ठन्डीमा छाला जोगाउन अपनाऔं यस्ता उपाय

writer

डा. धर्मेन्‍द्र कर्ण, सौन्दर्य विशेषज्ञ

बुधबार, २६ मङि्सर २०७५


जाडो मौसममा छालामा देखिने विभिन्न समस्यामध्ये सुक्खापन मुख्य हो । करिब ७० देखि ८० प्रतिशत मानिसलाई यो मौसममा छाला सुक्खा हुने समस्याले सताउँछ । शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुन्छ ।

अनुहार, घाँटी, हात, ओठ, पैतला आदिको छाला सुक्खा हुन्छ । बढी चलिरहने अंग औँला, पैताला र कुहिनाभन्दा तल, घुँडाभन्दा तलको भागको छाला धेरै सुक्खा हुन्छ । यो समस्या कसैमा जन्मजात देखिन्छ भने कतिपयको वंशाणुगत हुन्छ । जन्मजात छाला सुक्खा हुनेहरूमा सम्पूर्ण शरीरको छाला नै माछा कत्लाजस्तो देखिन्छ । यसले कपाल र नङमा समेत असर पुर्याउँछ । यस्तो समस्या बच्चा जन्मेदेखि नै देखिन्छ । 

शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि हाम्रो शरीरबाट तापसँगै हामीले नदेख्ने गरी पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ । जसले गर्दा छाला सुक्खा हुने समस्या देखापर्छ । एलर्जी हुने व्यक्तिको पनि छाला सुक्खा हुन्छ ।

दमको समस्या हुनेहरूको शरीरको सम्पूर्ण छाला सुक्खा हुन्छ । मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या साथै शरीरमा विभिन्न किसिमका भिटामिनको कमी भएकाहरूको छाला पनि सुक्खा हुन्छ । यीबाहेक जीर्ण रोग, रक्त अल्पता, लामो समय पाचन प्रणाली गडबड हुनु, मुटुरोगीका बिरामीको छाला पनि सुक्खा हुन्छ । 

यो समस्या हुनेको छाला चिरा परेको हुन्छ । छालामा कत्ला देखिन्छ । कपडा खोल्दा छाला बढी नै चिलाउँछ । घाउखटिरा आउने र फंगल इन्फेक्सन हुन सक्छ । हत्केला तथा पैतलाको छाला फाटेर चिरा परेको हुन्छ । 

जाडोमा हामी कम पानी खान्छौँ । जसले गर्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ र छाला सुक्खा हुने समस्या देखापर्छ । एक त शरीरबाट पानीको कण निस्किरहेको हुन्छ भने अर्को तर्फ पानी नै कम खानाले छाला सुक्खा हुने समस्या बढी हुन्छ । त्यसैले जाडो छ भनेर पानी कम खानु हुँदैन । मनतातो पानी प्रशस्त खानुपर्छ । शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्छ ।

मनतातो पानीमा दुई÷तीन चम्चा नुन हालेर नुहाउनाले छाला सुक्खा हुने समस्या कम भएर जान्छ । नुहाउनुअघि र पछि नरिवल, जैतुनको तेल तथा म्वाइस्चराइजर क्रिम लगाउनुपर्छ । जाडो भयो भनेर आगो तथा हिटर तापेर शरीरको एक भाग मात्र तताउनेभन्दा पनि पूरै कोठा न्यानो बनाउने विधि अपनाउनुपर्छ । आफूले अपनाउन सक्ने विधि गर्दा पनि छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन भने आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ । 

चायापोतो बढ्ने मौसम 
जाडोमा घाम सबैका लागि प्यारो हुन्छ । तर, निरन्तर घाममा बस्दा छालामा भने अप्लकालीन तथा दीर्घकालीन रूपमा विभिन्न असर देखापर्न सक्छ । गोरो छाला हुनेले धेरैबेर घाममा बस्दा सन बर्न हुने समस्या भोग्नुपर्छ । घामकै कारण चायापोतोको समस्या पनि बढ्ने गर्छ । 

चायापोतोलाई मेडिकल भाषामा मेलाज्मा वा कोलाज्मा भनिन्छ । विशेष गरी महिला गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो । जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनी सोचिए पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ । 

छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ । छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने सेलले मेलानिन भन्ने तत्व उत्पादन गर्छ । मेलानिन घाम तथा अन्य कृत्रिम लाइटमा पनि उत्तिकै सक्रिय हुन्छ । घामको किरण अनुहारमा परेपछि मेलानिन भन्ने तत्व छालाको सतह फैलिन थाल्छ । घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ । धेरै कम मानिसमा मात्र घामको किरणले यो मेलानिन भन्ने तत्व सक्रिय हुँदैन र चायापोतो देखिँदैन । मेलानिन सक्रिय भएर छालाको सतह देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो । 

चायापोतोबाट जोगिन अनुहारको छालालाई घामबाट जोगाउनुपर्छ । मेलानिन आर्टिफिसियल लाइटबाट पनि उत्तिकै सक्रिय रहने भएकाले बत्ती तथा कम्प्युटरमा काम गर्दा ध्यान दिनुपर्छ । लाइटबाट छालालाई जोगाउने उपाय अपनाउनुपर्छ । 

चायापोतोलाई आउन नदिन धेरैबेर घाममा नबस्ने, अनुहारको छालालाई घामबाट जोगाउने सनस्क्रिन लोसन लगाउने । एक पटक लगाएको लोसनले तीन–चार घण्टा मात्र काम गर्छ । त्यसैले दिनमा दुई–तीन पटक लोसन लगाउने । चिकित्सकको सल्लाहमा ‘केमिकल पिर्लस’ प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ थाइरोइड हर्मनको गडबडीले पनि चायापोतो देखिने भएकाले रोगको उपचार गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि चायापोतो पूरै हट्दैन । 

तपाईको कमेन्ट