समलिंगी दम्पती : कानुनले चिन्दैन, समाजले मान्दैन

writer

सम्पूर्ण

सोमबार, ०६ माघ २०७६


सुमित सुवेदी/अस्मिता खड्का

आर्मोन्टशमशेर राणा समलिंगी हुन्। आर्तिसा ट्रान्सजेन्डर महिला हुन्। उनीहरू प्रेममा छन्। लिभिङ टुगेदर रिलेसनसिपमा बसेको छ वर्ष भयो। दुवै जना बिहे गर्न चाहन्छन्। तर, समलैंगिक विवाहलाई कानुनले मान्यता नदिने हुनाले हाल उनीहरूको सम्बन्धले नयाँ उचाइ छुन सकेको छैन। यद्यपि, उनीहरू श्रीमान्–श्रीमतीका रूपमा जीवन बिताइरहेका छन्। 

आर्मोन्टलाई सानैदेखि केटा मन पर्थ्यो। ‘म केटीभन्दा केटासँग आकर्षित हुन्थेँ,’ उनी भन्छन्, ‘यस्तो किन भइरहेको थियो, मलाई थाहा थिएन।’ उनको घरनजिकै ब्लू डायमन्ड सोसाइटी थियो। ‘पहिला म मात्रै यस्तो हो कि जस्तो लाग्थ्यो,’ उनी सम्झन्छन्, ‘पछि ब्लू डायमन्डका मानिसहरूलाई देखेपछि मजस्ता अरू पनि हुँदा रहेछन् भन्ने थाहा पाएँ।’ 

उनी आफूलाई भाग्यमानी ठान्छन्। ‘किनभने, मलाई आमाबुबाको साथ छ,’ उनी भन्छन्, ‘बिहे गर्न परिवारमा कसैले दबाब दिएका छैनन्। मैले आफैँले भने घरमा ‘म गे हुँ’भनेको छैन। तर, पनि उहाँहरूलाई थाहा छ।’

आर्तिसासँग आर्मोन्टको भेट फेसबुकमा भएको थियो। उनले आर्तिसालाई पुरुष ठानेर म्यासेज गर्न सुरु गरेका थिए। यी दुईबीच फेसबुकमा दिनरात कुरा हुन थाल्यो। 

उनीहरूको पहिलो भेट दुवैको एक जनाको साथीको घरमा भएको थियो। ‘ऊ केटाका रूपमा जन्मे पनि उसको चालढाल केटीको जस्तो थियो,’ आर्माेन्ट आर्तिसालाई पहिलो चोटि भेटेको दिन सम्झन्छन्, ‘यो कुरा उसले सानीमालाई मात्र भनेकी रहिछ।’ उनीहरू प्रेममा परे। प्रेम गाढा हुँदै गयो। ‘हामी दुई एकअर्काबिना बाँच्न नसक्ने भयौँ,’ आर्माेन्ट भन्छन्, ‘त्यसपछि हामी आर्तिसाको सानीमाकहाँ बस्न थाल्यौँ। उहाँले हाम्रो प्रेमलाई नजिकबाट बुझ्नुभएको थियो। हामी उहाँको घरमा छ महिना लिभिङ टुगेदर रिलेसनसिपमा बस्यौँ।’

छ महिनापछि आर्मोन्टले आर्तिसालाई आफ्नो घर लगे। ‘त्यो बेलासम्म मेरो परिवारलाई मेरो बारेमा थाहा थिएन,’ आर्मोन्टले भने, ‘उसलाई घरमा लगेर ‘उनी तपाईंहरूकी बुहारी’ भनेँ। एउटा केटालाई बुहारी भनेर घरमा ल्याउँदा पनि उहाँहरूले केही भन्नुभएन।’ 

आर्मोन्टको परिवारलाई उनीहरूको सम्बन्धमा आपत्ति थिएन। सन्तानको खुशीलाई नै आफ्नो खुशी ठानेका थिए, उनका आमाबुबाले। ‘परिवारले हामीलाई स्विकार्‍यो,’ उनी भन्छन्, ‘तर, समाजलाई हाम्रो सम्बन्धमाथि आपत्ति थियो। हामी हाँसोको पात्र भयौँ। सबै हाम्रो मजाक उडाउँथे। एक जना छिमेकी मसँग भेट हुनेबित्तिकै सोधिहाल्थे– ‘हैन, तिमीले त केटालाई स्वास्नी बनायौ रे होइन ?’ त्यसपछि उनी बेस्कन हाँस्थे। अर्काे एक जना थियो, मलाई सताउने। एक दिन त उसले आर्तिसा र मलाई बाटै छेकेर भन्यो– ‘तिमीहरू लोग्ने–स्वास्नी त भयौ, तर बच्चा चाहिँ कसरी जन्माउँछौ ?’ आर्तिसाले उसलाई ‘हामीलाई भगवान्ले आकाशबाट बच्चा पठाइदिन्छन्, तपाईंले चिन्ता गर्नुपर्दैन’ भनेर मुखभरिको जवाफ दिई।’

