शस्त्रसँगै संगीतको सुर

writer

रामकुमार डिसी

सोमबार, २४ मङि्सर २०७५


यहाँ देशको छ चिन्ता
तिमी माया–माया भन्छ्यौ...

चर्चित गजलका शब्द हुन् यी। यसका संगीतकार हुन्, गैरे सुरेश। ‘किन हजुर नबोलेको’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘जमाना खराब छ’ लगायत थुप्रै हिट गजल छन्, जसमा उनले संगीत गरेका हुन्। 

हातमा हार्मोनियम, मनमा कोमलता बोक्दै हिँड्नुपर्ने यी संगीतकार पेशाले भने बन्दुक बोक्नुपर्ने क्षेत्रमा छन्। नेपालको ‘पारा मिलिटरी फोर्स’ सशस्त्र प्रहरीका उनी अहिले डीएसपी हुन्। सशस्त्रको काठमाडौँ ९ नम्बर गुल्म प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका उनले उपराष्ट्रपति कार्यालय बहादुर भवनदेखि महाराजगञ्जसम्मको सुरक्षा हेर्नुपर्छ। 

सुरुवाती संघर्ष
संगीतप्रतिको मोह सानैदेखि सँगालेका थिए, सुरेशले। त्यसलाई कुनै दिन पूरा गर्ने सपनाका रूपमा साँचेका थिए। प्रथम श्रेणीसहित एसएलसी पास गरेपछि उनी २०५४ सालमा काठमाडौँ छिरे। पढाइमा अब्बल थिए, उनी। स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा पनि त्यस्तै थिए। सांगीतिक कार्यक्रममा त उनलाई भेट्टाउने कोही हुँदैन्थ्यो।

‘कक्षामा प्रायः प्रथम हुन्थँे,’ उनी सम्झिन्छन्, ‘अतिरिक्त क्रियाकलापमा भाग लिन्थँे, एक चाङ त जितेका प्रमाणपत्र नै होलान्।’ स्कुलमा हुने सांगीतिक कार्यक्रममा आमा लक्ष्मी गैरेले सघाउँथिन्, उनलाई। संगीतप्रति आफ्नो मोह जाग्नुको प्रत्यक्ष–अप्रत्यक्ष कारण उनी आमालाई नै मान्छन्। भन्छन्, ‘आमाले राम्रो तबला बजाउनुहुन्थ्यो। थालसमेत त्यस्तै राम्रो बजाउनुहुन्थ्यो। स्कुलको प्रतियोगितमा गीत गाउनु छ भनेपछि उहाँ लोकलयलाई मिलाएर तत्कालै मेरा लागि गीत बनाइदिनुहुन्थ्यो।’

२०३८ सालमा पाल्पाको तेला गाविसमा जन्मे उनी जुन अहिले तानसेन नगरपालिकामा पर्छ। मध्यम वर्गीय परिवारमा जन्मिएका उनले घाँस–दाउरा गर्ने, गाइगोरु चराउनेलगायत सबै काम गरे। बुबा रविलाल गैरे व्यापार गर्थे। बुबा भारतमा व्यापार गर्न गएकाले केही समय दिल्लीमा बसेर पढे। घरको जेठो छोरो भएकाले जिम्मेवारी पनि बढ्दै थियो भाइ लक्ष्मण र बहिनी पार्वतीको तुलनामा।

तर, काठमाडौँ सोचेजस्तो सजिलो थिएन। संगीतमा मोह र लुकेको क्षमता हुँदैमा  काठमाडौँले किन पत्याउथ्यो उनलाई। भर्खरै काठमाडौँ आएका सुरेश बस्ने कोठानजिकै बस्थे संगीतकार राजेश थापा। राजेशको कोठामा हार्मोनियम बजेको प्रष्टै सुनिन्थ्यो।

उता हार्मोनियम बज्दा यता उनलाई संगीत सिक्ने हुटहुटी जाग्थ्यो। ‘उताको आवाजले मनै थाम्न नसकेर आफै खेम दाइसँग परिचय गर्न गएको थिएँ,’ सुरेश भन्छन्, ‘मलाई बाँसुरी बजाउन सिकाउने खेम दाइ नै हो। संगीतको अनौपचारिक शिक्षा पनि मलाई उहाँले नै दिनुभयो।’ 

जीविकोपार्जनका लागि कलेज पढ्दै घर–घरमा गएर होम ट्युसन पढाउथेँ, सुरेश। संगीतकार शक्ति बल्लभको छोरालाई पनि ट्युसन पढाउथेँ। शक्ति बल्लभले एक दिन सुरेशको डायरी भेट्टाए। संगीतप्रतिको रुचि र क्षमता चिनिहाले। अनि, संगीत सिक्न उत्साहित गरे।

‘एक दिन मेरो डायरी उहाँको घरमै छुटेछ,’ सुरेश भन्छन्, ‘डायरीमा मैले लेखेका गीत हेर्नु भएछ। ‘राम्रो गीत लेख्छौ, संगीत सिक’ भन्नुभयो। आफ्नो एल्बममा मेरो गीत पनि राख्नुभयो।’ बल्लभकै जोडले संगीतकार न्ह्यु व्रजाचार्यको डोरेमी संगीत स्कुलमा भर्ना भए, सुरेश। त्यहाँ उनले भानुभक्त ढकाल, गुरुदेव कामत, ईश्वर अमात्यलगायतसँग करिब डेढ वर्ष संगीत सिके। 

२०५७ सालतिर गजलको लोकप्रियता उत्कर्षमा थियो। अधिकांश रेडियोमा गजलसम्बन्धी कार्यक्रम हुन्थे। प्रकाश सायमी, अच्युत घिमिरेले रेडियोमा चलाउने कार्यक्रम निकै लोकप्रिय थिए। सुरेश बीए पढ्दै थिए। होम ट्युसन पनि पढाउँथे। साँझ थकित भएर कोठा पुग्थे। थकान मेट्न कालिप्रसाद रिजाल, दिनेश अधिकारी, मनु वज्राकी, कृष्णहरि बरालका गीत सुन्थे।

अधिकांश गीतका हरफ कण्ठ थिए। उनले हरेक गीतकारका गीतमा संगीत गर्थे अनि सुनिदिन आग्रह गर्थे। तर, कसैले उनको संगीत सुन्न जाँगर चलाउँदैनथे। ‘गीतकारलाई फोन गरेर ‘सर हजुरको गीतको मैले संगीत गरेको छु सुनिदिनुप¥यो’ भन्थेँ,’ सुरेश सम्झिन्छन्, ‘उहाँहरू सबै व्यस्त। म जस्तोलाई भाउ दिने कुरै भएन।’

त्यतिबेला यम बराल, रामकृष्ण ढकाललगायत गायक चलेका थिए। चल्तीका एल्बममा आफूले संगीत गरेको एउटा गीत राख्ने चाहना हुन्थ्यो, उनको। गीतकार डा. कृष्णहरि बराल विधाताजस्तै बनिदिए उनका लागि। सबैतिरबाट अस्विकृत उनले एक दिन कृष्णहरि बराललाई फोन गरे। बराल उनले गरेको संगीत सुन्न तयार भए।

‘मैले गरेको संगीत सुनेपछि ‘कस्तो राम्रो गर्नु हुँदो रहेछ, ल काम गरौँ’ भन्नुभयो,’ सुरेश सम्झिन्छन्। त्यतिबेला गीत रेकर्ड गराउन महँगो थियो। तैपनि उनले हुन्छ भनिदिए। ‘त्यतिबेला एउटा गीत रेकर्ड गराउन १५÷२० हजार रुपैयाँ लाग्थ्यो,’ उनी सुनाउँछन्, ‘म २३ सय रुपैयाँको जागिर खान्थेँ। त्यत्रो पैसा कहाँबाट जोहो गर्नु ? तैपनि एक जनाले भए पनि पत्यायो भनेर हुन्छ भनिदिएँ।’ 

उनले घरमा गएर कुरा गरे। उनका सानो काका सेनामा थिए। काकाबाट ढाडस र पैसा पाए। ‘काकाले १५ हजार रुपैयाँ दिनुभयो,’ उनी भन्छन्, ‘त्यो बेलाको १५ हजार रुपैयाँ भनेको ठूलो रकम हो। मैले त्यो ऋण अहिले पनि तिरेको छैन। त्यो उहाँको चिनो हो।’

पैसा जम्मा गरेर पाँच÷छ महिनापछि उनले फेरि डा. बराललाई फोन गरे। उनीसँग गजलमा काम गर्ने प्रस्ताव गरेँ। बराल पनि तयार भए। एउटा एल्बम नै निकाल्दा दुई लाख रुपैयाँ जति खर्च लाग्ने भयो। ऋण गरेरै भए पनि एल्बम निकाल्न तयार भए।

डा. बरालकी श्रीमतीले त्यत्रो पैसा आफैँ खर्च गर्नुभन्दा म्युजिक नेपालसँग एल्बम निकाल्नका लागि कुरा गर्न सुझाइन्। बराल दम्पतीसँग उनी म्युजिक नेपालका सन्तोष शर्मालाई भेट गए। बरालसँग दाजुभाइको सम्बन्ध रहेका सन्तोष काम गर्न राजी भए। त्यसपछि सुरेशले एल्बमका लागि उठाएको पैसा खर्च गर्नु परेन। एरेन्जका लागि लाग्ने १५÷२० हजार रुपैयाँ खर्च काकाले दिएको पैसाबाट चलाए। 

‘विम्ब’बाट बदलाव
२०५७ सालको कुरो हो, उनका एक जना विपिन घिमिरे भन्ने साथीले एल्बम निकाल्ने तयारी गर्दै थिए। उनले सुरेशलाई पनि काम गर्न अफर गरे। विपिनको एल्बममा उनले ‘बोल न निर्माया’ भन्ने लोकगीतमा संगीत गरे। त्यसपछि आफ्नै  सोलो संगीत, शब्द र स्वरमा ‘लाहुरे जिन्दगी’ भन्ने पहिलो गीत रेकर्ड गराए। म्युजिक नेपालबाट भिडियोसमेत तयार भयो।

लाहुरेको कथा–व्यथा बोकेको लोक ‘फ्लेभर’को त्यो गीत राम्रै चल्यो। ‘त्यो गीतले ‘तँ गाउनका लागि होइनस्, गायनभन्दा संगीतका लागि होस्’ भन्ने सिकायो,’ उनी सम्झन्छन्, ‘साथीहरूले पनि गायनभन्दा संगीत सिर्जनामा बढी ध्यान दिनुपर्ने सुझाव दिए।’ 

२०६१ मा ‘विम्ब’ एल्बम आएपछि अरूका ढोका चर्हादै हिँड्नुपर्ने उनको अवस्था बदलियो। उनको ढोकामा अरू आउने अवस्था बन्यो। उनी यसलाई आफ्नो सांगीतिक करिअरकै ‘माइल स्टोन’ मान्छन्। एल्बममा थिए, ‘किन हजुर नबोलेको’, ‘तिमी मसँग भइदिए’ लगायत गजल जुन पछि निकै हिट भए। त्यसमा योगेश वैद्यदेखि यम बराल, कुन्ती मोक्तान, मीरा रानाभाट, सपनाश्री, आनन्द कार्की, सत्य–स्वरूप आचार्य दाजुभाइसम्मले गाएका थिए।

‘पहिलो पल्टमै मैले संगीत गरेका धेरै गजल हिट भएपछि मलाई एकै पटक संगीतको महासागरमा लगेर राखिदिएको जस्तो भयो,’ सुरेश भन्छन्, ‘त्यसपछि फर्केर हेर्नु परेन।’ त्यसपछि उनलाई संगीत गर्ने धेरै अफर आए। करिब डेढ सयजति फुटकर गीतमा संगीत गरिसकेका छन्। गजलका सोलो एल्बम डेढ दर्जन छन्। अहिले पनि निकै व्यस्त उनी।

फिल्म ‘नाइँ न भन्नू ल’ का लागि संगीत गरेको ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत निकै चर्चित बन्यो। उनी भन्छन्, ‘अहिले त्यस्तै गीत बनाइदिनुप¥यो भन्दै धेरैले अफर गर्नुभएको छ।’ 

प्रहरी जागिरः बाध्यता
माओवादी युद्ध चरमचुलीमा पुगेका बेला उनी प्रहरीको जागिरे भए। २०६० सालमा सशस्त्र प्रहरीको इन्सपेक्टरका लागि जागिर खुल्यो। उनले त्यहाँ फाइट गर्ने सोच बनाए। तर, गीतकार डा. बरालले ‘पढिरहेको, संगीतमै करिअर भएको मान्छे प्रहरीमा जानु हुन्न’ भने। तर, अवसर छोड्नु हुँदैन भन्दै उनले आवेदन दिए।

नाम निस्कियो। २०६१ मा सशस्त्र प्रहरीमा इन्सपेक्टर भएर प्रवेश गरे। यसलाई उनी प्रहरीमै जागिर खाने रहरभन्दा पनि ऊबेलाको बाध्यता बताउँछन्। ‘त्योबेला मैले कि बन्नुपथ्र्यो, कि बिग्रनुपथ्र्यो,’ उनी सुनाउँछन्, ‘मसँग अरू विकल्पै थिएन। त्यसैले अगाडि जुन अवसर आयो त्यही छोपेको मात्रै हो।’

‘फोर्स सर्भिस’ मै लाग्नुलाई उनी अग्रज सेना, प्रहरीमा हुनुलाई पनि मान्छन्। ‘मेरा काका, मामा सबै भारतीय सेनामा हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘वर्तमान चिफसाब, शैलेन्द्र खनाल मेरो मामाको छोरा हो।’ प्रहरीको ड्युटीमा रहँदा आफू पूर्ण रूपमा प्रहरी अफिसर रहने बताउँछन् उनी। ‘म संगठनको ड्रेस लगाएर बस्दा पूरााका पूरा सेक्युरिटी अफिसर हुँ,’ उनको तर्क छ, ‘संगीत मेरो छुट्टै पाटो हो। तर, यसले संगठनभित्र मलाई संगीतकार भनेर चिनाएको छ।

संगीत क्षेत्रका मान्छेले ‘यो प्रहरी पनि हो’ भनेर चिन्छन्। मलाई ‘दुइटै हातमा लड्डु’ भने जस्तो छ।’ संगठनका लागि पनि उनले संगीत सिर्जनाको काम गरेका छन्। सशस्त्र प्रहरीले निकालेको ‘किन आउँछ दशैँ–तिहार’ भन्ने गीतमा उनकै संगीत छ। 
संगठनभित्रैबाट संगीत गरिदिन धेरै अफर आउने उनी बताउँछन्। धेरै प्रहरी अफिसरका गीतमा संगीत गरेका उनले अहिले सशस्त्रका प्रमुख शैलेन्द्र खनालको दोस्रो एल्बमको संगीत पनि गरिरहेका छन्। 
उनको बिहे २०६७ सालमा गीतका डा. बरालकी छोरी स्वीकृतिसँग भयो। अहिले उनीहरूको एउटा छोरा छ। कतिले उनलाई ‘गीतसँगै छोरी पनि मागेको’ भन्दै जिस्काउँछन्। त्यस्तोलाई उनको जवाफ हुन्छ– ‘मन मिलेपछि यसमा अनौठो कै नै भयो
र ?’

उनको अफिस पनि सांगीतिक उपकरणले भरिभराउ हुन्छ। जहाँ गए पनि उनी आफूलाई चाहिने बाजा र सांगीतिक उपकरण साथमै लिन्छन्। प्रहरीमा नभएको भए आफू शिक्षण पेशामा हुने उनको अनुमान छ। ‘म्युजिकलाई योभन्दा कम हुन चाहिँ म दिँदैनथेँ,’ उनी भनछन्, ‘तर, पूर्णकालीन भएर म्युजिकमै लागेको भए अझै राम्रो गर्न सक्थँे।’ प्रहरी जागिरले संगीतकर्ममा रोकावट नगरेको उनी बताउँछन्। ‘सिर्जना भन्ने कुरा पेशाले फरक पार्छ जस्तो लाग्दैन,’ उनको मत छ, ‘त्यो जहाँ भए पनि निस्किहाल्छ।’
 

तपाईको कमेन्ट