‘बाइकमा १७ दिनमा ५४ जिल्ला पुगियो’

writer

सम्पूर्ण

शनिबार, ११ माघ २०७६


वसन्त भण्डारी, बाइक राइडर

मेरो घर तुलसीपुर, दाङ हो। मोटरबाइक मेरो प्यासन हो। मध्यपहाडी लोकमार्गका मनाङ, मुस्ताङलगायत थुप्रै ठाउँ बाइकमै पुगेको छु। त्यसपछि दुईपांग्रेबाटे नेपाल एक्सपिडिसनको सोच बनाएँ। ‘१७ दिनमा ५४ जिल्ला घुम्ने’ योजना तय गरें। 

मेरो सहयात्री थिए, मनराज पन्त। असोज २७ गते सुरु भएको यात्रा कात्तिक १० मा सकियो। यात्रा दाङदेखि पश्चिम बैतडी÷अछाम हुँदै पूर्वको फिदिमसम्म पुग्यौँ। दैलेख, जाजरकोट, बागलुङ, पोखरा, गोरखा, काठमाडाँै, खोटाङ, भोजपुर, तेह्रथुम, इलाम, इटहरी, चितवन हुँदै दाङ पुगेर यात्रा सकिएको थियो। १७ दिनमा ५४ जिल्ला  पुगियो भने ३ हजार ४ सय ४२ किलोमिटर पार गरियो। यति दूरी पार गर्न ९९ घण्टा ११ मिनेट समय लागेको थियो। 

यात्रामा निस्कनुअघि मैले केही उद्देश्य बनाएको थिएँ। हिमाल र पहाडमा गाडी गुड्ने बाटोको अवस्था र त्यहाँको जनजीवन बुझ्न मध्यपहाडी लोकमार्गमा बाइक यात्रा गर्ने निर्णय लिएको थिएँ। त्यसबारे बुझ्न मध्यपहाडी लोकमार्गको केन्द्रीय कार्यालय पुगेर जानकारी लिएँ। यसले हाम्रो पर्यटन क्षेत्रलाई केही हदसम्म भए पनि सहयोग पुग्नेछ भन्ने लाग्यो। र, मेरो यात्रा सुरु भयो। 

क्यामरा, ड्रोनलगायत यात्रामा चाहिने सबै सामग्री मसँग थियो। लामो यात्रा गर्नुपर्ने भएकाले दिउँसो मात्र बाइक चलाउँथे। त्यस क्रममा धेरै कठिनाइ पनि भोगें। अफरोडको बाटो हिँडेकाले कति ठाउँमा बाइक बिग्रन्थ्यो, कहिले पेट्रोल सकिन्थ्यो। बागलुङ बजारदेखि बुर्तिबाङको बीचमा आफूसँग भएको क्यामेरा र ड्रोन पनि बिग्रियो। पेट्रोल पाइए पनि प्रतिलिटर तीन सय रुपैयाँ पथ्र्यो। एकदमै सास्ती भोग्नुपर्‍यो। त्यस्तो अवस्था देखेर यात्रा बाटोमै छोडेर घर फर्किने सोच पनि नआएको होइन। तर, साथीले हौसला दिन्थे। हामी यात्राको उद्देश्य पूरा गरेरै फर्कियौं।

मध्यपहाडी लोकमार्गमा सबैभन्दा राम्रो बाटो सुदूरपश्चिमको छ। मध्यपश्चिममा बाटो एकदमै बिग्रेको छ। गोरखा–नुवाकोट, खुर्कोटलगायत ठाउँमा ट्र्याक रुट नै खुलेको छैन। धेरै ठाउँमा बाटो बन्द छ। 

यात्राका क्रममा विभिन्न ठाउँका १७ सयभन्दा बढी फोटो र दुई सयभन्दा बढी भिडियो संकलन गरें। यात्रा वृत्तान्तसहित एउटा भिडियो टुरिजम बोर्डलाई बुझाएको छु। अहिले फोटो र भिडियो एडिटिङको काम गर्दै छु। फोटो र भिडियो छनोट गरेर जेसीआई नेपालमार्फत ‘भिजिट नेपाल २०२०’ का लागि दिनेछु। यसले भ्रमण वर्षलाई केही सहयोग गर्ने अपेक्षा राखेको छु। 

जेसीआई नेपालको बोर्ड मेम्बर पनि हुँ। ‘घुम्न जाऊँ तुलसीपुर’ भनेर आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न बाटोमा भेटिने मान्छेलाई पर्चा र पम्प्लेट पनि बाँडेका थियौँ। साथी र मैले यात्रा खर्च आफैँ बेहोरेका थियौँ।

तपाईको कमेन्ट