यस्ता अपमान आर्मोन्ट र अर्तिसाले धेरै बेहोरेका छन्। ‘हामी सँगै हिँडेको देख्दा मानिसहरू कानेखुशी गर्दै हाँस्थे,’ आर्मोन्ट भन्छन्, ‘अहिले पनि हाँस्छन्।’ समाजले खेदो खन्न थालेपछि उनीहरू पहिला बसेको ठाउँबाट अन्तै सरे। 

आर्तिसा अहिले केटाबाट केटी बनेकी छिन्। उनी ट्रान्सजेन्डर महिला हुन्।  लामो कपाल पालेकी छिन्। मेकअप गरेर चिटिक्क पर्छिन्। उनको शारीरिक बनोट महिलाको जस्तो भइसकेको छ। तर, स्वर भने अझै पुरुषको जस्तै सुनिन्छ। ‘आर्तिसालाई देख्नेले कसैले पनि यो पुरुष हो भनेर चिन्दैन,’ अर्मोन्ट भन्छन्, ‘तर, कहिलेकाहीँ सपिङ गर्न जाँदा उनको स्वर सुनेपछि पसलेले प्राइस ट्याग लुकाएर सामानको मूल्य बढाउँछ। यसले उसलाई दु:खी बनाउँछ।’

आफूहरूको यौन जीवन सुखमय भएको आर्मोन्ट बताउँछन्। भन्छन्, ‘धेरै मान्छेलाई समलिंगीहरू कसरी यौन सन्तुष्टि लिन्छन् होला भन्ने जिज्ञासा हुन्छ। यो विषयमा लुकाउनुपर्ने कुरा केही पनि छैन। ओरल सेक्स (मुख मैथुन) र एनल सेक्स (गुदा मैथुन) बाट हामी यौन आनन्द लिन्छौँ।’ 

बच्चाको विषयमा भने यो दम्पतीले सोचेको छैन। ‘हामीबाट बच्चा हुँदैन, त्यो हामीलाई थाहा छ,’ आर्मोन्ट भन्छन्, ‘एउटै उपाय भनेको एडप्ट गर्ने हो। कानुनले हाम्रो विवाहलाई मान्यता नदिएकाले बच्चा एडप्ट गर्ने कानुनी प्रक्रिया झन् झन्झटिलो छ।’

सँगै बसे पनि उनीहरूको सम्बन्धको कुनै कानुनी प्रमाण छैन। ‘हामीलाई पनि विवाह गर्न मन लाग्छ,’ आर्मोन्ट भन्छन्, ‘तर, नेपाल सरकाले समलिंगी विवाहको मान्यता दिएको छैन। यसले हाम्रो भविष्य अन्धकार भएको छ।’ पछि गएर सम्बन्धमा कटुता उत्पन्न भयो र छुट्टिनुपर्ने अवस्था आयो भने सम्पत्तिमा कसको कति हक हुने ? लगायत विभिन्न पक्षमा अन्योल रहेको उनी बताउँछन्। ‘यस्तो अवस्थामा मैले मेरी श्रीमतीलाई विश्वास दिलाउन पनि निकै मुुस्किल परेको छ,’ उनी भन्छन्, ‘बिहे भएको जस्तो ढुक्क हामी अहिलेसम्म हुन सकेका छैनौँ।’  

विवाहको प्रमाण नहुँदा कतै होटलमा गएर बस्दा पनि उनीहरूलाई अप्ठ्यारो पर्ने गरेको छ। ‘एकचोटि हामी कालिञ्चोक घुम्न गएका थियौं,’ आर्मोन्ट भन्छन्, ‘त्यहाँ एउटै रुममा बस्न खोज्दा हामीसँग विवाहको प्रमाण मागियो। बल्लतल्ल होटेलको मान्छेलाई सम्झाएर बास बस्यौँ।’ उनीहरूले यस्ता धेरै समस्या धेरै ठाँउमा भोगेका छन्। यी र यस्ता समस्या समाधान गर्न समलिंगी विवाहलाई कानुनले मान्यता दिनुपर्ने आर्मोन्ट बताउँछन्। ‘हामी दम्पती हौँ,’ उनी भन्छन्, ‘तर, हाम्रो दाम्पत्य जीवनलाई न कानुनले चिन्छ, न समाजले मान्छ।’    

प्रेम गर्न पाउने, बिहे गर्न नपाउने 

अनुज पिटर समलिंगी हुन्। उनी यो सत्य कसैसँग लुकाउँदैनन्। आफ्नो पहिचान उनले खुलेआम बताउन थालेको धेरै वर्ष भइसक्यो। भन्छन्, ‘म गे हुँ  भन्नलाई कुनै आपत्ति छैन। न कसैसँग यो सत्य लुकाउन चाहनछु। पुरुषप्रति आकर्षित हुनु मेरो निजी प्रकृति हो।’ 

पिटर दुई–तीन पटक प्रेममा परिसके। ‘तर, नेपालको  कानुनमा समलिंगी विवाहको प्रावधान नहुँदा न मैले बिहे गर्न पाएँ, न मेरो प्रेम सम्बन्ध नै टिक्यो,’ उनी भन्छन्। 

पिटरको पुख्र्यौली घर खोटाङ, दिक्तेल हो। सानैदेखि उनको हाउभाउ केटीको जस्तो थियो। उनका बुबा स्कुलका हेडमास्टर भएका कारण उनलाई स्कुलमा यो विषयलाई लिएर कसैले जिस्काउने र सताउने आँट गरेनन्। ‘मलाई थाहा थियो, म स्कुलदेखि नै केटीका जस्ता हर्कत गर्थें,’ उनी भन्छन्, ‘तर, बुबा हेडमास्टर भएका कारण कसैले जिस्काउन भने सकेनन्। मैले दिक्तेलमै ब्यालर्ससम्म पढेँ। त्यसपछि काठमाडौँ आएँ।’

अरूभन्दा आफू ‘फरक’ भएको कुरा उनलाई काठमाडौ आउँदासम्म थाहा थिएन। ‘मेरी माइली बहिनीको विवाह भयो,’ उनी भन्छन्, ‘भाइ पनि बेलायत गयो। अनि, मात्र मैले आफ्नो बारेमा सोच्न थालेँ। मलाई केटीप्रति कहिल्यै आकर्षण भएन, तर राम्रा केटा देख्दा रातोपिरो हुन्थेँ।’ उनी सुरुसुरुमा त सबैलाई यस्तै हुन्छ होला भनेर सोच्थे। तर, जब सोसल मिडिया चलाउन थाले, त्यसपछि आफ्नो पहिचान थाहा पाए। 

‘त्यो बेला फेसबुक थिएन,’ उनले भने, ‘त्यसैले याहू चलाउँथेँ। म केटाहरूको ग्रुपमा हुँदा उनीहरू केटीका बारे कुरा गर्थे। मलाई त्यसमा कुनै चासो हुँदैनथ्यो।’ उनलाई अचम्म लाग्न थाल्यो। मनमनै प्रश्न गर्न थाले– ‘सबै केटालाई केटीमा चासो छ, मलाई किन छैन ?’ उनी एक दिन साइबर गए। गुगल गरे। त्यहाँ उनले ‘एलजीबीटी’ अर्थात् ‘लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डरहरूबारे थाहा पाए। ‘म पनि यसभित्र पर्ने रहेछु भन्ने लाग्यो,’ उनी भन्छन् ‘तर, कसैलाई भन्ने हिम्मत भएन।’ केही समयपछि उनले फेसबुक चलाउन थाले। फेसबुकमा उनले धेरै आफूजस्ता मानिस भेटे। त्यसपछि भने उनलाई केही राहत भयो। 

यही क्रममा पिटरको एक जना केटा साथीसँग फोनमा लामो गफगाफ हुन थाल्यो। ‘मैले उसलाई देखेको थिइनँ,’ उनी सम्झन्छन्, ‘फोनमा उसले मलाई क्लबमा देखेको बतायो। कुनै दिन फोनमा कुरा गर्न नपाउँदा मलाई छटपटी हुन्थ्यो। एक दिन उसले मलाई फोनबाटै प्रेम प्रस्ताव राख्यो।’ उनीहरूको प्रेम सम्बन्ध सुरु भयो। एक वर्षसम्म उनीहरूको प्रेम फोनमै सीमित भयो। त्यसपछि एक दिन उनीहरूले भेट्ने योजना बनाए। ‘मैले सोचेभन्दा ऊ बिलकुल फरक थियो,’ पिटर सम्झन्छन्, ‘‘ऊसँग मेरो उमेर, हाइट, वेट केही पनि मिलेन। तैपनि, त्यसले हामीेलाई केही फरक पारेन।’ थप एक वर्ष उनीहरूको सम्बन्ध अघि बढ्यो। पिटर उनलाई असाध्यै विश्वास गर्थे। ‘तर, बिस्तारै त्यो विश्वास टुट्दै गयो,’ उनी भन्छन्, ‘हामीले कहिल्यै शारीरिक सम्बन्ध राखेनौँ। एक दिन मैले उसलाई अर्काे केटासँग उसको रुममा भेटेँ। त्यसपछि हाम्रो ब्रैकअप भयो।’ 

बहिनीको बिहे भइसकेकाले पिटरलाई बिहे गर्न परिवारबाट दबाब आउन थाल्यो। ‘जहाँ जाऊँ, जसले पनि मलाई बिहे कहिले गर्ने भनेर सोध्थे,’ उनी भन्छन्, ‘तर, मेरा निम्ति कुनै महिलासँग बिहे हुने कुरा कल्पनाबाहिर थियो।’ 

पिटरका केही साथीले समलिंगी भए पनि महिलासँग विवाह गरेका थिए। ‘बिहे गरेका साथी केटीसँगै बिहे गरे पनि केही फरक पर्दैन भन्थे,’ उनी भन्छन्, ‘एक दिन एक जना आन्टीले आफ्नी छारीसँग भेट गराउनुभयो। उनीसँग भेट्दा मैले मभित्र लुकेको केटीलाई लुकाएँ।’ त्यो सम्बन्धमा उनको कुनै लगाव थिएन। तर, केही समयपछि उनको इन्गेजमेन्ट भयो। एक दिन हुनेवाला श्रीमतीलाई लिएर उनी घुम्न गए। केटीसँगको त्यो उनको पहिलो डेटिङ थियो। ‘घरबाट हामीलाई रात बस्ने अनुमति दिएर पठाइएको थियो,’ उनी सम्झन्छन्, ‘तर, मलाई किस गर्नेसम्म फिलिङ आएन। त्यसपछि बेकारमा उनीसँग बिहे गरेर किन उनको जिन्दगी बर्बाद गरिदिनु भनेर उनलाई सबै कुरा खुलस्त भनेँ।’ 

बिहे तोडिएपपछि उनले ‘मिस्टर गे’ प्रतियोगितामा भाग लिए। त्यहाँ उनको अर्को एक जना प्रतिस्पर्धी केटासँग भेट भयो। ‘म टप फाइभमा पर्छु कि पर्दिनँ भनेर डराएर बसेको थिएँ,’ उनी भन्छन्, ‘कसैले मेरो हात समातेर ‘नडराऊ, तिम्रो नाम पक्का आँउछ’ भन्यो। हाम्रो फ्रेन्डसिप भयो। पछि त्यही मित्रता प्रेममा परिणत भयो।’ उनीहरू नियमित भेट्न थाले। विभिन्न कार्यक्रममा उनीहरू कहिले कालिञ्चोक त कहिले पोखरा पुग्थे। ‘एकपटक एउटा कार्यक्रममा हामी पोखरा गएका थियाँै,’ उनी सम्झन्छन्, ‘त्यो बेला मलाई उसले पहिला नै कुनै महिलासँग बिहे गरिसकेको थाहा भयो। उसको परिवारलाई किन बर्बाद गर्नु भनेर म ऊबाट टाढिन थालेँ।’

नेपालमा समलिंगी विवाहको प्रावधान भएको भए आफ्नो प्रेमले सार्थकता पाउने उनको भनाइ छ। ‘तर, यत्रो प्रेम सम्बन्धमा बसेर पनि म अहिले एक्लो छु,’ उनी भन्छन्, ‘जति नै प्रगाढ र लामो प्रेम सम्बन्ध पनि विवाहबिना असुरक्षित हुने रहेछ। समलिंगीलाई पनि बिहेको हक भएको भए आज म एक्लो हुने थिइनँ।’ आफूले चाहेको मानिससँग बिहे गर्न नपाउनुभन्दा बिहे नगरी बस्नु बेस भन्दै उनी एक्लो जीवन बिताइरहेका छन्। ‘म अरू साथीजस्तो गे भएर पनि केटीहरूसँग बिहे गर्न सक्दिनँ,’ उनी भन्छन्, ‘केटासँग बिहे गराँै भने कानुनले मान्यता प्रदान गर्दैन। अब त मलाई प्रेम सम्बन्धमा बस्न पनि मन लाग्न छाडिसक्यो।’ हाल उनी ब्लू डायमन्ड सोसाइटीका कार्यक्रम संयोजक हुन्। ‘मेरो अहिलेको लडाइँ भनेको समलिंगी विवाहले कानुनी मान्यता पाउनुपर्छ भन्ने हो,’ उनी भन्छन्, ‘मेरो जिन्दगीको मिसन नै यही हो। कुनै दिन त हामीले पनि विवाह गर्न पाउनेछौँ भन्ने आशमा बाँचेको छु।’ 

असुरक्षित प्रेम सम्बन्ध

एन्जेल लामा मिस पिंक नेपाल–२०१८ का विजेता हुन्। उनी तेस्रोलिंगी हुन्। पुरुषका रूपमा जन्मिए पनि उनमा सानैदेखि महिलाको स्वभाव थियो। ‘मलाई गुडियासँग खेल्नदेखि नेल पोलिस लगाउन र मेकअप गर्न असाध्यै मन पथ्र्यो,’ एन्जेल भन्छिन्, ‘मलाई सबैले जिस्काउँथेँ। त्यसैले कसैसँग बोल्दिनथेँ। मेरा कहिल्यै साथी बनेनन् र स्कुल हुँदा म कहिल्यै स्कुलको शौचालय गइनँ।’

स्कुल पढ्ने बेलासम्म उनलाई एलजीबीटीबारे थाहा थिएन। एसएलसी (हाल एसईई) दिएर काठमाडौँ आएपछि उनलाई नयाँ दुनियाँमा आएजस्तो लाग्यो। ‘काठमाडाँै आएपछि मैले इन्टरनेटमार्पmत एलजीबीटी समुदायबारे थाहा पाएँ,’ उनी सम्झन्छिन्, ‘यस्तो पनि हुँदो रहेछ भनेर म दंग परेँ।’ 

त्यसपछि उनी ब्लू डायमन्ड सोसाइटीमा गइन्। त्यहाँ गएर उनले अभिमुखीकरणका कक्षा लिइन्। ‘त्यसपछि मलाई खुशी पनि लाग्यो, दुःख पनि लाग्यो,’ उनी भन्छिन्, ‘खुशी यस अर्थमा लाग्यो, म जस्ता अरू मान्छे पनि हुँदा रहेछन्। र, दुःख यस अर्थमा लाग्यो कि म जस्ता मानिसलाई यो समाजले स्विकार्दैन रहेछ।’ 

उनले यो कुरा दुई वर्षसम्म आफ्नो परिवारलाई बताइनन्। ‘१७ वर्षको हुँदादेखि मैले केटीको गुण आउने हर्मोनहरू खान थालेँ,’ उनी भन्छिन्, ‘हर्माेनका कारण  मेरो कपाल बढ्न थाल्यो। बोली फेरिन थाल्यो। म केटीजस्तै देखिन थालेँ।’ उनले यो कुरा एक दिन आफ्ना आमाबुबालाई बताइन्। तर, अभिभावकले उनका कुरा बुझेनन्। 

सन् २०१७ मा उनी प्रेम सम्बन्धमा थिइन्। ‘त्यो बेला म एक ठाउँमा काम गर्थें,’ उनी सम्झन्छिन्, ‘अफिसमा एक जना पुरुष इन्टर्न गर्न आएका थिए। बिस्तारै हाम्रो भेटघाट बाक्लियो र माया बस्यो।’ प्रेमीले एक दिन एन्जेललाई उनको आमासँग भेट गराए। ‘पछि उनको ममी र मेरो ममीसमेत एकदमै क्लोज भइसक्नुभएको थियो,’ उनी भन्छिन्। यहाँसम्म आइपुग्दा उनीहरूको सम्बन्ध चलेको डेढ वर्ष भइसकेको थियो। त्यसपछि उनीहरूको सामान्य झैझगडा सुरु हुन थाल्यो। ‘बिहे भएको भए सानोतिनो झगडा मिल्थ्यो होला,’ एन्जेल भन्छिन्, ‘बिहे नभएर लामो समय प्रेम सम्बन्धमा मात्र बसिरहँदा अन्त्यमा हामी छुटिनुपर्‍यो।’

एन्जेल आफ्नो सम्बन्ध टुट्नुको दोष कानुनलाई दिन्छिन् । ‘यदि कानुनले समलिंगी विवाहलाई मान्यता दिएको हुन्थ्यो भने हाम्रो सम्बन्धको प्रमाण हुन्थ्यो,’ उनी भन्छिन्, ‘प्रेम सम्बन्धजस्तो विवाहको सम्बन्ध यत्तिकै टुट्दैनथ्यो। प्रेममा हुँदा एउटाले अर्कोलाई छाड्ने पो हो कि भन्ने धुकचुक र अविश्वास सधैँ भइरहन्छ। जहाँ अविश्वास हुन्छ, त्यो सम्बन्ध लामो समय टिक्दा पनि टिक्दैन।’

एन्जेलको नागरिकता बनेको छैन। ‘नागरिकता बनाउन जाँदा कर्मचारीहरू अपरेसन गरेर महिला बनेको प्रमाण ल्याऊ भन्छन्,’ उनी भन्छिन्, ‘अब अपरेसनको प्रमाण मैले कहाँबाट ल्याउने ? नागरिकता नभएकाले पनि मलाई धेरै समस्या भएको छ।’ 

‘किस डे’मा टुटेको सम्बन्ध 

मनीषा (नाम परिवर्तन), २७, समलिंगी युवती हुन्। उनी काठमाडौं, पुतलीसडककी स्थायी बासिन्दा हुन्। आफू समलिंगी भएको कुरा थाहा पाउन उनलाई १४ वर्ष लाग्यो। स्कुल पढ्दाताका धेरैले उनलाई भन्थे– ‘कस्तो केटाजस्तो केटी !’ धेरैले उनको पहिचानमाथि शंका गर्थे। 

पछि उनी आफ्नै कलेजमा पढ्ने करिश्मा (नाम परिवर्तन) को प्रेममा परिन्। ‘उनीसँग मेरो भेट भइरहन्थ्यो, तर उनीप्रति भावनात्मक रूपमा आकर्षित छु भन्ने आँट गरिनँ,’ मनीषा भन्छिन्, ‘खुशीको कुरा, एक वर्षपछि उनी आफैँले मलाई प्रेम प्रस्ताव राखिन्। त्यसपछि हामी डेट जान थाल्यौँ। रेस्टुरेन्टमा घण्टौँ बस्थ्यौँ। मुभी हेर्न जान्थ्यौँ। हाम्रो प्रेम दिनदिनै झ्यांगिन थाल्यो।’ कलेजमा उनीहरूको सम्बन्धबारे गाइँगुइँ चल्न थाल्यो। 

दुवैले आफ्नो परिवारलाई यो सम्बन्धबारे थाहा दिएका थिएनन्। ‘म लेज्बियन हुँ भन्ने कुरा समाज र परिवारलाई थाहा दिन चाहन्नँ,’ मनीषा भन्छिन्, ‘मेरो पहिचान खुल्यो भने समाज र परिवारले मलाई छिःछिः दूरदूर गर्छन् भन्ने मलाई थाहा छ।’ 

प्रेम सम्बन्ध कसैलाई थाहा नहोस् भनेर मनीषा–करिश्माले कैयौँ पटक झुट बोलेका थिए, नाटक गरेका थिए। ‘हामीबीच त्यस्तो केही छैन भनेर अरूका अगाडि धेरै बहाना बनाउँथ्यौँ,’ मनीषा भन्छिन्, ‘डेट गएको बेला कसैले देख्ला कि भन्ने डर सधैँ हुन्थ्यो। तर, म ढुक्क थिएँ। किनकि, घरमा केटासँग हिँडेको भन्दा केटीसँग हिँडेकोमा मख्ख हुन्थे, छोरी सुरक्षित भएको महसुस गर्थे। केटी–केटीबीच पनि प्रेम हुन्छ भनेर मेरो परिवारले कल्पनासम्म गर्दैनथ्यो।’ 

एक दिन मनीषा र करिश्मा आफ्नो प्रेम सम्बन्धको चौथो वार्षिकोत्सव मनाउँदै थिए। उनीहरूले भित्रभित्रै बिहे गर्ने र विदेश गएर बस्ने योजनासमेत बुनिसकेका थिए। ‘सेक्सका नाममा हामीबीच किससम्म चल्थ्यो,’ मनीषा सम्झन्छिन्, ‘मलाई करिश्माको शरीरको कोमलपन मन पथ्र्यो। उनको बोलीको मिठास मन पथ्र्यो। हामी अत्यन्त निकट भएका थियौँ। सँगै सुतेको बेला किस गर्ने र एकअर्काको प्राइभेट पार्ट छोएर आनन्द लिने गथ्र्यौं।’ 

मनीषाले करिश्मासँग सुन्दर संसार बसाउने सपना बुनिसकेकी थिइन्। तर, उनको सपना त्यो दिन टुट्यो, जुन दिन करिश्माको वास्तविकता छर्लङ्ङ भयो। ‘भ्यालेन्टाइन्स डे नजिकिँदै थियो,’ मनीषा सम्झन्छिन्, ‘त्यो दिन ‘किस डे’ थियो। हाम्रो भेट्ने योजना थिएन। तर, म सरप्राइज दिन उसको कोठामा सुटुक्क पुगेँ। त्यहाँ मैले उसलाई एक जना केटासँग ‘रेड ह्यान्ड’ पक्रिएँ।’ 

उनलाई त्यो घटनाले धेरै दिनसम्म आहत बनायो। ‘एक दिन मेरो मोबाइलमा करिश्माको म्यासेज आयो,’ उनी याद गर्छिन्, ‘म्यासेजमा उसले भनेकी थिई– ‘म पनि तँ जस्तै समलिंगी हुँ। तर, तँसँग न मैले बिहे गर्न मिल्छ, न यत्तिकै हाम्रो जिन्दगी बित्छ। त्यसैले मैले मन नलागेर भए पनि नयाँ जिन्दगी अगाडि बढाउने सोचेँ। सक्छेस् भने मलाई माफ गरिदे !’

समलिंगीको प्रेम सम्बन्धमा यस्ता समस्या आउनुको मुख्य कारण समलिंगीसम्बन्धी विवाहको प्रावधान नभएको बताउँछन्, अधिवक्ता सुजन पन्त। ‘समलिंगी विवाहबारे हाम्रो कानुन एकदमै विरोधाभासपूर्ण छ,’ पन्त भन्छन्, ‘समाजले पनि समलिंगी विवाहलाई पचाउन सकेको छैन। कानुन र समाजको डरले यस्ता जोडीहरू खुल्दैनन्। यदि खुलिहाले पनि भविष्य अन्योलग्रस्त हुने देखेर सम्बन्धबाट टाढिन बाध्य हुन्छन्।’ 

प्रेमिकाले छाड्ने डर

सुदीप गौतम जन्मँदा छोरीका रूपमा जन्मेका थिए। मकवानपुरमा जन्मिएका उनले स्कुल र कलेज उतै पढे। सानोमा उनी फ्रक लगाउँथे। स्कुल जाँदा पनि केटीकै लुगा लगाउँथे र साथीसंगत पनि केटीकै थियो। तर, उनको भावना र हाउभाउ भने केटाको जस्तो थियो। केही वर्षसम्म उनले आफू शारीरिक र भावनात्मक रूपमा फरक भएको सुइँको पाएनन्। तर, सात कक्षा पढ्दाताका उनी आफ्नै स्कुलकी एउटी केटी साथीसँग प्रेममा परे। उनीहरूको प्रेम दुईतर्फी नै थियो। ‘‘कस्तो जमाना आयो, केटी भएर केटीलाई मन पराउने !’ धेरैले यसै भन्थे,’ सुदीप सम्झन्छन्, ‘साथीहरूले मलाई हेर्ने नजर नै बदलियो। धेरैले मलाई घृणा गर्न थाले।’ समाज र साथीहरूको नराम्रो व्यवहारले उनले एक पटक आत्महत्याको समेत प्रयास गरे। ‘मैले विष खाएर आत्महत्या गर्ने कोसिस गरेको थिएँ,’ सुदीप सम्झन्छन्, ‘घरकाले थाहा पाएर मलाई बचाएछन्। यही कारणले मेरो गर्लफ्रेन्डसँग पनि ब्रेकअप भयो।’ 

त्यसपछिका सुदीपका दिनहरू झनै कठिन हुन थाले। ‘केटी भएर पनि केटाजस्तो, त्यसमाथि आत्महत्या गर्न खोजेको भनेर सबैजना मसँग तर्किन खोज्थे,’ उनी भन्छन्, ‘तर, ममी र दिदीले मलाई धेरै साथ र भरोसा दिनुभयो। बुबा भने ‘यस्तो भएर बाँच्नुभन्दा मरेकै जाती’ भन्नुहुन्थ्यो।’

सुदीप १८ वर्षको हुँदा उनकी दिदीले ब्लू डायमन्ड सोसाइटीकी भूमिका श्रेष्ठसँग फोनमा कुरा गराइदिएकी थिइन्। ‘फोनमा भूमिका दिदीले ‘के छ मेरो भाइ ? तिमी काठमाडौँ आऊ, अनि हाम्रो परिवार (ब्लू डायमन्ड सोसाइटी) को सदस्य बन’ भन्नुभएको थियो,’ उनी सम्झन्छन्, ‘त्यतिञ्जेल मेरो स्वर र अनुहार केटीकै थियो। त्यसपछि सन् २००९ मा ब्लू डायमन्ड सोसाइटीमा पुगेँ।’ त्यहाँ पुगेपछि आफूजस्तो पहिचान भएका थुप्रै मानिस देखेर उनी खुशी भए। उनले आफ्नो चाहनाअनुरूप हर्मोन परिवर्तन हुने औषधि लिए। केही महिनापछि उनको स्वरमा परिवर्तन आउन थाल्यो। अनुहारमा दाह्रीजुंगा देखापर्न थाल्यो। अहिले उनको स्वरदेखि स्वभाव र आनीबानी सबै पुरुषको जस्तै छ। ‘सुरुमा त आफ्नो धोद्रो स्वर सुन्दा र अनुहारमा दाह्री देख्दा आफैँलाई अनौठो र अप्ठ्यारो महसुस भयो,’ सुदीप सम्झन्छन्, ‘तर, अहिले ममा जुन परिवर्तन आएको छ, त्यसमा खुशी छु। तर, हाम्रो समाजको सोच र कानुनी झन्झट सम्झँदा उकुसमुकुस भएर आउँछ।’ उनी हाल ब्लू डायमन्ड सोसाइटीको प्रोग्राम अफिसरका रूपमा कार्यरत छन्। 

उनी हाल आफ्नै सहकर्मीसँग दुई वर्षदेखि प्रेम सम्बन्धमा छन्। ‘अहिलेकी मेरी प्रेमिका पनि केटी नै हुन्,’ उनी भन्छन्, ‘हामी सँगै बस्छौँ। तर, यो कुरा उनको परिवारलाई थाहा छैन। यदि उहाँहरूले थाहा पाउनुभयो भने हाम्रो सम्बन्ध कहाँ पुग्ने हो, थाहा छैन।’ उनलाई आफ्नी प्रेमिकासँग घरजम गर्ने ठूलो धोको छ। ‘तर, के गर्नु ? सँगै बस्ने मान्यता दिए पनि कानुनले समलिंगी विवाहलाई मान्यता नदिने रहेछ,’ उनी भन्छन्, ‘यस्तो हुँदा भोलि प्रेमिकाले छाडेर जाने हो कि भन्ने डर मनमा सधैँ भइरहन्छ।’

विवाहसँगै नागरिकताको समस्याले पनि सुदीपलाई दिनरात पिरोलिरहन्छ। उनी महिला हुँदा लिएको नागरिकता देखाउँदा उनलाई कसैले पत्याउँदैन। ‘जे गर्दा पनि सुरुमा नागरिकता खोज्छन्,’ उनी भन्छन्, ‘भएको नागरिकता देखाऊँ, कसैले पत्याउँदैनन्। नदेखाऊँ काम बन्दैन। म ट्रान्सम्यान हो भन्ने कुरा कसैलाई बुझाउन सकेको छैन।’ नागरिकताको कुरा आउनेबित्तिकै उनी विभिन्न बहाना बनाएर पन्छिने गरेका छन्। ‘सरकारले हामीलाई भन्नेबित्तिकै नागरिकता दिँदैन,’ उनी पीडा पोख्छन्, ‘दिनुपर्‍यो भने पनि मेडिकल जाँचलगायत दुनियाँथरी चेकजाँच गर्नुपर्छ। जुन दिन हाम्रो बिहे र नागरिकताको समस्या समाधान हुन्छ, त्यही दिन मात्र हामीले सुखको सास फेर्न पाउनेछौँ।’


‘विवाहले मान्यता नपाउँदा समलिंगी धेरै पछि परेका छन्’

 

सुजन पन्त,अधिवक्ता तथा कानुनी सल्लाहकार, ब्लू डायमन्ड सोसाइटी ।

सन् २०११ मा ब्लू डायमन्ड सोसाइटी र अमेरिकाको विलियम इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार नेपालमा १० लाखको हाराहारीमा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति छन्। 

वास्तवमा समलिंगी, तेस्रोलिंगी तथा लैंगिक अल्पसंख्यकसम्बन्धी बनेको कानुन निकै विरोधाभासपूर्ण छ। सन् २०१५ मा समलिंगी विवाहलाई कानुनी मान्यता दिने निष्कर्षसहितको ८२ पृष्ठ लामो प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइएको थियो। तर, त्यो प्रतिवेदन अहिलेसम्म सरकारले सर्वोच्च अदालतलाई बुझाएको छैन। कानुनमा विवाहलाई लिएर ‘कुनै पनि उमेर पुगेका पुरुष र महिलाले कुनै उत्सव समारोह, मन्दिर वा अन्य कुनै औपचारिक कार्यक्रममा एकअर्कालाई स्विकारेमा विवाह भएको मानिनेछ’ भनिएको छ। यसको अर्थ समलिंगी र तेस्रोलिंगीका हकमा उनीहरूले गर्ने विवाह सीधै अमान्य हुन्छ भन्न खोजिएको हो। त्यसको ठाउँमा उमेर पुगेका महिला र पुरुषबीच नभनी ‘कुनै दुई व्यक्तिले आफ्नो इच्छाअनुसार एकअर्कालाई स्विकारेको अवस्थामा’ भनेको भए यो समस्या आउँदैनथ्यो। कानुनको यही पाटोको कारणले समलिंगीको विवाहले मान्यता पाएको छैन। जसका कारण विभिन्न खालका समस्या देखिएका छन्।  

विश्वमा समलिंगी विवाहलाई मान्यता दिने पहिलो देश नेदरल्यान्ड्स हो। त्यसपछि उमेर पुगेका दुई व्यक्ति बीचको विवाहलाई स्विडेन र डेनमार्कलगायत देशले पनि स्विकारे। हाम्रोमा समलिंगी विवाहको कुरा उठिरहेको बेला विश्वमा सात वटा देशले मात्र समलिंगी विवाहलाई मान्यता दिएका थिए। अहिले २७ भन्दा धेरै देशले समलिंगी विवाहलाई कानुनी मान्यता दिइसकेका छन्। 

उमेर पुगेका दुई व्यक्ति सँगै बस्न पाउने कानुन हाम्रोमा पनि छ। यो गोपनीयताको हकसँग सम्बन्धित भएकाले दुई व्यक्ति सँगै बस्दा राज्यले केही गर्दैन। तर, लिभिङ रिलेसनसिपमा बस्नु र विवाह गर्नु फरक कुरा हुन्। लिभिङ रिलेसनसिपमा बसेका मानिस भविष्यप्रति सुनिश्चित नहुन सक्छन्, तर बिहेले मानिसलाई कानुनी दायरामा बाँध्छ। सम्बन्धमा विभिन्न उतारचढावका कुरा आउनबाट बिहेले रोक्न सक्छ। समलिंगी विवाहले मान्यता नपाउँदा उनीहरू धेरै कुरामा पछि परेका छन्। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि