नेपाल आइडल–३ : उत्कृष्ट बाह्रका बयान

writer

सम्पूर्ण

बुधबार, १५ माघ २०७६


एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो संस्करण अहिले क्याम्प फोरमा पुगेको छ। प्रदेशस्तरीय अडिसनबाट छानिएर जज अडिसन र विभिन्न क्याम्प पार गरेका १२ जना प्रतिस्पर्धी छनोट भएका छन्। उनीहरूले आफ्ना गीत–संगीतका अनुभव ‘अन्नपूर्ण सम्पूर्ण’ सँग साझा गरेका छन्। 


‘पहिलो प्रयासमै यहाँसम्म आइपुगेँ’

कमल सोव (२०), कैलाली

गीत–संगीतमा सानैदेखि रुचि थियो। स्कुल पढ्दाताका अरूले गाएको सुन्दा म पनि त्यस्तै गाउने प्रयास गर्थें। दिदी, फुपूहरूले गीत गाउँदा उहाँहरूको नक्कल गर्थें। साथीभाइले ‘तेरो स्वर मीठो छ, गाउन नछोड्नू’ भन्थे। बिस्तारै संगीतबारे बुझ्दै गएँ। संगीत सिक्न भनेजस्तो ठाउँ थिएन। गाउँतिरकै एक जना सरसँग गिटार बजाउन सिकेँ। भोकल क्लास लिने ठाउँ नभएकाले औपचारिक संगीत भने सिक्न पाएको छैन। बरु, युट्युबमार्फत केही कुरा सिकेको छु। पछि साथीभाइ मिलेर जिल्ला वरिपरिका गाउँमा समूहमा प्रस्तुति दिन जान थाल्यौँ। आइडलमा आउनुअगाडि अरू प्रतियोगितामा भाग लिएको थिइनँ। पहिलो पटकको प्रयासमै यहाँसम्म आइपुगेको हुँ। महोत्सव, होटलमा सीमित भएको मेरो गायकीलाई आइडलले भने देश–विदेशसम्म पुर्‍याएको छ। ठूलो मञ्च दिएको छ। अब यही कुरालाई मनन गरेर आफ्नो सांगीतिक यात्रा अगाडि बढाउने सोच बनाएको छु। अहिलेसम्म आफ्नो गीत निकालेको छैन। आइडलमा आएपछि धेरैले गायकी मन पराएका छन्। त्यसैले अब चाहिँ केही गर्नुपर्छ भन्ने लागेको छ। 


‘आइडलले धेरैमाझ चिनायो’
किरणकुमार भुजेल (२६), महोत्तरी

कक्षा छमा पढ्दाताका मैले पहिलो पटक गीत गाएको थिएँ। दाइले गाएको देखेपछि मलाई पनि गाउन मन लागेको थियो। उहाँकै नक्कल गर्दै गीत गाउन सुरु गरेको थिएँ। एसएलसीसम्म गाउँमै पढेँ। काठमाडौँ २०६५ सालमा छिरेँ। यहाँ आएर संगीत नै पढ्न थालेँ। ललितकला क्याम्पसबाट संगीतको औपचारिक शिक्षा हासिल गरेँ। संगीतमै स्नातक गरेको छु। संगीत सिक्न थालेको केही वर्षपछि पहिलो गीत निकालेको थिएँ। २०६७ सालतिर होला, मैले आफ्नो पहिलो गीत निकालेको। गीतको बोल थिए, ‘नरनारीबाट प्रेमको’। बिस्तारै ब्यान्डहरूसँग सहकार्य गरेर गिग गर्न थालेको थिएँ। अहिलेसम्म आफ्नै गीत ५० भन्दा बढी भइसके। अहिले पनि ‘जे ब्यान्ड’मा आबद्ध छु। संगीत क्षेत्रमा लागेको धेरै समय बितिसक्दा पनि धेरैले मलाई चिनेका थिएनन्। तर, आइडलमा आएपछि धेरैले चिनेका छन्। यही कुराबाट प्रेरित भएर अझै राम्रा सिर्जना दर्शकसामु प्रस्तुत गर्ने सोच बनाएको छु।


‘हजुरआमाको हौसला पाएँ’ 
प्रवीण बेडवाल (२३), बर्दिया

मेरो पारिवारिक पृष्ठभूमि सांगीतिक होइन। तर, मलाई गीत–संगीतमा औधी रुचि थियो। मैले गीत गाएको परिवारलाई मन परेको थिएन। कक्षा १० सम्म घरतिरै पढेँ। त्यसपछि काठमाडौँ आएँ। अरूको साथ नभए पनि हजुरआमाले साथ दिनुभयो। हजुरआमाले ‘तैँले गाउनुपर्छ’ भन्नुहुन्थ्यो। यहाँ आएपछि त्रिचन्द्र कलेजमा भर्ना भएँ। संगीत नै पढ्न भनेर भारतको तमिलनाडु गएँ। त्यहाँबाट संगीतमा स्नातक गरेँ। त्यसपछि, ‘जात्रा ब्यान्ड’सँग आबद्ध भएर काम गरेँ। आइडलमा आएपछि परिवारको सोच बदलिएको छ। यति धेरैले चिन्दा बुबा खुशी हुनभएको छ। बुबा आर्मीमा हुनुहुन्थ्यो। ‘छोरा पनि आर्मीमै जाओस्’ भन्ने उहाँको चाहना थियो। तर, उहाँले भनेको मानिनँ। संगीतमा लागिरहेँ। अहिले यहाँसम्म आइपुगेको छु। ‘कि संगीत, कि घर’ भन्दा मैले संगीतलाई छानेँ। आइडलको मेरो यात्रा सकिएपछि पनि संगीतमै लागिरहनेछु। 


‘गाउन धक मान्थेँ’
कभिन ग्लान तामाङ (२१), पर्सा

बाल्यकालमा दाइहरूले गिटार बजाएको देख्दा मलाई पनि बजाउने मन हुन्थ्यो। पछि बुबाले एउटा गिटार किनिदिनुभयो। १४ वर्षको हुँदा गिटार हात परेको थियो। त्यसपछि, त्यसमा गीत बजाउँदै सिक्दै गएँ। बाल्यकालबाटै ‘स्याडोज ब्यान्ड’को ठूलो फ्यान थिएँ। उनीहरूको गीत सुन्दै गुनगुनाउने गर्थें। पढाइ र संगीतलाई सँगै अगाडि बढाएँ। तर, गाउन भने लाज लाग्थ्यो। बरु, मज्जाले बजाइदिन्थेँ। पछि ब्यान्डमा आबद्ध भएपछि गाउन थालेँ। बिस्तारैँ लाज हट्दै गयो। स्वरमा पनि निखार आउँदै गयो। त्यसबाहेक अरू ब्यान्डसँग पनि आबद्ध भएको थिएँ। औपचारिक संगीत एक महिना मात्रै सिक्न पाएँ। त्योभन्दा बढी सिकिनँ।

मेरा लागि संगीत भावना प्रस्तुत गर्ने एउटा माध्यम हो। मान्छेको मनसँग जोडिने कुरा हो। आइडलमा आएपछि आफूले सफलता हासिल गरेको महसुस भएको छ। तीन वर्षअगाडि एउटा गीत निकालेको थिएँ। आइडलबाट धेरै चर्चा र दर्शकको माया पाएको छु। अझै राम्रा सिर्जना प्रस्तुत गर्ने चाहना छ।


‘संगीत ध्यानजस्तै हो’
नेसन पुनमगर (२०), पोखरा

बाल्यकालमा खेलकुदमा निकै रुचि थियो। कक्षा छमा पढ्दा बुबालाई मैले फुटबल किन्दिनुस् भनेको थिएँ। तर, उहाँले गिटार किनिदिनुभयो। त्यसपछि नै हो, मेरो सांगीतिक यात्रा सुरु भएको। दाइले गिटार बजाउन सिकाइदिनुभयो। त्यसपछि झन्झन् गीत–संगीततिर रुचि बढ्दै गयो। मैले गीत गाउँदा, गिटार बजाउँदा अरूले पनि ‘राम्रो गाउँछौ’ भन्दै प्रोत्साहन गरे। औपचारिक संगीत नसिके पनि युट्युब, इन्टरनेटबाट संगीतबारे धेरै कुरा सिकेको छु। केही कभर गीत निकालेको छु। तर, आफ्नै गीत भने अहिलेसम्म निकालेको छैन। त्योबाहेक पोखराको ‘एमपी ब्यान्ड’ मा आबद्ध छु। त्यहाँका होटलहरूमा गिग गर्ने गरेको छु। 

