बहसको सुरुवात र युगको अन्त्य

writer

सम्पूर्ण

बुधबार, २२ माघ २०७६


बीपी गए। लेखियो— एउटा युगको अवसान। मदन गए। लेखियो— एउटा युगको अवसान। गणेशमान गए। लेखियो— एउटा युगको अवसान। एवं रीतले गिरिजा गए, किसुनजी गए, सूबथा गए, कीर्तिनिधि गए, तुलसी गए, कोको गए गए। पत्रिकाहरूको पहिलो पानामा लेखियो— एउटा युगको अवसान। तर, हालै ज्ञानीमैयाँ कुसुण्डा गइन्। खासमा युगको अवसान भएको चैँ यहाँनिर थियो। 


सर्वज्ञ दर्शन 
सर्वज्ञ

साहित्य भन्नुस् या गैरसाहित्य। 

साहित्यमा धेरै विधा छन्। विषय र शैलीका पनि आफ्आफ्ना तरिका छन्। तर, अचेल पत्रपत्रिका पढ्दा यस्तो लाग्छ, साहित्य भनेकै संस्मरण, अनुभूति, स्मृति, आत्मचरित, एक शब्दमा भनौँ ? आत्मरति। (आत्मरति फेरि रतिमध्येकै यस्तो रति हो, रतिक्रीडाभन्दा नि भयंकर रति। रतिञ्जेल आनन्द, रतिसकेसि सरी, रित्तिसकेसि तनाव।)  

लेखक–साहित्यकारहरूको जीवनी–वार्ता पढ्दा उनीहरूले भनेका हुन्थे— मेरो पहिलो रचना कविता। अब जमाना फेरियो। अबका लेखकको पहिलो रचना आत्मकथा। जबकि पहिलाका लेखकको अन्तिम रचना आत्मकथा हुने गथ्र्यो। 

हुँदाहुँदा अस्ति एउटा पत्रिकाले त १५-१६ वर्षे दूधेओठहरूको आत्मकथाको संग्रह नै छापेछ। नछापोस् पनि किन ? पत्रिकाले पाठक जेमा भुनभुनिन्छन्, त्यही न छाप्ने हो। आत्मकथा, आत्मचरित, संस्मरण, स्मृति जे भन्नुस्, यिनको मूल केन्द्र हो— विगतको मुख मिठ्याइ। वाह र वाहवाही। संस्मरणमा धेरैले लेख्ने यही हो— यी दिन त महाझुर, पहिला पहिला कस्तो रमाइलो हुन्थ्यो यार !

साहित्य मात्र किन ? अब गैरसाहित्यकै कुरा गरम् न। गैरसाहित्य अथवा सामाजिक शास्त्रका पनि त अनेक हाँगा छन्— भूगोल छ, समाजशास्त्र छ, मानवशास्त्र छ, दर्शनशास्त्र छ, संस्कृतिशास्त्र, कला छ, पुरातत्त्व छ, इतिहास छ, के के छ छ। इत्यादि छ। अनि यी सबै हाँगामध्ये कुन हाँगो नांगोे, कुन हाँगो चैं लटरम्म देख्नुभको छ नि ? 

म त इतिहास हाँगो लटरम्म देख्छु। हाम्रा विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी नभको कुरा छोडिदिनुस्। (यहाँ पढेर काम पनि त छैन, राजा–महाराज र तिनका तिथिमितिका लागि मात्र त लोकसेवाका गाइड पढे भइगो, किन त्रिवि गइरहन पर्‍यो र ?) इतिहासका औपचारिक विद्यार्थी नभको सत्य हो, तर पत्रपत्रिकामा इतिहासकै लामलामा लेख छाएको छायै देख्नुभएकै होला। साहित्यको संस्मरणमा झैँ पाठकहरू धेरै भुनभुनिने भएरै होला, गैरसाहित्यको इतिहासका लेख–किताब बजारमा छ्यास्छ्यास्ती।     

अब म धेरै भूमिका नबाँधी भन्न खोज्या खास कुरा भनिहाल्छु। (भूमिका नबाँधी ? यही हो वाहियात लाइन। यही हो भूमिका।) त मैले भन्न खोजेको के हो भने अचेल साहित्यको संस्मरण अनि गैरसाहित्यको इतिहास लोकप्रिय हुनुमा एउटा समानता छ— दुवैको आत्मा–परमात्मा भनेकै विगत। दुवैको भाका— आहा ! ती दिन। अंग्रेजीमा भन्दिम् कि ? दुवैको अन्तर्य— नोस्टाल्जिया। 

अनि यसैमा जोड दिऊँ–जोड्दिऊँ न त एउटा कुरा— अस्ति पुस १ गतेको वरपर राजा महेन्द्र र प्रम बीपीको केन्द्रमा लामामाला लेख धेरै आए (हर साल आउँछन्)। २७ दिनपछि फेरि राजा पृथ्वीबारे अनेक लामा लामा लेख आए (हर साल आउँछन्)। अनि अस्ति भर्खर माघ १६ गते शहीदबारे उनै बासी तथा सडेगलेका तर्क–तथ्यवाला लेख आए (हर साल आउँछन्)। हिजै माघ १९ बारे ज्ञानेन्द्रलाई लिएर धेरैका संस्मरण (साहित्य !) आए (हर साल आउँछन्)।

