यौन र यौनिक सामीप्यदेखि किन डर लाग्छ ?

writer

डा. सुमनराज ताम्राकार

शनिबार, २५ माघ २०७६


जिज्ञासा : एम, कोटेश्वर, काठमाडौँ 

यौन सम्पर्क रमाइलो क्रियाकलाप मात्र होइन। यसले तनाव कम गर्न, शरीरको प्रतिरोधात्मक क्षमता बढाउन र मानिसको आयु लम्ब्याउन पनि मद्दत गर्छ। तर, यही कार्यले कतिपय मानिसमा पछुतो, डर एवं चिन्ता पैदा गर्ने हुन्छ। एक टेलिमेडिसिन कम्पनीले दुई हजार अमेरिकी नागरिकमा गरेको अध्ययनले यौन कार्यका क्रममा डर पैदा हुनाको धेरै पाटो खुलासा गरेको छ। यदि पार्टनरले कन्डम लगाएको छैन भने डर पैदा हुने रहेछ। कतिपय अवस्थामा कन्डम लगाउने सवालमा आपसी भनाभन भए पनि आफ्नो पार्टनरलाई तुलनात्मक रूपमा बढ्ता यौन आनन्द दिनुभन्दा आफूलाई संक्रमणबाट बचाउनु र अनिच्छित गर्भ रोक्नु महत्त्वपूर्ण सवाल हो। कतिपय पुरुष पार्टनरले ‘पिल्स खाइरहेकै छौ नि !’ भन्न सक्छन्। उनीहरूलाई ‘पिल्सले यौनजन्य संक्रमण रोक्दैन’ भनेर बुझाउनु राम्रो हुन्छ। कतिपय पुरुष पार्टनरले ‘कन्डम नै छैन’, ‘कन्डमले आनन्द आउँदैन’ भनेर अनेक बहाना बनाउन सक्छन्। मार्केटमा पातलो खालको डटेड कन्डम पाइन्छ। कन्डम लगाउन नमानेमा यौन कार्य गर्न नसकिने भन्नुपर्छ। 

कतिपयलाई यौन सम्पर्कका बेला ‘कन्डम फुटे अनिच्छित गर्भ रहने’ डर हुन्छ। सही तरिकाले कन्डम लगाएको खण्डमा हतपती कन्डम फेल खाने सम्भावना निकै कम हुन्छ। यौन सम्पर्कपछि निकाल्ने बेलामा फेदमा च्याप्प समाएर निकाल्दा स्खलित वीर्य योनि वा योनिवरिपरि पोखिने सम्भावना हुँदैन। 

त्यसै गरी, पार्टनरलाई कुनै यौनजन्य संक्रमण भएमा पनि डर लाग्ने रहेछ। कन्डम प्रयोगले यौन संक्रमण सर्नबाट बच्न त सकिन्छ तर पूर्ण उपचार गराउन लगाउनुपर्छ। एक रातका लागि जोखिम लिँदा जिन्दगीभर पिरोलिनुपर्ने हुन्छ। 

कतिपय महिला पार्टनरले आफ्नो शरीर अनाकर्षक देखिन्छ कि भनेर असुरक्षित महसुस गर्छन्। त्यसकारण उनीहरू डराउँछन्। तर, पार्टनरले खासमा शारीरिक बनावटमा ध्यान नदिईकन बेडरुममा राम्रो साथ चाहेको मात्र हुन सक्छ।  विवाहपूर्व यौन सम्पर्क राख्नेले आपैmँलाई प्रश्न गर्ने बानी गर्नुपर्छ कि ‘के यो व्यक्तिलाई विश्वास गर्न सक्छु ? के यसले मलाई सुरक्षित महसुस गराउँछ ?’ धेरैजसोले पार्टनरलाई खुशी बनाउन जोखिम लिइरहेका हुन्छन्। 

आफ्नो प्रेमी नै भए पनि आफूलाई असहज लाग्ने व्यवहार गरेमा पनि ‘हुन्न’ भन्न सक्नुपर्छ। ‘कन्डमबिना यौन सम्पर्क राख्दिनँ’, ‘गुदद्वार मैथुन सहज लाग्दैन’ आदि आफूलाई लागेका कुरा खुलेर भन्न सक्नुपर्छ। जीवनमा नौलो कुराको अनुभव गर्नुपर्छ। यौन जीवनमा पनि त्यही सिद्धान्त लागू हुन्छ। तर, यी नौला गतिविधि केवल विश्वसनीय, आत्मीय व्यक्तिसँग मात्र हुनु राम्रो हुन्छ। पार्टनरले कुनै कुरामा जबर्जस्ती गर्न खोजे सतर्क हुनुपर्छ। आफूलाई मन नपरेको कुरा प्रस्ट भन्नुपर्छ। 

यौन सम्पर्कका क्रममा आवाज, पसिना, शारीरिक गन्ध, स्राव (योनिरस, वीर्य) को सामना गर्नुपर्ने हुन्छ। यसलाई यौन क्रियाकलापको एक पाटो मानी यौन कार्यलाई निरन्तरता दिनु राम्रो हुन्छ। यौन सम्पर्कका बेला सधैँ चरमसुख प्राप्त हुन्छ, प्रत्येक पटकको यौन सम्पर्कमा दुवै पार्टनरालाई यौन सन्तुष्टि मिल्ला भनेर अपेक्षा राख्नु हुँदैन। यौन सम्बन्ध बनाइरहँदा ‘आनन्द आइरहेको छ’, ‘असहज त छैन’ अथवा ‘पीडा भएको छ कि ?’ भनेर पार्टनरसँग संवाद गर्नुपर्छ। 

जेनोफोबिया वा इरोटोफोबियाका कारण पनि यौन सम्बन्धका बेला निकै डर वा अत्यास लाग्ने हुन्छ। कतिपयलाई यौन एवं यौनिक सामीप्यबारे सोच्दा मात्र पनि डर लाग्ने हुन्छ। यौनप्रतिको डर वा चिन्ताले तुरुन्तै भौतिक वा मानसिक परिवर्तन वा प्रतिक्रिया देखाउने हुन्छ। त्यस्तो डर अस्वाभाविक भन्ने थाहा हुँदाहुँदै पनि कम गर्न वा रोक्न सकिन्न।

यौनसम्बन्धी डर पैदा गर्ने कारक तत्त्व नहटाएमा समस्या झन् बढ्दै जान्छ। प्रभावित व्यक्तिले कारक तत्त्व परहेज वा त्यसबाट टाढै बस्न थाल्ने हुनाले बिस्तारै यौन कार्यमा रुचि नराख्ने हुन्छ। यौन वा यौनिक सामीप्यको डरले त्यस्तो परिस्थिति आउनासाथ वाकवाकी लाग्ने, रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, मुटुको ढुकढुकी बढ्ने हुन सक्छ। 

यौन डरको कारण पीडादायी यौन सम्पर्क पनि हुन सक्छ। यौन सम्पर्कका क्रममा हल्का पीडाले यौन रोमाञ्चक बढाउन मद्दत गर्छ भने बढ्ता पीडाले भविष्यमा डर पैदा गराउने हुन्छ। यौन क्रिया गर्दा योनिमार्गको मांसपेशी अप्रत्याशित रूपमा खुम्चिनाले वा योनिमार्ग सुख्खा हुनाले पुरुष लिंग छिराउन लाग्दा अत्यधिक डर सिर्जना भई यौन सम्पर्क कायम गर्न असम्भवजस्तो बनाउँछ। बिस्तारै यौनिक सामीप्य मात्रले पनि डर लाग्ने हुन्छ। पीडादायी यौनजस्तै यौन उत्तेजनामा आउन तथा यसलाई कायम राख्न नसकिने समस्याले पनि यौन डर पैदा हुन सक्छ। यो समस्या निको पार्न सकिने भए पनि लाज वा तनावका कारण मानिसहरू यस समस्यालाई लिएर अन्यसँग कुराकानी गर्न रुचाउँदैनन्। लिंग उत्तेजना नहुने समस्या कति गम्भीर छ, त्यही अनुरूप यौनिक सामीप्यबाट मान्छे डराउन थाल्छ।

बाल्यकाल वा किशोरावस्थामा यौन हिंसा भोगेका कारण यौनप्रतिको दृष्टिकोण नै प्रभावित हुन सक्छ। यौनिक हिंसा भोगेका कतिपयमा यौन डर पैदा हुने हुन्छ। कतिपय पुरुष ‘बेडरुममा राम्रो गर्न सकिँदैन कि’ भन्ने आत्मविश्वासको कमीले गर्दा यौन सम्पर्क राख्न डराउने हुन्छ। आफ्नै शरीरप्रति घृणा वा बढ्ता सचेतनाले नकारात्मक धारणा विकसित भई डर पैदा हुन सक्छ। यौनप्रतिको डरका कारण मानिसको दिनचर्यामा असर गर्न थालेको खण्डमा चिकित्सकको सहयोग आवश्यक हुन्छ। यौन डरले पार्टनरबीचको रोमान्टिक सम्बन्धमा नै असर पुर्‍याउन सक्छ। डरका कारण एक्लै बस्न रुचाउने, डिप्रेसन विकसित हुने हुन्छ। यौन वा यौनिक सामीप्यबाट डराउनुको भौतिक कारण छ भने त्यसलाई हटाउन सकिन्छ। त्यसको उपचारका साथै मानसिक ढाडस पनि आवश्यक हुन्छ। मनोचिकित्सकको परामर्शले डर पैदा गर्ने तत्त्वसँग बिस्तारै बानी पार्दै लाने हुन्छ। यौन डर पैदा गराउने परिस्थिति वा सोच आउनासाथै अन्यत्र कसरी ध्यान मोड्ने भन्ने विषयमा यौन परामर्शदाताले सहयोग गर्न सक्छन्। कतिपय यौन डर तथा यसका जटिलता औषधिबाट निको पार्न सकिन्छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि