डिबाला क्लब छाड्ने तयारीमा

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


इटालियन  क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालाले क्लब छाड्ने तयारी गरेका छन्। अर्जेन्टिनी स्ट्राइकर डिबाला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड वा टोटेनहाममध्ये कुनै एक क्लबमा जाने योजनामा छन्। तर, २६ वर्षे डिबालाले क्लबले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन्। 

‘म केही समयमा नै युभेन्टस छाड्दै छु,’ उनले भने, ‘क्लबको निर्णय नै मेरा लागि मान्य हुनेछ।’ युभेन्टसले क्लबमै रहन आग्रह गरेमा त्यसबारे आफूले सोच्न सक्ने उनले बताए। ‘उनीहरूले जा भने जान्छु,’ डिबालाले भने, ‘तर, यहीँ बस भनियो भने त्यसबारे पनि सोच्न सक्छु।’ सन् २०१५ मा पलमेरोबाट युभेन्टस सरेका उनको सम्झौता सन् २०२२ मा सकिँदै छ। 

विश्वकै उत्कृष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको छायामा परे पनि डिबालाले यो सिजनमा युभेन्टसका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले यो सिजन युभेन्टसका लागि २६ खेलमा ११ गोल गरेका छन्। उनले क्लबका लागि  अहिलेसम्म १ सय ४७ खेल खेलेका छन् र ६३ गोल गरेका छन्। अर्जेन्टिनी जर्सीमा २८ खेल खेलेका उनले देशका लागि दुई गोल मात्र गरेका छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार