‘यस्तै हो भने ट्याक्सी लोप हुन्छ’

writer

सम्पूर्ण

बिहिबार, १६ माघ २०७६


माइला तामाङ, चालक, बा २ ज २४५

मेरो घर काभ्रे हो। २०४६ सालमा काठमाडौँ छिरेको थिएँ। यहाँ आउनेबित्तिकै गतिलो काम पाइएन। होटलमा भाँडा माझ्न थालेँ। तर, त्यसले केही होलाजस्तो लागेन। लक्काजवान थिएँ, शरीरमा तागत थियो। त्यसैले भारी बोक्ने काम गर्न थालेँ। पछि त्यो काम पनि छाडेँ। रिक्सा चलाएँ। रिक्साबाट पनि खासै आम्दानी भएन। रिक्साबाट ट्याम्पूतिर सरेँ। तीनचार वर्षजति ट्याम्पू चलाएँ। त्यसपछि ट्याक्सी सिकेँ। २०५८ सालबाट ट्याक्सी चलाउन थालेको हुँ। 

सुरुदेखि अहिलेसम्म साहूकै ट्याक्सी चलाउँदै छु। ट्याक्सी चलाएको २० वर्षभन्दा धेरै भए पनि आफ्नो ट्याक्सी किन्न सकिएन। अहिलेसम्म केही प्रगति गर्न सकिएको छैन। ट्याक्सीबाट हुने आम्दानीले बालबच्चा पढाउन र कोठा भाडा तिर्न ठिक्क भएको छ। यही पुर्‍याउन त धौधौ भइरहेको छ। बचत गर्न त परै जाओस्। 

केही वर्षअगाडिसम्म ट्याक्सी चलाउँदा राम्रै हुन्थ्यो। प्यासेन्जर पनि राम्रै पाइन्थे। अन्य साधन खासै थिएनन्। तर, अहिले पहिलेजस्तो अवस्था छैन। बाटो पूरै अस्तव्यस्त छ। धेरैले ट्याक्सी चढ्नै छोडे। कमाइ निकै कम हुन थालेको छ। कहिले तीन सय रुपैयाँ बच्छ भने कहिले पाँच सय रुपैयाँ। कहिलेकाहीँ एक हजार रुपैयाँसम्म पनि आउँछ। तर, त्यसका लागि दिनरात मेहनत गर्नुपर्छ। आम्दानीले घर धान्न गाह्रो भएको छ। 

४७ वर्षको भइसकेँ। अहिलेसम्म सुको बचत छैन। बुढेसकाल लाग्न थालिसक्यो। अब कमाइन्छ भन्ने नि त्यस्तै हो। बिरामी भए उपचार कसरी गर्ने हो ? भनेर चिन्ता लाग्छ। अलि–अलि हुने व्यापार पनि अनलाइनमा आएका पठाओ, टुटलले खाइदिए। उनीहरू ग्राहकसँग सीधा सम्पर्क गर्छन्। उनीहरूको जस्तो पहुँच हाम्रो छैन। त्यसैले अहिले ट्याक्सी पछि परेको छ। यस्तै हो भने ट्याक्सी लोप हुन्छ। 

यस पेशामा सानातिना घटना भइरहन्छन्। भाडा नदिने, थर्काउनेलगायत भइरहन्छन्। अहिले त बूढो पनि भइयो। चुप लागेर बस्छु। ज्यानभन्दा ठूलो पैसा होइन भन्ने लाग्छ। धेरै पटक ठगिएको छु।

बेला–बेलामा ट्राफिक प्रहरीले पनि एकदमै दुःख दिन्छन्। सरकारले ट्याक्सी चालकलाई ड्रेस कोड तोकिदिएको छ। ज्याकेट लगाइएन भने ट्राफिकले चिट काट्छन्। लगाइयो भने ताइ न तुइको ज्याकेट लगाएर के गर्नु ? कि राम्रै ज्याकेट ड्रेस कोड बनाउनु कि बनाउँदै नबनाउनु।

प्रस्तुतिः सुमित  

तपाईको कमेन्ट

मुख्य समाचार