पाल्चामा फ्युजनसहित  नेवार व्यञ्जन

writer

अस्मिता खड्का

मङ्गलबार, १४ माघ २०७६


ललितपुर, जावलाखेल चोकनजिकै छ, पाल्चा नेवारी किचेन । नेपाल भाषामा ‘पाल्चा’को दुइटा अर्थ हुन्छ । एउटा ‘दियो’ र अर्को ‘पाइला’ । दियोको अर्थमा पाल्चा नेवारी किचेन खोलेको बताउँछन्, सञ्चालक सदस्य सञ्जय राजन श्रेष्ठ । भन्छन्, ‘हामीले मौलिक नेवार परिकारलाई जोगाइराख्न यो किचेन सञ्चालनमा ल्याएका हौँ । नेवार परिकारको स्वाद लिन जहिले भट्टीपसल र खाजाघर मात्रै जानुपथ्र्यो । ग्राहकले अब त्यस्तो गरिराख्नु परेन ।’

सञ्जय राजन श्रेष्ठ, प्रकाश भाजु लामा, लिजेन्द्र शाक्य, प्रवीन श्रेष्ठ र सन्दीप श्रेष्ठ लगायतले साझेदारीमा यो किचेन खोलेका हुन् । ‘हामी पहिलेदेखिकै साथी हौँ,’ सञ्जय भन्छन्, ‘पढाइ सकिनेबित्तिकै हामीले नेपालमै केही गर्ने योजना बुन्यो । साझेदारीमा नयाँ ढंगले नेवारी किचेन सुरु गर्ने निधो गर्‍यौँ ।’ 

सन् २०१५ असारदेखि पाल्चा सञ्चालनमा ल्याइयो । त्यहाँ नेवार परिकार मात्र पाक्दैनन् । ग्राहकको मागअनुसार अन्य खानेकुरा पनि पाक्ने गर्छन् । मौलिक नेवार परिकारलाई पनि आधुनिक तरिकाले पस्किने गरेको सञ्जय बताउँछन् । ‘परम्परागत नेवार परिकारलाई पनि आधुनिक शैलीमा पकाउने गरेका छौँ,’ उनी भन्छन्, ‘बारालाई पाउरोटीसँग मिलाएर ‘बारा बर्गर’ बनाउँछौँ भने चटामरीलाई पिज्जाको रूप दिएर ग्राहकलाई नयाँ स्वाद दिने गरेका छौँ ।’

यसका लागि थुप्रै अध्ययन–अनुसन्धान गर्नु परेको सञ्जय बताउँछन् । भन्छन्, ‘मौलिक नेवार परिकारलाई कसरी नयाँ ढंगले पस्किने भन्नेबारे अनुसन्धान गरेका छौँ । 

नेवार बर्गर, नेवार पिज्जा, छोइला, मःमः, स्पाइरल पोट्याटो, सपु म्हिचा, तिसाया आदि पाल्चाका विशेष परिकार हुन् । यसबाहेक यहाँ फास्टफुड, चिया÷कफी, बेभरेजलगायत खानेकुरा पनि पाइन्छन् । परिकारको प्रकारअनुसार खानेकुराको मूल्य तोकिएको छ । ५० रुपैयाँदेखि ८ सय ५० रुपैयाँ मूल्य पर्ने खानेकुरा पाल्चा नेवारी किचेनमा खान पाइन्छ । 

पाल्चामा हरेक शुक्रबार लाइभ म्युजिक हुने सञ्चालक सदस्य प्रकाश भाजु लामा बताउँछन् । ‘म्युजिक सुन्दै खानामा रमाउनेका लागि हामी कहिलेकाहीँ कन्सर्ट र हरेक शुक्रबार लाइभ म्युजिक आयोजना गर्छौं,’ उनी भन्छन्, ‘त्योसँगै बर्थडे सेलब्रेसन, बेबी सावरलगायत पार्टी पनि हुन्छ । त्यसका लागि यहाँ उपयुक्त ठाउँ छ ।’

भित्ताभरि नेवार समुदायका ऐतिहासिक र परम्परागत तस्बिर, आर्कषक डेकोरेसन पाल्चामा रहेको छ । बाँसका कुर्सी, टेबल र त्यसमाथि हातले बुनेका परालका गलैँचा बिछ्याइएका छन् । भित्तामा राखिएका अधिकांश तस्बिर बिक्रीका लागि राखिएको प्रकाश बताउँछन् । ‘कतिपय विदेशी खाजा खान आउँछन् र आफूलाई मन परेको तस्बिर किनिदिन्छन्,’ उनी भन्छन् ।

पाल्चाको अर्को ब्रान्च ‘पाल्चा लन्च टाइम’ पनि जावलाखेलमै छ । आफूकहाँ होम डेलिभरी सेवासमेत रहेको सञ्जय बताउँछन् । भन्छन्, ‘हामी फुडमान्डूसँग मिलेर होम डेलिभरी पनि गर्छौं । यो सेवा भने ललितपुर जिल्लाभित्र मात्र सीमित छ ।’ पाल्चामा हाल १० जनाले रोजगारी पाएका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार