फेसनप्रेमी  पोखरेली

writer

सम्पूर्ण

बुधबार, २२ माघ २०७६


राजाराम पौडेल

पोखरा : अहिलेको पुस्ता राम्रो र स्टाइलिस देखिन चाहन्छ । अरूले प्रयोग गरेको फेसनभन्दा फरक फेसन गर्न रुचाउँछ । पोखरामा पनि नयाँ–नयाँ फेसन गर्नेहरू बढ्दै गएका छन् । 

केही वर्ष पहिलासम्म पोखरेली फेसनपारखीले आफूलाई चाहिने फेसनेबल सामान किन्न काठमाडाँै धाउनुपर्ने अवस्था थियो । पर्याप्त समय नहुँदा चाहेर पनि चलेको पहिरन लगाउन नसक्ने बाध्यतासमेत थियो । तर, अहिले अधिकांश फेसनेबल पहिरन पोखरामै उपलब्ध छन् । फेसनेबल देखिन चाहनेलाई अहिले सजिलो भएको छ । आफूले रोजेजस्तो र खोजेजस्ता पहिरन पोखरामै पाउँछन् । पोखरामा फर्मल ड्रेस र क्याजुल ड्रेस मिक्स गरेर लगाउनेहरू बढी छन् ।

ग्ल्यामरस र सेक्सी देखिन चाहने युवती पोखरमा छन् भने ह्यान्डसम र स्टाइलिस देखिन युवा पनि छन् । जाडोमा फिटिङ जिन्स, ज्याकेट र घुँडासम्म आउने बुट लगाएर हिँड्ने युवतीहरू पोखरामा देखिन्छन् । पहिरनअनुसार रङ मिलाएर टोपी, मफलर र हातमा पञ्जा लगाउने फेसन पनि चलेको छ । छोटो स्कर्टमा फेसनेबल बन्न खोज्ने पनि छन् । कामकाजी युवती फर्मल ड्रेस, कोट प्यान्टमा सजिने गरेका छन् । फिटिङ प्यान्टसँगै युवतीमाझ ओभरकोटको फेसन पनि पोखरामा छ । ऊनको टोपी र क्याप स्टाइलिस तरिकाले लगाउने गरिएको छ । यसै गरी, कोट, ज्याकेट, हाइनेकमाथि फरक डिजाइनका मफलरले आर्कषक लुक पाउने पनि छन् । जिन्स प्यान्ट, चुज प्यान्ट र लेगिङ्समा लङ बुट, सर्ट बुटलगायत जुत्ता लगाउँदा थप स्टाइलिस देखिने गर्छन् । विशेष अवसरमा सारी–ब्लाउज, कुर्ता–सुरुवालसँग कोट वा स्वेटरको तालमेल मिलाएर लगाउने पनि प्रशस्तै देखिन्छन् । स्टाइलिस र फेसनेबल देखिन युवतीले थरी–थरी हेयर स्टाइल बनाउने गर्छन् । 

फेसनेबल महिला 

फेसनको मामिलामा पोखरामा पुरुषको तुलनामा महिला अगाडि छन् । त्यसैले पोखरामा लेडिज फेसन आउटलेट बढी खुलेका छन् । लेडिज कुर्ता–सुरुवाल, सुटपिस, टप्स, वानपिस, लेहंगालगायत महिलाका पहिरनको माग बढी रहेको छ । 

फेसन डिजाइनर ओसिम खान पूर्वीय र पश्चिमी पहिरन स्टाइलको फ्युजन गरेर बनाइका पहिरन पोखरामा बढी चल्ने बताउँछन् । ‘नेपाली दौरासुरुवालको भ्यालू बढ्दै गएको छ,’ उनले भने, ‘महँगा–महँगा सारी, लेहंगा पोखरामा बिक्री हुने गरेका छन् । पछिल्लो समय शेरवानीले समेत पोखरामा बजार लिँदै छ ।’ पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका शेरवानी पोखरामा बिक्री हुने उनले बताए । ‘गाउनप्रेमी महिला बढेका छन्,’ उनले भने । 

पोखरामा फर्मलदेखि कोट प्यान्टमा सर्ट लगाउने चलन छ । युवाले परिवर्तन चाहने भएकाले प्लेन कपडाभन्दा ढाकाको दौरासुरुवालको माग बढेको छ । युवतीहरूले पनि प्यान्ट, टिर्सट, सर्ट, स्कर्ट, लङ स्कर्ट, टप्स लगाउने गर्छन् । 

ब्रान्ड कन्सस ग्राहक

ब्रान्ड्रेड र नर्मल दुवै खालका पहिरन पोखरामा पाइन्छन् । आर्थिक हैसियतअनुसार पहिरन किनेर आफ्नो लुकलाई सुन्दर देखाउने डिजाइनर खानले बताए । ‘युवाले एडिडास, नर्थफेस आदिका ज्याकेट र फिटिङ टिसर्ट, प्रिन्टेड टिसर्ट लगाउने गरेका छन्,’ उनले भने । हातमा रिब भएको फिटिङ ज्याकेट युवाको रोजाइमा पर्ने उनले बताए । ‘लिभाइजको फिटिङ प्यान्ट र लाइट ज्याकेट लगाउनेहरू पनि छन् यहाँ,’ उनले भने ।

महिलाले वानपिस, गाउन, फ्लोरल प्रिन्ट टप्स, चुज प्यान्ट आदि रोज्ने गर्छन् । चश्मामा रेबन, गुचीलगायत ब्रान्डका मन पराउँछन् । पोखरामा ब्रान्ड कन्सस ग्राहक बढ्दै छन् । चाइना, थाइल्यान्ड, हङकङ, भारत, बंगलादेशलगायत देशबाट आयात गरिन्छ सामान । लङ बुट र लङ कोट लेडिजले रोज्छन् । फ्ल्याट बुटसँग लेदर कटन, मोडर्न कोट मिलाएर लगाउँदा राम्रो देखिन्छ । 

 रन, शिखर, गोल्डस्टार नेपाली ब्रान्डका जुत्ता पनि पोखरेलीले मन पराउँछन् । नाइक, एडिडास, रिबोक ब्रान्डको जुत्ता यहाँका युवाले खोज्ने गर्छन् । युवतीहरूले

नाइक, एडिडासलगायत स्पोट्र्स सुज मन पराउँछन् । जुम्बा, मर्निङ वाकमा जानेले स्पोट्र्स जुत्ता खोज्छन् । 

महिलाहरूको रोजाइमा सेमी हिल स्यान्डल पर्ने गरेको छ । फुल हिलमा कमी आउँदा ब्लक हिल, पेन्सिल हिल स्यान्डल बढी बिक्री हुने गरेका छन् । पार्टी स्यान्डल, इन्डियन स्टोन स्यान्डलमा साइनिङ, गोल्डेन, कालो रङका जुत्ता रोजाइमा पर्ने गरेको युवा व्यवसायी नवराज त्रिपाठीले बताए । महिलाले ड्रेसअनुसार ब्याग प्रयोग गर्छन् । जारा, गुचीलगायत ब्रान्डका ब्याग युवतीले किन्ने गरेका छन् ।  

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि