काठमाडौँमा घान्द्रुकको स्वाद

writer

अस्मिता खड्का

शुक्रबार, १७ माघ २०७६


काठमाडौँ : त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको भुइँतलामा छ, घान्द्रुक नेपाली किचेन। पर्यटकीय गुरुङ गाउँ घान्द्रुकबाट यस किचेनको अवधारणा ल्याइएको सञ्चालक सदस्य परिचित केसी बताउँछन्। ‘घान्दु्रक गुरुङ संस्कृति, परम्परा र प्राकृतिक दृश्य अवलोकनका लागि प्रख्यात छ,’ उनी भन्छन्, ‘गुरुङ समुदायको जीवनशैली र उनीहरूका मौलिक परिकारको स्वाद हाम्रो रेस्टुरेन्टमा पाइन्छ।’

शिवमान घले, परिचित केसी, कौशल, राजिन खड्का लगायतले यो किचेन खोलेका हुन्। उनीहरूको अर्को फुड इन्डस्ट्री पनि छ, ‘पेपे पिज्जा’। पिज्जाबाहेक गुरुङ समुदायको मौलिक खानेकुरालाई पनि प्राथमिकता दिन यो किचेन सञ्चालनमा ल्याएको परिचित बताउँछन्। ‘यसबाहेक हाम्रो आफ्नै पिज्जा ब्रान्ड छ,’ उनी भन्छन्, ‘हाल पेपेका आठ वटा शाखा सञ्चालित छन्। पिज्जाबाहेक मौलिक खानेकुरा पनि पस्किनुपर्छ भन्ने लाग्यो। र, यो किचेन खोल्यौँ।’ रेस्टुरेन्ट घान्द्रुकका घरको झझल्को आउने गरी सजाइएको छ। भित्तामा घान्द्रुक भिलेज र त्यहाँबाट देखिने दृश्यका तस्बिर झुण्ड्याइएका छन्। भित्री सजावट आकर्षक छ। यो सजावट आफ्नै टिमले गरेको परिचित बताउँछन्। 

गत मंसिर महिनादेखि सञ्चालनमा आएको हो, किचेन। यहाँ गाउँले शैलीमा परिकार पाक्ने बताउँछिन्, घान्द्रुक नेपाली किचेनकी स्टाफ मञ्जु चौलागाईं। ‘हाम्रो आफ्नै रेसिपी छ,’ उनी भन्छिन्, ‘यहाँ पाक्ने नेपाली खाना र अन्य परिकार पूरै गाउँले शैलीमा पाक्छन्। दाल, चामल, पिठोलगायत गाउँबाटै मगाइन्छ। मकै, कोदो र फापरको ढिँडो, सेकुवा, चिकेन पोलेर साँधेको, लोकल चिकेन खाना, माछा आदि सबै पकाउँछौँ।’ किचेनले कम मसलायुक्त र स्वास्थ्यकर खाना पस्कने गरेको मञ्जु बताउँछिन्। चिकेन र मटन तास, पोलेको मटन, गुन्द्रुक भटमास साँधेको, पनिरका आइटम, फिंगर चिप्स, मटन ह्याकुलो, मटन फोक्सो÷कलेजो आदि ग्राहकले स्वाद मानेर खाने गरेको उनी बताउँछिन्। मःमः, चाउमिन, सिज्लरलगायत पनि किचेनको मेनुमा रहेका छन्।

किचेनमा सिजनअनुसार खानेकुरा पाक्ने मञ्जु बताउँछिन्। भन्छिन्, ‘गर्मी र जाडो मौसमअनुसार हाम्रो अलग–अलग मेनु छ। गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा सर्भ गर्छौं भने जाडोमा चिकेन, मसरुम, मटन लगायतको सुप बनाउँछौँ। यी खानेकुराले चिसोबाट बच्न मद्दत गर्छन्।’ 

किचेनमा पारिवारिक र खुला वातावरण छ। यहाँ आउने अधिकांश व्यक्ति किचेनका रेगुलर ग्राहक भएको परिचित सुनाउँछन्। ‘हाम्रोमा कलेज÷स्कुलका विद्यार्थी बढी आउने गर्छन्,’ उनी भन्छन्, ‘सामूहिक र पारिवारिक लन्च र डिनरका लागि आउने नियमित ग्राहक पनि छन्।’ रेस्टुरेन्टमा बर्थडे पार्टीलगायत विशेष अवसर मनाउने व्यवस्था पनि छ।

तपाईको कमेन्ट

मुख्य समाचार