

फ्लोरेन्सले नेपाली नागरिकता बनाइसकेकी छिन्। उनीहरूकी नोरा नामकी तीन वर्षकी छोरी  छिन्। राजु–फ्लोरेन्स दम्पती पोखराको जिरो किमीमा बस्छ। 

उनीहरूको विवाह भएको नौ वर्ष भयो। वैवाहिक जीवनको १० वर्षको एनिभर्सरी भव्य रुपमा मनाउने उनीहरूको योजना छ। उनीहरूको फ्रान्स गएर बस्ने सोच छैन। ‘जहाँ बस्दा खुशी मिल्छ, त्यहीँ बस्ने हो,’ फ्लोरेन्सले भनिन्, ‘मलाई नेपालमा बस्दा धेरै खुशी लाग्छ।’ 

अभिनेता नाजिर हुसेनलाई उनले भाइ बनाएकी छन्। ‘नाजिरको एउटा नाटक हेरेर म रोएकी थिएँ,’ फ्लोरेन्सले भनिन्, ‘नाटकपछि भेटघाट र चिनजान भयो। मेरो भाइ नभएकाले मैले उनलाई भाइ बनाएँ। तिहारमा उनलाई टीका लगाउँछु।’ 

पूजाका लागि हिन्दू बनेका म्याथ्यू 

अमेरिकी नागरिक म्याथ्यू ह्वाइटम्यान घुम्दै लमजुङ पुगेका थिए। उनको दिमागमा त्यो मिति अझै ताजा छ– वि.सं. २०७० फागुन १४। त्यो मिति म्याथ्यूलाई विशेष लाग्छ। शिवरात्रिको अघिल्लो दिन थियो। ‘यताउति नजर डुलाउँदै बाटोमा हिँडिरहेको थिएँ,’ उनले सम्झिए, ‘त्यहाँ मैले एक जना एकदमै राम्री युवती देखेँ। उनी साथीहरूसँग गफ गर्दै म हिँडेकै बाटो हिँडिरहेकी थिइन्।’  

ती युवतीलाई म्याथुले एकटकले हेरे। उनी लजाइन् र हल्का मुस्कुराइन्। ‘उनको त्यो लज्जालु मुस्कानमा मैले आफ्नो जिन्दगी देखेँ,’ म्याथ्यूले भने, ‘त्यही बेला मलाई ‘लभ एट फस्ट साइट’ भइसकेको थियो।’ आफ्नो प्रेम कुनै दन्त्यकथाजस्तो लाग्छ उनलाई। 

सोतीपसल गाउँका धेरैसँग उनी घुलमिल भएसकेका थिए। ती युवतीलाई भने उनले देखेका थिएनन्। गाउँलेहरू म्याथूलाई करणराम भनेर बोलाउँथे। ‘ती युवतीलाई एकोहोरो हेरेको देखेर पसलेले मेरो आँखाको भाका बुझेछन्,’ म्याथ्यूले भने, ‘तिनी त्यहाँबाट हिँडेपछि, पसलेले ‘ए करण सर, पूजा मन परेको हो ? बिहे गर्ने हो ?’ भनेर सोधे। बल्ल त्यतिबेला उनको नाम पूजा रहेछ भनेर थाहा भयो।’ उनी केही नभनी त्यहाँबाट निस्किए।

हप्तादिनपछि म्याथ्यूको मोबाइलमा फोन आयो। फोन पूजा शर्माको थियो। उनले म्याथ्यूलाई उनका आमाबुबाले घरमा खाना खान बोलाएको बताइन्। म्याथ्यू पुजाको घर गए। उनले गरेको स्वागत र उनले पकाएको खाना र अचारको स्वादले उनी हुरुक्कै भए। त्यो बेलासम्म म्याथ्यूलाई राम्ररी नेपाली बोल्न आउँदैनथ्यो। टुटेफुटेको लवजमा कुरा गर्थे। 

केही समयको लमजुङ बसाइपछि उनी काठमाडौँ फर्किए। हरेक दिन पूजा र म्याथ्यू फोनमा गफिन थाले। उनीहरूबीच भाषाको समस्या हुन्थ्यो। पूजाको अंग्रेजी राम्रो थिएन, म्याथ्यूको नेपाली गतिलो थिएन। 

केही समयपछि म्याथ्यूले पुजालाई बिहेको प्रस्ताव राखे। पूजालाई त्यो दिन अझै याद छ। ‘उनले मलाई ‘तिमी मसँग ब्याहा गर्छ ?’ भनेर प्रपोज गरेका थिए,’ पूजाले भनिन्, ‘उनले नेपाली बोलेको सुनेर र ब्याहा भनेको सुनेर धेरै बेरसम्म हाँसेकी थिएँ।’

बिहेको प्रस्ताव राखेको एक महिनापछि म्याथ्यू लमजुङ पुगे र पूजाको परिवारलाई भेटेर बिहेको कुरा राखे। ‘केही महिना फोनमा भएको कुराकानीकै भरमा घरमा छोरी दिनेवाला थिएनन्,’ पूजाले भनिन्, ‘कुरै नबुझिने विदेशीसँग छोरी दिने कि नदिने भनेर लामो समयसम्म परिवारमा कुराकानी चल्यो। म भने उनको प्रेममा परिसकेकी थिएँ।’ 

म्याथ्यूले पुजाको परिवार र आफन्तलाई मनाउन हरसम्भव प्रयास गरे। तर, उनीहरूले स्वीकृति दिएनन्। तैपनि, म्याथ्यूले हार खाएनन्। उनले बिहेपछि अमेरिका नजाने वाचा पनि गरे। 

लामो प्रयासपछि पाँच वर्षअघि उनीहरूले काठमाडौँको गुह्येश्वरी मन्दिरमा बिहे गरे। विवाहपछि पनि उनीहरूले अनेक झमेला भोग्नुपर्‍यो। बिहे दर्ताका लागि महिनौँ सरकारी कार्यालय धाए। ‘उनी नेपाली खासै बुझ्दैनथे,’ पूजाले भनिन्, ‘गाँउले र सरकारी कर्मचारीले जेजति सुनाउनुपर्ने हो, मलाई नै सुनाउँथे। ‘कस्तो बूढोसँग बिहे गरेकी, बिहे त आफ्नै चालचलन र उमेर मिल्नेसँग गर्नुपर्छ नि’ भन्थे।’ 

धेरैले धेरै पटक उनलाई भनेका छन्– विदेशीसँग बिहे गरेर नि के नेपाल बसेकी होला, जानू नि आफ्नै देश। ‘यस्ता कटु वचन त कति सुनियो, सुनियो,’ पूजाले भनिन्, ‘उनी मभन्दा २० वर्ष जेठो छन्। ‘तँ भर्खरकी छेस्, होस् गर् है, कुइरेले अमेरिका लगेर बेच्ला’ सम्म भन्थे, मान्छेहरू।’

तर, उनी म्याथ्यूलाई विश्वास गर्थिन्। ‘आखिर माया भनेको माया रहेछ,’ उनले भनिन्, ‘जसले जेसुकै भने पनि मतलब लाग्दैन रहेछ। यत्तिको माया र सम्मान गर्ने मान्छेले मलाई र मेरो परिवारलाई धोका दिँदैन भन्नेमा ढुक्क थिएँ।’ 

अन्तरदेशीय वैवाहिक सम्बन्ध चुनौतीपूर्ण हुने पूजाले बताइन्, ‘समाजको तल्लो स्तरको सोचका कारण हामीले धेरै कुरा सहनुपर्‍यो,’ उनले भनिन्, ‘तैपनि, उनले मलाई माया गर्न छाडेनन्। म र मेरो परिवारका लागि क्रिस्चियन धर्म त्यागेर हिन्दू धर्म अँगाले। आफ्नो देश छोडेर यहाँ बसे।’ तीन वर्षको छोरा निखिलेशसँगै उनीहरू सुखी जीवन बिताइरहेका छन्। 

खोटाङे भूपराज र फ्रान्सेली क्लेर 

खोटाङका भूपराज गिरी टुरिस्ट गाइड थिए। गाइडको काम गर्दागर्दै उनलाई एक फ्रान्सेली जोडीले आफ्नो देश घुम्न अफर गर्‍यो। सन् २०१० मा फ्रान्स पुगेका उनी फ्रान्सेली नागरिक क्लेर बोनेटसँग निकट भए। 

‘एउटा पार्टीमा क्लेरलाई भेटेको थिएँ,’ भूपराजले सामाजिक सञ्जालमा कुरा गर्दै भने, ‘मलाई उनको मिजासिलो स्वभाव मन पर्‍यो। उनीसँग कहिलेकाहीँ भेट र नियमित कुराकानी हुन थाल्यो।’ त्यसपछि उनीहरू प्रेममा परे। भूपराज नेपाल फर्किए। 

