डबल दाम्पत्य : सुरक्षा निकायमा समस्या

writer

सृजना खड्का

बुधबार, २६ मङि्सर २०७५


पात्र–१ 
नेपाली सेनाका पूर्व उच्च अधिकारी विजय (नाम परिवर्तन) को १६ वर्षकै उमेरमा बिहे भएको थियो। हाल काठमाडौँ बस्ने धरान मूल घर भएका ६० वर्षीय विजयले तीन पटक बिहे गरे। किशोरवयमै वैवाहिक जीवनमा बाँधिएका उनी पढ्नलाई काठमाडौँ आए। स्नातक सक्किँदा तीन सन्तानका पिता भइसकेका थिए। उमेर ३० वर्ष पनि पुगेको थिएन।

बिएको पढाइ सकिएलगत्तै उनी आर्मीमा भर्ती भए। पढाइ र अन्य कौशलका कारण उनी पाँच वर्षभित्रै सेनाको उच्च तहमा पुगिसकेका थिए। उनको बोलीमा गज्जबको आत्मविश्वास थियो। जो कोहीलाई सजिलै प्रभाव पार्न सक्थे। आर्मीले बेलाबखत कार्यक्रम गरिरहन्थ्यो। कार्यक्रमका लागि कला क्षेत्रका महिलाको आउजाउ चलिरहन्थ्यो। यही क्रममा काठमाडौँकी कलाकार दीपिका (नाम परिवर्तन) लाई उनले मन पराउन थाले।

दीपिकालाई पनि विजय मन पथ्र्यो। दुवै गहिरो प्रेममा परे। दीपिकाले एक मोडमा गएर विवाहका लागि दबाब दिन थालिन्। विजयले आफ्नी श्रीमती र तीन सन्तान भएको कुरा ढाँट्दै आएका थिए। तर, विवाहका लागि दबाब आएपछि उनले आफू विवाहित र तीन सन्तानको बाउ भएकोसमेत बताए। दीपिकाका लागि यो खुशीको खबर थिएन। उनले विजयसँग घर बसाउने सपना देखेकी थिइन्, तर यसका लागि अरू कसैको घर बिग्रिने अवस्था थियो। उनी विजयको जिन्दगीबाट टाढिन खोजिन्। तर, दुवैलाई एकअर्काको बानी परिसकेको थियो। अन्ततः विजयले जेठी श्रीमतीको आँशुको पर्वाह नगरी दीपिकालाई आफ्नो घरमा भित्र्याए। 

दीपिकाबाट उनको एक सन्तान भए। तर, दुवैको वैवाहिक जीवन लामो समय चलेन। एउटा दुर्घटनामा दीपिकाको ज्यान गयो। उनी जेठी श्रीमतीको शरणमा गए। जेठीसँग उनको जिन्दगी राम्रै चलिरहेको थियो, तर एक दिन उनको पनि मृत्यु गयो। ५५ वर्षका विजय विदुर भए। यतिञ्जेलसम्म विजय आर्मीबाट रिटायर्ड भइसकेका थिए। उनीसँग पैसा र समय दुवै थियो। शरीरले बुढेसकालको सहारा खोजिरहेको थियो। तर, छोराछोरीको विवाह गर्ने उमेरमा विजयले अर्को विवाह गर्ने कुरै थिएन।

विजयले करिब १० वर्ष एक्लो जीवन बिताए। दुई श्रीमतीका छोराछोरी आफ्ना खुट्टामा उभिइसकेका थिए। उनी एक्लै परे। यही समयमा उनले आफूजस्तै महिला भेटे, जो पतिको मृत्युपछि एकल जीवन बाँचिरहेकी थिइन्। विजयको जस्तै उनका पनि छोराछोरी हुर्केर आफ्नो बाटो लागिसकेका थिए। दुबै एक्लोपनका साथी भए। हुँदाहुँदा दुवैको घरसम्म कुरा पुग्यो। विजयले ती महिलालाई तेस्रो श्रीमतीको रूपमा घरमा भित्र्याउन चाहे। तर, छोराछोरीले समाजले राम्रो नमान्ने भन्दै बुबाको निर्णयमा चित्त बुझाएनन्। विवाहको योजना बीचैमा तुहियो। दुवै ‘लिभिङ टुगेदर’मा बसे।

तर, उनी विवाह गर्ने नै मनस्थितिमा पुगेका थिए। अन्ततः उनले आफूभन्दा दोब्बर कान्छी महिलासँग तेस्रो विवाह गरे। एक वर्षअघि ती महिलाबाट विजयको एक छोरा छ। तर, विवाह हुन नसकेकी महिलासँग उनको सम्बन्ध अहिले पनि उस्तै हार्दिक छ। उनी हप्तामा चार दिन लिभिङ टुगेदरवाला महिलासँग बस्छन् भने तीन दिन तेस्री श्रीमतीसँग।  

पात्र–२
प्रहरीले डान्सबार, मसाज सेन्टर र क्याबिन रेस्टुरेन्टमा कार्यरत युवतीहरूलाई पक्राउ गरेको खबर बेलाबखत आइरहन्छ। यसरी पक्राउ गरिएका युवतीहरूसँग लहसिएर कतिपय प्रहरीले आफ्नो घरबार भताभुंग पारेका छन्। काठमाडाैँ बलाजुको प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान दिनेश (नाम परिवर्तन) त्यसका एक ज्वलन्त उदाहरण हुन्। उनी ड्युटीका क्रममा डान्सबारबाट पटक-पटक नर्तकीहरू पक्राउ गर्थे।

यसै क्रममा एक जना नर्तकीसँग उनी नजिकिए। पक्राउ गरेर ल्याइएकी नर्तकीसँग उनको मोबाइल नम्बर साटासाट भयो। युवती थुनामुक्त भइसकेपछि भेटघाट र कुराकानी बाक्लिन थाल्यो। उनीहरू प्रेममा परे। ड्युटी छ भन्दै घर नै नगई दिनेश तिनै युवतीसँग बस्न थाले। एक दिन किनमेलका लागि प्रेमिकासँग बजार घुमिरहेका बेला श्रीमतीले भेटेपछि दिनेशको विवाहेतर सम्बन्धको पोल खुल्यो। पक्राउ गरेर ल्याएको डान्सबारकी युवतीसँगै श्रीमान् सल्केको थाहा पाएपछि उनकी श्रीमतीले उनलाई घरमा प्रवेश गर्नै दिएकी छैनन्। महिला आयोगमा गएर आफूमाथि भएको अन्यायविरुद्ध उजुरी हाल्ने चेतावनी उनले दिएकी छिन्।  

पात्र–३
पोखरामा कार्यरत डीएसपी बलराम (नाम परिवर्तन) आफ्नै अफिसमा कार्यरत महिला प्रहरी हवलदारसँग सम्बन्धमा थिए। उच्च तहका हाकिमसँग उठबस गर्न पाएर ती हवलदार सुरुमा दंग थिइन्। डीएसपीसँग सम्बन्ध झाँगिदा उनलाई निकै सजिलो भएको थियो। ती हवलदार युवतीलाई हरेक दिन ड्युटीमा खटिनुपर्दैनथ्यो। अप्ठेरो खालका ड्युटीमा पनि डीएसपी बलरामले उनलाई छुट दिन्थे।

उनीहरू दुवै जना विवाहित थिए। हवलदार महिलाको श्रीमान्ले आफ्नी श्रीमती डीएसपीसँग ‘सल्केको’ थाहा पाएपछि उनको घरबार टुट्ने अवस्था आयो। अफिसमा कार्यरत महिला हवलदारसँग सम्बन्ध राखेकै कारण डीएसपी बलराम पनि फन्दामा परे। अहिले उनीहरू दुवैको घर र जागिर एकसाथ धरापमा छ। 

पात्र–४
पर्वत स्थायी घर भएका सैनिक जवान रामहरि (नाम परिवर्तन) जागिरको सिलसिलामा रामेछापमा खटिएका थिए। ब्यारेकनजिकै होटलमा चिया–खाजा खान जाने क्रममा विवाहित रामहरि होटल सञ्चालिकासँग नजिकिए। होटल सञ्चालिकाको श्रीमान् वैदेशिक रोजगारीमा गएका थिए। दुई सन्तानकी आमा ती महिला रामहरिको प्रेममा डुब्दै गएकी थिइन्। ती महिलाकी छोरीले उनीहरूको हिमचिम र उठबस नियालिरहेकी थिइन्।

एक दिन आमालाई प्रेमीसँग आपत्तिजनक अवस्थामा भेटिन्। विदेशमा रहेका बाबुसँग नियमित फोन सम्पर्कमा रहेकी उनले आमाको सबै गतिविधि बुबालाई बताइन्। यता महिलाको घर बिग्रियो। उता सैनिक रामहरि रामेछापबाट सरुवा भएर अन्यत्र गए। 

गुपचुप मिलाइन्छ कुरा
राष्ट्रिय महिला आयोगमा बहुविवाह र विवाहेतर सम्बन्धका यस्ता ‘केस’ बारम्बार आइरहन्छन्। यस्ता मामिलामा आयोगले प्रहरी कार्यालय वा सम्बन्धित निकायमा लगेर टुंगो लगाउने गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाभित्र बहुविवाहका धेरै उजुरी पर्ने गरेका छन्। ‘आयोगमा नेपाली सेनाका कर्मचारीका बुहविवाहका केसहरू धेरै आउने गरेका छन्,’ राष्ट्रिय महिला आयोगकी मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी भन्छिन्, ‘हाम्रो तथ्यांकले यही देखाउँछ।’ 

आयोगकी अधिवक्ता तथा मुद्दा व्यवस्थापक विमला खड्का ‘श्रीमान्ले अत्याचार गरे’ भन्दै प्रहरी तथा सेनाका श्रीमतीहरू रुँदै–कराउँदै आयोग धाउने गरेको बताउँछिन्। ‘कतिपय त समस्या सुनाउँदासुनाउँदै बेहोसै हुन्छन्,’ उनी भन्छिन्, ‘भर्खरै मात्र त्यस्तै एउटा केस हामीले ह्यान्डल गरेर पठायौँ।’
डीआइजी, एसएसपी, एसपी, डीएसपीजस्ता उच्च तहका अफिसरका विवाहेतर सम्बन्धका विषय हत्तपत्त बाहिर नआउने उनी बताउँछिन्। ‘उनीहरूको दाम्पत्य जीवनमा यो समस्या नहुने होइन,’ अधिवक्ता विमलाले भनिन्, ‘जागिर जाने डरले यस्ता कुरा भित्रभित्रै लुकाएर मिलाउँछन्।’ इन्स्पेक्टरभन्दा जुनियर लेभलका कर्मचारीमा अत्यधिक रूपमा यस्तो समस्या रहेको उनको अनुभव छ।

‘जुनियर अफिसरहरूमा जागिर जाला भन्ने डर बिलकुलै छैन,’ उनी भन्छिन्, ‘एक पटक सुरक्षा सेवामा छिरेपछि जागिर गए पनि उनीहरूलाई वैदेशिक रोजगारी र सेक्युरेटी गार्डमा आकर्षक तलब हुन्छ।’ 

लामो समयसम्म परिवारबाट टाढा बसेर जागिर खानुपर्ने भएकाले यस्तो समस्या आएको अधिवक्ता खड्का बताउँछिन्। ‘सुरक्षा सेवामा चौबीसै घण्टा खटिनुपर्ने भएकाले यस्तो हुन सक्छ,’ उनी भन्छिन्, ‘कहिले वर्षौंसम्म मिसन जानुपर्छ त कहिले नेपालभित्रै हुँदा पनि कमै मात्र बिदा पाउने अवस्था छ।’ सबैको केसमा यो कुरा भने लागू नभएको उनी बताउँछिन्। ‘कतिपयले भने ब्यारेकमा छु भन्दै सजिलैसँग ढाँटेर अर्कोतिर सम्बन्ध बनाएर श्रीमतीको आँखामा छारो हालिरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘डुलिहिँड्ने पेशा भएका कारण परिवारले पनि सुरक्षाकर्मीलाई आँखा चिम्लेर विश्वास गर्नुपर्ने अवस्था छ।’ 

ग्रामीण भेगमा सुरक्षाकर्मीप्रति निकै आकर्षण रहेकोे अधिवक्ता खड्का बताउँछिन्। ‘सरकारी जागिरे भनेर बुझ्दै नबुझी छोरी दिने चलन छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा कतिपयको पहिला नै विवाह भइसकेका केसहरू पनि छन्। बिहे भएको छैन भनेर जुुन ठाँउमा गयो, त्यही ठाँउमा सम्बन्ध बनाएर हिँड्ने सुरक्षाकर्मीहरू पनि छन्। जसले केही समय महिलाहरूको शोषण गर्छन्। अनि, केही समय सम्बन्ध राखेर बेपत्ता हुन्छन्।’

आर्थिक रूपमा श्रीमान्मा आश्रित महिलाहरूले यस्ता समस्या लुकाउने वा गुपचुप राख्ने गरेको अधिवक्ता खड्का बताउँछिन्। ‘श्रीमान्सँग आश्रित महिलाहरू उजुरी गर्नै डराउँछन्,’ उनी भन्छिन्, ‘उजुरी हाल्नेबित्तिकै श्रीमान्को जागिरमा असर पर्ने डर उनीहरूलाई हुन्छ। ‘बुढाको जागिर गयो भने बालबच्चा र आफ्नो मुखमा माड कसरा लगाउनु’ भन्दै गुनासो गर्नेहरू पनि छन्।’ धेरै महिलाले श्रीमान्ले बहुविवाह गरेको थाहा पाउँदापाउँदै पनि चुप लागेर मुद्दा नहाली बस्ने गरेको उनी बताउँछिन्। ‘मेलमिलाप गरेर तलब बाँडफाँड गरेर कुरो टुंग्याउँछन्,’ उनी भन्छिन्।  

महिला आयोगमा सोमबार ललितपुर, गोदावरी बस्ने रुकु (नाम परिवर्तन) एउटा समस्या लिएर आइन्। उनका श्रीमान् नेपाली सेनाका जवान हुन्। केही समयअघि मात्रै रुकुलाई किड्नीमा पत्थरी भएको थाहा भयो। उपचार गर्न उनको आर्थिक अवस्था कमजोर छ। श्रीमान्ले अर्की श्रीमती राखेर बसेको हुँदा रुकु सेनाले दिने निःशुल्क उपचारबाट वञ्चित भएकी छिन्।

‘श्रीमान्ले कान्छीको नाममा उपचार–कार्ड बनाइदिएको छ, मेरो नाममा छैन,’ रुकु भन्छिन्, ‘आर्मीको अफिसमा जाँदा अदालत जानू भनेर पठाउँछ।’ अहिले रुकुसँग उनका श्रीमान्सँग सम्बन्ध राम्रो पनि छैन र विच्छेद पनि भएको छैन। ‘बहुविवाहको मुद्दा हालौँ भने गाँसबास नै टुट्छ,’ उनी भन्छिन्, ‘श्रीमान्को तलब तीन भागमा बाँडेर गुजारा चलाइरहेका छौँ।’

प्रहरी, सेना र सशस्त्रमा समस्या 
नेपाली सेना प्रधान कार्यालय, भद्रकालीका जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी गोकुल भण्डारी आफ्नो संगठनभित्र यस्तो समस्या भएको स्विकार्छन्। ‘सेनाको कानुन विभाग (प्राड विभाग)ले यस्तो उजुरीमाथि छानबिन गर्छ,’ भण्डारी भन्छन्, ‘त्यहाँ धेरैजसो बहुविवाह र घरेलु हिंसासम्बन्धी मुद्दाहरू पर्छन्।’ सहायक रथी भण्डारीको तर्क पनि उस्तै छ।

‘सेनाहरू परिवारबाट टाढा भएको कारण यस्तो समस्या आउँछ,’ उनी भन्छन्, ‘सेनामा पर्याप्त ‘फेमिली क्वार्टर’ नहुँदा पनि एक्स्ट्रा म्यारिटल रिलेसन बढेको हो। हामीले सेनालाई दुई–दुुई वर्ष पालैपालो गरेर क्वार्टरको व्यवस्था गरिदिने गरेका छौँ। यसबाहेक उनीहरूलाई दायाँबायाँ ध्यान नदिऊन् भन्नका लागि ‘मोटिभेसनल स्पिच’ पनि दिने गरेका छौँ।’

नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयकी एसपी किरण राणा छोटो बिदा वा लामो समयसम्म परिवारलाई भेट नहुँदा विवाहेतर सम्बन्ध बढ्छ भन्ने कुरामा सहमत छैनन्। ‘त्यो त एउटा बहाना मात्रै हो,’ एसपी राणा भन्छिन्, ‘मुख्य कुरा मानिसको मन हो। मनलाई जता डोहोर्यायो, उतै डोहोरिन्छ। कसैले एउटै श्रीमतीसँग जीवन काट्छन्। कसैका दुईतीनटी श्रीमती हुन्छन्।’ बिदा नमिल्नुका कारण परिवार टुक्रिएको कुरालाई उनी ठाडै अस्वीकार गर्छिन्। ‘हामीले रेकर्डमा हेरीहेरी आलोपालो गर्दै बिदा दिइरहेका हुन्छौँ,’ राणा भन्छिन्, ‘बिदाको बेलामा घरै नगई बाहिर सम्बन्ध राख्दै हिँड्नेलाई हामी के नै गर्न सक्छौँ र ?’ 

प्रहरी कार्यालयले यस्ता उजुरी आएमा विभागीय कारबाही गर्ने एसपी राणा बताउँछिन्। ‘यस्ता कुराको सुइँको पाउनेबित्तिकै हामी सेवा–सुविधा, बढुवा, मिसन र पुरस्कारबाट उनीहरूलाई वञ्चित गर्छौं,’ उनी भन्छिन्, ‘बहुविवाहको केस प्रमाणित भएर आयो भने त झन् दायाँबायाँ नसोची दोषीलाई खोरमा जाकिहाल्छौँ। बहुविवाहलाई नेपाल प्रहरीले कहिल्यै प्रश्रय दिँदैन।’ यस्तो समस्या जुनियर अफिसरहरूमा बढी भएको उनले पाएकी छिन्। 

श्रीमान्–श्रीमतीलाई सकभर एउटै जिल्लामा राख्नुपर्छ भन्ने नीति नेपाल प्रहरीभित्र रहेको उनी बताउँछिन्। ‘सबै अवस्थामा त्यो सम्भव नहुन सक्छ,’ उनी भन्छिन्, ‘श्रीमती पब्लिक र श्रीमान् पुलिस भएमा यो समस्या बढी हुन्छ। श्रीमान्–श्रीमती नै प्रहरी भएको खण्डमा यो समस्या अलि कम हुन्छ।’

यता हाल नक्साल प्रहरी प्रधान कार्यालय सुरक्षा निर्देशनालयमा कार्यरत असई कविता (नाम परिवर्तन) विवाहेतर सम्बन्धकै कारण आफ्नो श्रीमान्सँग छुट्टिएर बसेकी छिन्। केही वर्षअघि नेपाल प्रहरीको कालिमाटी महिला सेलमा उनी हवलदार थिइन्। आफ्नै संगठनमा काम गर्ने एक जना सईसँग प्रेमविवाह गरिन्।  कविताकी एक छोरी भइन्। बच्चा पेटमा आएदेखि उनको श्रीमान्को व्यवहार परिवर्तन हुन थाल्यो। उनी डेरामै आउन छाडे। बाहिर अर्की राखेको भन्ने गाइँगुइँ कविताले सुनिन्।

यही क्रममा कविता तीन वर्ष मिसनमा गइन्। उताबाट फर्किएपछि पनि उनका श्रीमान्ले रातदिन यातना दिन थाले। ‘न्यायको खोजी गर्दै म धेरै ठाँउमा भौँतारिएँ,’ कविताले ‘सम्पूर्ण’सँग भनिन्, ‘न्याय पाउनुको सट्टा माथिल्लो दर्जाका अफिसरबाट ‘अर्कीसँग बसे के भो त ? बस्नदेऊ न’ भनेर मेरो खिल्ली उडाउने काम भयो।’ अहिले उनीहरूको सम्बन्ध विच्छेद भइसकेको छ। 

नेपाल प्रहरी र नेपाली सेनाजस्तै सशस्त्र प्रहरी पनि बहुविवाह र विवाहेतर सम्बन्धको संक्रमणबाट मुक्त छैन। काठमाडौँ, दक्षिणकालीकी सविता (नाम परिवर्तन)ले केही समयअगाडि मात्रै अदालतमा सशस्त्र प्रहरी जवान श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी छिन्। उनले आफ्नो श्रीमान्को अरूसँग सम्बन्ध रहेको चाल पाएपछि यो कदम चालेकी हुन्। उनका दुई छोरी छन्।

‘इज्जत जाने डरले धेरै सहेँ,’ उनी भन्छिन्, ‘अत्याचारै भएपछि यो निर्णय लिएकी हुँ।’ केही वर्षअघि उनका श्रीमान् मिसनका लागि सुडान गएका थिए। फर्केर आउँदा कवितालाई एयरपोर्टमा बेलुकाको आठ बजे लिन बोलाए। जबकि उनी राती ११ बजे आउने रहेछन्। उनले सही समयमा आफ्नी कान्छी श्रीमतीलाई बोलाएका रहेछन्। ‘उनीहरू काठमाडौँको एउटा होटलमा तीन दिन सँगै बसे,’ कविता भन्छिन्, ‘विदेशबाट आएको चौथो दिन मात्रै ऊ घर आयो।’ यस विषयमा कविताले श्रीमान्सँग सोधेपछि श्रीमान्ले कुटपिट गरेको उनको आरोप छ। 

काठमाडौँ, स्वयम्भूस्थित सशस्त्र प्रहरी बल, प्रधान कार्यालयको कानुन शाखामा कार्यरत डीएसपी युवराज अर्याल भने पहिलाको तुलनामा अहिले यस्ता समस्या घटेको बताउँछन्। ‘पहिलाभन्दा अहिले यो समस्या घट्दै गएको छ,’ उनी भन्छन्, ‘आएका समस्या पनि प्रायः मेलमिलाप गरेर टुंगो लाग्छन्।’ 

समाजशास्त्री मीना उप्रेती कसैलाई उनीहरूको आवश्यकता र मनोविज्ञानले त्यो बाटोमा डोर्याउने भए पनि कतिपयले भने यस्ता सम्बन्धलाई रमाइलोको रूपमा लिने बताउँछिन्। ‘केही दिन रमाइलो गरौँ न भन्ने खालको रोमान्टिसिजमको धारणाले यो समस्या आउँछ,’ उनी भन्छिन्, ‘विभिन्न ठाँउमा घुमफिर गर्दे काम गर्नेहरूमा ‘भोलि केही समस्या आइहाल्यो भने अर्को ठाँउमा सरुवा भएर गइहाल्छु’ भन्ने सोच हुन्छ।’ 

यसलाई समाजशास्त्री उप्रेती पुरुषप्रधान समाजको उपज मान्छिन्। एकातिर श्रीमती हुँदाहुँदै अर्कोतिर ‘छाया सम्बन्ध’ राख्ने अर्को प्रमुख कारण उनी शारीरिक सुन्दरतालाई पनि मान्छिन्। ‘शारीरिक रूपले नराम्री भनिइने श्रीमती भएका पुरुषहरूले धेरै मात्रामा एक्स्ट्रा अफेयर चलाएको देखिन्छ,’ उनी भन्छिन्, ‘‘मेरो लागि ठीक छैन, परिवार चलाउन मात्रै ठीक छ’ भन्दै हिँड्नेहरू पनि छन्। यस्तो अवस्थामा अलिकति राम्री महिला देख्नेबित्तिकै उनीहरू आँखा चिम्लेर हाम्फालिहाल्छन्।’ 

यस्तो सम्बन्ध कम गर्नका लागि समस्या के हो ? त्यो पहिला छुट्याउनुपर्ने उनी बताउँछिन्। ‘यो व्यक्तिको आवश्यकता, रोग, विचार, हेपाहा प्रवृत्ति, खराब मनस्थिति, के हो, सबैभन्दा पहिले बुझ्नुपर्छ,’ उनी भन्छिन्, ‘यो नितान्त व्यक्तिगत मामला हो। त्यसैले आर्मी, पुलिसलाई मात्र एउटै बास्केटमा हाल्न मिल्दैन।’ यस्तो समस्या कम गर्न परिवारबाट टाढा बसेर कुनै पनि पेशामा आबद्ध भएका व्यक्तिलाई नजिक बनाउने वातावरण सिर्जना गर्नुपर्ने उनी बताउँछिन्। ‘संस्थागत हिसाबमा यो उपाय काम लाग्छ,’ उनी भन्छिन्, ‘तर, व्यक्तिगत सम्बन्ध जोगाइराख्न श्रीमान्–श्रीमतीबीच निरन्तर अन्तरक्रिया एकदमै जरुरी हुन्छ। धेरै घटना ‘कम्युनिकेसन ग्याप’का कारणले पनि हुने गरेका छन्।’ 

‘पुरुषवादी सोच र शक्तिको दुरुपयोग’ : मीना उप्रेती, समाजशास्त्री
घुमफिर गर्नुपर्ने पेशामा आबद्ध महिला तथा पुरुषमा विवाहेतर सम्बन्ध बढी भएको देखिन्छ। यसमा पुरुषभन्दा कैयौँ गुना बढी महिला पीडित छन्। कामका कारण छुट्टिएर बस्नुपर्ने श्रीमान्–श्रीमतीमा यो समस्या धेरै हुन्छ। यसलाई ‘एब्सेन्स अफ पार्टनर’ भनिन्छ। आफ्नो पार्टनर सँगै नहुँदा यस्तो घटना हुनु स्वाभाविक हो। कुनै किसानको जस्तो बिहान सँगै बारीमा जाने र बेलुका सँगै घर फर्किने अवस्थामा यस्तोे स्थिति कमै मात्र आउँछ। तर, महिनौँ वा वर्षौंसम्म परिवारसँग भेट्न नपाएको अवस्थामा तन–मन अर्कोतिर मोडिन्छ।

प्रहरी र सेनाका साथै परिवारबाट छुटेर बस्ने शिक्षक, ड्राइभर वा अन्य पेशाका मानिसहरूमा बहुविवाह र विवाहेतर सम्बन्ध देखिन्छ। उनीहरू आफू जहाँ गयो, त्यहीँ पार्टनर बनाउँछन्। यो मानिसको व्यवहार र स्वभावमा भर पर्ने कुरा हो। सबै आर्मी र सबै पुलिस त्यस्ता छैनन्। त्यसैले यसलाई संस्थागतभन्दा पनि व्यक्तिगत पाटोबाट केलाउनुपर्छ। 
विवाहेतर सम्बन्धमा रहेका पुरुषले श्रीमतीसँग दुई किसिमका व्यवहार देखाउँछन्। एक प्रकारका पुरुषले घरकी श्रीमतीलाई यातना दिने गर्छन्। अर्का प्रकारका पुरुषले भने श्रीमतीले आफ्नो सम्बन्धबारे थाहा नपाओस् भनेर नाटकीय रूपमा झन् माया गरेकोजस्तो गर्छन्। त्यसैले यसलाई व्यक्तिको ‘इन्डिभिजुअल इन्टेन्सन’का आधारमा व्याख्या गर्नुपर्छ। 

बिहे गरको वर्षौंवर्षसम्म घर गएको छैन भने उसले अर्को पार्टनर खोज्नुलाई शारीरिक, मानसिक र सामाजिक आवश्यकताका रूपमा लिन सकिन्छ। यस्तो अवस्थामा पार्टनरहरूलाई सँगै बस्ने वातावरण सिर्जना गरिदिनु समाधानको उपाय हो। किनभने, श्रीमान्–श्रीमती भनेको सँगै बस्नुपर्ने खालको सम्बन्ध हो। उनीहरूलाई सँगै बस्ने वातावरण बनाउन सकियो भने यी घटना कम हुन्छन्। तर, कतिपय भने स्वभावैले नकारात्मक धारका हुन्छन्। यस्तो केसमा धेरैजसोमा हेपाहा प्रवृत्ति देखिन्छ। महिलाप्रति ‘मास्कुलिन फिलिङ’ सबैभन्दा बढी आर्मी पुलिस तथा सुरक्षा सेवामा लागेकाहरूले देखाउने गरेको पाइन्छ। यो अध्ययनले नै पुष्टि गरेको कुरा हो। उनीहरूसँग बन्दुक, पावर र जागिर हुन्छ। उनीहरूसँग संगठन हुन्छ।

एउटा प्रहरीलाई केही पर्नेबित्तिकै सारा प्रहरी उसको साथमा उभिन्छ। यसले उनीहरूको आँट र आत्मविश्वासलाई थप बलियो बनाउँछ। सुरक्षा सेवाको पुरुषलाई यसै पनि समाजले शक्तिशाली मान्छ। उनीहरू स्वयं आफूलाई शक्तिशाली ठान्छन्। र, त्यही शक्तिको दुरुपयोग गर्छन्। समस्या पर्दा कसरी उम्किने भन्ने कुरामा उनीहरू चनाखो हुन्छन्। कानुनी तवरका कुरामा पनि उनीहरूले सचेतना अपनाइरहेका हुन्छन्। जसले उनीहरूमा ‘फल्स एजम्प्सन्स’ सिर्जना गर्छ। यस्तो खालको पुरुषबादी सोचले उनीहरू आफूले खनेको खाल्डोमा आफैँ पर्छन्। भोलिका दिनमा बढी समस्या र संकट उनीहरूलाई नै पर्छ। 

आफूप्रति श्रीमान्को व्यवहार नराम्रो भएपछि महिलाहरू पनि अर्को पार्टनर खोज्न थाल्छन्। उनीहरूले खोजेको पार्टनर अन्ततः फेरि कसैको श्रीमान् नै हुन्छ। यसरी यो क्रम घुमिरहन्छ। यसले सम्बन्ध, विवाह, प्रेम भन्ने कुरालाई नै संकटमा ल्याउँछ। यसलाई हामी ‘फेमिली क्राइसिस’ भन्छौँ। सुरुमा इन्डिभिजुअल क्राइसिस आउँछ, त्यसपछि परिवारमा संकट देखिन्छ। र, त्यो संकट समाजसँग जोडिन्छ। 

यो व्यक्ति, परिवार, जागिर र कुनै पेशाको मात्र समस्या होइन। पूर्णतया सामाजिक समस्या हो। यसको मुख्य दोषी पनि समाज नै हो। विवाहेतर सम्बन्ध राख्ने पुरुषलाई समाजले सामान्य रूपमा हेर्छ। उसलाई कुनै पनि खालको सामाजिक कारबाही हुँदैन। तर, महिलाको हकमा यस्तो हुँदैन। उसको बारेमा केही थाहा पाउनेबित्तिकै भोलि त्यही समाजले उसलाई थुक्न थाल्छ। घर–परिवारले बेवास्ता गर्न थाल्छ। समाजले लखेट्न थाल्छ। त्यसैले महिलाहरू डराउँछन्। तर, पुरुषहरूलाई यो कुरामा उन्मुक्ति छ। त्यसैले उनीहरू डराउँदैनन्। जुनसुकै समाजमा यस्ता घटना, व्यक्ति र सम्बन्ध हुन्छन्। तर, समाजले यसलाई कसरी हेर्छ ? त्यो महत्वपूर्ण कुरा हो। 


‘बहुविवाह प्रमाणित भए जागिर जान्छ’ : डीआईजी हरिभक्त प्रजापति 
प्रमुख, नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालय 

पुलिस होस् वा पब्लिक, विवाहेतर सम्बन्ध मानिसको आचरणअनुसार भर पर्ने कुरा हो। यस्तो सम्बन्धले निम्त्याउने परिणामबारे सचेत नहुँदा यो समस्या आउँछ। वैवाहिक सम्बन्धलाई गम्भीरतापूर्वक नलिनु अर्को कारण हो। 
कहिलेकाहीँ हामीकहाँ समस्या लिएर उजुरी पर्छ। दुवै पक्ष आउँछन्। र, मिलेर जान्छन्। तर, सबैभन्दा ठूलो कुरा कानुन हो। हामी मेलमिलापभन्दा कारबाहीमा बढी जोड दिन्छौँ। कानुनी प्रक्रियामा जान्छाँै।

एक्स्ट्रा अफेयरको केसमा कारबाही प्रक्रियामा जान अलि गाह्रो छ। किनभने, त्यहाँ खासै प्रमाण भेटिँदैनन्। सम्बन्ध ‘लिभिङ टुगेदर’ जस्तो मात्र देखिन्छ। बिहे गरेको आधिकारिक प्रमाण नभई लिभिङ टुगेदर जस्तो सम्बन्धमा बसेकालाई केही गर्न सकिँदैन। यस्तो अवस्थामा अदालतमा माना चामलको केस लगाएर तलब बाँड्ने चलन छ। कानुनी रूपमा विवाह गरेको प्रमाण फेला पर्यो भने सीधै बहुविवाहको मुद्दा लाग्छ। हामी त्यस्तो केसलाई सम्बन्धित निकायमा पुर्याउने काम गर्छौं। बहुविवाहको केस प्रमाणित हुनेबित्तिकै प्रहरी कर्मचारीको जागिर नै जान्छ।  


 


 

तपाईको कमेन्ट