संगीत मेरा लागि ध्यानजस्तै हो। आफूलाई प्रस्तुत गर्ने माध्यम हो। आइडलमा आएर निकै एक्स्पोजर पाएको छु। यसै गरी संगीतलाई निरन्तरता दिने सोच छ।संगीत साधना गर्ने सोच बनाएको छु। 


‘मन्दिरमा भजन गाउँथेँ’
रचना रिमाल (१७), झापा

सानो छँदा मन्दिरमा भजन गाउँथें। पछि स्कुलका कार्यक्रममा गीत गाउन थालें। विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन थालेँ। गायनमा अझै निखार ल्याउन कक्षा नौमा पढ्दा संगीत कक्षामा भर्ना भएँ। तर, नियमित जान सकिनँ। अहिले ११ कक्षामा पढ्दै छु। हालसम्म जम्माजम्मी चार महिना मात्र संगीत सिक्ने मौका पाएकी छु। फुर्सदमा टेलिभिजन हेर्थें। त्यसबाटै नेपाल आइडलको तेस्रो सिजन सुरु भएको थाहा पाएँ। मेरो संगीतप्रतिको लगाव देखेर आमाबुबाले पनि साथ दिनुभयो। उहाँहरूकै साथ–सहयोगले यहाँसम्म आइपुगेँ। मेरो कला प्रस्तुत गर्न नेपाल आइडलले अझ बाटो खुलाइदियो। केही समयअघिसम्म लुकेको प्रतिभा थिएँ। अहिले धेरैमाझ परिचित बनिसकेकी छु। संगीतमै करिअर बनाउने योजना छ।


‘परिवारको पूर्ण साथ छ’ 
सज्जा चौलागाईं (२२), मोरङ 

संगीतमा सानैदेखि रुचि थियो। घरमा गुनगुनाइरहन्थेँ। स्कुल जान थालेपछि सांगीतिक कार्यक्रममा भाग लिन थालेँ। प्रस्तुति दिन थालेँ। बिस्तारै स्कुल–स्कुलबीच हुने सांगीतिक प्रतिस्पर्धामा भाग लिन थालेँ। स्कुल सकिएपछि काठमाडौँ छिरेँ। म्युजिकमा कुनै औपचारिक शिक्षा लिएकी छैन। प्लस टू पढ्दाताका पब, रेस्टुरेन्टतिर स्टेज सिंगरका रूपमा काम गरेँ। त्यसपछि साथीहरूसँग मिलेर ‘दी लोडिङ’ नामक एउटा म्युजिकल ब्यान्ड बनायौँ। हाम्रो ब्यान्ड अहिले पनि छ। त्यसमा शास्त्रीय संगीत, हिन्दी र अंग्रेजी कभर गीत गाउँछौँ। मेरो सांगीतिक यात्रा यसरी नै सुरु भएको थियो। स्कुल, कलेज, स्टेज सिंगर हँुदै नेपाल आइडलसम्म आइपुगेकी छु। मेरो सांगीतिक यात्रामा परिवारको पूर्ण साथ छ। त्यसैले त यहाँसम्म आइपुगेकी छु। यहाँसम्म आइसकेपछि आशा र अपेक्षा बढेका छन्। नेपाल आइडल बनियो भने सांगीतिक क्षेत्रमै केही गर्ने सोच बनाएकी छु। जितिएन भने पनि संगीतमै लाग्ने सोच छ। 


‘आइडलले आत्मविश्वास बढायो’ 
मिग्मा लामा (२२), मकवानपुर 


म स्कुल पढ्दाताका हेटौँडातिर कहिलेकाहीँ कन्सर्ट हुन्थे। कन्र्सटमा भाग लिन्थँे। त्योबाहेक स्कुलका थुप्रै सांगीतिक कार्यक्रममा भाग लिएकी छु र पुरस्कार पनि जितेकी छु। तीजका कार्यक्रममा पनि गाउँथेँ। त्यस्ता कार्यक्रममा दुई पटक विजेता पनि बनिसकेकी छु। तीन वर्षअघि तीन महिनाको म्युजिकल कोर्स गरेकी थिएँ। क्लास लिनुभन्दा पनि आफूले जति अभ्यास गर्‍यो स्वरमा त्यति नै निखार आउने महसुस गरेँ। स्नातक पढ्दै छु। पढाइ र अन्य कामबाट फुर्सद हुँदा घरमै संगीतको अभ्यास गर्छु। कहिलेकाहीँ लाइभ म्युजिक पनि गर्थें। त्यसपछि ‘भ्वाइस अफ नेपाल’ को पहिलो सिजनमा भाग लिएकी थिएँ। त्यहाँ सफलता हात लागेन। तर, एक पटक बाहिरिँदैमा संगीतको भोक मरेन। त्यसपछि नेपाल आइडलमा भाग लिएँ। सुरु–सुरुमा अप्ठ्यारो लागे पनि अहिले प्रस्तुति दिन निकै सहज महसुस गर्छु। मेरो आत्मविश्वास बढ्दै गएको छ। संगीत मेरा लागि आत्मविश्वास बढाउने मेडिटेसन हो। आइडलमा आएपछि आफ्नो पहिचान बनेको छ। यहाँबाट कमाएका प्रशंसकलाई निराश हुन दिनेछैन। उहाँहरूकै लागि भए पनि राम्रा–राम्रा संगीत सिर्जना गर्ने इच्छा छ।


‘सानैदेखि प्रतियोगिता जित्थेँ’  
मुस्कान रानाभाट (२२), पोखरा 

सानोमा गाउन नजान्ने भए पनि ‘गाउँछु’ भन्दै अघि सर्थें। साईबाबाका भजन गाउँथेँ। पारिवारिक वातावरण संगीतमय थियो। बुबा म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनुहुन्थ्यो। आमा गीत गाउनुहुन्थ्यो। उहाँ एकदमै राम्रो गाउनुहुन्छ। संगीतमा प्रेरणा भनेको मेरा अभिभावक हुन्। उहाँहरूको म्युजिसियन बन्ने सपना थियो। त्यो सपना मैले पूरा गर्दै छु। सानैदेखि स्कुल–स्कुलबीच हुने विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन्थेँ। जति पनि प्रतिस्पर्धामा भाग लिएँ, सधैँ जितेँ। स्कुलका लागि हरेक वर्ष एउटा÷दुइटा पुरस्कार ल्याएकै हुन्थेँ। 

अहिले संगीतमै स्नातक गर्दै छु। संगीत मेरा लागि प्रस्तुतिको माध्यम हो, कला हो। जसले आफ्ना र अरूका भावना प्रस्तुत गर्न मद्दत गर्छ। क्यामराप्रति भने सजग हुन्छु। आइडलमा आएपछि टेक्निकल कुरा पनि जान्नुपर्ने रहेछ भन्ने लाग्यो। ती कुरा आइडलमा आएपछि सिकेँ। यसअघि मेरो प्रस्तुति अरूमाझ पुगेको थिएन। ठूलो मासले मलाई चिनेको थिएन। आइडलबाट चर्चा पाएकी छु। यहाँबाट निस्किएपछि संगीत क्षेत्रमै लाग्ने सोच बनाएकी छु। 


‘बाबा मेरो गुरु’
ममता गुरुङ (१७), पोखरा 

मलाई शास्त्रीय संगीतमा रुचि छ। संगीत क्षेत्रमा आउनुमा मेरो बाबाको ठूलो हात छ। बाबा संगीत क्षेत्रमा हुनुहुन्न। तर, उहाँलाई संगीतमा औधी अभिरुचि छ। उहाँबाटै प्रेरित भएकी हुँ। उहाँले मेरो संगीतप्रतिको लगावलाई बुझ्नुभएको छ। र, संगीत सिक्न सहयोग गर्नुभयो। स्कुल पढ्दाताकादेखि नै गीत गाउँथेँ। स्कुलका कार्यक्रममा भाग लिन्थँे। ज्यादा समय संगीतमै बिताउँथेँ। मेरो पहिलो गुरु नै मेरो बाबा हो। त्यसपछि मैले मितु पौल र तीर्थराज पोखरेल गुरुबाट शास्त्रीय संगीत सिकेँ। आधुनिक, शास्त्रीय, मेलोडियस सबै खाले गीत गाउन मन पर्छ। गायन मेरो सपना भए पनि यहाँसम्म आइपुगिएला भन्ने सोचेकी थिइनँ। मेरा लागि संगीत भनेको स्वर र शब्दको संयोजनलाई प्रस्तुत गर्ने कला हो। नेपाल आइडलजस्तो रियालिटी सो भनेको हामीजस्ता संगीतप्रेमीलाई अगाडि ल्याउने विशाल माध्यम हो। अहिले ११ मा पढ्दै छु। यहाँ आएपछि मलाई धेरै जनाले नोटिस गर्नुभएको छ। 


‘संगीत मेरो प्यासन हो’
मेघा श्रेष्ठ, काठमाडौँ 

संगीत मेरो प्यासन हो। घरमा ममी–बाबा पनि गीत गाउनुहुन्थ्यो। पारिवारिक वातावरण संगीतमय थियो। परिवार नै मेरो प्रेरणा हो। विभिन्न सांगीतिक प्रतिस्पर्धामा भाग लिएर पुरस्कार जितेकी छु। १५ वर्षकी हुँदा नेपाल टेलिभिजनको ‘भ्वाइस अफ टिन’मा भाग लिएकी थिएँ। सन् २०१६ मा ‘निर्भयाज फाउन्डेसन’ले ‘वुमन इन कन्सर्ट’ नामक  सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। त्यहाँ अभया सुब्बा हुनुहुन्थ्यो। त्यसमा मैले पनि भाग लिएकी थिएँ।  कार्यक्रममा ‘ट्यालेन्ट हन्ट विनर अवार्ड’ पाएकी थिएँ। नेपाल आइडलमा पनि गोल्डेन माइक हात पारिसकेकी छु। 

संगीतसम्बन्धी औपचारिक शिक्षा लिएकी छैन। माइक ह्यान्डल गर्ने, स्टेजमा प्रस्तुत हुनेलगायत टेक्निकल कुरा मलाई अभया म्यामले सिकाइदिनुभएको थियो। त्यसपछि अन्य कन्सर्ट र कार्यक्रममा भाग लिन थालेँ। यसले मेरो गायनमा निखार ल्यायो। 


‘आँट दिलायो आइडलले’ 
स्वस्तिका ढकाल (२२), मकवानपुर

चार–पाँच कक्षामा पढ्दा स्कुलका सरमिसले बालगीत सिकाउनुहुन्थ्यो। त्यहीँबाट हो, संगीतप्रति आकर्षित भएकी। बालगीत गाउन थालेँ। सबैले ‘तिम्रो गायन राम्रो छ’ भन्थे। त्यो सुन्दा ‘मभित्र पनि संगीत रहेछ’ भन्ने महसुस हुन्थ्यो। संगीतको औपचारिक शिक्षा लिएकी छैन। संगीत क्षेत्रमा लागेको देखेर आमाबुबा खुशी हुनुहुन्छ। कलेज पढ्न थालेपछि प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रममा भाग लिन थालेँ। बिस्तारै अरूले चिन्न थाले। नेपाल आइडलको दोस्रो सिजनमा पनि भाग लिएकी थिएँ। टप २० सम्म पुगेँ। आत्मविश्वास र आँट बढ्यो। आफ्नो गायनलाई अझै निखार्ने मौका पाएँ। यस सिजनमा यहाँसम्म पुग्छु होला भन्ने सोचेकी थिइनँ। मेरा लागि संगीत एउटा थेरापी हो। जीवनमा दुःखका क्षण आउँदा यसले मनलाई शान्त बनाउँछ। अहिलेसम्म कुनै गीत निकालेकी छैन। तर, आइडलमा आएपछि थुप्रै प्रशंसक कमाएकी छु। 

प्रस्तुतिः युवराज-अस्मिता 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि