‘जे छ अब कम्प्युटरमै छ’

writer

अस्मिता खड्का

आइतबार, १९ माघ २०७६


काठमाडौँ, कमलादीस्थित युनिग्लोब कलेजका कक्षा ११ का विद्यार्थी हुन्, बोनिस तिम्सिना, विजय पाण्डेय, अनिमेशराज यादव र प्रमित भट्टराई। उनीहरू विज्ञान संकायका विद्यार्थी हुन्। कलेजको क्यान्टिनमा उनीहरू ‘आर्टिफिसियल इन्टेलिजेन्स र टेक्नोलोजी’बारे गफिँदै थिए। 


बोनिसः अनिमेश, तेरो परीक्षा कस्तो भयो ? 

अनिमेशः ठीकै भयो ! इन्टरनल परीक्षा नि कस्तो हुने हो ? गणितबाहेक अरू ठीकै भयो। अनि, तेरो ?

बोनिसः मेरो त हल्का बिग्रियो। अनि, प्रमित र पाण्डेय किन ठुस्स परेका नि ! तिमीहरूको परीक्षा कस्तो भयो ? 

प्रमितः फिजिक्सबाहेक अरू त राम्रै भा’छ। कम्प्युटर चाहिँ बबाल भयो। त्यसमा त मलाई विजयले धरी जित्न सक्दैन। 

विजयः ह्या, कम्प्युटरमा जम्मा ३० नम्बरको त छुट्या हो नि ! जे गरे पनि तिमीहरूलाई जित्ने मैले नै हो। 

अनिमेशः गफ नदे न पाण्डेय ! प्रमित सबैमा टप छ। तँ चाहिँ पास मात्र हुन्छस्। 

बोनिसः छोड्देऊ, टर्मिनल परीक्षाको लागि पनि के ल्याङ गरि’रा ? 

विजयः टर्मिनल मात्र रे ? अहिलेदेखि नै राम्रो गरे पो फाइनलमा पनि राम्रो नम्बर आउँछ। राम्रो विदेशी युनिभर्सिटीमा अप्लाई गर्न पाइन्छ। नत्र, अन्त्यमा यही टर्मिनलले ठक्कर दिन्छ। बल्ल थाहा पाउँछस् ! 

अनिमेशः अहिलेदेखि पढ्या कुरा सबै बिर्सिइन्छ। बरु, त्यही कुरा परीक्षाको समयमा दिनरात पढ्ने नि मज्जाले।  
प्रमितः विजयको कुरा ठीक हो है अनिमेश। बोर्डको बेला धेरै पढ्ने टाइम नै हुँदैन। जम्मा ४५ दिन त पढ्न पाइन्छ। अहिलेदेखि नै पढिराखे पो सही हुन्छ।

बोनिसः साथीहरू, हामी कम्प्युटर साइन्स लिएर पढिराछम्। हाम्रो ग्रुपबाट को—को कम्प्युटर फिल्डतिर जान्छ त ? 

विजयः बच्चैदेखि कम्प्युटरसँग खेलेकाले होला मलाई यस विषयमा औधी रुचि थियो। मेरो लाइन त यही हो। 

प्रमितः हाम्रो बेस नै कम्प्युटर छ त यही फिल्डमा लागिन्छ नि ! जे छ, अब कम्प्युटरमै छ।  

अनिमेशः मेरो रुचि पनि कम्प्युटर साइन्सतिरै हो। अहिले कम्प्युटर र टेक्नोलोजीमा स्कोप पनि धेरै छ। 

बोनिसः कम्प्युटर साइन्स पढे पनि मेरो लक्ष्य चाहिँ निश्चित भइसकेको छैन। यसो उत्प्रेरणा दिएर मलाई पनि यही फिल्ममा लाग्ने रुचि जगाइदेओ न हो साथीहरू। 

विजयः ‘लक्ष्यबिनाको मानिस बाँदरजस्तो हुन्छ’ भनिन्छ। तेरो पारा पनि बाँदरजस्तै देखियो नि ! अहिलेको जमानामा जुन विषय पढियो, त्यसमै भविष्य सुरक्षित हुन्छ। प्लस टूपछि विदेशमा कम्प्युटर इन्जिनियरिङ, बीएससी, सीएसआईटीमध्ये एउटा पढ्नुपर्छ। 

प्रमितः कम्प्युटर कोर्स पढ्न विदेशै चाहिँ किन जानुपर्ने ? 

विजयः कम्प्युटरसम्बन्धी कुरा छिटो अपग्रेड र अपडेट भइराख्ने कुरा हुन्। नेपालमा १२ वर्षभन्दा पुरानो पाठ्यक्रम छ। यस्तो पाठ्यक्रम पढेर कहिले उँभो लाग्नु ? विदेशमा कुनै नयाँ आविष्कार हुनेबित्तिकै त्यहीअनुसार पाठ्यक्रम सुरु हुन्छ। त्यसैले विदेश गएर पढ्ने हो।

अनिमेशः नेपालमा कम्प्युटर–टेक्नोलोजीको विकास अलि–अलि मात्र भएको छ। पढाइ पनि एड्भान्स्ड छैन। दक्ष जनशक्ति उत्पादन गर्न यतिले पुग्दैन। उता पढाइ भ्याएर नेपालमै कम्प्युटर मेकानिजम र टेक्नोलोजिकल क्षेत्रमा काम गर्नुपर्छ।  

प्रमितः हुन त हो। हाम्रो देशमा ई–कर्मस, आर्टिफिसियल इन्टेलिजेन्स, नेटवर्क सर्भिस र अन्य टेक्नोलोजिकल कुरा जति पनि विकास भएका छन्, ती सबै कमजोर छन्। अनलाइन सपिङ, इलेक्ट्रोनिक डिभाइसको कुरामा धेरै समस्या छ र सुरक्षित पनि छैन। 

विजयः हो नि ! हाम्रोमा डाटाबेस गतिलो छैन। यस्तो हुँदा ह्याकरले सजिलै ह्याक गरिदिन्छन्। यो फिल्डमा काम गर्ने दक्ष व्यक्ति नै छैनन्। कम्तीमा हामी दक्ष बन्यौं भने भविष्यका लागि राम्रो काम गर्न सक्छौँ। 

प्रमितः सही हो। त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्सको पनि विकास भयो भने हरेक काम छिटो–छरितो हुन्छ। 

अनिमेशः तिमीहरूले भनेको ठीक हो। 

प्रमितः सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छैन। आफू दक्ष भएपछि यो क्षेत्रमा मज्जाले काम गर्न सकिन्छ। युवाले काम नगरे कस्ले गर्ने ? 

बोनिसः तिमीहरूको कुरा एकदम चित्त बुझ्यो र रुचि पनि जागेर आयो। अब म पनि सक्रिय भएर पढ्न थाल्छु। 

अनिमेशः ब्रेक टाइम पनि सकियो। अब क्लासतिर लागौँ, साथी हो।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि