मोडलिङको लत लागिसक्यो

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


करुणा राउत, मोडल

मैले ‘मिस एसईई पोखरा’ मा १५ वर्षको उमेरमा भाग लिएकी थिएँ । त्यहाँ सेकेन्ड रनरअप भएकी थिएँ । त्यहीँबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुँ । त्यसपछि पोखरामा हुने फेसन सोहरूमा क्याटवाक गर्न थालेँ । मोडलिङमा रुचि भएकाले पढाइ सँगसँगै मोडलिङ पनि गर्न थालेँ । ‘ग्लेम फेसन नाइट’ मेरो पहिलो रनवे सो हो ।

र्‍याम्पमा हिँड्दा सुरु–सुरुमा अलि नर्भस हुन्थेँ । तर, बिस्तारै बानी पर्दै गयो । पछि–पछि त स्टेजमा जाऊँ–जाऊँ लाग्न थाल्यो । अध्ययनका सिलसिलामा अहिले अस्ट्रेलियामा छु । २० वर्षकी भएँ । अस्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभर्सिटीमा नर्सिङमा स्नातक गरिरहेकी छु । यहाँ आएर पनि मैले थुप्रै फेसन सोमा भाग लिएँ । र्‍याम्प वाक गरेँ । सिड्नीमा ‘मिस ग्ल्यामरस लुक अस्ट्रेलिया २०१९’ मा नेपालको प्रतिनिधित्व गर्दै टप फाइभमा पुग्न सफल भएँ । साथै, ‘मिस पपुलर’ को टाइटल पनि जितेँ । मोडलिङको लत लागिसक्यो । यसबिना बाँच्न सक्दिनजस्तो लाग्छ ।

कार्यक्रम प्रस्तोताका रूपमा पनि काम गर्छु । भर्खरै मात्र ‘नेपथ्य’ ब्यान्डको कन्सर्टमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिएँ । स्नातक सकिएपछि ‘मिस नेपाल’ प्रतियोगितामा सहभागी हुने योजना छ । 

प्रस्तुतिः जयन सुब्बा मानन्धर 

तपाईको कमेन्ट