बास्केटबल हस्ती कोबेको निधन

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


विश्व बास्केटबलका हस्ती कोबे ब्रायन्ट ४१ वर्षको उमेरमा हेलिकप्टर दुर्घटनामा परेर सदाका लागि अस्ताए। कोबे र उनकी १३ वर्षे छोरी जियानासहित नौ जना चढेको हेलिकप्टर अमेरिकाको क्यालिफोर्नियाको लास भर्जेनेस क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भयो। 

आफ्नै नाममा दर्ता भएको हेलिकप्टरमा आफैँले स्थापना गरेको बास्केटबल एकेडेमीमा जाँदै गर्दा कोबे दुर्घटनामा परेका हुन्। उनी चढेको हेलिकप्टर बाक्लो कुहिरो लागेको बेला पहाडमा ठोक्किएको थियो।

सन् १९९६ मा व्यावसायिक बास्केटबल खेल्न थालेका कोबेले खेल जीवनको पूरै २० वर्ष लस एन्जल्स लेकर्सबाट मात्र खेले। लेकर्सका प्रमुख खेलाडी कोबेले आफ्नो टिमलाई पाँच पटक एनबीए च्याम्पियन बनाए। उनले अमेरिकाका लागि दुई पटक ओलिम्पिकको स्वर्ण पदक पनि दिलाए। 

सन् २०१६ मा खेल जीवनबाट सन्न्यास लिएका उनले १८ सिजनसम्म अल स्टार टोलीमा पर्ने दुर्लभ सफलता हात पारेका थिए। उनले सन् २००६ मा टोरन्टो र्‍याप्टरर्स विरुद्धको एउटै खेलमा ८१ स्कोर गरेका थिए। जुन बास्केटबलको विश्व इतिहासकै दोस्रो ठूलो एकल स्कोर हो। 

सन्न्यासपछि उनले बास्केटबलप्रतिको लगावलाई समेटेर बनाएको पाँच मिनेटको एनिमेटेड फिल्म ‘डियर बास्केटबल’ले सन् २०१८ मा ओस्कर अवार्डसमेत जितेको थियो।

सन् २००३ मा उनीमाथि यौन दुव्र्यवहारको आरोप लागेको थियो। एक होटलकी १९ वर्षे किशोरीले कोबेले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, पछि किशोरीले यो उजुरी फिर्ता लिइन्। कोबे र किशोरीले यो मुद्दालाई आपसी समझदारीमा टुंग्याए। तर, यो घटनाले ६ फिट ६ इन्च अग्ला कोबेको कद घटायो। जसका कारण सन् २००३ मा उनले म्याग्डोनल्ड, नुटेलालगायत कम्पनीसँगको प्रायोजनसम्बन्धी सम्झौता गुमाउनुपर्‍यो। 

तपाईको कमेन्ट

मुख्य समाचार