विष्णु सापकोटाको वालबाट

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


‘राष्ट्रनिर्माता’ कसलाई मान्ने भन्ने एउटा सांस्कृतिक दृष्टिकोण हो। कसैले कुनै पनि ठाउँको राष्ट्रनिर्माता जनता हुन् भन्छन्। तर, जनताकै केही तप्का भन्छन्– ‘अहँ, हामी जनता कुनै निर्माता होइन। हाम्रो देश हामीलाई भनेर हाम्रा राजाले बनाइदिएका हुन्।’ राजनीतिक स्कुलिङ र चेत आफ्नो–आफ्नो हो। 
०००

बुद्धिको विरोधाभासः आफ्नो बुद्धि कति छ भनेर आफैँले मूल्यांकन गर्न आफूसँग हाल भएको भन्दा बढी बुद्धि हुनुपर्छ। जुन सम्भव छैन। 
०००

जीवनः स्वच्छन्दता र भौतिकतामा। कहिले लाग्छः ‘म’ गजब, मेरा भावना, मेरो जीवन, ‘म’ कति अमूल्य ! अनि, तुरुन्तै लाग्छः यस्ता ‘म’ बनाउने इतिहासको प्रक्रियाले न हो। जसलाई म ‘मेरा’ भावना भन्छु, त्यसलाई ऐतिहासिकतामा, भौतिकवादी भएर हेर्दा– यी सब इतिहासको प्रक्रियामा आफैँ निर्माण भएका न हुन् ! 
०००

बीपीको ‘राष्ट्रिय मेलमिलापको नीति’, अझ यसको ‘सान्दर्भिकता’ भन्ने विषयजति गैर–सिर्जनशील सायदै अरू केही हुन्छ। मेलमिलाप राजनीतिक विषय हो। कुरा कसले भनेअनुसार मिल्ने भन्ने मात्र हो। एउटा परिस्थितिमा बीपीले केही भने, जो त्यतिबेलै सकियो। बीपीकै कुरा गर्न मन लागे अरू जति पनि विषय छन् नि ! 
०००

नेपालको राजनीतिक वृत्तमा ‘बौद्धिक’ टिप्पणी गर्ने (अधिकांश) ले कहिलेकाहीँ ‘सरप्राइज’ दिए हुने नि ! कुन मुद्दामा कसको धारणा के होला भनेर पहिल्यै अनुमान गर्न सकिने ! तिनले लेखे–बोलेका कुरा आधा पनि पढ्न–सुन्न जरुरी नहुने ! म आफू पनि त्यस्तैमा परुँला, तैपनि यो कुरामा टिप्पणी गर्न त पाइयो नि ! 
०००
जीवनमा एक पटक सामन्तवादको विरुद्ध लडेको थियो भन्दैमा कोही व्यक्ति आफैँ कहिल्यै सामन्त वा अलोकतान्त्रिक हुँदैन भन्ने हुँदै हुँदैन। मान्छेको विकासक्रममा सधैँ देखिएकै र समाज विज्ञानमा धेरै लेखिएकै विषय हो यो। नेपालको राजनीतिले हालसालै पुनः प्रमाणित गरेको तथ्य पनि यही हो। 
०००

दशकौँको गुटगत मिहिनेतले नेतृत्वमा पुगेकाहरू नमरुञ्जेल पदमै रहन चाहन्छन्। र, अहिले जस्ता कृत्य गरिरहेका छन्, त्यो घट्नेवाला छैन। तर, लाज त ती पार्टीका कार्यकर्तालाई लाग्नुपर्ने हो। तिनले कहिल्यै आफैँलाई प्रश्न गर्न सके होलान्– यस्ताको नेतृत्वमा बस्ने म आफू कस्तो मान्छे हुँ ? 
०००

उमेरसँगै ‘बुद्धि’ बढ्थ्यो भने युवा अवस्थामै आफ्ना साहित्यिक ‘मास्टर पिस’ लेख्ने लेखकले उमेर पाकेपछि झन् कति ओजिलो लेख्दा हुन् ! उमेर पाकुञ्जेल पर्खेका हुन्थे भने युवा हुँदै एउटा आदर्शका लागि जीवन समर्पित गरेका अहिलेका नेताहरू सुरुमै कमाउनतिर लाग्थे कि के गर्थे होलान् ? 
०००

तपाईको कमेन्ट