केही वर्षपछि क्लेर नेपाल घुम्न आइन्। भूपराजको घरमा बसिन्। ‘परिवारसँग घुलमिल गराउन घरमा लगेको थिएँ,’ भूपराजले भने, ‘आमाबुबाले उनलाई बुहारीका रूपमा स्विकारून् भन्ने मेरो इच्छा थियो।’ तर, उनको परिवारले विपरीत निर्णय सुनायो। ‘बुबाले ‘विदेशीहरूको भर हुँदैन, आज सँगै भए पनि भविष्यमा छोडेर अरूसँगै जान्छन्’ भन्नुभयो,’ भूपराजले भने, ‘परिवारमा कोही पनि हाम्रो प्रेमको पक्षमा देखिएन।’ 

भूपराज क्लेरको प्रेममा डुबिसकेका थिए। ‘म अलिक विद्रोही स्वभावको छु,’ उनले भने, ‘परिवार र समाजका रीतिरिवाज भनेर बस्दिनँ। त्यसैले मैले कसैको कुरा सुनिनँ। परिवार र समाजलाई देखाएर क्लेरलाई धोका दिन सक्दिनथेँ।’ 

अन्ततः पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरे। उनले फ्रान्स गएर बिहे गरे। ‘साँचो प्रेमलाई भूगोलले छेक्न सक्दैन,’ भूपराजले भने। 

उनीहरू अहिले फ्रान्समा बस्छन्। वर्षको दुई पटक नेपाल आउँछन्। यतिबेला भने परिवारले पनि उनीहरूको सम्बन्ध स्वीकार गरेको छ। ‘नेपाली संस्कृतिअनुसार हामी यही वर्ष नेपालमा पुनः बिहे गर्दै छौँ।’ 

नेपाली प्रतीक्षा, अफ्रिकी रेमन्ड

वीरगञ्ज, रानीघाटकी प्रतीक्षा जैसवाल डेन्टल नर्स हुन्। सन् २०११ मा उनी अफगानिस्तान पुगेकी थिइन्। एक दिन अफ्रिकी मूलका व्यक्तिले त्यहाँ जमघट पार्टी आयोजना गरेका थिए। सँगै काम गर्ने साथीबाट प्रतीक्षाले निम्तो पाएकी थिइन्। त्यहाँ उनको भेट ब्रिटिस–जिम्बाबियन नागरिक रेमन्ड जिंगाई एनदेन्गेयासँग भयो। उनी इन्टरनेसनल मेडिकल कप्र्समा सिनियर लेक्चरर थिए। रेमन्डको व्यक्तित्व र स्वभावबाट प्रतीक्षा प्रभावित भइन्। रेमन्ड र प्रतीक्षा संयोगले सँगै काम गर्न थाले। 

प्रतीक्षालाई रेमन्ड एकदमै बुज्झकी लाग्थ्यो। ‘उनको सरल र शालीन स्वभावबाट प्रभावित भएँ,’ सोसल मिडियामार्फत उनले भनिन्। रेमन्डलाई प्रतीक्षा मन पर्न थाल्यो। 

उनीहरू एक वर्ष प्रेम सम्बन्धमा बसे। सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय लिए। त्यसका निम्ति प्रतीक्षाले रेमन्डलाई आफ्नो परिवारका सदस्यसँग परिचय गराइइन्। ‘‘रेमन्ड मेरा प्रेमी हुन्’ भन्दा परिवार, आफन्त र छिमेकीहरू जिब्रो टोक्थे,’ उनले भनिन्, ‘उनको कालो वर्णको मजाक उडाउँथे।’

समाजको मानसिकता बुझेका उनीहरूले यस्ता घोचपेचलाई सामान्य ठाने। प्रतीक्षाको परिवारले भने उनको निर्णयमा समर्थन गर्‍यो। उनीहरू सन् २०१२ मा विवाह बन्धनमा बाँधिए। वीरगञ्जमा हिन्दू परम्पराअनुसार बिहे भयो।

प्रतीक्षा हाल रेमन्डसँग आयरल्यान्डनजिकै रहेको ‘आयल अफ म्यान’ टापूमा बस्छिन्। यो जोडी एकदुई वर्ष बिराएर नेपाल आइरहन्छ। उनीहरूको नौ महिनाकी छोरी छिन्, लिमोयरा। यतिबेला प्रतिक्षा मातृत्व बिदामा छिन्। उनको मातृभाषा मैथिली हो। रेमन्डको आफ्नै मातृभाषा छ। तर, उनीहरू धेरैजसो अंग्रेजी भाषामा कुराकानी गर्छन्।

‘प्रेम भएपछि रङ, वर्ण, भाषा, संस्कृति र देश भन्ने कुराले अर्थ राख्दैनन्,’ प्रतीक्षाले भनिन्, ‘हामी एकअर्कालाई सम्मान गर्छौं। एकअर्काका संस्कृतिलाई सम्मान गर्छौं।’ 

बेलायती डेनियल र च्याम्पियन निर्जला 

सन् २००९ को फेब्रुअरीमा नेसनल साइक्लिङ च्याम्पियन निर्जला ताम्राकार भारतमा हुने प्रतियोगिताका लागि तयारी गर्दै थिइन्। साइकल चलाएर काठमाडौँ, नागाजुर्नको डाँडाबाट तल झर्दै गर्दा उनलाई एउटा चिनेको अनुहार देखेजस्तो लाग्यो। ‘तलबाट आँउदै गरेको साइक्लिस्टलाई चिनेजस्तो लागेर साइकल रोकेँ,’ उनले भनिन्, ‘तर, मैले उनलाई चिनेको रहेनछु। तर, उनले भने मलाई राम्रोसँग चिनेका रहेछन्। सन् २००१ मा हिमालयन माउन्टेन बाइक एक्सन एसिया भन्ने रेसमा मसँगै उनले पनि भाग लिएका रहेछन्।’ उनी थिए, बेलायती नागरिक डेनियल राइट। उनीहरूले नागाजुर्न डाँडामा इमेल साटासाट गरे।

लगत्तै, डेनियल यूएई गए। त्यहाँ उनी काम गर्थे। दुई महिना नबित्दै उनी नेपाल फर्किए। त्यतिबेला निर्जला अन्नपूर्ण सर्किटमा साइकल रेसमा थिइन्। ‘उनले त्यहाँ पुगेर खेलाडीहरूलाई धेरै मद्दत गरे,’ निर्जलाले भनिन्, ‘त्यो रेसले हामीलाई प्रेममा पार्‍यो।’ 

उनीहरूको संस्कार र संस्कृतिमा भिन्नता थियो। ‘उनी जसलाई भेट्दा पनि अँगालो  हाल्थे, किस गर्थे,’ उनले भनिन्, ‘त्यो उनका लागि नर्मल थियो। तर, मलाई अनौठो लाग्थ्यो।’

डेनियललाई नेपाली बोल्न आउँदैनथ्यो। तैपनि, भाषाको कारण उनीहरूको सम्बन्धमा कहिल्यै कुनै बाधा आएन। ‘सुरुसुरुमा कतिपय कुरा मलाई एक्सप्रेस गर्न गाह्रो हुन्थ्यो,’ उनले भनिन्,‘भन्नका लागि सही शब्द नै पाउँदिनथेँ। तर, मैले कोसिस गर्न छाडिनँ।’ बिस्तारै निर्जलाको अंग्रेजी राम्रो बन्दै गयो। 

निर्जलालाई डेनियल सकारात्मक मान्छे लाग्छन्। ‘कसैप्रति नकारात्मक सोच नराख्ने डेनियलको बानी मलाई असाध्यै मन पर्छ,’ उनले भनिन्, ‘उनी कसैको नराम्रो सोच्दैनन्।’ 

उनीहरूले सन् २०११ मा बिहे गरे। उनीहरूका एक छोरा र एक छोरी छन्। डेनियललाई नेपालको संस्कृति निकै मन पर्ने निर्जलाले बताइन्। ‘बरु म लोकगीत सुन्दिनँ,’ उनले भनिन्, ‘तर, उनी नेपाली लोकगीत नबुझे पनि साह्रै इन्जोय गर्छन्।’ 

घर बेल्जियम, माइती सौराहा 

नेचर गाइड डोमा पौडेलको माइती सौराहा हो, घर बेल्जियम। पाँच वर्षअघि उनको जुर्गेन कालवार्टसँग विवाह भएको थियो । 

सौराहामा जुर्गेन र डोमाको भेट भएको थियो। डोमा सामाजिक काममा सक्रिय थिइन्। उनले जुर्गेन र उनकी आमालाई लिएर एउटा विकट गाँउ पुगिन्। पिछडिएको चेपाङ बस्तीमा पुगेपछि उनीहरूले देखाएको सद्भावले डोमा प्रभावित भइन्। उनीहरूको त्यही बस्तीमा प्रेम सुरु भएको थियो। पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१५ मा उनीहरूको अदालती विवाह भयो। डोमा हरेक वर्ष तीन महिना बेल्जियम बस्छिन् भने जुर्गेन पनि वर्षमा डेढ दुई महिना नेपालमा बिताउँछन्। 

जुर्गेनलाई नेपाली संस्कृति मन पर्छ। ‘उनी नेपाल आएका बेला हरेक चाड मनाउँछन्,’ डोमाले भनिन्, ‘ढाका टोपी उनलाई असाध्यै मन पर्छ।’

(सुमित सुवेदी, राजाराम पैडेल र अनिल ढकालको सहयोगमा)  

तपाईको कमेन्ट

मुख्य समाचार