‘दालभातभन्दा फेसबुक ठूलो भइसक्यो’

writer

मेनुका कोइराला

बुधबार, २६ मङि्सर २०७५


क्यान्टिन गफ : काठमाडौँ, बौद्ध, टुसालस्थित कुमारी एकेडमीको क्यान्टिनमा तातो चिया खाँदै मोनिका वाइबा, साङ्मेडोल्मा साम्देन, निशा तामाङ, सीता ठकुरी, विजय तामाङ र विकास अधिकारी गफ गरिरहेका थिए। उनीहरू कक्षा १२ मानविकी संकायका विद्यार्थी हुन्।

मोनिकाः विजय, तिमी कति अनलाइन बस्छौ ! मेरो म्यासेज त रिप्लाई गर्दैनौ। कोसँग बिजी हुन्छौ ?

निशाः गर्लफ्रेन्डसँग व्यस्त होला नि ! हाम्रो म्यासेज रिप्लाई गर्न के भ्याउनु ?

विजयः गर्लफ्रेन्डसँग व्यस्त भएको हैन के, म युट्युबतिर हुन्छु, त्यही भएर म्यासेज आ’को नै थाहा हुँदैन।

विकासः युट्युब होइन, पबजी खेलेर थाहा नपा’को होला विजयले।

सीताः आजकल पबजी खूब लागेको छ केटाहरूलाई। म त केही बुझ्दिनँ त्यो गेम।

विजयः बुझ्नका लागि दिमाग चाहिन्छ। जो तिमीसँग छैन।

साङ्मेडोल्माः दिमाग त सबै विजयसँग नै छ, अरूसँग कहाँ हुनु ! 

विकासः गेम खेलेर ट्यालेन्ट भा’को होला नि ! (सबै जना हाँस्छन्।) 

निशाः आजभोलि सबै मान्छे सोसल साइटतिर नै झुन्डिरहेका हुन्छन्। कोही फेसबुक, कोही ट्वीटर, कोही पबजी त कोही युट्युब। कोही चाहिँ गर्लफ्रेन्डसँग च्याट गर्दै व्यस्त हुन्छन्। मान्छेलाई कति बिगारेको यो इन्टनेटले।

विकासः हो नि, हाम्रो क्रिएटिभिटी हराउँदै गएको छ। युवा पुस्ता सोसल साइटमा व्यस्त भएपछि कसरी हुन्छ देश विकास ? 

मोनिकाः सबैलाई भन्न मिल्दैन। कोही त राम्रै कामका लागि सोसल मिडियामा व्यस्त हुन्छन्। 

सीताः तर, धेरैजसो युवा बिग्रेकै जस्तो लाग्छ मलाई त। आजकल सोसल मिडियाको कारणले कति अपराध बढेका छन्। फेक आईडी बनाएर नराम्रो काम भइरहेका घटना कति सुनिन्छन्।

साङ्मेडोल्माः अझै कस्ता–कस्ता ट्रोल आउँछन्। हरेक कुराको ट्रोल बनिरहेको हुन्छ। 

विजयः कुनै–कुनै त रमाइला पनि हुन्छन्। मलाई त रमाइलो लाग्छ साथीहरूलाई मेन्सन गर्न।

मोनिकाः मलाई पनि मन पर्छ, रिस उठेको बेलामा हाँस्न पाइन्छ। मुड फ्रेस हुन्छ। सबै साथीभाइलाई सधैँ भेट्न नसके पनि फेसबुकबाट बोल्न पाइन्छ। 

विकासः त्यस्तो भनेर सधैँ फेसबुकमा व्यस्त हुनु भएन। आजभोजि त सबै काम छोडेर मान्छे फेसबुकमै झुण्डिएका हुन्छन्। दालभातभन्दा फेसबुक ठूलो भइसक्यो। हुँदा–हुँदा बाटो काट्दासमेत फेसबुक चलाउँछन् कोही–कोही त। 

निशाः त्यसैले पनि हो आजभोलि धेरै दुर्घटना हुने। मान्छेहरू के सारो लापर्बाह भा’का हुन्।

सीताः युवा मात्र होइन, आजभोलि बच्चा, बूढा सबै फेसबुकमा हुन्छन्। बच्चाको त झन् नजन्मिँदै फेसबुक आईडी बनिसकेको हुन्छ। 

विकासः हो भन्या, बाटोमा कुनै दुर्घटना भयो भने घाइतेलाई मद्दत गर्नुको साटो फोटो खिचेर, भिडियो बनाएर फेसबुकमा हाल्न हतार हुन्छ मान्छेलाई।

साङ्मेडोल्माः फेसबुकबिना बाँच्नै नसक्ने अवस्थामा पुगिसके मान्छेहरू।  

मोनिकाः म पनि पढ्न भनेर बस्छु, अल्छी लाग्छ अनि एकछिन फेसबुक चलाउन थाल्छु। फेसबुक चलाउँदा घण्टौँ बितेको थाहै हुँदैन। पढ्नै बिर्सिन्छु। 

विजयः मैले त झन् कति पटक घरमा ममीको गाली खाइसकेँ। फेसबुक चलाउँदाचलाउँदै खाना खान बोला’को सुन्दिनँ। मोबाइल नै दिन्नँ भनेर कराउनुहुन्छ। 

विकासः विजय तिम्रो स्वर कति मीठो छ। फेसबुकमा समय बर्बाद गर्नुभन्दा संगीत सिक्न जाऊ न। ‘खाली दिमाग शैतानको घर’ भन्छन् नि ! त्यस्तै हो। संगीतमा व्यस्त भएपछि फेसबुकतिर ध्यान जाँदैन। फुर्सदमा हो फेसबुक चलाउने।

सीताः घण्टौँ फेसबुकमा बिताएर समय बर्बाद गर्नु हुन्न।

विजयः म पनि त्यही सोचिरहेको छु। फेसबुक चलाएर समय खेर गइरहेको छ। केही सिक्नुप¥यो फुर्सदमा।

मोनिकाः फेरि विजयको गर्लफ्रेन्डले हामीलाई गाली गर्ला नि ! भोलिदेखि विजय अनलाइन आएन भनेर। (सबै जना हाँस्छन्।)

विजयः तिमीहरू मलाई जिस्काएर मात्र बस्ने हो कि क्लासमा पनि जाने हो ? जाऊँ हिँड क्लासमा।

 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि