एक वर्षमै ५६ केजी वजन कम गर्ने शबाना

writer

सृजना खड्का

सोमबार, २४ मङि्सर २०७५


शबाना खातुन फिटनेस इन्स्ट्रक्टर हुन्। दुई वर्षअघि उनको वजन १ सय १५ केजी थियो। जिम गएर व्यायाम गरी, खानपानमा ध्यान दिएर उनले एक वर्षमै आफ्नो वजन ५९ केजी पु¥याएकी थिइन्। अहिले शबानाको वजन ६५ केजी छ। सृजना खड्कासँग उनले आफ्नो ५६ केजी वजन घटाएको अनुभव बाँडेकी छिन्।

नौ कक्षामा नब्बे केजी
सानोमा म एकदमै दुब्ली थिएँ। उमेरसँगै खानपान बढ्यो। खानपिन बढेपछि  मेरो वजन पनि बढदै गयो। नौ कक्षामा पढ्दा नै ९० केजीकी थिएँ। कक्षाका सबै साथीले ‘मोटी’ भनेर जिस्काउँथे। मलाई एकदमै नरमाइलो लाग्थ्यो। जहिल्यै मजाकको पात्र बन्थेँ। कक्षामा सबैको शरीर एकनासको थियो। म मात्रै ज्याङ्गो थिएँ। साथीहरूले मात्र होइन, बाटोमा हिँड्नेहरूले समेत मलाई ‘एलियन’ जस्तै ठान्थे। सबैले घुरेर हेर्थे। मान्छेहरूको व्यवहार देखेर एकताका म कसैसँग पनि घुलमिल हुन नसक्ने भएकी थिएँ। 


१ सय १५ केजी हुँदा
दुई वर्षअघि न्युरोड जाँदा वजन तौलिने मेसिन लिएर एक जना आमा बाटोछेउमा बसिरहेको देखेँ। मलाई वजन जोख्न मन लाग्यो। वेट मेसिनमा चढेँ। मेसिनमा चढ्न नपाउँदै ती आमा आत्तिइन्। ‘झर्नुस्, झर्नुस्’ भनेर कराउन थालिन्। ‘मेरो मेसिन फुट्छ,’ उनले भनिन्। तर, मैले आफ्नो वेट हेर्न भ्याइसकेकी थिएँ। त्यतिबेला म १ सय १५ केजीकी थिएँ। बाटोमा हिँडिरहेका मान्छे रोकिएर मलाई हेर्दै हाँसिरहेका थिएँ। हत्तपत्त पैसा तिरेर म त्यहाँबाट निस्किएँ।
सपिङमा जाँदा कहिल्यै मन परेको लुगा किन्न पाइएन। मैले आफ्नो दाइको बिहेमा समेत मन परेको लुगा लगाउन पाइनँ। दाइको बिहेका लागि ब्लाउज अर्डर दिन गएकी थिएँ। त्यहाँ भएका महिलाहरू कानेखुसी गर्न थाले। एक जनाले मलाई देखेर खुसुक्क भनिन्, ‘यसले ब्लाउज सिलाउने कपडाले हामीलाई कुर्ता नै सिलाउन मिल्ला।’ उनको कुरा सुने नसुनेझैँ गरेर म त्यहाँबाट हिँडे। घरमा गएर खूब रोएँ। ऐनामा आफूलाई हेरेर धेरै पटक रोएकी छु। कहिलेकाहीँ आफूलाई देखेर आफैँ घिन लाग्थ्यो। मोटी भएकै कारण दाइको बिहे पनि खल्लो भयो। फोटो खिच्न मन लागेन। पाहुनाले मलाई नदेखे पनि हुन्थ्यो जस्तो लाग्थ्यो। 
म एकदमै एक्लो अनुभव गर्न थालेँ। अरूले देख्दा सामान्य कुरा थियो तर मेरा लागि एकदमै ठूलो कुरा थियो। म डिप्रेस्ड भइसकेकी थिएँ। कतै जान मन लाग्दैनथ्यो। कसैसँग बोल्न पनि मन लाग्दैनथ्यो। अब चाहिँ केही नगरी भएन भन्ने लाग्यो। युट्युबमा मोटा मान्छेहरूको ट्रान्सफर्मेसन भिडियो हेर्न थालेँ। मलाई पनि केही गर्ने जोश चलेर आयो। केही न केही गर्नैप¥यो भन्दै दुई वर्षअगाडि जिम भर्ना भएँ। 


जिममा पहिलो दिन
जिम, वर्कआउट, एक्ससाइज सबै मेरा लागि नयाँ थिए। जिम भनेको केटाहरूले ज्यान बनाउने ठाउँ हो भन्ने लाग्थ्यो। सुरुको दिन जिमखानामा पनि सबैले मलाई घुरेर हेरे। मलाई बानी परिसकेकाले खासै मतलब लागेन। त्यहाँ पनि वेट चेक गर्नुपर्ने रहेछ। मलाई एकदमै लाज लागिरहेको थियो। कसैले नदेख्ने गरी वेट चेक गरेर हत्तपत्त १ सय २ केजी रहेछु भनेर ढाँटे। ‘१ सय २’ भन्दै त्यहाँ भएका सबैले जिब्रो टोके। १ सय १५ भनेको भए त तिनीहरूको सातो नै जान्थ्यो होला।  
५६ केजी घट्दा
जिमको एक्ससाइजले एकदमै थकाउँथ्यो। सुरुको दिन त शरीर दुखेर घरमा आएर धुरुधुरु रोएँ। ‘म मात्रै किन यस्तो मोटी’ भन्ने बारम्बार लागिरहन्थ्योे। भोलिपल्ट जाँऊ कि नजाँऊ भयो। तर, गएँ। मनलाई बलियो बनाएँ। फलाम उचाल्न गाह्रो हुँदा मानिसहरूका कमेन्ट सम्झिन्थेँ। मलाई मोटी भनेर कमेन्ट गर्ने सबैलाई ‘मोटिभेसनल फ्याक्टर’को रूपमा लिएँ। जिम जान थालेपछि धेरैले ‘यसको दुई दिनको नाटक’ पनि भने। 
मेरो वजन बिस्तारै घट्दै थियो। बिहान उठ्न अर्लाम नचाहिने भयो। वर्कआउटबाटै दिनको सुरुवात हुन थाल्यो। हरेक दिन वर्कआउटको तालिका  बनाउँथेँ। भारी एक्ससाइज गरेको दिन निकै गाह्रो हुन्थ्यो तर व्यायामलाई इन्जोय गर्न थालिसकेकी थिएँ। किनभने, त्यसले मलाई परिणाम दिइरहेको थियो। जिम मेरा लागि नशा बन्न थालिसकेको थियो। वर्कआउट गर्न मलाई कहिल्यै झ्याउ लागेन। वर्कआउटसँगै खानपानमा पनि त्यत्तिकै ध्यान दिएँ। उसिनेका खानेकुरा खान थालेँ। पहिला इन्स्टाग्राम र फेसबुकमा भएजति खानेकुराका पेज फलो र लाइक गरेकी थिएँ। सबैभन्दा पहिला तिनलाई अनफलो र अनलाइक गरेँ। १ सय १५ बाट एक वर्षमा ५९ केजीमा झरेँ। वर्ष दिनमा ५६ केजी वजन घटाए। त्यो मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि थियो। 
अब त मान्छेले ममाथि कमेन्ट गर्दैनन् होलान् भन्ने लागेको थियो। तर, त्यस्तो रहेनछ। दुब्लो भएपछि पनि मानिसहरूले कमेन्ट गर्न छाडेनन्। म दुब्लाएको देखेर एक जना आन्टीले सीधै भनिन्, ‘कति दुब्लाएको, के रोग लाग्यो ?’ मोटो–पातलो जे हुँदा पनि सुख छैन जस्तो लाग्यो। एकदमै नरमाइलो लाग्यो। मोटो भएको बेला आफूलाई केही नसुहाएको जस्तो लाग्थ्यो। पातलो हुँदा पनि त्यस्तै लाग्यो। ऐनामा आफ्नै अनुहार हेर्न मन लागेन। गाडिएका आँखा, चाउरिएको छाला देखेर खिन्न भएँ। मेरो त्यो चम्किलो अनुहार कहाँ हरायो भन्ने लाग्यो। त्यो दिनबाट मैले अरूका लागि होइन आफ्ना लागि आफूलाई फिट राख्न थालेँ। असाध्यै नसुहाएपछि आफ्नो वेट बढाएर ६५ केजी पु¥याएँ। अहिले मेरो वजन ६५ केजी नै छ। 


यसरी भयो सम्भव
फिट हुनका लागि सबैभन्दा पहिला खानेकुरामा ध्यान दिनुपर्छ। सबैले खाइरहेको ठाउँमा ‘खान्न’ भन्नु गाह्रो हुन्छ। तर, त्यस खानेकुराले शरीरलाई नोक्सान पु¥याउँछ भने ‘नाइँ’ भन्न सिक्नुपर्छ। फिट हुन्छु भन्दैमा भोकै बसेर दुब्लाउने होइन। म दिनमा छ पटक खान्छु। तर, स्वस्थ र आफ्नो शरीरले धान्ने खानेकुरा मात्र खान्छु। उसिनेका खानेकुरा बढी खान्छु। चिल्लो, पिरो, मसलेदार खानेकुरा जिब्रोको स्वाद मात्र हो। खानपिनसँगै एक्ससाइज पनि उत्तिकै जरुरी छ। दिनको एक घण्टा मात्रै भए पनि आफ्ना लागि समय निकाल्नुपर्छ। 


मेहनत कहिल्यै खेर जाँदैन 
पहिला म फेसबुक र इन्स्टाग्राममा सधैँ सेल्फी खिचेको फोटो मात्र राख्थेँ। पूरा शरीरको फोटो राख्नेबित्तिकै ‘हाहा’ रियाक्ट हुन थालिहाल्थ्यो। मैले मेरो ट्रान्सफर्मेसन फोटो धेरैपछि मात्र सामाजिक सञ्जालमा राखेँ। फोटो राख्नेबित्तिकै धेरैका कल र म्यासेज आउन थाले। उपत्यका बाहिरबाट समेत मानिसहरू मलाई भेट्न आउन थाले। धेरैले ‘तपाईं मेरो प्रेरणा हो’ भन्न थाले। कतिपयलाई सकेजति सहयोग गरेँ। आफूले गरेको एक्सरसाइज र डाइट टिप्स सेयर गरेँ। त्यसपछि पूर्ण रूपमा यही क्षेत्रमा लाग्ने विचार आयो। फिटनेसबारे अध्ययन गर्न थालेँ। मेरो जिन्दगी बदलियो। अहिले काठमाडौँ, सीटीसी मलस्थित ‘फिटनेस पार्क’ मा फिटनेस इन्स्ट्रक्टरका रूपमा काम गरिरहेकी छु। वर्षा रावत, आँचल शर्मा, नम्रता सापकोटालगायत अभिनेत्रीलाई फिटनेस ट्रेनिङ दिन्छु। जीवनमा असम्भव भन्ने केही पनि नहुने रहेछ। मेहनत कहिल्यै पनि खेर नजाने
रहेछ।
 

तपाईको कमेन्ट

मुख्य समाचार