ऐतिहासिक दस्तावेज चोर्ने प्रयास

writer

सम्पूर्ण

आइतबार, २६ माघ २०७६


सन् १२१५ मा इंग्ल्यान्डमा एक कानुनी परिपत्र जारी भएको थियो, जसलाई इतिहासमा म्याग्ना कार्टा चिनिन्छ। यस परिपत्रमा राजा जोनले कानुनी प्रक्रिया पालन गर्ने वचन दिएका थिए। राजा कानुनी सीमामा बाँधिन तयार भएको घोषणायुक्त यस दस्तावेजलाई जनताको सर्वाेच्चताको प्रतीक मानिन्छ। यसका चार थान मौलिक प्रति सुरक्षित छन्। ब्रिटिस लाइब्रेरीमा दुई प्रति, साल्जब्री गिर्जाघर र लिंकन गिर्जाघरमा एक–एक प्रति म्याग्ना कार्टा छन्।  

गत शुक्रबार साल्जब्री शहरमा एक जना ४७ वर्षीय व्यक्तिले म्याग्ना कार्टा चोर्ने प्रयास गरेका थिए। मार्क रोयडेनले साल्जब्री गिर्जाघरमा राखिएको मौलिक प्रति चोर्न खोजेका थिए। ऐतिहासिक दस्तावेजलाई काँचको संरचनाभित्र राखिएको थियो, जसलाई मार्कले तोडेका थिए। उनी म्याग्ना कार्टा चोरेर भाग्दै थिए। केही पर्यटक र गिर्जाघरका मजदुरले उनलाई धेरै पर पुग्न दिएनन्। उनलाई समातेर प्रहरीको जिम्मा लगाए। 

साल्जब्री क्राउन कोर्टले मार्कलाई दोषी करार गरेको छ। उनले गिर्जाघरको काँचको केस फुटाएर २१ लाख रुपैयाँ बराबरको क्षति पु¥याएको बताइएको छ। गिर्जाघरमा भएको म्याग्ना कार्टाको प्रति आफूलाई नक्कली लागेकाले चोर्न खोजेको उनले अदालतलाई बताएका छन्। सन् १९९१ मा कार दुर्घटनामा परेका मार्कको दिमागमा चोट पुगेको थियो। केही हप्तापछि उनलाई सजायको घोषणा गरिनेछ। 

तपाईको कमेन्ट