माउन्टेन जाभामा कफी र तालिम

writer

अस्मिता खड्का

शुक्रबार, १७ माघ २०७६


काठमाडौँ, थापागाउँमा रहेको माउन्टेन जाभा २०७२ सालमा सञ्चालनमा आएको हो। विकास भण्डारी, राजकुमार कार्की, लक्ष्मण थापा र गणेश खातीले साझेदारीमा यो कफी केन्द्र सञ्चालनमा ल्याएका हुन्। एउटै प्रोफाइल भएका साथीहरूले माउन्टेन जार्भा बरिस्टा एकेडेमीको धारणा ल्याएको बताउँछन् सञ्चालक सदस्य, लक्ष्मण थापा। ‘यसअघि हामी सबै ‘हिमालयन जाभा’मा आबद्ध थियौँ,’ उनी भन्छन्, ‘सबैको एउटै प्रोफाइल भए पनि काम गर्ने सोच भने अलग–अलग थियो। जमघट हुँदा नयाँ कफी ब्रान्डबारे छलफल गथ्र्यौं। पछि सबैले मिलेर माउन्टेन जाभाको धारणा निकाल्याँै र कफी केन्द्र सुरु गर्‍यौँ।’

माउन्टेन जाभा हिमालको बाटोमा फल्ने कफीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा आएको हो। यसअन्र्तगत ‘माउन्ट स्टार्टा’ र ‘बिन्स रोस्ट’ पनि सञ्चालनमा छन्। आफूहरूले कफी सर्भसँगै कफीसम्बन्धी तालिम दिने र बिन्स रोस्ट गरेर स्वदेश तथा विदेशमा पठाउने गरेको लक्ष्मण बताउँछन्। ‘नेपाली कफी उत्पादनलाई प्रवद्र्धन गर्नु हाम्रो उद्देश्य हो,’ कफी केन्द्रका अर्का सञ्चालक विकास भण्डारीले भने। विभिन्न देश पुगेर त्यहाँको कफी ट्रेन्डबारे बुझेर आउने र त्यहीअनुसार केन्द्रले कफी बनाउने उनी बताउँछन्। माउन्टेन जाभा कफीलाई रोस्ट गरेर जापान, कोरिया, अस्ट्रेलियालगायत देशमा पठाउने गरेको उनी बताउँछन्। नेपालभरि आफ्ना सयभन्दा बढी पसल रहेको उनी बताउँछन्। 

कफीपारखीका लागि मात्र नभई कफी उद्योगमा भविष्य देख्ने युवाका लागि पनि माउन्टेन जाभाले विभिन्न तालिम दिँदै आएको छ। ‘हामीले कफी सर्भ र सप्लाई मात्र गर्दैनौँ,’ लक्ष्मण भन्छन्, ‘कफी उद्योगमा भविष्य बनाउन चाहनेलाई अन्तर्राष्ट्रिय स्तरको तालिम पनि दिन्छौँ। पछिल्लो समय कफी कल्चरका रूपमा विकास भएको छ। त्यसैले यसमा अवसर पनि छ।’ कफीसम्बन्धी तालिम वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि पनि उपयुक्त भएको उनी बताउँछन्। 

माउन्टेन जाभा ‘स्पेसल कफी एसोसियसन’को सदस्य पनि हो। यसले ९६ भन्दा बढी बरिस्टा तालिमको कक्षा सञ्चालन गरिसकेको लक्ष्मण बताउँछन्। भन्छन्, ‘हालसम्म हजारौँ व्यक्तिले तालिम लिइसकेका छन्। हामीकहाँ बाह्रै महिना कक्षा सञ्चालन हुन्छन्। हामीसँग भएका दक्ष ट्रेनरले बिन्स रोस्टिङ, कफी आर्ट र कफीसम्बन्धी अन्र्तराष्ट्रियस्तरको तालिम दिनुहुन्छ।’ माउन्टेन जाभामा विभिन्न खाले कफीको स्वाद लिन पाइन्छ। मोजितो, कोर्टाडो, एस्प्रेसो रोमानो, लातेलगायत यहाँ पाइने विशेष कफी हुन्। लातेमा आकर्षक आर्ट डिजाइन गरिने बताउँछन्, अर्का सञ्चालक राजकुमार कार्की। भन्छन्, ‘ग्राहकको मागअनुसार लातेमा विभिन्न आर्ट डिजाइन गरिन्छ। हार्ट सेप, स्वान, रोसेट्टालगायत हाम्रा विशेष आर्ट हुन्।’ 

तपाईको कमेन्ट

मुख्य समाचार