‘ठमेल त चीनजस्तै भएछ’

writer

सम्पूर्ण

शुक्रबार, १७ माघ २०७६


 २२ वर्षीया कोको चिनियाँ नागरिक हुन्। उनी विश्वका विभिन्न देश घुमिसकेकी छिन्। यो उनको दोस्रो नेपाल भ्रमण हो। 


नि हाऊ (नमस्ते) !
नि हाऊ।

कहिले आइपुग्नुभयो ?
नौ दिनअघि मात्र आइपुगेँ।  

एक्लै आउनुभएको कि साथमा अरू पनि हुनुहुन्छ ? 
आमाबुबा र हजुरआमासँग आएकी छु। हामी यतिबेला पारिवारिक भ्रमणमा छौँ। बाबा र मेरा केही साथी पनि नेपाल घुम्न आएका छन्। 

नेपालबारे कसरी थाहा पाउनुभयो ?  
आफ्नो छिमेकी देशबारे जसरी पनि थाहा हुन्छ नि ! मेरा आमाबुबाले नेपालको खूब प्रशंसा गर्नुहुन्छ। त्यो सुनेर नेपाल नघुमी छोड्दिनँ भन्ने लाग्यो। यो मेरो दोस्रो नेपाल भ्रमण हो। 

यहाँ कुन–कुन ठाउँ घुम्नुभयो त ?
बौद्ध, स्वयम्भूनाथ, पाटन, पशुपतिनाथ, वसन्तपुरलगायत काठमाडौँ उपत्यकाभित्रका ठाउँ घुमेँ। उपत्यकाबाहिर चाहिँ चितवन र पोखरासम्म पुगियो।

घुमेकामध्ये कुने ठाउँ बढी मन पर्‍यो ?
बौद्ध र स्वयम्भूनाथ शान्त ठाउँ लागे। पाटन र पशुपतिनाथमा विविध कुरा देख्न पाइयो। चितवनको जंगल सफारी र पोखरामा प्याराग्लाइडिङ गरियो। सबै ठाउँ राम्रा लागे।

यसअघि कहिले नेपाल आउनुभएको थियो ?
सन् २०१७ मा पहिलो पटक आएकी थिएँ।
 
पहिलो पटक र अहिलेको भ्रमणमा के फरक पाउनुभयो ?
खासै फरक त भेटिनँ। ट्राफिक जाम अलि बढेछ। ठमेल देख्दा चाहिँ चीनमै पुगेजस्तो लाग्यो। ठमेल त चीनमय भएछ। 

ठमेलमा जताततै चिनियाँ होर्डिङ बोर्ड देख्दा कस्तो महसुस हुन्छ ?
चिनिया नागरिक भएकाले मलाई त राम्रै लाग्छ तर नेपालीका लागि यो राम्रो होइनजस्तो लाग्छ। उताका व्यापारीले यता पनि बाँकी राखेनन्। जताततै चिनियाँ अक्षर देखिन्छन्। थुप्रै चिनियाँ रेस्टुरेन्ट खुलेछन्। पहिला ठमेलको आफ्नै पहिचान र स्वाद थियो। त्यो हराएजस्तो लाग्छ। 

सम्पूर्ण नेपाल चाहिँ कस्तो लाग्छ ?  
एकदम शान्त र रमाइलो लाग्छ। यहाँका गाउँतिरका घरको बनोट, विविध संस्कृति र मान्छेको राम्रो व्यवहारले मुग्ध छु। यहाँका घरको डिजाइन र प्राकृतिक सुन्दरता देखेर चकित छु। 

हालसम्म कति वटा देश घुमिसक्नुभयो ? 
पढाइले गर्दा धेरै देश घुम्न पाएकी छैन। दक्षिण एसियाका केही देश घुमेकी छु। अर्को महिना ब्राजिल जाँदै छु।

तपाईंलाई मन परेको नेपाली परिकार कुन हो ? 
यहाँको कोदाको रोटी सबैभन्दा मीठो लाग्छ। मासुका परिकार पनि स्वादिष्ट लाग्छन्। 

भ्रमणका क्रममा भोग्नुपरेको कुनै नमज्जाको घटना छ कि ? 
भाषाले गर्दा अलि–अलि असुविधा हुन्छ। मलाई चिनियाँ भाषाबाहेक अरू बोल्न आउँदैन। अंग्रेजी पनि खासै बोल्दिनँ। अंग्रेजी बुझे पनि मज्जाले जवाफ फर्काउन सक्दिनँ। जसले गर्दा यहाँका मानिससँग संवाद गर्न गाह्रो भइरहेको छ। 

आफ्नो देश र नेपालबीच के कस्तो फरक पाउनुभयो ? 
भाषा, संस्कृति, परम्परा, भौगोलिक क्षेत्र र आर्थिक रूपमा दुवै देशमा धेरै भिन्नता छन्। तर, हिमाली भेगका मंगोलियन अनुहार देख्दा चाहिँ आफ्नै मान्छे भेटेजस्तो लाग्छ। 

प्रस्तुतिः  अस्मिता खड्का 

तपाईको कमेन्ट