रसिक जङ्गबहादुर

writer

प्रा. दिनेशराज पन्त

बुधबार, २९ माघ २०७६


जङ्गबहादुर बेलायत र फ्रान्स जाँदा उनले आफ्नो रसिकपन देखाएको वर्णन निकै पाइन्छन्। उनले त्यहाँका राम्रा–राम्रा स्त्री देखेर तिनमा भुल्ने दृष्टिकोणले नेपालै नफर्किने विचार गरेका थिए भन्ने वर्णन पनि पाइन्छ।



जङ्गबहादुर राणाले वि.सं. १९०३ भाद्र ३१ गतेको कोतपर्वपछि नेपालको शासनमा महत्त्वपूर्ण स्थान लिएको कुरा सबैलाई थाहै छ। काजी बालनरसिंह कुँवरका छोरा जङ्गबहादुर काजी नयनसिंह थापाको दौहित्र (छोरीका छोरा) हुन्। नयनसिंह थापा मुख्तियार भीमसेन थापाका भाइ हुन्। यसैले आफ्नो घरपट्टिबाट र मावलीपट्टिबाट पनि राजकाज हेर्दै, बुझ्दै, खेल्दै आएका व्यक्ति हुन् जङ्गबहादुर। 

जङ्बहादुर शासनमा आउने कुरामा पनि स्त्री प्रसंगको ज्यादै महत्त्व छ। राजदरबारमा सुसारेको रूपमा रहेकी पुतली नानीसँग जङ्गबहादुरले सम्बन्ध बढाएर त्यसैबाट उनले हनुमानढोका दरबारमा भइरहेका कुराहरू सजिलैसँग थाहा पाउँदै गएर उनलाई राजनीति खेल्न सजिलो भयो। तिनै पुतली नानीलाई आफू शक्तिमा आएपछि श्री ५ सुरेन्द्रविक्रम शाहसँग मागेर उनले आफ्नो दरबार थापाथलीमा भित्त्याए र महारानीको दर्जा दिएर राखे। तिनै पुतली महारानीबाट बबरजङ्ग जन्मिए र आफ्नो मन परेका छोरा भएकाले मठ्याहा (अविवाहिता तर्फबाट) जन्मिएका भए पनि प्रधानमन्त्री बन्ने रोलमा बबरजङ्गलाई राखे। कोतपर्वमा मुख्तियार फत्तेजङ्ग शाह मारिएका थिए। त्यसपछि चौतरिया प्राण शाहका छोराखलक लाखापाखा लाग्न बाध्य भएका थिए र फत्तेजङ्ग शाहका एक जना भाइ गुरुप्रसाद शाह जङ्गबहादुरको विरोधमा सक्रियतापूर्वक लागेका थिए। 

जङ्गबहादुरको विवाह काजी प्रसादसिंह बस्न्यातकी छोरी प्रसादलक्ष्मीसँग भएको थियो। प्रसादलक्ष्मीबाट भीमजङ्ग कुँवरको जन्म भयो। सुत्केरी अवस्थामा नै प्रसाद लक्ष्मीको मृत्यु भयो। भीमसेन थापाको पतनताका जङ्गबहादुरको आर्थिक अवस्था कमजोर भएकाले पनि उचित स्याहार–सम्भार र खान्की–खुराक नपुगेर  प्रसादलक्ष्मीको मृत्यु भयो। उनको मृत्युपछि आफ्नै साली सिद्धिगजेन्द्रलक्ष्मीसँग विवाह गर्ने निर्णय गरी उनलाई माग्न ससुराली गए। तर, ससुरा काजी प्रसादसिंहले एउटी स्वास्नी पाल्न नसक्नेले अर्की छोरी ताक्ने भन्दै उनलाई गजेन्द्रलक्ष्मी दिन मानेन्। प्रसादसिंहले गजेन्द्रलक्ष्मीको अन्यत्रै विवाह गराइदिए। 

जङ्गबहादुर शक्तिमा आएपछि सबेरै हात्ती चढेर गजेन्द्रलक्ष्मीको घर गएर हात्तीबाट उफ्रेर छानामा चढी झ्याल फोडी भित्र पसे। गजेन्द्रलक्ष्मीका पतिलाई बाँधेर गजेन्द्रलक्ष्मीलाई जबर्जस्ती घरमा ल्याई सिन्दूर हालेर भित्त्याए। कानुनबमोजिम जारी पनि तिरे। महारानीको पद दिए। गजेन्द्रलक्ष्मीबाट रणवीर जङ्ग (गोरे) जर्नेलको जन्म भयो। 

जङ्गबहादुर मोज गर्ने प्रवृत्तिको साथै राजनीतिको दृष्टिबाट पनि काम गर्ने हुनाले उनले फकाइफुलाइ गरी, धाकधम्की गरी फत्तेजङ्ग शाहकी बहिनी हिरण्यकुमारीसँग वि.सं. १९१० मा विवाह गरिछाडे। सुरुमा आफ्नो दाजुहरूको विनाशको कारण भएकाले जङ्गबहादुरसँग विवाह गर्न उनले मानेकी थिइनन्। विवाह गरेपछि उनलाई बडामहारानी पद दिएर जङ्गबहादुरले राखे। आफ्नो शक्ति बढाउन जङ्गबहादुरले आफ्ना छोरीहरू युवराजसँग विवाह गरिदिने, राजाका छोरीहरू आफ्ना छोराहरूसँग विवाह गरिदिने काम पनि गरे। श्री ५ पृथ्वीवीरविक्रम शाह जङ्गबहादुरकै दौहित्र हुन्। 

जङ्गबहादुर बेलायत जाँदा, फ्रान्स जाँदा पनि उनले आफ्नो रसिकपन देखाएको वर्णन निकै पाइन्छन्। जङ्गबहादुरले त्यहाँका राम्रा–राम्रा स्त्रीहरू देखेर तिनमा भुल्ने दृष्टिकोणले नेपालै नफर्किने विचार गरेका थिए भन्ने वर्णन पनि पाइन्छ। उनले त्यहाँ नर्तकीहरूसँग प्रसन्न भएर निकै रकम खर्च गरेको वर्णन पाइन्छ। जङ्गबहादुरका विवाहिता र अविवाहिता गरी ४० भन्दा बढी रानी रहेको बयान पाइन्छ। तिनबाट धेरै छोरा र छोरी भएका थिए। 

जङ्गबहादुरले वि.सं. १९०७ मा बेलायतबाट फर्किंदा पनि बाटैमा विवाह गरेको बयान पनि पाइन्छ। आफ्ना भाइभारदारलाई उनले लेखेको चिठीमा फलाना राजाकी छोरी यस्ती राम्री छ रे, तिनलाई जसरी भए पनि भित्त्याउने बन्दोबस्त गर्नू, त्यो गर्न सक्यौ भने तिमीहरूले पुरस्कार÷सम्मान पाउँछौ भनेर लेखेका धेरै चिठीपत्र पनि पाइन्छन्। त्यसै गरी, राम्रा–राम्रा ठिटीहरू खोजेर ल्याओ, तिमीहरूको बन्दोबस्त हुनेछ भनी धेरै ठाउँमा जङ्गबहादुरले लेखेका चिठीहरू पाइन्छन्। त्यसैले त्यसबेलाका भाइभारदारले राम्रा–राम्रा युवती जङ्गबहादुरका लागि खोजिदिएर उनलाई रिझाएका पनि थिए। उनी शिकार खेल्न, स्त्री प्रसंग गर्न ज्यादै लालायित रहन्थे र नित्य अफिमको सेवन गर्दथे भन्ने बयान पाइन्छ। ज्यादा स्त्रीसंगत र अफिमको कारणले पछिल्लो कालमा कमजोर हुँदै गएका थिए। 

शाक्तिशालीहरूको स्त्री प्रसंगका कुरा इतिहास पल्टाउँदा निकै पाइन्छन्। त्यसै कडीको एउटा पात्र जङ्गबहादुर हुन्। यसो भए तापनि स्त्री प्रसंगमा लागेका जङ्गबहादुरले आफ्नो राजकीय शक्ति बढाउन पनि स्त्री प्रसंगबाट निकै मद्दत पाएको कुरा भने प्रामाणिक हो। 

जङ्गबहादुर अत्यन्त स्त्री प्रसंगमा लागेका हुनाले उनको बारेमा अप्रामाणिक किस्सा पनि निकै चलेका छन्। यी मध्ये दुई वटा उदाहरण दिई यो लेख टुंग्याइन्छ। वि.सं. १९०६ मा बेलायत गएका जङ्गबहादुरको बेलायतकी महारानी भिक्टोरियासँग समागम भयो र त्यसैबाट अल्बर्ट जन्मिएको किस्सा पनि चलेको छ। यसको कविता नै बनेको छः 

महाराजले महारानीमा वीर्यदान दिनुभो। 
महाराज अल्बर्टले जन्म लिनुभो।।

त्यसै गरी, वि.सं. १९३३ फाल्गुनमा पत्थरघट्टामा मृत्यु भएका जङ्गबहादुरको अर्को अप्रामाणिक किस्सा चलेको छ। स्त्री प्रसंगमा रसिक उनले एउटी विवाहित मगर्नीलाई आफूकहाँ भित्त्याउँछन्। त्यसबेला जारलाई काट्न पाइने नियम थियो। ती युवतीका पति मगर जङ्गबहादुरकहाँ आउँछन्। ‘कसैले मेरी पत्नीलाई जारी गर्‍यो, त्यसलाई काटिपाऊँ, महाराज !’ भन्छन्। जङ्गबहादुरले ती मगरको पत्नी आफूले ल्याएको थाहा पाउँदैनन् र जारलाई काट् भनी आज्ञा दिन्छन्। त्यसपछि मगरले जङ्गबहादुरलाई काट्छन्। 

(कुराकानीमा आधारित) 

तपाईको कमेन्ट

मुख्य समाचार