सिक्वेल छँदै छ, नयाँ कथा कसले भनोस् ?

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


सिक्वेल बनाउने सबैको अन्तिम लक्ष्य पैसा कमाउनु हो। पहिले नै स्थापित नाममा फिल्म बनाउँदा धेरै नाफा नआए पनि धेरै घाटा जाँदैन भन्ने धेरैको विश्वास हुन्छ। यही विश्वासलाई वितरक र हलवालाले पनि उकेरा लगाएपछि निर्माता–निर्देशक नयाँ कथाको जोखिम उठाउँदैनन्। 


शेषराज 

बारम्बार फिल्म बनाउने घोषणा गर्दै, नबनाउँदै गरेको गोपीकृष्ण मुभिजले फेरि एक पटक फिल्म बनाउने घोषणा गरेको छ। तर, फिल्मका लागि चाहिने निर्माण, वितरण र प्रदर्शन तीन वटै पक्षको पूर्वाधार भएको गोपीकृष्णले पछिल्लो समय फिल्म बनाउन छानेको नाम चाहिँ १३ वर्षअघि उसैले बनाएको फिल्म ‘पर्खी बसेँ’को शृंखला छ। गोपीकृष्णले घोषणा गर्ने तर नबनाउने इतिहास नदोहोर्‍याउने हो भने अर्को वर्ष दर्शकले ‘पर्खी बसेँ २’ हेर्न पाउनेछन्। 

पहिलाको नाम भजाएर फिल्म बनाउने गोपीकृष्ण कान्छो सदस्य हो। यो साल प्रदर्शन हुन बाँकी रहेका र अघिल्लो साल बन्ने घोषणा गरिएका फिल्ममा शृंखलाको वर्चस्व छ। 

वर्षका नौ महिना बित्दा पैसा कमाउने फिल्ममा तीन वटाको नाम छ। यो साल प्रदर्शन भएका मध्ये ‘जात्रैजात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ले मात्र निर्माताको गोजी भरेको तथ्यांक छ। तीनमध्ये दुई फिल्म पुराना सिक्वेल हुन् भने ‘छ माया छपक्कै’ पनि शीर्षक मात्र फरक भएको ‘छक्का पञ्जा’को निरन्तरता हो। नयाँ नाममा बनेका फिल्म नचल्ने तर सिक्वेल वा शृंखलाले भने ठीकठाकको व्यापार गर्न थालेपछि उद्योगमा पहिलाका नाम सापटी लिएर फिल्म बनाउने क्रम सुरु भएको छ। यो साल ‘म यस्तो गीत गाउँछु’, ‘लप्पन छप्पन २’, ‘चपली हाइट ३’, ‘प्रेमगीत ३’ आदि फिल्म प्रदर्शन हुन बाँकी छन्। 

अभिनेत्री तथा निर्देशक झरना थापा ‘ए मेरो हजुर ३’ निर्माण गर्नुअघि अरू कुनै नाममा फिल्म निर्देशन गर्न चाहन्थिन्। बीचमा एउटा फिल्म बनाएपछि छोरी सुहाना थापालाई लिएर ‘ए मेरो हजुर ३’ बनाउने उनको योजना थियो। तर, वितरकले ‘ए मेरो हजुर’लाई नै निरन्तरता दिन दबाब दिए। झरनाले छोरीलाई यही फिल्मबाट डेब्यू गराइन्। यो निर्णय व्यापारिक हिसाबले सही साबित भयो। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। तर, यसपछि पनि फिल्म बनाउने मामलामा झरनाको दुविधा रोकिएको थिएन। ‘ए मेरो हजुर ३’को सफलतापछि उनले ‘भागवत गीता’ बनाउने कि ‘ए मेरो हजुर ४’ भनेर फेसबुकमा पोल गरिन्। धेरैले ‘ए मेरो हजुर ४’ को पक्षमा मत दिए। अन्ततः उनले अनमोल केसी र सुहानाको जोडीलाई निरन्तरता दिँदै यही फिल्मको शृंखलालाई निरन्तरता दिने निर्णय गरिन्। आउँदो फागनुबाट फिल्मको सुटिङ सुरु हुँदै छ। ‘चारैतिरबाट ‘ए मेरो हजुर’को डिमान्ड आएपछि यही गर्ने निर्णय गर्‍यौँ,’ उनले भनिन्, ‘अहिले नयाँ नाममा फिल्म बनाएर चलाउन सकिने वातावरण पनि छैन।’ 

पहिलो फिल्मले व्यावसायिक सफलता हासिल गरेपछि त्यसको चर्चा र सफलताले पनि त्यसको शृंखला सिनेमा हेर्न दर्शक हलसम्म आउने गर्छन्। यसरी शृंखला बनाउँदा पहिलो फिल्मलाई जस्तो प्रचारप्रसारमा टाउको दुखाउनुपर्दैन। त्यसो त सिक्वेल भनेपछि कलाकार पनि नाइँनास्ति गर्दैनन्। सिक्वेल सिनेमा प्रदर्शनका लागि हल सञ्चालकले पनि महŒव दिन्छन्। वितरकले सिक्वेल फिल्म निर्माणका लागि प्रोत्साहन गर्नुका साथै अग्रिम पैसासमेत दिन्छन्। फलतः आउँदो वर्ष पनि पहिले चलेकै फिल्मका नाममा फिल्म घोषणा हुने क्रम जारी छ। 

आउँदो वर्ष ‘कबड्डी’को चौथो शृंखला आउने पक्कापक्की जस्तै छ भने विकास आचार्य ‘नाइँ नभन्नू ल’को छैटौँ शृंखलाको तयारी धमाधम गरिरहेका छन्। नारायण रायमाझीले पाँच वर्षपछि ‘परदेशी २’ को सिक्वेल बनाउने घोषणा गरेका छन् भने निखिल उप्रेतीले ‘भैरव’को सिक्वेल ‘आयो भैरव’ बनाउँदै छन्। केही समय अरूको ब्यानरमा काम गर्ने बताएका दीपकराज गिरी र दीपाश्री निरौलाको समूह पनि फेरि ‘छक्का पञ्जा’ मै फर्किएको छ। उनीहरूले दशैँमा यो सिरिजको चौथो भाग ल्याउने घोषणा गरेका छन्। दशैँको मिति पेवा बनाउन लागिपरेका अशोक शर्माले पनि यही मितिमा फिल्म ल्याउने घोषणा गरिसकेका छन्। उनले घोषणा गरेको फिल्म पनि धेरै वर्षअघि उनैले निर्माण तथा निर्देशन गरेको ‘अल्लारे’को दोस्रो भाग हो। 

करिब १५ वर्षपहिले रमित ढुंगानाले ‘माया नमार’ बाट उद्योगमा डेब्यू गरेका थिए। सुमधुर संगीतले भरिएको फिल्म सुपरहिट भएको थियो। बीचमा ‘बुद्ध वाज बर्न इन नेपाल’ बनाएर निर्माणमा फर्किएका रमित ढुंगानाले बीचमा ‘राजा साहेब’ बनाउने घोषणा गरे पनि त्यो फिल्म घोषणामै सीमित भएको छ। तर, हालसालै रमितले छोरा ओजस्वी ढुंगानालाई लिएर ‘माया नमार २’ बनाउने घोषणा गरेका छन्। 

सिक्वेल वा शृंखला बनाउने सबैको अन्तिम लक्ष्य पैसा कमाउनु हो। पहिले नै स्थापित नाममा फिल्म बनाउँदा धेरै नाफा नआए पनि धेरै घाटा जाँदैन भन्ने धेरैको विश्वास हुन्छ। यही विश्वासलाई वितरक र हलवालाले पनि उकेरा लगाएपछि निर्माता–निर्देशक नयाँ कथाको जोखिम उठाउँदैनन्। पुरानै कथाको सहारा लिन पुग्छन्। तर, पहिलेका नाममा फिल्म बनाउँदैमा त्यो फिल्मले सफलताको ग्यारेन्टी गर्छ भन्ने हुँदैन। जस्तो कि, यही साल प्रदर्शन भएको ‘वीरविक्रम २’। यो फिल्म पहिला ठीकठाक चलेकै फिल्मको नयाँ भाग थियो, तर हलमा लाग्दा दर्शकले फिल्ममा खासै रुचि देखाएनन्। केही सालपहिले ‘चपली हाइट २’ र ‘सायद २’ले पनि यही अवस्था बेहोरेका थिए। शृंखला भईकन पनि फिल्मले पर्याप्त दर्शक पाएका थिएनन्। 

सिक्वेलले निर्मातालाई क्षणिक राहत दिए पनि नेपालजस्तो उदाउँदो उद्योगका लागि सिक्वेलको लोभ घातक हुने फिल्म निर्देशक राजेन्द्र सलभ बताउँछन्। उनको विचारमा सिक्वेल मात्र बनिरहँदा दर्शक नेपाली फिल्मबाट झन् टाढिने सम्भावना रहन्छ। ‘सिक्वेलमा दर्शक आउनुको मतलब पहिलो कथाप्रतिको विश्वास हो,’ उनी भन्छन्, ‘त्यही कथा मात्र तन्काइरहने हो भने दर्शक चाँडै यस्ता कथाप्रति अनुत्सुक हुन थाल्छन्। सिक्वेल बनाउनु भनेको एउटै कथा दोहोर्‍याइरहनु हो। त्यो एक प्रकारको एक्स्प्लोइटेसन हो। एक्स्प्लोरेसन नगर्ने हो भने नेपाली फिल्ममा दर्शक टिकाइराख्न गाह्रो पर्छ।’ 

निर्देशक केपी पाठक पनि सलभसँग सहमत छन्। सिक्वेललाई लगानी जोगाउने कवच ठानिए पनि त्यसले मात्र निर्मातालाई सुरक्षित बनाउन नसक्ने उनको तर्क छ। भन्छन्, ‘तत्काललाई आफ्नो लगानी नडुबोस् भन्नेमा धेरैको ध्यान गएको देखिन्छ। तर, नेपाली फिल्ममाथिको लगानी किन डुबिरहेको छ भन्नेमा कसैको पनि गहिरो चिन्तन छैन।’ अहिले दर्शकको रुचि ठम्याउन नसकेर र कथालाई रोचक तरिकाले भन्न नसकेर फिल्म नचलिरहेका हुन् भन्ने उनको ठहर छ। ‘सिक्वेलले त्यो कमी पूरा गरिरहेका छन् भन्ने लाग्दैन,’ पाठकको मत छ, ‘धेरै नराम्रोमा ठीकैको राम्रोमा उनीहरूले मन बुझाएका हुन्।’

तपाईको कमेन्ट