‘पर्यटनमा खानाको ठूलो महत्त्व हुन्छ’

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)’ का कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ।

रेस्टुरेन्ट व्यवसायीको छाता संगठन ‘रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)’ का कोषाध्यक्ष हुन्, नरेशध्वज श्रेष्ठ। उनी ललितपुर, झम्सीखेलस्थित ‘सेभेन सिजन्स लाउन्ज एन्ड बार’ का सञ्चालक पनि हुन्। रेबानले माघ १७–१८ मा ‘बन्दीपुर फुड फेस्टिभल’ आयोजना गर्दै छ। महोत्सव र नेपालको पर्यटन व्यवसायबारे उनीसँग ‘अन्नपूर्ण सम्पूर्ण’का लागि पवन तिमल्सिनाले कुराकानी गरेका छन्।


बन्दीपुरमा फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। यसबाट कत्तिको अपेक्षा गर्नुभएको छ ? 

‘भिजिट नेपाल–२०२०’ को प्रचारका लागि महोत्सव आयोजना गरिएको हो। पोखरा, सौराहा र काठमाडौँका रेस्टुरेन्ट व्यवसायी पनि फेस्टिभलमा आउनेछन्। त्यहाँ विभिन्न परिकार प्रस्तुत गर्ने उद्देश्य रहेको छ। बन्दीपुर कल्चरल हेरिटेज हो। जहाँबाट धवलागिरी, माछापुच्छे« प्रस्ट देखिन्छ। यो ठाउँ पर्यटकको आकर्षणको केन्द्र हो। फेस्टिभलपछि त्यहाँ आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा छ। विभिन्न होटल छन्। होम–स्टे छन्। तीमार्फत आर्थिक गतिविधि बढ्ने आशा गरेका छौँ। 

महोत्सवका लागि बन्दीपुर नै किन ?

बन्दीपुरको इतिहास २ सय ५० वर्ष पुरानो छ। त्यतिखेरै रातभर चल्ने शहर हो, यो। सडकको विकाससँगै यो ठाउँ ओझेलमा पर्न गयो। यूएन इको टुरिजमअन्तर्गत यसलाई पुनर्जीवित गर्ने रेबानको सोच छ। त्यहाँका पुरानो घरलाई बुटिक होटल जसरी सञ्चालन गर्न सकिँदो रहेछ। त्यतातिर ध्यान दिन खोजिरहेका छौँ। नेपालीले पनि बन्दीपुर घुम्नु जरुरी छ। अहिले त्यहाँ पुरानो घर भत्काएर नयाँ घर बनाउनका लागि निर्माण सामग्री आयात गर्ने परिपाटीको विकास भएको छ। हामी यसै पनि व्यापारमा घाटा बेहोरिरहेका छौँ। आयात बढाइरहेका छौँ। विदेशबाट श्रम गरेर कमाएको पैसा फेरि विदेशमै पठाइरहेका छौँ। त्यसैले नेपालको अर्थतन्त्र उठ्न सकिरहेको छैन। साथै, हामीकहाँ रेस्टुरेन्ट व्यवसायलाई उद्योगसरह व्यवहार गरिएको छैन। व्यवसायीलाई सरकारले उद्योगसरह सुविधा पनि दिन सकिरहेको छैन। 

२०७२ सालको भूकम्पमा बन्दीपुर ध्वस्त भएको समाचार आएका थिए नि ! 

भूकम्पपछि बन्दीपुर ध्वस्त भएका समाचार बाहिर आए तर अहिले पनि त्यहाँका घर बलिया छन्। पुराना घरलाई शृंगार मात्र गरिएको हो। मल्लकालीन संरचनाको सौन्दर्यलाई नबिग्रने गरी सजाइएको छ। महोत्सवले भूकम्पले पनि नढलेका संरचना हेर्ने महत्त्वपूर्ण अवसर जुटाइदिएको छ। यो ठाउँबाट हिमाल हेर्नुको पनि छुट्टै आनन्द छ। काठमाडौँ, चितवन र पोखराबाट नजिकै पर्ने भएकाले आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्ने गरेको छ। त्यसैले पनि बन्दीपुर रोजाइमा परेको हो।

नेपालको पर्यटन व्यवसायलाई कसरी हेर्नुभएको छ ?

नेपाल पर्यटनको सम्भावना भएको देश हो। यहाँको प्रकृति, संस्कृति, सर्वोच्च शिखर सगरमाथाको विकल्प संसारमा कतै छैन। अहिलेकै काम गराइले यहाँको पर्यटन उद्योग धेरै माथि जान्छजस्तो लाग्दैन। तर, दुई ठूला छिमेकी देश चीन र भारतका पर्यटक ल्याउन सके मात्र पनि हामीले धेरै लाभ लिन सक्छौँ। ट्रेकिङका लागि नेपाल संसारमा प्रख्यात छ। हिमाली क्षेत्रको ट्रेकिङबाट पर्यटकलाई लोभ्याउन सक्छौँ। हाम्रो यहाँ पर्यटन क्षेत्रमा पर्याप्त अनुसन्धान भएको छैन। पर्यटकले यहाँको के कुरा मन पराए, के मन पराएनन् ? भन्ने जानकारी नीति निर्मातालाई हुनुपर्छ। 

पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ ?

नेपालले तत्काल गर्नुपर्ने काम पूर्वाधार विकास हो। सडक राम्रो हुनुपर्‍यो, भौतिक सेवासुविधा सबै ठाउँमा उपलब्ध हुनुपर्‍यो। फोन, इन्टरनेट, एटीएमलगायत सुविधा सबैतिर हुनुपर्‍यो। 

भ्रमण वर्षलाई रेबानले कसरी सघाउनेछ ?

बन्दीपुरपछि रारामा महोत्सव गर्ने योजना छ। सफल भए सात वटै प्रदेशमा महोत्वस गर्ने तयारी छ। सबै ठाउँ विशेषका मौलिकता झल्किने परिकार प्रस्तुत गर्ने मुख्य योजना छ। 

सन् २०२० मा पर्यटकले नेपाल भ्रमण किन गर्ने ? यसको स्पष्ट जवाफ सरकारले दिन सक्नुपर्छ। धेरै कोठामा भन्दा पनि महँगो कोठामा बस्ने पर्यटक ल्याउन जोड दिनुपर्छ। त्यस्तै, स्तरीय सुविधा दिने क्षमता विकास नगरी पर्यटक ल्याउन मात्र जोड दिँदा नकारात्मक सन्देश जान सक्छ। यसमा नीति निर्माता सचेत हुनुपर्छ।

पर्यटनमा सबैभन्दा महत्त्व राख्ने विषय के हो ?

पर्यटनमा सबैभन्दा ठूलो भूमिका खानाको हुन्छजस्तो लाग्छ। भारतीय पर्यटक नेपाल आउँदा किचेनसमेत बोकेर आउँछन्। किनभने, उनीहरूलाई आफ्नै खाना चाहिन्छ। त्यस्तै, चिनियाँ पर्यटकलाई चाइनिज फुड नै चाहिन्छ। एकदुई दिन चाहिँ खाना खान्छन्। तर, घरको स्वाद पाइएन भने होम सिकजस्तो हुन्छ। विदेश जाँदा एकदुई दिन नेपाली खाना खान पाइएन भने हामीलाई पनि नरमाइलो लाग्छ नि ! त्यस्तै विदेशी पर्यटकले आफ्नो देशको खाना मिस गर्छन्। हामीले उनीहरूको स्वाद पस्कन सक्नुपर्छ। त्यसैले मलाई लाग्छ, पर्यटनमा खानाको महत्त्वपूर्ण भूमिका हुन्छ।

संसारभर दिगो पर्यटनको अवधारणा विकास भइरहेको छ। नेपालका पर्यटकीय गन्तव्यको अवस्था कस्तो पाउनुभएको छ ?

कुनै पनि क्षेत्रमा पर्यटन विकास गर्दा आर्थिक लाभसँगै वातावरण र स्थानीय संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्छ भन्ने अवधारणा दिगो पर्यटनले बोकेको छ, जुन निकै जायज हो। सीमित व्यक्तिलाई मात्र केही समय लाभ हुने गरी पर्यटन विकास गरिनु हुँदैन। पर्यटनले स्थानीय बासिन्दालाई लाभ दिन सक्यो भने दिगो पर्यटन विकासमा उनीहरू नै लाग्छन्। स्थानीय संस्कृति संरक्षण गर्ने भनेर मात्र हुँदैन, त्यसलाई आर्थिक उपार्जनसँग जोड्न सक्नुपर्छ। सगरमाथालगायत पर्यटकीय गन्तव्य फोहोर भएको समाचार आउँछन्। त्यहाँ पनि स्थानीयवासीलाई पर्यटकीय ठाउँ फोहोर हुँदै जाँदा पर्ने असरबारे बुझाउन सक्नुपर्छ। यसमा सरकार र अन्य सम्बद्ध पक्ष गम्भीर हुनुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार