खेल नमानिएको एउटा खेल : बाइक स्टन्ट

writer

युवराज भट्टराई

आइतबार, ०५ माघ २०७६


नेपालमा बाइक स्टन्ट सन् २००८ मा सुरु भएको हो। त्यसयता केही समूहले सक्रिय रूपमा स्टन्ट गर्ने गरेका छन्। ज्यान जोखिममा पारी गरिने स्टन्टलाई नेपालमा अहिलेसम्म खेलको श्रेणीमा नराखिएकोमा स्टन्ट गर्नेहरू गुनासो गर्छन्। अहिले पनि आफूलाई ‘भित्ती’, ‘फटाहा’ भन्ने गरिएको उनीहरू बताउँछन्।


‘बाइकर्स मार्ट नेपाल’का सञ्चालक हुन्, गौरव पाठक। बाइक स्टन्ट गर्छन्। २८ वर्षीय उनका शरीरमा अनगिन्ती खाटा छन्। ‘बाइकबाट लडेर शरीरमा कति टाँका लागे, कुनै हिसाब छैन,’ उनी भन्छन्, ‘धेरैजसो घाउ प्य्राक्टिस गर्दाताका लागेका थिए। रोलिङ स्टपाई गर्दा नमज्जाले लडेको थिएँ।’ गौरव नेपालमा बाइक स्टन्ट गर्ने पहिलो पुस्ताका सदस्य हुन्। ‘सन् २००८ ताका नेपालमा बाइक स्टन्टको सुरुवात भएको थियो,’ उनी भन्छन्, ‘मैले पनि त्यही बेला स्टन्ट सुरु गरेको हुँ।’ 

शहरमा अहिले बाइक स्टन्ट गर्ने केही समूह सक्रिय छन्। सन् २००८ मा नेपालमा बाइक स्टन्ट सुरु हुनुअघि कतिपय समूहले लुकेर स्टन्ट गर्ने गरेका थिए। तर, सार्वजनिक रूपमा भने यसले कतै स्थान पाएको थिएन। सन् २००८ मा यामाहाले ‘मोटो स्पोट्र्स इभेन्ट’ आयोजना गर्‍यो। त्यसपछि भने ‘अन्डरग्राउन्ड’ बसेर तयारी गरिरहेका स्टन्ट ग्रुप बाहिर आए। नेपाली बाइकर्समाझ बाइक स्टन्टको क्रेज ह्वात्तै बढ्यो। बर्सेनि विभिन्न मोटो कम्पनीले स्टन्ट सो आयोजन गर्न थाले। स्ट्रिट फेस्टिभल लगायतमा स्टन्ट देखाउने अवसर बाइकर्सले पाउन थाले। तर, अहिले काठमाडौँभित्र सक्रिय रूपमा बाइक स्टन्टमा कमै समूह लागेको गौरव बताउँछन्। 

बाइक उडाउने ‘भित्ती’

२५ वर्षीय कार्लोस दुलाल चार वर्षयता बाइक स्टन्टमा सक्रिय भएर लागेका छन्। उनीसँग बाइक कुदाउँदाका केही नमीठा अनुभव पनि छन्। ‘बाइक उडाउने मान्छे नराम्रो, भित्ती भन्ने सोच्छन्,’ उनी भन्छन्, ‘मान्छेले बाइक स्टन्ट गर्नेलाई हेर्ने नजर नै फरक छ। हामीलाई असभ्य, अशिष्ट भन्ने गरिन्छ।’ 

‘डाक्टर हायु’ नामले चिनिने विवेक हायुसँग पनि यस्तै अनुभव छ। २९ वर्षीय उनी नेपालमा बाइक स्टन्ट सुरु हुँदादेखि नै यसमा लागेका हुन्। ‘त्योबेलादेखि अहिलेसम्म स्टन्ट गर्ने मान्छेलाई हेर्ने नजरमा कति फरक पाइनँ,’ उनी सुनाउँछन्, ‘तर, यो कामलाई अप्रिसिएट गर्नेभन्दा पनि विरोध गर्ने गरेका छन्। ‘बाइक उडाएर कुदाउँछ’, ‘यसले गरेको देखेर हाम्रा छोराछोरी बिग्रन्छन्’ भन्छन्। ‘फटाहा’, ‘भित्ती’जस्ता उपनाम दिएका छन्।’ 

‘बाइक कुदाउने युवामा भएको जोशलाई राम्रो स्कुलिङ दिन नसकेकाले पनि बाइक स्टन्ट गर्नेलाई अरूले हेर्ने नजर नराम्रो रहेको छ,’ कार्लोस थप्छन्, ‘हाम्रोमा स्टन्ट स्कुल नै कहाँ छ र ? न सिक्ने ठाउँ छ, न राम्रोसँग सिकाउने मान्छे नै छन्। हामीले त जसोतसो सिकेर आफूलाई अनुशासित बनायौँ। तर, अहिलेका युवामा भएको जोशका कारण उनीहरूले आफूले सिकेका कुरालाई राम्रोसँग सदुपयोग गर्न सकिरहेका छैनन्। जसले गर्दा समग्र स्टन्ट गर्नेमाथि नै समाजले प्रश्न गरिरहेको छ।’ 

‘कतिपय युवाले युट्युबबाट सिकेर जतासुकै देखाउँदै हिँड्ने गरिरहेका छन्,’ कार्लोस भन्छन्, ‘उनीहरूले मान्छे हिँड्ने बाटामै स्टन्ट गरिदिन्छन्। सेफ्टी केही लगाएको हुँदैन। स्टन्टजस्तो कुरा जहाँ पायो त्यहीँ गर्न मिल्छ त ? यस्ता कुरामा अनुशासित नहुँदा उनीहरूले गल्ती गरिदिन्छन्। जसको मूल्य समग्र स्टन्ट गर्नेहरूले चुकाउनुपरेको छ।’

हिजोको दिनमा एकातिर मान्छेले भन्ने कुराले बाइक स्टन्टमा भविष्य खोजिरहेकालाई पिरोल्थ्यो, अर्कातिर प्रहरीले। गौरव भन्छन्, ‘बाइक स्टन्ट गर्ने भन्नासाथ मान्छेले फटाहा, बिग्रेको सोच्न थाल्छन्। हामीले त अभ्यास पनि लुकेर गर्नुपथ्र्यो।’ पहिलेभन्दा अहिले मान्छेको सोचमा केही परिवर्तन आएको उनी बताउँछन्। ‘अहिले त्यति साह्रो नराम्रो त सोच्दैनन्,’ उनी भन्छन्, ‘पढेलेखेका, इन्टरनेट चलाउनेले बाइक स्टन्टलाई बुझेका छन्। यसलाई खेलका रूपमा लिन्छन्। तर, नबुझेकाले अझै पनि हामीलाई भित्ती, बिग्रेको नै भन्ने गरेका छन्।’

स्टन्ट गर्नलाई समस्यैसमस्या 

बाइक स्टन्ट गर्नेलाई विभिन्न समस्या हुने गरेको उनीहरू बताउँछन्। ‘कहिले प्रहरीको फन्दामा पर्ने डर हुन्छ त कहिले अभ्यास गर्दा लडेर घाइते हुन्छौँ,’ विवेक भन्छन्, ‘व्यवस्थित रूपमा सिक्ने ठाउँ नहुनु, सर्वसाधारणले स्टन्टलाई नबुझ्नु पनि हाम्रो समस्या हो।’ 

गौरवले ललितपुर, सातदोबाटोको स्विमिङ कम्प्लेक्समा अभ्यास गरेर स्टन्ट सिकेका थिए। ‘पहिले त्यहाँ प्लटिङ गरेको खाली जग्गा थियो,’ उनी सम्झन्छन्, ‘त्यहीँ प्य्राक्टिस गर्थें। खुलेर अभ्यास गर्न पाइँदैनथ्यो। कोही नभएको ठाउँमा अभ्यास गर्दा पनि प्रहरी आउँछ कि भनेर डर लाग्थ्यो।’ 

विवेक पनि स्टन्ट सुरु गर्दाताका यस्तै सास्ती भोगेको बताउँछन्। भन्छन्, ‘हामीसँग सिक्ने ठाउँ थिएन। कतै गएर सिक्न थाल्यो भने प्रहरी आएर लखेट्थ्यो।’ एकातिर ठाउँको अभाव थियो, अर्कातिर बाइक स्टन्ट सिकाउने मान्छे थिएनन्। त्यसैले नेपालमा बाइक स्टन्ट गर्नेमध्ये अधिकांशले युट्युब वा टेलिभिजनमा हेरेरै स्टन्ट सिकेका थिए। उनीहरूलाई कतै प्रशिक्षण पाउने सुविधा थिएन। गौरव भन्छन्, ‘हामीले सिक्ने माध्यम नै थिएन। युट्युब पनि पछि आएको हो। त्यसअगाडि त टीभीमा हेरेर उनीहरूको नक्कल गर्ने गथ्र्यौं।’

बाइक स्टन्टलाई खेलका रूपमा नस्विकारिनुलाई पनि यस क्षेत्रको समस्या बताउँछन्, विवेक। ‘पहिले २०६८ सालमा सरकारले नै बाइक स्टन्ट ब्याटल आयोजनामा हात हालेको थियो,’ उनी सुनाउँछन्, ‘त्यो बेला यसलाई खेलका रूपमा नेपालमा पनि स्थापित गराउन सकिन्छ भन्ने आशा थियो। तर, पछि त्यो पनि हुन छाड्यो।’ व्यक्तिगत तवरबाट यसलाई स्थापित गराउन चाहने धेरै छन्। तर, अहिले पनि कतिपयले यसलाई खेलका रूपमा नमानेको उनी बताउँछन्। अन्तर्राष्ट्रिय स्तरमा बाइक स्टन्टलाई निकै महत्त्वका साथ लिइन्छ। यसलाई खेलकै रूपमा पनि विशिष्ट स्थान दिइन्छ। ‘तर, नेपालमा त्यो छैन,’ गौरव भन्छन्, ‘नेपालमा त स्टन्टलाई हेर्ने नजर नै फरक छ। यो क्षेत्रमा काम पनि भएको छैन।’

धेरै खर्च, कम आम्दानी

सन् २०१४/२०१५ ताका नेपालमा बाइक स्टन्ट गर्ने थुप्रै समूह थिए। त्यसपश्चात् भने यी समूहको सक्रियता कम हुँदै गयो। २०६८ सालमा नेपाल सरकारकै रेखदेखमा पहिलो बाइक स्टन्ट ब्याटल भयो। ‘नेसनल अटोमोबाइल स्पोट्र्स एसोसिएसन (नासा)’ ले आयोजना गरेको सो स्टन्ट ब्याटलको पहिलो संस्करणका विजेता विवेक थिए। ‘त्यो बेला केही समयको लागि स्टन्ट पनि पिकमा थियो,’ उनी भन्छन्, ‘तर, त्यसपछि केही समूह निष्क्रिय हुँदै गए। केहीले आफ्नो भविष्य यसमा देखेनन् र अर्को बाटो अपनाए।’

काठमाडौँ, गोकर्णमा बाइक वर्कसप चलाउने राम सदार पनि भविष्य नदेखेकै कारण कतिपयले स्टन्ट गर्न छोडेको बताउँछन्। भन्छन्, ‘बाइक स्टन्ट हेर्न मज्जा आउँछ। तर, गर्न उत्तिकै अप्ठ्यारो हुन्छ। समयदेखि पैसा दुवैको लगानी गर्नुपर्छ। तर, त्योअनुसार आम्दानी छैन।’ रुचिका कारण बाइक स्टन्टतर्फ तानिएका उनी अहिले यामाहाको एफजी बाइक चलाउँछन्। ‘बाइक आफैँमा महँगो पर्छ’, उनी भन्छन्, ‘यसलाई मोडिफाई गर्ने खर्च, स्टन्ट गर्दा चाहिने सामानको खर्चलगायत सबै आफैँ गर्नुपर्छ। त्यसमा धेरै खर्च हुन्छ। तर, त्योअनुसार आम्दानी नभएकाले कतिपयले स्टन्ट छाडिसके।’

आम्दानीको स्रोतका रूपमा पहिले विभिन्न स्ट्रिट फेस्टिभल, स्टन्ट ब्याटल, स्टन्ट सो हुने गरेको गौरव सम्झन्छन्। भन्छन्, ‘पहिलेजस्तो अहिले निरन्तर ब्याटल, फेस्टिभल भइरहेका छैनन्। जसले गर्दा स्टन्ट गर्नेलाई पनि आम्दानीको स्रोत जुटाउन गाह्रो भएको छ।’ त्यसबाहेक कुनै–कुनै कम्पनी स्टन्ट राइडरलाई स्पोन्सर गरेर आफ्नो उत्पादनको मार्केटिङ गर्ने गर्छन्। फिल्ममा पनि यी राइडरले काम पाउँछन्। ‘तर, जति लगानी भएको हुन्छ, त्योअनुसार आम्दानी हुँदैन,’ गौरव भन्छन्।

तपाईको कमेन्ट

मुख्य समाचार