किशोरी अवस्थामा पुग्न आँटेकी छोरीलाई यौन शिक्षा कसरी दिने?

writer

डा. सुमनराज ताम्राकार

बिहिबार, १६ माघ २०७६


किशोरी अवस्थामा पुग्न आँटेकी छोरीलाई यौन शिक्षा दिने बेला भयो भनेर कसरी थाहा पाउने ? अनि, यौन शिक्षा कसरी दिन सकिन्छ ? जिज्ञासा : एम, ललितपुर

नेपालको परिप्रेक्ष्यमा यौनिक विषयवस्तुमा सीधै छलफल गर्न अलि असहज हुने गर्छ। तर, समय बदलिँदो छ। त्यसैले यस विषयमा छलफल गर्न बन्द समाजमा जस्तो गाह्रो नहोला। विश्वव्यापी तवरमा १३ देखि १९ वर्षलाई टिनएज मानिन्छ। यौन शिक्षा कसरी दिनेभन्दा पनि त्यसअगाडि छोरी टिनएजमा पुगेको कसरी थाहा पाउने जान्न जरुरी छ। छोरी किशोरी वयमा पुग्न लाग्दा यौनसम्बन्धित प्रश्न गर्न थाल्छिन्। किशोरी अवस्थामा पुगेपछि शारीरिक परिवर्तन देखापर्न थाल्छन्। केटाबारे कुरा गर्न थाल्छिन्। डेटिङ जान थाल्छिन्। तिनीहरूको ग्याजेटमा सेक्सुअल विषयवस्तु भेटिन थाल्छ। यौनिक रूपमा सक्रिय व्यक्तिलाई साथी बनाउन थाल्छिन्।  

तर, अभैm पनि धेरैजसो अभिभावक आफ्ना छोराछोरीले यौनबारे जिज्ञासा राख्न थाले चिन्तित भइहाल्छन्। हतपती यौनिक सवालमा छलफल गर्न पनि चाहँदैनन्। तर, किशोरावस्थामा पुगेका छोराछोरीको यौनिक जिज्ञासा समयमै मेटाइएन भने तिनीहरूको कौतूहल झन् बढ्न सक्छ। यसलाई निराकरण गर्न साथीसंगी वा मिडियाको सहयोग त लिन्छन्, तर तिनीहरूबाट प्राप्त जानकारी गलत, अपूरो एवं अस्पष्ट हुन बेर लाग्दैन।

किशोरी अवस्थामा पुग्ने क्रममा कतिपय शारीरिक परिवर्तन देखापर्न थाल्छन्। सामान्यतया किशोरीमा ११ देखि १४ वर्षभित्र शारीरिक परिवर्तन देखिन्छन्। उनीहरूका पुट्ठा चौडा हुने, तिघ्रा सुलुत्त पर्ने, स्वर अझै सुरिलो हुने, स्तन बढ्ने, महिनावारी हुन थाल्नुका साथै मानसिक, भावनात्मक तथा व्यावहारिक परिवर्तन पनि धेरै हुन्छन्। यसमध्ये महिनावारी सुरु हुनु सबैले हेक्का राख्ने विषय हो। यथोचित् एवं यथेष्ट पोषणको उपलब्धता र सेवन, जलवायु परिवर्तनको अप्रत्यक्ष प्रभावको कारण अघिल्ला पिँढीको दाँजोमा अहिले तुलनात्मक रूपमा यी परिवर्तन क्रमशः अलि चाँडचाँडै हुन थालेको देखिन्छ। किशोरी वयमा पुगेपछि विपरीतलिंगीप्रति आकर्षित हुने, यौन चाहना बढ्ने, यौनसम्बन्धी खोजीनिती गर्ने, हस्तमैथुन गर्न थाल्ने हुन्छ। यसबाहेक एक्लै बस्ने, स्वतन्त्रता चाहने, दिवास्वप्न देख्ने, मुड परिवर्तन भइरहने, गोपनीयता चाहने, स्तनको बढी चिन्ता गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने हुन्छ।

टिनएजमा पुग्न लागेकी छोरीसँग आफ्नो मूल्य–मान्यता सेयर गर्ने गर्नुपर्छ। कुनै पनि घटनामा कसरी प्रतिक्रिया जनाउने, त्यसको अनुभूति कसरी गर्ने ? भन्ने कुरा तिनले अभिभावकबाट नै सिक्छन्। त्यसैले टिनएजर छोराछोरीसँग यौनसम्बन्धी छलफल गर्दा खुल्ला दिमागले गर्न जरुरी छ। तिनीहरूसँग बेलाबखत छलफल गर्ने, अनुमानको भरमा कुरा नगर्ने, उनीहरूका कुरा पनि राम्ररी सुन्ने, यौनका आधारभूत कुरा बताउने गर्नुपर्छ। उनीहरूलाई शरीरमा परिवर्तन किन आयो ? भन्ने कुरा समयमै सचेत गराउनु जरुरी छ। किनकि, यी शारीरिक परिवर्तनबारे सही समयमा जानकारी पाइएन भने कतिपय अवस्थामा मानसिक समस्या निम्तिन सक्छ। त्यसैले किशोरावस्थामा पुग्नुअगावै छोराछोरीलाई शरीरमा आउने र आउन सक्ने परिवर्तनबारे पूर्वजानकारी दिनु राम्रो हुन्छ। जस्तै, महिनावारी सुरु हुनुअगावै त्यसबारे तथ्यगत जानकारी दिनु ठीक हुन्छ। पहिलो पटकको महिनावारीलाई कसरी सामना गर्ने ? यसलाई कसरी सामान्य परिवर्तनका रूपमा लिने भनेर बुझाउनुपर्छ। 

छोरी डेटिङमा जान थालेको चाल पाएपछि पनि यौन शिक्षा दिन अझै ढिलो भइसकेको छैन भनेर बुभ्mनुपर्छ। डेटिङमा जान थाल्दैमा यौनिक रूपमा सक्रिय भइसकिन् भनेर सोचिहाल्नु हुँदैन। तर, सुरक्षित सेक्सका उपायबारे बताउन भने आवश्यक छ। स्वीकृतिबिना कसैले पनि शरीर छुन पाउँदैन र शरीरमाथिको आफ्नो अधिकारबारे पूर्णतः जानकारी दिनुपर्छ। यसै मेसोमा फेरि एक पटक ‘गुड टच’ र ‘ब्याड टच’बारे सिकाउनुपर्छ। सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार १० मध्ये एक जना किशोरी वा बालिका यौन हिंसाको शिकारमा पर्ने गरेका छन्। नेपालमा पनि बेलाबखत विभिन्न उमेर समूहका बालिका, किशोरी वा महिला यौन हिंसा एवं बलात्कारमा परेको खबर सुन्नमा आउँछ। त्यसो भएर यौनिक हिंसा हुन लाग्दा वा हुँदा कसरी सामना गर्ने ? त्यस्तो हिंसाबाट कसरी जोगिने ? कथंकदाचित् हिंसामा परिहाले के कस्तो पाइला चाल्ने आदिबारे अवगत गराउनुपर्छ। 

अभिभावकले यी कुरा बताउनुअगावै पनि कोही–कोही टिनएजर यौनिक रूपमा सक्रिय भइसकेका हुन सक्छन्। उनीहरूले आफ्ना जिज्ञासा अप्ठ्यारो नमानी सोध्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। अभिभावकसँग खुल्ला तवरमा कुरा गर्न सक्ने विश्वास दिलाउन सकिएन भने छोराछोरी ‘खप्की खाइएला’ भन्ने डरले ढाँट्न सक्छन्। 

त्यसो त डेटिङ जान थालेपछि सुरु–सुरुमा नकार्ने वा ढाँट्ने गर्छन्। अभिभावकले अन्य स्रोतबाट मात्र थाहा पाएका हुन्छन्। किशोरावस्थामा ढाँट्ने कार्यलाई स्वाभाविक रूपमा लिनुपर्छ। एक अध्ययनअनुसार आफ्नो स्वतन्त्रता जोगाउन वा स्थापित गर्न किशोरकिशोरीले ढाँट्ने गर्छन्। किशोर वयमा पुगेपछि केटाकेटीको सुत्ने र उठ्ने समयमा पनि ढिलाइ आउन सक्छ। यसलाई पनि स्वाभाविक परिवर्तन मान्नुपर्छ। किशोर–किशोरीले चाहेर पनि चाँडै निदाउन नसक्ने र बिहान वा बिदाको दिनमा अबेरसम्म निदाइरहन रुचाउने हुन्छ। राति अबेरसम्म निदाउन नसक्दा इन्टरनेटमा विभिन्न कुरा सर्च गर्ने क्रममा यौनिक विषयवस्तु हेर्ने वा अनलाइन च्याट गर्ने बानी बस्न सक्छ। 

छोराछोरीको ग्याजेटमा यौनिक विषयवस्तु भेटिनु पनि किशोरावस्था पुगेको छनक हो। यस्तो परिस्थितिलाई यौन शिक्षा दिने उपयुक्त समयका रूपमा बुझ्नुपर्छ। त्यसो त इन्टरनेटमा प्रशस्तै यौनसम्बन्धी जानकारी पाइन्छ तर सबै खाले जानकारी उचित र सही हुन्छन् भन्ने हुँदैन। किशोर–किशोरीलाई उमेरअनुसार सम्मान दिई खुल्ला तवरमा कुराकानी गर्नुपर्छ। आफ्नो विचार लाद्ने वा निर्णय मात्र थोपर्ने कामले प्रतिकूल नतिजा ल्याउन सक्छ। बरु, उनीहरूको जिज्ञासा मेटाएर यससम्बन्धी प्रश्न सोध्न हौसला दिनुपर्छ। 

सम्भव भएसम्म विवाहपूर्व यौन सम्बन्धबाट टाढा रहन अथवा यौन सम्बन्धमा संयमित हुन सुझाउनुपर्छ। उनीहरूलाई सुरक्षित सेक्सबारे यथेष्ट जानकारी दिनुपर्छ। परिवार नियोजन एवं आकस्मिक गर्भ निरोधबारे बताउनुपर्छ। कथंकदाचित् असुरक्षित सेक्स हुन गयो भने निर्धक्क अभिभावकलाई बताउन सक्ने वातावरण बनाइदिनुपर्छ। त्यसपछिका विकल्पबारे बताउनुपर्छ। घरमा अभिभावकबाट यौन सजगता, स्कुल एवं कलेजमा व्यावहारिक यौन शिक्षा र राज्य एवं स्वास्थ्य निकायबाट किशोर–किशोरी परामर्श केन्द्र तथा यौन स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याई यौनसम्बन्धी शारीरिक, मानसिक एवं संवेगात्मक परिवर्तनका सवालमा ज्ञान दिन जरुरी हुन्छ। 

तपाईको कमेन्ट