तीन तन्नेरीको कफी कर्म

writer

रामकुमार डिसी

शुक्रबार, २५ फागुन २०७४


तपाईं कफीपारखी हुनुहुन्छ र कफी खाने सिलसिलामा काठमाडौँ, बत्तीसपुतलीमा रहेको ‘हाइल्यान्ड बिन्स कफी'मा पुग्नुभयो भने त्यहाँ तपाईंले कफीको स्वाद मात्रै पाउनुहुन्न, ‘कफी कल्चर'बारे पनि केही कुरा सिकेर आउनुहुन्छ। 

 


तीन तन्नेरी रामेछापका दुर्गाबहादुर श्रेष्ठ, अर्जुन चौहान र काभ्रेका कुशल गिरीको मेहनत र त्यसको परिणाम कफीको स्वादसँगै जो कोहीले पनि अनुभव गर्नसक्छ। एसएलसी पछिको पढाइका लागि तीनै जना काठमाडौँ आए। गाउँमा एउटै स्कुलमा सँगै पढेका हुन्, दुर्गा र अर्जुनले। काठमाडौँको अस्त–व्यस्त दैनिकीमा आफूहरूलाई पनि उनीहरूले सामेल गराउँदै लगे।

 

दुर्गा र अर्जुनले प्लस टूपछिको पढाइ कर्मस रोजे। दुवै जनाभन्दा केही समयपछि काठमाडौँ आएका कुशलले भने शिक्षाशास्त्र पढे। ‘काठमाडौँमा प्लस टूको पढाइ पनि शुरु गरियो,' दुर्गा भन्छन्, ‘त्यो शिक्षा लिँदै गर्दा मलाई रोजगार दाता बन्ने खालको   व्यावहारिक शिक्षा लिनुपर्छ भन्ने लागेको थियो।'


दुर्गालाई जस्तै अनुभव अर्जुन र कुशललाई पनि भइरहेको थियो। त्यसपछि सबैले काम सुरु गरे तर आ–आफ्नै तरिकाले। दुर्गाले जावलाखेलको एउटा रेस्टुरेन्टमा काम गर्न थाले। ‘मैले ११ कक्षा चाहिँ परिवारकै सहयोगमा पढेँ,' उनी भन्छन्, ‘१२ मा पढ्दा पढाइले मान्छेलाई बेरोजगार मात्रै बनाउँछ कि जस्तो लाग्यो। प्य्राक्टिकल किन नबन्ने ? किन काम गर्दै नपढ्ने भन्ने लाग्यो र वेटरका रूपमा एउटा रेस्टुरेन्टमा काम गर्न थालेँ।' दुर्गा काममा रमाउन थाले।

 

वेटरबाट काम सुरु गरेका उनी म्यानेजरसम्म भए। ‘त्यहाँ काम गर्दा प्य्राक्टिकल कुरामा एकदमै इन्ट्रेस्ट लाग्यो,' उनी सुनाउँछन्, ‘काम गर्दै जाँदा त्यसमा चाँडै अपग्रेड भएँ। वेटर, वेटर क्याप्टेन, फ्लोर इन्चार्ज हुँदै म्यानेजरसम्म भएँ।'उता अर्जुनले भने सुरुवातमै कफी सपमा काम गर्ने अवसर पाए। उनले सन् २००७ तिर प्रसिद्ध कफी कम्पनी हिमालयन जाभामा काम थाले।

 

‘हिमालयन जाभामा मेरो पहिलो काम नै बिन्स (गेडा)मा भयो,' उनले सम्झिए, ‘त्यहाँ केही समय काम गरेपछि कफीबारे धेरै कुरा सिकियो। भुइँ पुछ्नेदेखि इन्चार्जसम्म भएर काम गरेँ।' त्यहाँ नौ वर्षसम्म काम गरेपछि उनलाई ‘सधैँ अरूको मात्रै काम कति गर्नु ?' भन्ने लाग्यो र त्यहाँको काम छोडिदिए। 


दुर्गा र अर्जुनको जस्तै कथा छ कुशलको पनि। उनले पनि प्लस टू पढ्दै एउटा क्याफेमा काम गर्न थाले। उनलाई कफीमा काम गर्न असाध्यै मन थियो। केही समयपछि उनले हिमालयन जाभामा काम गर्ने अवसर पनि पाए। ‘पहिले केही समय क्याफेमा काम गरेँ,' उनी भन्छन्, ‘क्याफे हिमालयन जाभाभन्दा माथि थियो। मलाई कफीमा एकदमै इन्ट्रेस्ट लाग्थ्यो। त्यहाँ डेढ वर्ष काम गरेपछि उहाँ (अर्जुन)सँगै हिमालयन जाभामा काम गरेँ।' त्यहीबाट अर्जुन र कुशलको पनि चिनजान भयो।

 


सन् २०१४ मा अर्जुन र दुर्गाको भेट भयो। एसएलसीसम्मको पढाइ गाउँमा सँगै गरेका भए पनि त्यसपछिको भेट भने उनीहरूबीच पहिलो थियो। त्यो भेटघाटमा ठट्टा गर्दै अर्जुनले दुर्गासमक्ष एउटा प्रस्ताव राखे। ‘हामी दुवै जना सँगै पढ्यौँ, दुई जनै म्यानेजर पनि बन्यौँ,' उनले सुनाए, ‘दुवै जना म्यानेजर बन्यौँ तर त्यति प्रगति भएन। अब मालिक पो बन्ने कि ?'

 


ख्यालख्यालमै राखिएको त्यो प्रस्तावबाट दुर्गा पनि प्रभावित भए। र, त्यही वर्षदेखि भक्तपुरबाट सुरु भयो ‘हाइल्यान्ड बिन्स कफी'। कफी सपको नामाकरणको क्षण पनि रोचक छ। कफीबारे राम्रै ज्ञान भएका दुर्गा र अर्जुनले नाम पनि त्यसैअनुसार राखे। ‘कफी अग्लो डाँडाकाँडामा फल्छ भन्ने लागेपछि हामीले त्यसबाट ‘हाइल्यान्ड' नाम पिक गर्‍यौँ,' अर्जुनले सुनाए, ‘हाइल्यान्डमा कफीको बिन्स व्यापार गर्ने भएकाले हामीले नाम पनि हाइल्यान्ड बिन्स कफी राख्यौँ।' अहिले यो नाम युरोपियनहरूको नजरमा परेको अर्जुन बताउँछन्। 


भक्तपुरमा सुरु गरेको केही समयपछि २०७२, बैशाख १२ गते ठूलो भूकम्प गयो। त्यसले उनीहरूको पसलमा पनि क्षति गर्‍यो। त्यसपछि उनीहरूले काठमाडौँको पिङ्लास्थानमा कफी पसल खोले। र, त्यहीबाट मिसिए कुशल। ‘यहीबाट तीन जना मर्ज भयौँ र संयुक्त रूपमा कफी पसल सुरु गर‍्‍यौँ,' कुशल भन्छन्।

 


सुरुवात सानै लगानीबाट गरेको भए पनि त्यसमा मेहनत ठूलै गरेको उनीहरू बताउँछन्। ‘हामीले सानो मात्राबाट सुरु गर्‍यौँ,' दुर्गा भन्छन्, ‘कुनै पनि चिजको व्यापार गर्न त्यसमा समर्पण चाहिन्छ। हामीले त्यही गर्‍यौँ।'सुरुवातको करिब चार वर्षमै उनीहरूले राम्रै प्रगति गरेका छन्।

 

बौद्ध, पाटन, भक्तपुर, पिङ्लास्थान र बत्तीसपुतलीमा गरी पाँच वटा ठाउँमा हाइल्यान्ड बिन्स कफीका आउलेट छन्। उनीहरू कफी बनाउने मात्र नभई कफी मेकिङको ट्रेनिङ सेन्टर खोल्ने योजनामा पनि छन्। ‘नेपालमा कफी तालिम केन्द्र छैनन्, हामीले त्यो पनि सुरु गर्दैछौँ,' दुर्गा भन्छन्, ‘हाम्रो आफ्नै कफी रोस्टिङ प्लान्ट छ।

बेकरी पनि सुरु गरेका छौँ।' सानैबाट लगानी गरेको भए पनि अहिले उनीहरूको साढे तीन करोडजतिको सम्पत्ति छ। त्यससँगै उनीहरूले केहीलाई रोजगारी पनि दिइरहेका छन्। ‘पहिले हामी काम खोज्दै हिँड्थ्यौँ, अहिले केहीलाई रोजगारी दिन सक्ने भएका छौँ,' कुशल भन्छन्, ‘सबै शाखामा गरी अहिले ६० जना जतिले रोजगारी पाइरहेका छन्।'


सुरुवातका दिनमा भूकम्प, नाकाबन्दी लगायतले अप्ठ्यारो पारे पनि अहिले भने काम गर्न सहज भएको दुर्गा बताउँछन्। उनी भछन्, ‘सुरुमा केही अप्ठ्यारा पनि झेलिए। भूकम्पलगत्तै नाकाबन्दी लाग्यो।'अर्जुन हाइल्यान्ड बिन्स कफीको लक्ष्य आफ्नै देशमा, नेपालीहरूसँगै रमाएर नेपालकै प्रडक्ट (कफी) बेच्नु रहेको बताउँछन्। यद्यपि, कफी मेकिङको सिलसिलामा उनीहरू केही समयका लागि आफैँ पनि विदेशिएका थिए।

 


अर्जुनले सन् २०११ मा हिमालयन जाभाकै अमेरिकामा रहेको डिसी शाखामा काम गरेँ। करिब नौ महिना काम गरेपछि उनी स्वेदश फर्र्र्किए। त्यस्तै, कुशलले पनि कफीकै फिल्डमा मलेसिया गएर दुई वर्ष काम गरेँ। ‘विदेश जानु हुँदैन भन्ने सोच मैले यहाँ आएर बनाएको होइन उतैबाट बनाएको हो,' कुशल भन्छन्। स्वतन्त्रतापूवर्क काम गर्ने चाहनाले आफूहरू विदेशमा नरमाएको दुर्गा बताउँछन्। 


‘भिजन' र ‘मिसन' स्पष्ट भएकाले समूहमा व्यापार गर्दा पनि आफूहरूमा कुनै ‘मिस अन्डरस्ट्यान्डिङ' नभएको अर्जुनको बुझाइ छ। ‘हामी बिरामी हुँदा मात्रै मिल्दैनौँ,' ठट्टा गर्दै उनी भन्छन्, ‘हाम्रो उमेर, भुगोल र पृष्ठभूमि एउटै छ। हाम्रो भिजन, मिसन क्लियर छ। प्रतिबद्ध मिसन हुँदा द्वन्द्व किन हुनु र ?'

 


आफैँले आफूलाई चिन्न सके स्वरोजगार र व्यवसायी बन्न सकिने सुझाउँछन्, दुर्गा। उनी भन्छन्, ‘आफूले आफूलाई राम्रोसँग चिन्नुपर्‍यो। आफ्नो समय र दिमागलाई राम्ररी प्रयोग गर्नुपर्‍यो। त्यसले नै सबथोक दिन्छ।' कतिपय युवा वातावरण अनुकूल नभएको भन्दै विदेशिरहेका बेला उनीहरू भने स्वदेशमै धेरै गर्न सकिने बताउँछन्। ‘जुन सरकार आए पनि, जस्तो वातावरण भए पनि ठीक छ,' कुशल भन्छन्, ‘गर्ने त आफैँले हो। आफू उठेर अघि बढे मात्रै अरू आउने हो।'
 

तपाईको कमेन्ट

मुख्य समाचार