नेपालको इतिहासमा पृथ्वी, महेन्द्र–बीपीबारे जति बढी अरू कस्काबारे लेखिएको होला र ? एक जना सर्वज्ञ लेखकले सामाजिक सञ्जालमा आफ्नो लेख सेयर गर्दै लेखे— बहसको सुरुवात गरेको छु, कृपया पढिदिनुहोला, सुझाव पनि दिनुहोला। 

‘सुरुवात ?’ पढेर ममा हाँसोको सुरुवात भइगयो।  

सुझाव दिनुहोला भने पनि उनले प्रशंसा दिनुहोला नै भनेका हुन्। यति बुझ्न मानार्थ पीएचडी नै त लिन पर्दैन क्यारे। 

त्यहाँ आका कमेन्ट हेरें

— राम्रो बहसको सुरुवात। 
— यति राम्रो लेख अहिलेसम्म पढ्या थिइनँ।
— कसैले लेखोस् त, यस प्रकारले लेखोस्। 

तीन सय वर्षअघिका पृथ्वीनारायणबारे लेखिएका पुस्तकाकार ठेली मात्रै तीन सय, थेसिस मात्रै छ सय, प्रशस्तिमा लेखिएका साहित्य मात्रै तीन हजार, उनीबारे लेखिएका लेख मात्रै तीन लाख होलान्। यो तीन करोड नेपालीलाई ज्ञात भको कुरा हो। 

त उनले ‘बहसको सुरुवात’ नै गरे त ? कि इतिहासको अन्त्य गरेर बरु परिहासको पो सुरुवात गरे कि ? हस्को निरन्तरता दिएर बहसको सुरुवात हुँदैन, मान्यवर ! बाहिर आइसकेका कुरा नै ओल्टाईपल्टाई गर्दै फलानाले यस्तो, ढिस्कानाले यस्तो भन्या छ भनेर सारसंग्रह छाप्दैमा बहसको सुरुवात हुने भए त ब्रो ल्यापटप मर्मत सेन्टर, न्यूरोडका सबै ब्रोहरू चाल्र्स ब्याबेज ठहरिन्थे। 

(नोटः इतिहासबारे यसरी कलम चलाएर मैले पो यहाँ इतिहासबारे गम्भीर र गहन बहसको सुरुवात गरेँ त। कि कुरो कसो ?) 

युगको अन्त्य 

अब अन्त्यमा, ‘बहसको सुरुवात’पछि ‘युगको अन्त्य’को कुरा गरौँ। 

पत्रिकामा लेख छाप्नु छ, फेरि पनि पत्रिकाकै कुरा गरौँ न। धेरै पहिला नजाऊँ। बितेको ३० वर्षमा नेपालमा ३० भन्दा बढी पटक युग फेरिइसक्यो। तपाईं कलि कि कलि भनेर बसिराख्नु भाको छ। युगको अन्त्य हुँदै, नयाँ युगको सुरुवात भइरहेको चाल पाउनुभएको छैन। चाल पाउनुस्, म कहन्छुः 

बीपी गए। लेखियो— एउटा युगको अवसान। 
मदन गए। लेखियो— एउटा युगको अवसान। 
गणेशमान गए। लेखियो— एउटा युगको अवसान। 
मनमोहन गए। लेखियो— एउटा युगको अवसान। 
वीरेन्द्र सपरिवार गए। लेखियो— एउटा युगको अवसान। 

एवं रीतले गिरिजा गए, किसुनजी गए, सूबथा गए, कीर्तिनिधि गए, तुलसी गए, कोको गए गए। पत्रिकाहरूको पहिलो पानामा लेखियो— एउटा युगको अवसान। 

यो एक दशकमै युगको अवसान त कति पटक भयो भयो नेपालाँ। तर, हालै ज्ञानीमैयाँ कुसुण्डा गइन्। खासमा युगको अवसान भएको चैँ यहाँनिर थियो। तर कसैले दे–ले–खेनन्— युगको अवसान।  

को हुन् ज्ञानी ? 

८५ वर्षअघि बागलुङतिरको जंगलमा जन्मेकी। दाङको लमहीमा बसिरहेकी। संसारको कुनै पनि भाषा परिवारसित नमिल्ने कुसुण्डा भाषा राम्रोसँग बोल्ने एक मात्र वक्ता। उनी आफ्नो भाषा सिकाउन चाहन्थिन्। तर, कसैले सिकेनन्। सरकारी कसैले उनको बोलीको अडियो–भिडियो संरक्षण गरेनन्। ज्ञानीसँगै भाषा मर्‍यो। भाषासँगै कुसुण्डा संस्कृति सकियो। यसरी हेर्दाहेर्दै नेपालको भाषिक–सांस्कृतिक विविधताको वैभवमा एउटा युगको अवसान भयो। सोजाक ज्ञानी ! इम्बा ज्ञानी !

(नोट : कुसुन्डा भाषामा सोजाक भनेको नमस्कार, इम्बा भनेको सम्झनामा।) 

तपाईको कमेन्ट