घण्टाको ५० पैसा तिरेर साइकलमा घुम्थे जो

writer

सम्पूर्ण

आइतबार, ०५ माघ २०७६


देवेन्द्र बस्न्यात।

देवेन्द्र बस्न्यात, ५०, नेपाल साइकल एसोसिएसनको टेक्निकल कमिटीमा मुख्य भूमिका निर्वाह गर्छन्। उनी साइकल अभियन्ता हुन्। बाल्यकालदेखि नै साइकल उनको जीवनको अभिन्न हिस्सा रहेको उनी बताउँछन्। 

उनका बुबा र हजुरबुबा दैनिक साइकलमा घरदेखि कार्यलयसम्म र कार्यालयदेखि घरसम्म आउजाउ गर्थे। ‘मलाई हजुरबुबाले साइकलको अगाडि राखेर काठमाडौँ शहर घुमाउनुहुन्थ्यो,’ देवेन्द्र सम्झन्छन्, ‘हामी असन र इन्द्रचोक साइकलमा घुम्थ्यौँ।’ 

सानैदेखि साइकलमा उनको खास लगाव रह्यो। घरमा भएका साइकल अग्ला– अग्ला थिए। त्यसैले देवेन्द्रले साइकल भाडामा लिएर चलाउन थाले। ‘मेरो घर बौद्धवरिपरि साइकल भाडामा दिने केही ठाउँ थिए,’ उनी भन्छन्, ‘५० पैसामा एक घण्टाका लागि साइकल चलाउन दिन्थे। साइकल लिएर जोरपाटीसम्म पुग्थेँ।’ पिच बाटोमा दुई चार पटक चक्कर लगाउँदा एक घण्टा सकिन्थ्यो। 

त्यसपछि दवेन्द्रले रिङरोडमा साइकल चलाउन थाले। ‘रिङ रोडको एक लेन मात्र पिच थियो,’ उनी स्मरण गर्छन्, ‘एक फन्को रिङरोड घुम्दा चमत्कार गरेजस्तै लाग्थ्यो।’ उनी २४–२५ वर्षको उमेरसम्म फुर्सद पाउनेबित्तिकै रिङरोड घुमिहाल्थे। 

उनलाई साइकलमा ओधी रुचि थियो। अहिले पनि छ। उनलाई फुर्सदको समयमा साइकल चलाउन मन लागिहाल्छ। ‘त्यति बेला दक्षिणकाली जाने बाटो पिच थियो,’ उनी भन्छन्, ‘म एक्लै साइकल लिएर कुदिहाल्थेँ।’

२६ वर्षको उमेरमा उनको विवाह भयो। उनी पारिवारिक बन्धनमा बाँधिए। साइकल यात्रामा ब्रेक लाग्यो। ‘विवाह गरेपछि जिम्मेवारी थपियो,’ उनी सम्झन्छन्, ‘साइकल चलाउने समय नै निकाल्न पाइनँ।’ बिहे गरेको दुई वर्षपछि देवेन्द्र विदेश लागे। आठ–नौ वर्षपछि देश फर्के।

‘लामो समयपछि साइकल चलाउनुपर्‍यो भनेर सन् २००८ मा साधारण माउन्टेन बाइक किनेँ,’ उनी भन्छन्, ‘त्यसले धेरै दुःख दियो। बिग्रेको बिग्य्रै गथ्र्यो।’ त्यो साइकलले काम नदिएपछि एक वर्षपछि उनले ट्रेक कम्पनीको माउन्टेन साइकल किने।      

देवेन्द्र आफूलाई वातावरणप्रेमी भन्छन्। अरूलाई पनि साइकल चलाउन प्रेरित गर्छन्। भन्छन्, ‘मैले मात्र साइकल चलाएर पुग्दैन, सबैलाई यसका लागि प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्यो। त्यसैले सन् २०११ देखि विश्व साइकलयात्री पुष्कर शाहसँग मिलेर साइकल यात्रा आयोजना गर्न थाल्यौँ।’

सन् १९८९ मा भारतले नेपालमा लगाएको नाकाबन्दीपछि नेपालमा माउन्टेन बाइकको प्रयोगमा वृद्धि भएको देवेन्द्र बताउँछन्। ‘नेपालमा साइकलको महŒव नाकाबन्दीपछि देखिन थालेको हो,’ उनी भन्छन्, ‘त्यतिबेला छ गियरसम्मको माउन्टेन बाइक आउँथ्यो। तर, त्यसयता साइकल प्रयोगलाई प्रोत्साहन गर्न खासै कार्यक्रम आएनन्।’ 

धुलीखेल–मेघौली साइकल यात्रा 

देवेन्द्रले गरेका साइकल यात्रामध्ये एक हो, धुलीखेल–मेघौली यात्रा। सन् २०११ मा पुष्कर शाहसहित ५० जनाको टोलीले धुलीखेल–काठमाडौँ–हेटौँडा–सौराहा हुँदै मेघौलीसम्मको साइकल यात्रा तय गरेको थियो। ‘यात्रामा स्कुल–कलेजका विद्यार्थीदेखि अनुभवी यात्री पनि थियौँ,’ उनी सम्झन्छन्, ‘तर, पहिलो यात्रा भएकाले आयोजकसँग अनुभवको कमी थियो।’ उनीहरू धुलीखेलबाट सबेरै उठेर हिँडेका थिए। ‘बिहान ७ बजेतिर यात्रा सुरु गरेका थियौँ,’ उनी भन्छन्, ‘म सबैलाई अगाडि लगाएर हिँडेको थिएँ। हेटौँडा पुग्दा रातको १० बज्यो।’ त्यसै क्रममा देवेन्द्रको साइकलमा लाइटको चार्ज पनि सकियो। ‘मेरो पछाडि तीन जना साथी थिए,’ उनी सम्झन्छन्, ‘उनीहरूलाई जूनको उज्यालोको भरमा बाटाका खाल्टाखुल्टीबाट जोगाउँदै बस्ने ठाउँसम्म पुर्‍याउन मलाई साह्रै गाह्रो भएको थियो।’ 

भोलिपल्ट उनीहरू त्यहाँबाट सौराहाका लागि हिँडे। तर, बीचमा समूह विभाजित भएर भद्रगोल भयो। ‘म जंगलको बाटो जाऊँ भनेर अगाडि लागिहालेँ,’ उनी भन्छन्, ‘पुष्करजीहरू हाइवेको बाटो लाग्नुभएछ। आधा मान्छे मेरो पछाडि आए, आधा चाहिँ पुष्करजीको पछाडि लागे। पूरै भद्रगोल भयो।’ पछि पुष्कर देवेन्द्रसँग रिसाए पनि। उनीहरू सौराहा ढिलो पुगेका थिए। त्यहाँबाट मेघौली पुगी नाचगान गरेर फर्र्किएको उनी सुनाउँछन्। 

देवेन्द्रहरूले सन् २०१२ देखि बुद्ध जयन्तीको अवसर पारेर ‘टू डेज लुम्बिनी’ नामक अभियान चलाएका छन्। ‘हामी प्रत्येक वर्ष दुई दिन साइकल यात्रा गरेर लुम्बिनी पुग्ने गरेका छौँ,’ उनी भन्छन्, ‘हाम्रो यो अभियानमा थाइल्यान्ड, अमेरिका, यूकेलगायत देशबाट पनि साइकलयात्रीहरू सहभागी हुन्छन्।’ 

किन चढ्ने साइकल ?

साइकल चढ्नुका धेरै फाइदा भएको देवेन्द्र बताउँछन्। भन्छन् ‘आर्थिक हिसाबले साइकल चढ्नु फाइदाजनक छँदै छ,’ उनी भन्छन्, ‘स्वास्थ्यका लागि पनि साइकल वरदान हो। राख्नका लागि पनि धेरै ठाँउ नचाहिने भएकाले यसलाई जुनसुकै ठाँउमा राख्न सकिन्छ। साइकलको त पार्किङमा पनि शुल्क लाग्दैन।’

यसको प्रमुख फाइदा भनेको तेल हाल्नु नपर्ने उनी बताउँछन्। भन्छन्, ‘साइकल चलाउँदा तेलको खपत हुँदैन। यसले आर्थिक तथा वातावरणीय हिसाबले पनि फाइदा पुर्‍याउँछ।’ साइकल चलाएर तेल बचाउँदा हुने फाइदा पनि उनी बताउँछन्। ‘एक लिटर पेट्रोलले १५ सय ग्राम अक्सिजन नष्ट गर्छ,’ उनी भन्छन्, ‘आठ सय ग्राम कार्बनडाइअक्सायड पैदा गर्छ। तर, साइकल चलाएर यो इन्धनलाई जोगाइयो भने १५ सय ग्राम अक्सिजन पनि बच्छ र आठ सय ग्राम कार्बनडाइअक्साइड पनि बन्दैन।’ यसरी कार्बनडाइअक्साइड उत्पादन गरिएन भने विश्वव्यापी हरित गृह प्रभावलाई कम गर्न सकिने उनको ठहर छ। 

साइकल प्रयोग गरियो भने आफूलाई मन पर्ने बाटोमा सजिलै साइकल लिए जान सकिने उनी बताउँछन्। ‘त्यस्तै साइकलले आन्तरिकदेखी बाह्य पर्यटनमा पनि टेवा पुर्‍याउन सक्छ,’ साइकलप्रेमी देवेन्द्र भन्छन्। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि