‘संसारभरिका मान्छेसँग संगत गर्न पाइन्छ’

writer

सम्पूर्ण

शुक्रबार, १७ माघ २०७६


विपिनराज सापकोटा (३१), ट्रेकिङ गाइड

मेरो घर कास्की जिल्लाको मादिगाउँपालिका–५ हो। २०६३ सालबाट पर्यटन क्षेत्रमा काम सुरु गरेको हुँ। सुरुमा पर्यटकको पोर्टर भएँ। भारी बोक्ने गर्थें। त्यसपछि मात्र ट्रेकिङ गाइड बनेको हुँ।

कलेज पढ्दाताका पर्यटन क्षेत्रमा राम्रो भविष्य देखेँ। र, यसमै लागेँ। महिनाभरि काम गर्न नपर्ने, दुईचार दिन काम गरे पनि राम्रो आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएँ। बीचमा पर्यटन क्षेत्रमा अलि मन्दी आयो। ‘यसमै लागे बाँच्न गाह्रो हुन्छ कि’ भनेर विदेश हानिएँ। तीन वर्ष दुबई बसें। त्यहाँबाट फर्किएर फेरि पुरानै पेशामा छिरेँ। अन्नपूर्ण कन्जरभेसन एरिया र मनास्लु ट्रेकमा जाने गर्छु। यो पेशा जटिल माने जटिल, सहज माने सहज छ। विभिन्न देशका नागरिकसँग हिँड्दा छुट्टै मज्जा हुन्छ। विभिन्न देशबारे जानकारी पाइन्छ। संसारभरिका मान्छेसँग संगत गर्न पाइन्छ।  

पर्यटक अन्नपूर्ण सर्किट र तिलिचो तालतिर आकर्षित हुन्छन्। यो रुटमा सौन्दर्य धेरै छ। हरेक दिन फरक–फरक दृश्य हेर्न पाइन्छ। जमिनको आकार, बस्ती हेर्दै अन्नपूर्ण सर्किट र तिलिचो तालसम्म पदयात्रा गर्नेले नेपाल कहिल्यै भुल्न सक्दैन।  

मनाङसम्म बाटो भए पनि लमजुङ बेसीशहरबाट हिँड्दै पदयात्रा गर्ने गर्छौं। १६ दिनमा कास्कीको नयाँ पुल निस्कने गर्छौं। अन्नपूर्ण सर्किटमा जोखिम भने हुन्छ। तिलिचो ताल जाने क्रममा रक फल एरिया धेरै छन्। ढुंगा बाह्रैमास खसिरहन्छन्। बाटो नै हुँदैन, आफैँ बनाउँदै जाने हो। जति बाटो बनाए पनि माथिबाट गिटीजस्तो ढुंगा खस्न रोकिँदैन। जोगिँदै हिँड्नुपर्छ। बर्खामा हिमपहिरोको डर हुन्छ। हिमपहिरो मात्र नभएर थोरङ्ला र तिलिचोतिर हाई अल्टिच्युड सिकनेस अर्थात् लेक लाग्ने डरसमेत हुन्छ।

पछिल्लो समय पदयात्रा गर्दै घुम्न रुचाउने पर्यटक धेरैजसो पढाइ सकेका युवायुवती हुन्छन्। विदेशमा जागिर गर्नभन्दा पहिले एक वर्ष सरकारले घुम्नका लागि बिदा दिएको हुन्छ। सरकारको पैसामा घुम्न आएका पर्यटक हुन्छन्। उनीहरू उतिसारो खर्च गर्दैनन्। 

क्वालिटी टुरिस्टमा जर्मन, फ्रान्स, इटाली, स्पेनका पर्छन्। अमेरिकन र ब्रिटिस पनि क्वालिटी टुरिस्ट हुन्। प्रायः पर्यटकको देशअनुसार रुचि हुने गरेको छ। ब्रिटिस प्रकृतिप्रेमी हुन्छन्। उनीहरू फूल, ढुंगा, ल्यान्डस्केप, जनजाति, संस्कृतिबारे विस्तृत रूपमा बुझ्न खोज्छन्। उनीहरू हिमाल हेरेर रमाउने गर्छन्। 

ट्रेकिङका लागि चार वटा सिजन हुन्छन्। मार्च र अप्रिल महिनामा फूल र हिउँ हेर्न खोज्नेहरू आउँछन्। सेप्टेम्बर र अक्टोबर पदयात्रा पर्यटनको मुख्य सिजन हो। यो समयमा पदयात्रामा जाने पर्यटकको संख्या बढी हुन्छ। जुन र जुलाई सुक्खा एरियामा जान रुचाउने पर्यटक आउँछन्। यो पर्यटनको लो सिजन हो। त्यस्तै, जाडो छल्न डिसेम्बर र जनवरीमा पर्यटक आउँछन्। 

अहिले छोटो समयमा घुम्ने खालका पर्यटक बढी आउने गरेका छन्। चार, छ, तीन दिनको यात्रामा निस्कने खोज्ने बढी छन्। घोरेपानी, पुनहिल, बेसक्याम्प, धम्पुस छोटो रुट धेरैको रोजाइमा पर्न थालेका छन्। 

प्रस्तुतिः राजाराम पौडेल 

तपाईको कमेन्ट